Blog

  • पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै

    पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै

    महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

    सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घर झगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उहाँकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए।

    घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

    प्रहरी प्रवक्ता अधिकारीका अनुसार चाबहिलस्थित आफ्नो तीन तले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहल गए राति श्रीमतीसँगको घर झगडाका क्रममा आगो लगाएको बुझिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

  • कर्णालीको नीति तथा कार्यक्रम: अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

    कर्णालीको नीति तथा कार्यक्रम: अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

    कर्णाली प्रदेश सरकारले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा सार्वजनिक गरेको ८४ बुँदे नीति तथा कार्यक्रममा अधिकांश विषयवस्तु यसअघिका नीति तथा कार्यक्रमकै निरन्तरता देखिन्छ।

    नीति तथा कार्यक्रममा ‘हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री’ कार्यक्रमको सट्टा ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ।

    ‘सेवा प्रवाह र विकास निर्माणका सन्दर्भमा जनताको जिज्ञासा, गुनासो र सुझाव प्रत्यक्ष रुपमा सम्बोधन गर्न हाम्रो कुरा हाम्रो मुख्यमन्त्री कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रदेश सरकारको कार्यसम्पादनको सम्बन्धमा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया तथा छलफलमार्फत जनताको माग र समस्याको बारेमा सम्बोधन गरी प्रदेश सरकारलाई जनउत्तरदायी बनाउन जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिनेछ।’

    नीति तथा कार्यक्रममा यसअघिको विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ। जोखिमयुक्त, संकटग्रस्त, दुर्गम, पिछडिएका क्षेत्र तथा न्यून आय भएका नागरिकका लागि ‘विपद् घर सुरक्षा कार्यक्रम’ अन्तर्गत बीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘एक जिल्ला एक वायर हाउस’ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    प्रदेश सरकारले बालविवाह, छाउपडी र छुवाछुत अन्त्यका लागि प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ‘कर्णालीको साझा सन्देश: बालविवाह, छाउपडी र छुवाछुतमुक्त प्रदेश’ भन्ने नाराका साथ प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका साथै दलित सशक्तीकरण सम्बन्धी विधेयक तुर्जमा र बालमैत्री, छाउपडीमुक्त, छुवाछुतमुक्त बालविवाहमुक्त पालिका घोषणा गर्न स्थानीय तहलाई प्रोत्साहन गरिनेछ।’

    यस्तै यसअघि सञ्चालनमा रहेका ‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई परिमार्जन गरेर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यो कार्यक्रममा अन्तर्गत प्रदेश सरकारले छोरी जन्मने बित्तिकै सुरुमा एक हजार र त्यसपछि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँ खातामा जम्मा गरिदिने गरेको छ।

    प्रदेश सरकारले सातामा एक पटक ‘किताबरहित शुक्रबार जीवन उपयोगी शैक्षिक कार्यक्रम’ परीक्षमाणको रुपमा सञ्चालन गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा अध्ययन गरेका विद्यार्थीलाई स्वरोजगार हुने व्यवस्थाका लागि आवश्यक सहुलियतपूर्ण ऋण उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

    यसका साथै सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रधभावजकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ कार्यक्रम लागू गर्ने उल्लेख छ। प्रदेश सरकारले नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिएको छ। शैक्षिक सुधारका लागि १० वर्षे शिक्षा योजना तर्जुमा गरिने भनिएको छ।

    प्रदेश सरकारले मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई शल्यक्रिया गर्दा फुटकर यातायात खर्चको सट्टा बिरामीलाई एकमुष्ट एक लाख रुपैयाँ प्रदान गर्ने नीति ल्याएको छ।

    यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासका लागि ‘प्रदेश राजधानी विशेष कार्यक्रम’ सञ्चालन गरिने घोषणा नीति तथा कार्यक्रममा गरिएको छ।

    नीति तथा कार्यक्रममा ‘उद्योगतर्फ कर्णालीमा गरौँ लगानी’ भन्ने मान्यतासहित सम्भाव्य खानीको उत्खनन, नवप्रवर्द्धन र उत्पादनमा आधारित कच्चा पदार्थमा लगानी गरिने उल्लेख छ।

