१२ वर्षको बालकले जुम्लाबाट जहाजमा स्याउ चार्टर गरेर नेपालगञ्ज सहरमा बेच्न लगेको सुन्दा अचम्म लाग्न सक्छ, तर चन्दननाथ नगरपालिका ४ कार्कीवाडाका दिलबहादुर रोकायाले २०४६ सालमा १२ वर्षको उमेरमै १५ क्विन्टल स्याउ जहाजमा चार्टर गरेर नेपालगञ्ज लगेका थिए।
विमानस्थलमा उनले स्याउ चार्टर गरेर लैजाँदा यात्रुदेखि हेर्नेहरुसमेत अचम्मित हुन्थे। सानै उमेरमा बगैंचामै पुगेर स्याउ खरिद गरेर जहाजमा लैजाने विषय चानचुने थिएन, तर उनले चिसोको स्याउ लिएर गर्मीको सहर नेपालगञ्जमा बेचे।
२०४५ सालमा फुपाजु नाता पर्ने एक व्यवसायीसँग स्याउ लिएर गएका दिलबहादुरले स्याउको बजार र मुल्य सबै थाहा पाएका थिए। जसले गर्दा पनि उनलाई स्याउ चार्टर गरेर लैजान सहज थियो। तैपनि समाजले उनलाई पत्याउन सकेको थिएन।
परिवारमा उनी निकै सोझो सन्तान थिए। उनको सोझोपनका कारण भविष्यमा केही गर्न नसक्ने भन्दै घरपरिवार, छिमेकी, आफन्तहरुले समेत विश्वास मान्दैनथे। स्याउ जहाजमा बजारसम्म लैजान उनले निकै चुनौतीसामु लड्नुपर्ने भयो।
फुपाजुले पहिलोपटक एक लाख ऋण निकालेर दिलबहादुरका हातमा थमाए। स्याउ संकलनदेखि खरिदसम्म आफैं गरेर विमानस्थलसम्म आफैंले पु¥याए। पहिलो प्रयासमै उनले ४० हजार नाफा कमाए।
स्याउ चार्टर गरेर लैजाने कुरा सुन्दा परिवारले पत्याएनन्। घरमा उनी निकै कम बोल्ने भएकाले परिवार चिन्तित थियो। उतिबेला जुम्लामै स्याउको मूल्य प्रतिकेजी डेढ रुपैयाँ मात्र थियो। २०४५ सालमा फुपाजु नाता पर्नेसँग स्याउ लिएका दिलबहादुरले २०४६ सालमा आफैं जहाज चार्टर गरेर नेपालगञ्ज पु¥याएका थिए।
उनले नेपालगञ्जस्थित प्रेमलाल मण्डिवालालाई होलसेलमा स्याउ बेचेका थिए। प्रतिकेजी १२ रुपैयाँमा स्याउ दिएको अहिलेसम्म दिलबहादुरको मानसपटलमा ताजै छ। त्यतिबेला जुम्लामा निकुन एयर, एयरवेज, यति र नेपाल एयरलाइन्सको जहाज चलिरहेका थिए।
पहिलो वर्षमै तीन उडान जहाजमा स्याउ लगेका दिलबहादुरले २९ वर्षसम्म नियमित स्याउ लिइरहे। उनले स्याउ बेचेरै करोडौंको सम्पत्ति जोडेका छन्। उनी विमानस्थलमा स्याउ चार्टर गरेर लैजाँदाको दृश्यले सबैजसो दंग परिरहेका हुन्थे। उनका दौंतरी अहिले पनि उनको संघर्षको कथा सुन्दा चकित हुने पर्छन्।
पहिलो वर्षमै ४० हजार रुपैयाँ कमाएका उनी पछिल्लो समयमा किसानको बगैंचामा पुगेर स्याउ लिन थाले। गाईबस्तुलाई दाना बनाउने र खाडल खनेर भण्डारण गर्ने अवस्थामा उनले स्याउ खरिद गरेका थिए। उनको कमाइले वर्षभरिको खर्च टरिरहेको हुन्थ्यो। उसो त २०५८ सालमा उनले सरकारबाट अनुदान भाडा मात्र ५ लाख बुझेका थिए।
स्याउ बेचेर मनग्गे आम्दानी गरिरहेका उनले २०५८ सालदेखि हलिकोप्टर चार्टरमा उडाउन थाले। उनी स्याउ पठाउने र दैनिक उपभोग्यका सामान ल्याउने कार्यमा अग्रसर भए।
सुर्खेत एक लाख ४० हजार र नेपालगञ्जसम्म १ लाख ६० हजारमा हेलिकप्टर चार्टर गर्न सकिन्थ्यो। दैनिक ४ भन्दा बढी उडान हुँदा उनको दैनिक कमाइ एक लाख रुपैयाँ हुन्थ्यो। उनले १५ उडानजति हेलिकप्टर र ४० उडानजति जहाजमा स्याउ लगेको याद अहिले पनि ताजै छ।
स्याउ बेचेरै सानै उमेरमा उनले १५ हजार वर्गमिटरजतिको जग्गा जोडेका छन। जब कर्णाली राजमार्ग जोडियो त्यतिबेलादेखि उनले स्याउ लैजान छाडे। छोरी बिएन दोसो वर्षमा पढ्छिन्। छोरा आइटी पढ्ने तयारीमा छन्। कान्छो छोरी एसइइ दिएर बसेकी छन्। बुबासहित सातजनाको परिवार छ।
सानो मान्छे एयरपोर्टमा स्याउ र मान्छे पठाइरहेको देख्दा हेर्नेहरु छक्क पर्दथे। बच्चैदेखि मेहनती भएको भन्दै तारिफ गरिरहेका हुन्थे। हाँस्ने खेल्ने उमेरमा सबै संघर्ष जानिसकेका दिलबहादुर दसैं–तिहारमा साथीभाइलाई आफूले कमाएको पैसाले खुवाइरहेका हुन्थे।
उनका बुबा राष्ट्रिय अनुसन्धान प्रहरीमा हुँदै शिक्षकमा जागिरे थिए। दिलबहादुर एथ्लेटिक्सका राम्रा खेलाडी हुन्। उनले स्याउको व्यापारसँगै दौड अभ्यास गरिरहेका थिए। उनी मेहनतले मात्रै सफल भइन्छ भन्ने मान्यताले अघि बढ्ने भएकाले सबैले माया पनि गरिरहेका हुन्थे। उनी अहिले पनि व्यापार व्यवसायमा छन्।