Blog

  • दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    sharethis sharing button
     बैतडीमा शनिबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुईज नाको मृत्यु भएको र ६ जना घाइते  भाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    मृत्यु हुनेमा  डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहरा रहेका छन् ।

    घाइते हुनेमा  डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेका छन्  । जीप सडकबाट करिब १०० मिटर तल भिरमा खसेको थियो ।

     

  • सरकार र सुनचाँदी व्यवसायीबीच सहमति

    सरकार र सुनचाँदी व्यवसायीबीच सहमति

    सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले बताए ।
    अर्थ मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुने बताइएको छ ।

    सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन्। यसका लागि सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र आवश्यकतानुसार संशोधन गरिने उल्लेख छ ।

    सुनचाँदीको बिक्री वितरणमा देखिएको तह स्पष्ट पार्ने व्यवस्था मिलाइने सहमति भएको छ। त्यस्तै, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमतिपत्रमा उल्लेख छ । व्यवसायीको मुख्य चासो यही विषयमा रहँदै आएको थियो ।

    यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ भने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहनेछ।

    उक्त कार्यदलले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानुनी तथा नीतिगत व्यवस्था, छिमेकी मुलुकमा लाग्ने राजस्वदरसँग सामञ्जस्य हुने गरी दर कायम गर्ने लगायत विषयमा सिफारिस गर्नेछ। अन्य विषयमा कार्यदलले आफ्नै कार्यशर्त तथा कार्यविधि निर्धारण गर्ने बताइएको छ ।

    सरकारले बजेटबाट सुन र हिरामा विलासिता कर लागू गरेसँगै व्यापारी आन्दोलनमा थिए । जसअनुसार केहीदिनयता उनीहरु पसल नै बन्द गरेर आन्दोदलनमा होमिएका थिए ।

  • त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

    त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

    बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो ।

    अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    फेला परेको शवको पहिचान भने हुन नसकेको उनले बताए । केही अङ्ग समेत नभएको सो शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशङ्का गरिएको छ ।

  • वीरेन्द्रनगरबाट पठाइएकी बालिका अवैध बालगृहमा, प्रहरी सक्रिय

    वीरेन्द्रनगरबाट पठाइएकी बालिका अवैध बालगृहमा, प्रहरी सक्रिय

     बालबालिका संरक्षण गृहको अनुमति नै नलिएको एक संस्थाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट सिफारिस लिएर २१ जना बालिका चितवन पु¥याएपछि प्रहरीको सक्रियतामा उनीहरूलाई उद्धार गरिएको छ । ‘आमाको 

    काख’ नामक संस्थाले वैधानिक प्रक्रिया पुरा नगरी सञ्चालन गर्दै आएको खुलेपछि चितवन प्रहरीले मङ्गलवार भरतपुर महानगरपालिका–११ स्थित एक घरबाट ती बालिकाहरूको उद्धार गरेको हो ।

    प्रहरीका अनुसार संस्थाले बालगृह सञ्चालनको कुनै आधिकारिक अनुमति लिएको छैन भने न्यूनतम आवश्यक सुविधा समेत बालिकाहरूलाई उपलब्ध गराएको थिएन । सञ्चालक पवित्रा रिजालसहित तीन जनाले सुर्खेतको वीरेन्द्रनगरबाट २१ जना, चितवन र हेटौंडाबाट जनही १/१ जना गरी जम्मा २३ जना बालिका चितवन ल्याएका थिए ।

    वीरेन्द्रनगर नगरपालिकाका एउटै वडाले १७ जना र अन्य तीन वडाका अध्यक्षहरूले बालिका पढाउन आवश्यक सिफारिस दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार उद्धार गरिएका सबै बालिकाका अभिभावक रहेको पाइएका छन् ।

    उनीहरूलाई वडाले विपन्नको आधारमा सिफारिस गरेर पठाएको थियो । तीमध्ये धेरैजसो बालिकाहरू वादी, दलित र जनजाति समुदायका रहेका छन् । वीरेन्द्रनगर–११ का वडाध्यक्ष खिमलाल देवकोटाले आफुले वडाबाट राम्रो मनसायमा सिफारिस दिएको स्वीकार गरे । उनले स्थानीयले पढाउन सहयोग गरिदिन भनेपछि आफुले सहमत भएर सिफारिस दिएको बताए ।