    साथै, यस वर्ष पनि कर्णाली समृद्धि परियोजनालाई निरन्तरता दिइएको छ। सडक पूर्वाधारतर्फ प्रादेशिक सडक गुरुयोजना तयार गरि वातावरणमैत्री र अपाङ्गतामैत्री सडक निर्माण गरिने नीति लिइएको छ।

    कर्णाली र भेरी कोरिडोर सडक आयोजनालाई तदारुकताका साथ अगाडी बढाइने, तेलपानी–भुरीगाउँ सडक निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख छ।

    सडक सञ्जालमा नजोडिएको स्थानीय तहका केन्द्रलाई राष्ट्रिय तथा प्रादेशिक सडकमा जोड्ने, पुल, सुरुङमार्ग, जलमार्ग, रोपवे, पोडवे जस्ता यातायात सम्बन्धी आयोजनाको सम्भाव्यता अध्ययन गरिने, सवारी चालक अनुमति पत्रका लागि वीरेन्द्रनगर र चौरजहारी रुकुम पश्चिममा ट्रायल सेन्टर निर्माण गर्ने, प्रदेशमै स्मार्ट कार्ड छपाई तथा वितरण गरिने नीति लिइएको छ।

    प्रदेश सरकारले कृषि उत्पादन र बजारीकरणलाई प्राथमिकता दिएको छ। कृषिलाई व्यवसायिकरण, रैथाने बाली संरक्षण, सहुलियत व्याज अनुदान कार्यक्रम, खेती प्रवर्द्धन, बजारीकरण लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

    यस्तै सुर्खेत प्रवेश गर्ने प्रमुख नाका बबईमा कृषि क्वारेनटाइन राखिने नीति तथा कार्यक्रममा उल्लेख छ। दैलेख, सल्यान र जाजरकोट लगायतका जिल्लामा सुन्तला जातका फलफूल बगैँचा सुदृढीकरण कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ।

    कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धन गर्न सम्भाव्यताका आधारमा डोल्पामा चौरी विकास, दैलेखमा बाख्रा विकास र सल्यानमा सुन्तला जात फलफूल विकास फार्म तथा केन्द्रको स्थापना गरिने र प्राङ्गारिक प्रविधिको परीक्षण तथा प्रवर्द्धन गर्न बागवानी विकास केन्द्र दार्मा सल्यान, हुम्लालाई प्राङ्गारिक कृषि विकास तथा प्रवर्द्धन फार्मको रुपमा रूपान्तरण गरिने उल्लेख छ।

  • स्रोत नखुलेको ६९ लाख सहित चार चिनियाँ पक्राउ

    स्रोत नखुलेको ६९ लाख सहित चार चिनियाँ पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं-१० भातेढिकुरबाट बुधबार प्रहरीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

    भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा-७० प- २८७२ नम्बरको ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिए।

    उनका अनुसार उनीहरुलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको छ।

    पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक भई काठमाडौँ बस्ने ३२ वर्षीय छयाग युन, ५० वर्षीय छिग छियालिग, २४ वर्षीय क्यो हावरण र ३६ वर्षीय डेना लाइयू रहेका छन्।

  • समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैन: उपसभामुख राना

    समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैन: उपसभामुख राना

    उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।

    चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन।उनले नेपालीहरू काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरू बिस्तारै गर्ने किसिमको रहेको भन्दै समयानुसार काम गर्न सिक्नुपर्ने बताइन । उनले समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताइन। उनले आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्ने बताइन।

    अभिनेता दयाहाङ राईले चलचित्र भित्र भन्ने कुरा आफैँभित्र भएका कथा भएको बताए । उनले आफैँ भित्र कथाहरू धेरै रहेको र त्यसलाई फरक फरक तरिकाबाट बुझिने बताए । उनले समाज र आफूलाई कसरी बुझ्दा रहेछौँ भन्नेकुरा चलचित्रमा भनिने बताए।

    अभिनेता राईले अहिलेको बजारमा चलचित्र स्थापित नगरी कुनैपनि कुरा परिवर्तन नहुने बताए।उनले आदिवासी जनजातिहरूको मूल्य मान्यता बोकेको चलचित्रहरू नै अहिलेको मूलधारमा बगिरहेको बताए।

