जेन–जी समूहको विरोध प्रदर्शन: १९ जना मारिए, ३४७ जना घाइते

सुर्खेत

भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्धको विरोधमा सोमबार काठमाडौंमा जेन–जी समूहले प्रदर्शन गरे । यो प्रदर्शनको आह्वन भने आइतबार नै गरिसकिएको थियो । सोमबार बिहान काठमाडौंसहित देशभर जेन–जी समूहले प्रदर्शन गरेपनि काठमाडौं क्षेत्र भने रणमैदान बन्यो । जेन–जीले आयोजनाको गरेको प्रदर्शन हिंसात्मक बन्दा सोमबार संघीय संसद भवन रहेको क्षेत्र नयाँ बानेश्वर रणमैदान बनेको थियो । संसद भवन नजिकै दिनभर प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चल्यो । घम्साघम्सीका बीच प्रहरीले रबरको गोली प्रहार गरेपछि प्रदर्शन झन उग्र बन्यो ।


प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसैगरी, उनीहरुले संसद भवनको दुई नम्बर गेट अगाडिको सडकमा आगो बालेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुले संसद भवनको दक्षिण पश्चिमतर्फको पर्खाल भत्काए । भवनको चारैतर्फ घेरा हालेर प्रदर्शन गरे । माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढेको थियो ।
प्रदर्शनकारीको प्रदर्शन भड्किलो बन्न थालेपछि प्रशासनले काठमाडौं र आसपासका विभिन्न क्षेत्रमा कफ्र्यु जारी गरेको थियो । कफ्र्युका बीच पनि प्रदर्शन जारी रहेपछि यसले हिंसाको रुप लिएको छ । प्रदर्शनमा सहभागी थुप्रै युवाहरुको गोली लागेर मृत्यु भएको हाल (यो समाचार तयार पार्दा) सम्म देशभर १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइतेहरु उपचाररत छन् ।
पश्चिम नेपालमा शान्तिपूर्ण प्रदर्शन
काठमाडौंमा जेन–जी समूहको प्रदर्शनमा हताहती सुरु हुन थाल्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शनका लागि यो समूह मंगलगढीमा जम्मा हुँदै थियो । जेन–जी उमेर समूहका १ सय बढी युवाहरुको चोकमा उपस्थिति भएपछि र्‍यालीले परिक्रमा सुरु गरियो । सवा १२ बजे सुरु भएको बजार परिक्रमा झण्डै एक घण्टासम्म चलेको थियो ।
भ्रष्टाचार, सरकारको नेतृत्वकर्ताको विरोध तथा सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधसहित नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जेन–जी समूहले मंगलगढी चोकबाट, वीरेन्द्रचोक, पिपलचौचारा, भानुपार्क हुँदै घण्टाघर पुगेर र्‍यालीलाई कोणसभामा परिणत गरेको थियो ।
यहीक्रममा आँखा अस्पताल चोकबाट प्रदर्शनकारीको समूह दुई भागमा विभाजन भयो । एक समूह जिल्ला प्रशासनतर्फ लाग्यो भने अर्को समूह घण्टाघरतर्फ । घण्टाघर पार्कमा कोणसभा गरेको समूहले प्रशासनतर्फ मोडिएको टोलीमाथि घुसपैठको आरोप लगाएको थियो । यद्यपि प्रहरी टोली पनि दुवै समूहतर्फ बाँडिएपछि प्रदर्शन भड्किने अवस्था आएन ।
‘हामीले अब कोणसभामा परिणत गरेर फर्कियौं भनेर आह्वान गर्दागर्दै एक समूह प्रशासनतर्फ गएको थियो, उक्त समूहलाई छोडेर हामी नेतृत्व गरेको टोलीले कोणसभा गर्‍यौं र सुरक्षाकर्मीलाई धन्यवाद दियौं,’ प्रदर्शनमा सहभागी कुमारसमशेर थापाले भने, ॅसमूह विभाजन भएपछि सहभागी सबैले संयमता अपनाउनुभएकाले प्रदर्शन शान्पिूर्ण भयो ।’
सुर्खेतसहित कर्णाली प्रदेशका सबै जिल्लामा जेन–जी समूहको प्रदर्शन शान्तिपूर्ण भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका ५ वटा जिल्लामा जेन–जीको प्रदर्शन भएको थियो । सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट र जुम्लामा यो प्रदर्शन भएको र संयमित रुपमा सञ्चालन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले बताए ।
हामीले सँगसँगै हिँडेको प्रहरी टोलीलाई संयम रहन भनेका थियौं, योसँगै प्रदर्शनमा रहेका युवाहरुको पनि सहयोग भएकाले सबै जिल्लामा शान्तिपूर्ण भयो ।’ एसएसपी खनालले भने ।
सुदूरपश्चिम प्रदेशमा पनि जेन–जी समूहको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सुदूरपश्चिमका दुई वटा जिल्ला कैलाली र कञ्चनपुरको यो प्रदर्शन भएको थियो ।


ॅहामीले हाम्रो टिमलाई संयमता अपनाउन भनेका थियौं, प्रदर्शनमा रहेको समूहलाई पनि यही आह्वान गरेका थियौं,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानाभाटले भने, दुवै जिल्लामा कुनै गलत गतिविधि भएनन्, शान्तिपूर्ण भयो ।’
जेन–जीले आह्वान गरेको भ्रष्टाचार र सरकारद्वारा सामाजिक सञ्जालमाथिको प्रतिबन्धका विरुद्धको प्रदर्शनलाई देशव्यापी बनाउन कर्णाली, सुदुरुपश्चिम र लुम्बिनिमा पनि विभिन्न जिल्लाहरुमा युवाहरुले र्‍याली निकालेका थिए ।
लुम्बिनीको दाङस्थित तीन ठाउँमा प्रदर्शन भएको थियो । लमही, घोराही र तुलसिपुरमा भएको युवाहरुको प्रदर्शन पनि शान्तिपूर्ण रहेको थियो ।

अन्य समाचार

+ There are no comments

Add yours