    बालकल्याण अधिकारी शान्ताकुमारी पौडेलका अनुसार उद्धार गरिएका बालिकाहरूलाई चितवनका विभिन्न संरक्षण गृहमा राखिएको छ । उनले बिना दर्ता संस्था सञ्चालन गर्नु गम्भीर अपराध भएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने बताइन् । ‘संस्थाले न त बालगृह अनुमति लिएको छ, न विद्यालयसँग आधिकारिक सहमति नै छ,’ उनले भनिन् ।

    चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार अभिभावक र सम्बन्धित वडाध्यक्षलाई चितवन बोलाएर बालिकाहरूलाई परिवारसँग फिर्ता पठाउने तयारी भइरहेको छ । प्रहरीका अनुसार अभिभावक स्वयंले पठाएका कारण उनीहरूको जाहेरी आउन सक्ने सम्भावना न्यून छ । यसैबीच, चितवन प्रहरीले ‘आमाको काख’ संस्थाकी सञ्चालक पवित्रा रिजाललाई नियन्त्रणमा लिएको छ ।

    उनले ऋण लिएर र दाताको भरमा बालिकाहरू ल्याएको बताएकी छन् । प्रहरीका अनुसार संस्था सञ्चालकविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाउनेबारे अनुसन्धान भइरहेको छ । अहिले संस्था बोर्डविना सञ्चालनमा रहेको, सञ्चालन अनुमति नलिएको र कानुन उल्लङ्घन गरिएको भन्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

    बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न


    कालीकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर पुर्ननिर्माण गरिएको छ । नेपाली सेनाले बडिमालिका मन्दिरको पुर्ननिर्माण सम्पन्न गरेको हो ।

    गत चैत २८ गतेदेखि सुरू भएको मन्दिरको पुनर्निर्माण असार २३ गते सम्पन्न भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त मन्दिर समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा छ । पुर्ननिर्माण भइरहँदा पनि भक्तजनहरूका लागि मन्दिर खुला गरिएको थियो ।

    पुरातत्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग र बाजुराको त्रिणेणी नगरपालिकाको समन्वयमा परम्परागत रूपमा मन्दिरको पुनर्निर्माण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मन्दिर निर्माणका लागि भक्तपुर तथा ललितपुरका कालिगडहरू समेत लगिएको थियो ।

    नेपालका ४ धार्मीक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।

    त्रिवेणी पाटनमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यसले दर्शनार्थीलाई धान्न सकेको छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । बडीमालिकामा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो ।

  • सुर्खेतमा साढे ५ केजी अफिमसहित एक जना पक्राउ

    सुर्खेतमा साढे ५ केजी अफिमसहित एक जना पक्राउ

     सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

    लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताए ।

    बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो पाँच थान र नगद चार हजार सात सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धान अनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि भारतीय सिमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बस्नेतसँग भारतीय नागरिकले अफिम खरीदका लागि बोलाएको उनी भाग्न सफल भएका छन् ।

    बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौं पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार याे बरामद भएकाे अफिम अहिलेसम्मकाे ठुलाे परिमाण हाे ।

  • आमा गुमाएका बालबालिकालाई शीतल माविका पूर्वविद्यार्थीको सहयोग

    आमा गुमाएका बालबालिकालाई शीतल माविका पूर्वविद्यार्थीको सहयोग

     रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ टाटागाउँमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि बिचल्ली अवस्थामा रहेको तीन बालबच्चाहरुलाई विभिन्न व्यक्ति तथा निकायले सहयोग गर्ने क्रम जारी रहेको छ ।

    यस क्रममा चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले बालबालिकाको घरमा पुगेर नगद रकम सहयोग गरेका छन् । शीतल माविबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले ७४ हजार ६१० रुपियाँ संकलन गरेर हस्तानरतण गरेका हुन् । उक्त रकम शीतल माविका पूर्व विद्यार्थीहरु निर्जल केसी, तिलक लामिछाने, सन्देश शर्मा, तेज कुमार बिष्ट लगायतले हस्तान्तरण गरेका हुन् । एकै वर्ष एसएलसी दिएका ३६ जना विद्यार्थीहरुबाट उक्त रकम संकलन भएको सहयोग संकलन अभियान्ता तिलक लामिछानेले जानकारी दिए ।