  • मधेशमा साढे ६ वर्षपछि जसपा सत्ताबाट आउट

    मधेशमा साढे ६ वर्षपछि जसपा सत्ताबाट आउट

    मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएका छन्। बुधबार दोस्रो पटक बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि गरेको प्रस्ताव बहुमत सदस्यबाट फेल भएको हो।

    मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वास गुमाए। प्रदेश सभामा उपस्थित १०३ मध्ये ५० सांसदले उनको पक्षमा मतदान गरे भने विपक्षमा ५३ मत पर्‍याे। मुख्यमन्त्री यादवलाई बहुमत पुर्‍याउन ५४ सांसदको समर्थन आवश्यक थियाे। उक्त संख्या पुर्‍याउन नसकेपछि उनी संवत्स् पद मुक्त भएका छन्।

    मुख्यमन्त्री यादवको पक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ सांसदसहित नेपाली कांग्रेसका २२, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र राष्ट्रिय प्रजातान्त्रिक पार्टीका १ गरी ५० सांसद उभिएका थिए।

    मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा नेकपा एमालेका २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदले मत दिए।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत पाएका थिए। पछिल्लो पटक एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सरकारलाई दिएका समर्थन फिर्ता गरेकाले ३० दिनको अवधिअनुसार जेठ २९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने तर्कसहित २८ गते विश्वासको मत लिने भन्दै मुख्यमन्त्री यादवले प्रदेश सभामा पत्र पठाएका थिए।

    तर, प्रतिपक्षीहरूले भने सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल गत वैशाख २४ गते नै विभाजित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेकाले आज जेठ २३ गतेभित्रमै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने जिकिर गरेपछि मुख्यमन्त्रीले विश्वासको लिन प्रदेशसभा पुगेका थिए।

    अब मधेस प्रदेशमा चार दल गरेको सहमति अनुसार नयाँ सरकार गठन हुनेछ। जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले सरकार बनाउने सहमति गरेका छन्।

    चार दलको समर्थनमा जनमत प्रदेश संसदीय दलका नेता रहेका महेश प्रसाद यादव नयाँ मुख्यमन्त्री बन्ने करिब करिब पक्का भएको छ।

    प्रदेश सरकार गठन भएकोदेखि मधेस प्रदेशमा जसपा नेतृत्वको मुख्यमन्त्री थियो। पहिलो कार्यकालमा जसपाकै मोहम्मद लालबाबु राउतले पाँच वर्ष नेतृत्व गरेका थिए। यद्यपि सत्ता सहयात्री दल फेरबदल भएको थियो।

  • टी–२० विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध बलिङ गर्दै

    टी–२० विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध बलिङ गर्दै

    टी–२० विश्वकपको आफ्नो उद्घाटन खेलमा भारतका कप्तान रोहित शर्माले आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन्। प्रतियोगिता अमेरिकाको न्यूयोर्कमा नेपाली समय अनुसार राती ८ः १५ बजेदेखि सुरु भएको छ।

    भारतीय टोली

    रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज

    आयरल्याण्डको टोली

    आयरल्याण्डस् पल स्टर्लिङ (कप्तान), एन्ड्रयू बालबर्नी, लोर्कन टकर, ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, ग्यारेथ डेलानी, मार्क एडेयर, ब्यारी म्याकार्थी, जोस लिटल, बेन ह्वाइट

  • ओलीलाई रविको जवाफ: अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन

    ओलीलाई रविको जवाफ: अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताएका हुन्।

    उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरूले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे।

    कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्ने कुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरूले केही पनि गर्न नसक्ने उनको तर्क थियो।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको उल्लेख गरे। अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरू आइरहेको उनले सुनाए।

    अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए।

    उपप्रधानमन्त्री लामिछानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाहको विषयलाई लिएर नकारात्मक टिप्पणी हुने गरेकोमा पनि आक्रोश व्यक्त गर्दै जीवन जिउन उनीहरुको इच्छा भएकाले त्यस अधिकारलाई सरकारले दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे।

    उपप्रधानमन्त्री लामिछानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाह सम्बन्धी अधिकार सुनिश्चित गराउनका लागि आफू लागिपर्ने पनि बताए।

