Blog

  • औद्योगिक प्रदर्शनी सम्पन्न, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

    औद्योगिक प्रदर्शनी सम्पन्न, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

    श्रम, सीप र सिर्जनासहित उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ। प्रदर्शनीले स्थानीय उत्पादन प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याएको आयोजकको दाबी छ ।

    समापन कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले उद्यमीहरूलाई प्रोत्साहन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको बताए। उनले यस्ता प्रदर्शनी आगामी आर्थिक वर्षमा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    नेपाल सरकार राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिकी सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादन वृद्धि भएर आयात प्रतिस्थापनमा सहयोग पुग्ने धारणा राखिन्। उनले उद्यम र उद्यमीको संरक्षण, प्रवर्द्धन र विकासमा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताइन् ।

    उद्योग मन्त्रालयका कायममुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशका लघु, घरेलु तथा साना उद्योग र परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको उल्लेख गरे । उद्योग निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले प्रदर्शनीमा कृषि, खाद्य, वन पैदावार र हस्तकला क्षेत्रका उत्पादनहरू प्रदर्शन भई स्थानीय उत्पादनको गुणस्तर, ब्राण्डिङ र बजारीकरणमा योगदान पुगेको बताए। उनका अनुसार कर्णालीमा करिब ३६ हजार लघु, घरेलु तथा साना उद्योग छन् ।

    शाखा अधिकृत सतेन्द्रकुमार यादवले महिला, अपाङ्गता, एकल महिला र दलित मैत्री उद्योग प्रवर्द्धनमा जोड दिनुपर्ने र “मेक इन कर्णाली, मेड इन कर्णाली” नारासहित अगाडि बढेको जानकारी दिए ।

    प्रदर्शनीमा राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडीबुटी, रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना–टपरीलगायत वस्तुहरू राखिएका थिए। उत्कृष्ट स्टल प्रदर्शन गर्ने उद्यमीलाई निर्देशनालयले क्रमशः रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गर्‍यो ।

    त्यस्तै, प्रदर्शनी अवसरमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्र–छात्रालाई क्रमशः रु १५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । ६५ स्टल समेटिएको प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको हो ।

  • घरभित्रै हिंसा, हत्या बढ्दै, सुरक्षा घट्दै

    घरभित्रै हिंसा, हत्या बढ्दै, सुरक्षा घट्दै

    यसअघि, वैशाख २१ गते सुर्खेत भेरीगंगा नगरपालिका–१२ झिंगेनारा खोलामा २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् नेपाली सेनामा कार्यरत २८ वर्षीय दर्शन खत्रीले गरेका थिए। प्रहरी अनुसन्धानपछि दर्शनलाई पक्राउ गरिएको थियो।

    त्यस्तै, २०८० पुस २३ गते सिस्नेपातल, बनगाड कुपिण्डे नगरपालिका–११ मा २५ वर्षीया पूर्णिमा रानाले आफ्नी ३ वर्षीया छोरी करिष्मा र ६ महिने राघवीको घाँटी थिचेर हत्या गरेकी थिइन्।

    २०८० माघ १ गते पञ्चपुरी नगरपालिका–६ का नयराम बुढाले आफ्ना २१ वर्षीय छोरा भरत बुढालाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए। उनी पछि टीकापुर, कैलालीबाट पक्राउ परे र अदालतले उनलाई २० वर्ष कैद सजाय सुनायो।

    यी प्रतिनिधिमूलक घटनाहरू मात्र हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका तथ्याङ्कअनुसार, पछिल्ला तीन आर्थिक वर्षमा परिवार वा आफन्तबाट ४१ जनाको हत्या भएका छन् । आर्थिक वर्ष २०७९/८० मा १०, २०८०/८१ मा २२ र २०८१/८२ मा (असार २२ गतेसम्म) ९ हत्या भएका छन् ।

    सम्बन्धअनुसार हेर्दा, आ.व. २०७९/८० मा श्रीमानद्वारा श्रीमतीको हत्याका नौ, आ.व.२०८०/८१ मा नौ र आ.व. २०८१/८२ मा चार घटना छन्। श्रीमतीद्वारा श्रीमानको हत्या आ.व. २०८०/८१ मा दुई र आ।व। २०८१/८२ मा एक घटना छन्। यी तीन वर्षमा भाइद्वारा दाजुको हत्या दुई, बुवाद्वारा छोराको हत्या तीन, छोराद्वारा बुवाको हत्या दुई घटना रहेका छन् ।

    यसका साथै श्रीमतीद्वारा श्रीमान्‌को हत्या तीन घटना, बुवा र छोराबीचको हत्या पाँच घटना, र अन्य नातागोता जस्तै सौतेनी आमा, भाउजू, देउरानी, मामालगायतबाट हत्या भएका घटनाहरू छन् ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठ भन्छन्, ‘‘हत्या हुनुमा आर्थिक, सामाजिक, मानसिक र यौनिक कारणहरू मिसिएका हुन्छन्। प्रायः घटना मदिरा सेवनपछिको झगडा र मानसिक असन्तुलनका कारण भएका छन् ।

    महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज संस्थाकी निर्देशक पवित्रा शाही भन्छिन्, ‘‘घरभित्रै नजिकका नातेदारबाट हत्या हुनु सामाजिक विघटन र पारिवारिक संकटको लक्षण हो। घरभित्रको हिंसा चिन्न र रोक्न समाज र राज्य दुवैले भूमिका खेल्नुपर्छ ।

    मानवअधिकारकर्मी नारायण सुवेदी भन्छन्, ‘‘यस्ता घटनामा राजनीतिक संरक्षण र आममाफीले सजायको डर हटेको छ। सामाजिक चेतना, महिला सुरक्षा र मानसिक स्वास्थ्यमा राज्यको सक्रियता नदेखिनु चिन्ताजनक हो ।

    महिलामाथि घरेलु हिंसाविरुद्ध कानुन भए पनि कार्यान्वयन कमजोर हुँदा यस्ता घटना बढिरहेको अधिकारकर्मीहरूको भनाइ छ। कर्णालीमा पीडितका लागि सेफ हाउस, कानुनी सहायता र मनोपरामर्श सेवाजस्ता संरचना सीमित हुँदा न्यूनीकरण प्रयास कमजोर बनेको छ ।

  • क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    क्रिकेट मैदानमा कुर्सी जडान सुरु

     कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।

    रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

    निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

  • एकै परिवारको चार जनाको हत्या

    एकै परिवारको चार जनाको हत्या

     भोजपुरमा एकै परिवारको चार जनाको हत्या भएको छ  । रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरका चार जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ  ।

    प्रहरीका अनुसार  ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।

    प्रहरीका अनुसार बेलबदुरको ज्वाइँ राजेन्द्र राईले चारै जनाको हत्या गरेको अनुमान गरेको छ । घटनास्थलमै घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • विद्या भण्डारी सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै प्रस्तावमा आउनुहुन्छ : रघुविर महासेठ

    विद्या भण्डारी सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै प्रस्तावमा आउनुहुन्छ : रघुविर महासेठ

     नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् ।

    आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै नेता महासेठले यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने बताए ।

    उनले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपति बिच कुनै अन्तरविरोध छैन ।’

    भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’

  • पौडी खेल्न गएका २ बालकको मृत्यु

    पौडी खेल्न गएका २ बालकको मृत्यु

    सुनसरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको मृत्यु भएको हो ।

    इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए । उद्दार गरी उनीहरुलाई सान्बी सिटी अस्पताल इटहरीमा ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

  • ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

    ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

     ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

    प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको बाह्र करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीऊ पूँजीको रुपमा रहनेछ ।

    बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था/सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

    यस योजनामा संघ/संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।

    मुख्य विशेषताहरु
    * योजना प्रकार: बन्दमुखी योजना
    * फण्डको नाम: ग्लोबल आइएमई म्युचुयल फण्ड
    * कोषको आकार: प्रारम्भिक १.२० अर्ब रुपैयाँ (अत्याधिक माग भएमा १.५० अर्ब रुपैयाँसम्म)
    * प्रति इकाई मुल्य: १० रुपैयाँ
    * सर्वसाधारण निष्काशन गरिने इकाई १२ करोड इकाईहरु
    * न्यूनतम लगानी: १०० इकाई
    * अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाई
    * योजनाको अवधि इकाई बाँडफाँड मिति देखी १० वर्ष
    * लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पून लगानी
    * सूचीकरण नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा सुचीबद्ध
    * प्रारम्भिक लगानी १५ प्रतिशत (फण्ड प्रायोजक र व्यवस्थापक
    * व्यवस्थापन शुल्क: नेट सम्पत्ति मुल्यको १.५० प्रतिशत
    * डिपोजिटरी शुल्क: नेट सम्पत्ति मुल्यको ०.२० प्रतिशत
    लगानी मिश्रण
    * इक्विटी र इक्विटी सम्बन्धी साधनहरू: ७०–९० प्रतिशत (उच्च जोखिम)
    * ऋणपत्र: निश्चित आम्दानी साधनहरू: ०–१० प्रतिशत (मध्यम जोखिम)
    * फिक्स डिपोजिट: ०–१० प्रतिशत (न्यून जोखिम)
    * नगद/आईपीओ/अन्य म्युचुअल फन्ड: ०–१० प्रतिशत (न्यून जोखिम)
    लगानी गर्नुपर्ने कारणहरू
    * व्यवसायिक व्यवस्थापन
    * विविधीकरण
    * सहजता र पहुँच
    * सस्तो लगानी
    * पारदर्शिता
    * कर छुट
    * लगानीकर्ता संरक्षण

    प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)

    क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।

    ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

    यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

    यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।

  • स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

    स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन्।

    संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो।

    उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन्। भ्रमण टोलीमा २१ जना सहभागी थिए।