    विद्यार्थीहरुको उक्त टोलीले पीडितको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् भने यस घटनाका दोषीलाई हदैसम्मको कारबाहिको माग गरिएको छ । गत जेठ १७ गते राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । आमाको हत्या र बुवा प्रहरी नियन्त्रणमा रहेपछि उनका तीन बालबालिका सहाराबिहिन बनेका छन् । मृतकका १३ र ११ वर्षीया दुई छोरी र ६ वर्षका एक छोरा रहेका छन् ।

  • पुल नबन्दा फुगाड खोला पार गर्न यात्रु जोखिममा

    पुल नबन्दा फुगाड खोला पार गर्न यात्रु जोखिममा

     कर्णाली करिडोरअन्तर्गत कालिकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ ।

    नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल ०७७ को असारमा आएको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन । सुख्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री आवतजावत गर्न कठिनाइ नभए पनि वर्षायाममा खोला तर्न कठिन छ । फुगाड खोला तर्न नसक्दा साना जिप र मोटरसाइकल मंगलबारदेखि नै पारिका पारि नै र वारिका वारि नै रोकिएका छन् । मिनी टाटा जीसीबी र ट्याक्टरले तानेर खोला पार गर्ने गरिएको छ भने पैदल यात्रीलाई निकै सास्ती हुने गरेको पचालझरना–४ राम्नाकोटकी सुमित्रा बमले बताइन् । खोला बढेका बेला तर्नै सकिँदैन, उनले गुनासो पोखिन्, पैदल यात्रुले खोला तर्नकै लागि ३ घण्टा उकालोओरालो गरेर फुकोट गाउँको झोलुङ्गे पुल तर्न जानु पर्छ ।

    कर्णाली करिडोरको फुगाड खोलामा पुल नबन्दा गत वर्ष ३ मोटरसाइकल बगेको पलाता घर भएकी कांग्रेस नेतृ दिलु बमले सुनाइन् । यहीको खोलाले बगाउँदा ३ वर्षमा ४ जना स्थानीय बेपत्ता छन् । गाडी र पैदल यात्री दुवैलाई समस्या छ । फुगाड खोला तर्न नसकेर आफू घर नगएर सदरमुकाम फर्किएको पचालझरना घर भएकी जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत विकले गुनासो पोखिन् । वर्षाका बेला करिडोर नै बन्द हुन्छ उनले भनिन्, सरकारले हुम्ला गाडी पुग्यो भनेर प्रचार गरे पनि कालिकोटको फुगाड खोलामा सधैं सडक अवरुद्ध हुन्छ ।

    कालिकोटको फुगाडसहित ९ वटा सडक पुलको ०७९ को असारमा ठेक्का भए पनि काम नै सुरु नभएको कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीले बताए । ठेक्का त भएको हो उनले भने, काम सुरु नै भएको छैन । उनका अनुसार फुगाड खोलाको पुलको डिजाइन नै सडक विभागबाट स्वीकृत भएको छैन । यसैबीच कर्णाली करिडोरको फुगाड खोलामा पुल नहुँदा नागरिकले सास्ती पाएको भन्दै कालिकोटका स्थानीयले बुधबार प्रजिअ नारायणप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका छन् ।

    फुगाड खोला तर्न तत्काल झोलुङ्गे पुल निर्माण गरिनु पर्छ, नागरिक अगुवा राजु बोगटीले भने, खोला तर्न नसकेर ३÷४ घण्टाको घुमाउरो बाटो हिँड्नु पर्छ । फुगाड खोलामा तत्काल यात्रुलाई आवतजावत गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौरका प्रमुखलाई जानकारी गराएको सुनाउँदै प्रजिअ भट्टराईले सडक विभागका महानिर्देशकसँग कुरा गरेर निकास खोजिने प्रतिबद्धता पनि जनाए ।