  • श्रमिक र रोजगारदाता बीचको खाडल पुर्न ‘श्रमाधान मेला’ : श्रममन्त्री

    श्रमिक र रोजगारदाता बीचको खाडल पुर्न ‘श्रमाधान मेला’ : श्रममन्त्री

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन्।

    बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको बताए।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ (सिएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा आज देखि मेलाको सुरुवात गरिएको छ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताए। यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन्।

    ‘यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ। मेलाबाट तुरुन्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्त्वपूर्ण हुनेछ,’ उनले भने।

  • टी २० विश्वकप: आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

    टी २० विश्वकप: आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

    टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको १७ वर्ष भएको छ। १७ वर्षको अवधिमा ८ संस्करणका खेलहरू भइसकेका छन्। ९ औं संस्करणका खेल वेस्ट इन्डिज र अमेरिकाको मैदानमा जारी छ। पहिलो संस्करणको विजेता टोली भारतले आज आयरल्याडसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई बिचको खेल नेपाली समय अनुसार राती ८ः १५ बजे अमेरिकाको न्यूयोर्कमा हुनेछ।

    आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

    महेन्द्र सिंह धोनीको नेतृत्वमा भारतीय टोली – २००७

    विश्वकपको पहिलो संस्करण सन् २००७ मा दक्षिण अफ्रिकामा भएको थियो। महेन्द्र सिंह धोनीको नेतृत्वमा तत्कालीन क्रिकेटको नयाँ फर्म्याटमा विश्वकप खेल्न गएको भारतीय टोलीले पहिलो खेलमा स्कटल्याण्डको चुनौती सामना गरेको थियो। तर वर्षाका कारण त्यो खेल हुन सकेन। पहिलो संस्करणमै भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा ५ रनले हराउँदै उपाधि जित्यो।

    रोहित शर्माको विश्वकपमा डेब्यु – २००९

    टी–२० विश्वकपको दोस्रो संस्करण इंग्ल्याण्डमा खेलिएको थियो। भारतीय टोली डिफेन्डिङ च्याम्पियन बन्ने उद्देश्यले सहित मैदानमा उत्रेको पहिलो खेल बङ्गलादेशसँग भएको थियो। नटिङ्घममा भएको उक्त खेलमा भारत २५ रनले विजयी भएको थियो। यो खेलमा वर्तमान भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपमा डेब्यु गरेका थिए। त्यस खेलमा ओपनिङमा आएका रोहितले २३ बलमा ३६ रन बनाएका थिए।

    छिमेकी राष्ट्र अफगानिस्तानसँग प्रतिस्पर्धा, भारत ७ विकेटले विजयी

    विश्वकपको तेस्रो संस्करण वेस्ट इन्डिजको भूमिमा हुँदा समूह ‘सी’ मा रहेको भारतको पहिलो खेल छिमेकी राष्ट्र अफगानिस्तानसँग खेलेकाे थियाे। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानी टोलीलाई भारतले २० ओभरमा ११५ रनमा सीमित राख्न सफल भयो। त्यसपछि ३१ बल बाँकी रहँदै ११६ रनको लक्ष्य पूरा गर्दै भारत ७ विकेटले विजयी भयो। तेस्रो संस्करणको खेल हुँदा सम्म भारतका विराट कोहली विश्वकपमा प्रवेश गरेका थिएनन्। र, यो खेलमा रोहित शर्मा पनि सहभागी थिएनन्।

    विराट कोहलीकाे डेब्यू , पहिलो खेलमा जित

    विराट कोहलीले सन् २०१२ मा श्रीलङ्कामा भएको चौथो संस्करणको टी–२० विश्वकपलाई कहिल्यै बिर्सने छैनन्। जस मार्फत विराट कोहलीले पहिलो पटक टी–२० विश्वकपको पिचमा प्रवेश पाएका थिए। चौथो संस्करणको पहिलो खेलमा पनि भारतले अफगानिस्तानसँग सामना गर्नुपर्‍यो। पहिले ब्याटिङ गरेको भारतले विराट कोहलीको अर्धशतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनायो। जवाफमा अफगानि टोली १३६ रनमा मात्रै रोकिए। भारतले खेल २३ रनले जित्यो र ३९ बलमा ५० रन बनाएका विराट कोहली प्लेयर अफ द म्याच चुनिए।

