Blog

  • भेरी नदीमा एक जना बेपत्ता

    भेरी नदीमा एक जना बेपत्ता

    भेरी नदिमा हाम फाल्दा एक जना ६० नागरिक बेपत्ता भएका छन् ।
    बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता भएका हुन् ।
    वलीले बुधवगार दिउँसो करिब २ः२० बजेको समयमा भेरी नदीमा हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।


    उनका अनुसार वलीले भेरी नदीमा हाम फालेको भन्दै २ः३५ बजे स्थानीयले प्रहरी चौकी मेहलकुनामा खबर गरेका
    थिए । त्यसलगत्तै मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उनको खोजीकार्य भइहरेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ ।

  • आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता

    आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता

    नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो ।

    बैठकमा संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दिप तिवारी, संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल लगायतको उपस्थिति थियो ।

    संघका अध्यक्ष डा. अनिल कार्कीले औपचारिक रुपमा बोलाएपछि छलफलमा बस्ने बताए । ‘मन्त्रिपरिषद्ले हैसियत निर्णय अधिकार लिएर आउने भएमात्रै संवादमा बस्न तयार छौ भनेका छौं,’ डा. कार्कीले भने, ‘ सरकारले औपचारिक रुपमा बोलाएपछि मात्रै वार्ता टोली बनाएर छलफलमा बस्छौं ।’

    स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ बजे तीन जना मन्त्रीसहित संघका पदाधिकारी बस्नेगरी स्थगित भएको छ । मंगलबार बेलुकी नै सहमति गर्नेगरी दुवै पक्षले छलफल गर्ने तयारी गरेका छन् ।

    स्वास्थ्य सेवा ऐन, २०७५ को धारा ३९ बमोजिम ऐनको परिपालनमा मन्त्रीपरिषद्ले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा नगरेसम्म कुनै पनि चिकित्सकमाथि कारबाही हुन सक्दैन भन्ने प्रष्ट व्यवस्था भएअनुसार कै माग राखिएको डा. कार्कीले बताए ।

    उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राखेको उनले जानकारी दिए । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन् ।

    उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।

    डा. कार्कीका अनुसार चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ । मंगलबार बेलुका नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी छ ।

    डा. कार्कीले चिकित्सकहरूको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको र मंगलबार बेलुकासम्म मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी भइरहेको बताए ।

  • प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

    प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

    whatsapp sharing button

     प्रधानमन्त्री केपी शर्मा ओली रसुवाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न जाने भएका छन्।

    उनले गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलको साथ दुई हेलिकोप्टरबाट यात्रा गर्ने योजना बनाएको हो।

    साथै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख दीपक थापा र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि अवलोकनमा सहभागी हुनेछन्।

  • बाढीमा फसेका ५० जनाको सफल उद्धार

    बाढीमा फसेका ५० जनाको सफल उद्धार

     चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीस्थित जलविद्युत् आयोजना (हाइड्रोपावर) को ड्याम साइडमा फसेका ५० जनाको सफल उद्धार गरिएको छ ।

    मंगलबार दिउँसो १२ः५० बजेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सुरक्षा निकायले जनाएका छन् ।

    प्रहरीका अनुसार उद्धार गरिएकामध्ये ४ महिला र ४६ पुरुष छन् । उनीहरूलाई झोलुङ्गे पुल प्रयोग गरेर पैदलमार्गबाट सुरक्षित स्थानमा ल्याइएको हो ।

    उद्धार गरिएकामध्ये १ जना चिनियाँ नागरिक समेत रहेको जनाइएको छ ।

    सोमबार रातिदेखि परेको अविरल वर्षासँगै चीनतर्फबाट आएको बाढीले ड्याम साइडमा काम गरिरहेका कामदार तथा अन्य व्यक्तिहरू त्यहाँ फसेका थिए ।

    सुरक्षा निकायका अनुसार अझै पनि केही स्थानमा जोखिम कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

  • रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार

    रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएको छ ।

    सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।

    त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

  • सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

    सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

     नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्‍याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

    उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन् । उक्त बाढीमा परेर हालसम्म छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन्भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

  • रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित

    रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित

     चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

    रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको हो।

    क्षति हुनेमा कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावर रहेका छन्।

    बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। यस आयोजनाको बाँधको गेट बगाएको उनले जानकारी दिए।

    ‘बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति भएको छ। सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा भएको छ। अन्यमा सामान्य क्षति भएको छ’, उनले अगाडी भने, ‘यी जलविद्युत आयोजनाहरूमा मानवीय क्षति भने भएको छैन।’

    उनका अनुसार त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ। रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको पुल समेत बगाएको छ।

    रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन्।

    रसुवामा रहेका चिलिमे, साञ्जेन, रसुवागढी जस्ता अन्य आयोजनामा क्षति पुगेको तर एकीकृत विवरण आउन बाँकी रहेको छ।

  • ‘उपत्यकाको जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक’

    ‘उपत्यकाको जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक’

    कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले उपत्यकाकको जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।


    वीरेन्द्रनगरमा सोमवार आयोजित सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन अपरिहार्य भएको बताएका छन् । वीरेन्द्रनगरको खानेपानीको सङ्कट घटाउन जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने कँडेलको भनाई थियो ।

    मुख्यमन्त्री कँडेलले सामुदायिक वनहरूमा अवस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गरे । ‘वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ,’ उनले भने,‘यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन् त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन, ढलेका रूख र सुकेका रूख बाहेक अरू वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्छ ।
    उनले भने जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकार बीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।


    कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विज्ञ र सरोकारवाला निकायका सदस्यहरूको उपस्थिति थियो ।
    सहभागीहरूले जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण, भूक्षय न्यूनीकरण, पानीको पुनः भरण क्षमता अभिवृद्धि र वन सम्पदाको दिगो उपयोगका लागि गुरुयोजना महत्वपूर्ण हुने धारणा राखेका थिए ।