    पहिलो खेलमै पाकिस्तान प्रतिद्वन्द्वी

    टी–२० विश्वकपको पाँचौ संस्करण बङ्गलादेशमा खेलिएको थियो। जहाँ भारतको पहिलो खेल आफ्नो कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग भएको थियो। भारतले पहिले पाकिस्तानलाई २० ओभरमा १३० रनमा सीमित गरेपछि १३१ रनको लक्ष्य पछ्याउँदै खेल ७ विकेटले जित्यो। यो खेलमा विराट कोहलीले ३२ बलमा ३६ रनको अविजित इनिङ खेले। ओपनिङका क्रममा आएका रोहित शर्माले २१ बलमा २४ रन बनाए।

    घरेलु मैदानकै पहिलो खेलमा पराजित

    टी–२० विश्वकप छैठौँ संस्करण भारतमा भएको थियो। जसमा भारतको पहिलो खेल न्यूजिल्याण्डसँग थियो। यो खेलमा भारत ४७ रनले हार्न पुग्यो। नागपुरको मैदानमा भएको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा १२६ रन बनायो। जवाफमा भारतीय टोलीले ७९ रनभन्दा बढी बनाउन सकेनन्। यस खेलमा रोहित र विराट दुवै असफल भए। खेलमा ओपनिङ गर्दा रोहितले मात्र ५ रन बनाए भने विराट २३ रन बनाएर आउट भए।

    पाकिस्तानसँग पराजित

    सन् २०२१ को टी–२० विश्वकपको पहिलो खेलमा भारत र पाकिस्तान फेरि आमने-सामने भएका थिए। तर, सन् २०१४ मा देखेको नतिजा आएन। यसपटक पाकिस्तानले भारतलाई हरायो। भारतले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको भए पनि बाबर आजम र मोहम्मद रिजवानको ओपनिङ जोडीबिच १५२ रनको साझेदारी हुँदा पाकिस्तानले खेल १० विकेटले जितेको थियो। विराट कोहलीको कप्तानीमा मात्र नभई टी–२० विश्वकपमा पनि पाकिस्तानसँग भारतको यो पहिलो हार बन्याे। बाबजुद, यस खेलमा विराटले ५७ रनको इनिङ खेले।

    पाकिस्तानसँग हारको बदला

    सन् २०२२ मा आठौँ संस्करणको टी–२० विश्वकप अस्ट्रेलियाको भूमिमा आयोजना गरिएको थियो। यसपटक पनि भारतीय टोलीको पहिलो भिडन्त चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भयो। मेलबर्नमा भएको यो खेलमा विराट कोहलीले पछिल्लो टी–२० विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिए। पहिले ब्याटिङ गर्दै पाकिस्तानले भारतलाई जितका लागि १६० रनको लक्ष्य दियो। जवाफमा विराट कोहलीको अविजित ८२ रनको इनिङ्सको मद्दतमा भारतले खेल ४ विकेटले जित्यो। टी–२० विश्वकप २०२२ को पहिलो खेलमा पाकिस्तानविरुद्धको जितको नायक विराट कोहली भए।

    पहिलो खेलमा भारतको दुई पटक मात्रै हार

    टी–२० विश्वकप पहिलो खेलमा भारतले अहिले सम्म २ पटक मात्र हार व्यहोरेको छ। बाँकी ५ संस्करणका पहिलो खेल जितेको बेला एक खेल वर्षाका कारण हुन सकेको थिएन।

  • सुरू भयाे सहकारी छानबिनकाे काम, दुई दिनभित्र कार्यविधि बनाइने

    सुरू भयाे सहकारी छानबिनकाे काम, दुई दिनभित्र कार्यविधि बनाइने

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ।

    बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो।

    कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ। समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो।

    बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूची भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए।

    उनले समिति सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताए।

    बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताइन्। उनले आफूहरू कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पारिन्।

    समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने जनाए। उनले समितिले गर्ने कामहरु सर्वसम्मत निर्णयको आधारमा हुने जानकारी दिए।

    समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने दाबी गरे। उनले आफूहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि सुनाए।

    समितिको तीन महिनाको समय आज पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ। समितिको आगामी बैठक शुक्रवार बस्ने बताइएको छ।