Blog

  • देउवाले थाहा दिए-अवकाशको समय आयो

    देउवाले थाहा दिए-अवकाशको समय आयो

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अवकाश लिने सार्वजनिक भाषण गरेर नयाँ नेतृत्वको दौड खुला गरिदिएका छन् । गत १३ असारमा चितवनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले रिटायर्ड हुन लागेको बताएका हुन् ।

    ‘.. म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ’, देउवाले भनेका छन् । प्रजातन्त्र सेनानी गौरादेवी प्रधानको सातौं दिनको पुण्यतिथिमा आयोजित सभाबाट देउवाले राष्ट्रिय राजनीतिक परिस्थिति, संविधानको व्यवस्था हुँदै कांग्रेसभित्रको समस्याबारे समेत चिन्ता गरेका थिए ।

    ‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक अब मेरो कुनै उद्देश्य छैन’, देउवाले त्यही कार्यक्रम मार्फत संकल्प पनि गरेका थिए । तर प्राय: लामो भाषण नगर्ने देउवाले त्यस दिन जति बोले, त्यसलाई कांग्रेस वृत्त र राष्ट्रिय राजनीतिले चासोका साथ हेरेको पाइन्छ ।

    विशेषगरी पार्टीको विधान मानेर नेतृत्वबाट अवकाश लिने देउवाको भाषणलाई राजनीतिक वृत्तमा चासोका साथ लिइएको छ । ‘आफ्ना पुराना मित्र गुमाउनुको शोकमा त्यहाँ पुग्नुभएको थियो, त्यसैले वैराग्य लागेको पनि हुनसक्छ’ राजनीतिक विश्लेषक शंकर तिवारी भन्छन्, ‘तर त्यहाँको परिस्थिति कस्तो थियो भन्ने कुरा छोड्ने हो भने उहाँले सहज अवकाशमा जाने स्पष्ट सन्देश दिनुभयो ।’

    कांग्रेसको पार्टी विधानले लगातार दुईपटक भन्दा बढी सभापति हुन दिंदैन । त्यसो हुँदा देउवाले अवकाश लिने घोषणा गर्नु नौलो विषय नहुनुपर्ने हो । तर स्वयं देउवाको पृष्ठभूमि, समकालीन नेताहरूले नेतृत्व नछोड्न गरिरहेको हत्ते र कांग्रेसभित्रको शक्ति–समीकरणले पनि विधानको व्यवस्था बमोजिम अवकाशमा जाने देउवाको घोषणालाई सामान्य निर्णय मान्न सकिंदैन ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, पार्टी विधानको स्वाभाविक प्रक्रिया अन्तर्गत देउवाले अवकाश लिने घोषणा गर्नुमा धेरै पक्षले काम गरेको देख्छन् । ‘मुख्य कुरा उहाँले इच्छा देखाउनुभएन, रहर गर्नुभएन । शायद क्षमता पनि रहेन होला’ उनी भन्छन्, ‘उमेरले पनि साथ दिने देखिंदैन ।’

    गत ३१ जेठमा देउवा ७९ वर्ष पुगे । धेरैले यही बढ्दो उमेर र पार्टी विधानको व्यवस्थालाई आधार मानेर देउवाको राजनीतिक अवकाशलाई स्वाभाविक प्रक्रिया भनेका छन् । तर अरू परिस्थिति र तथ्य पनि हेर्दा देउवाले तेस्रो पटक पनि सभापतिको चाहना राख्न सक्थे ।

    विशेषगरी देउवालाई तेस्रो पटक नेतृत्वमा रहन मुलुकको कानूनले रोक्दैन । संविधान र निर्वाचन कानूनले कुनै व्यक्ति कति समय पार्टी नेतृत्वमा रहन सक्छन् भन्ने विषय किटान गरेको छैन । निर्वाचन कानूनले पाँच वर्षभित्र महाधिवेशनबाट नेतृत्व अनुमोदन हुनुपर्ने व्यवस्था मात्र गरेको छ ।

    यदि देउवाले नेतृत्वमा रहन चाहेका थिए भने पार्टीको विधान संशोधन गर्न पनि सक्थे । ‘पार्टीभित्र ८० प्रतिशत बढी होल्ड देउवाको छ, यसले गर्दा विधान संशोधन त हुन सक्थ्यो । तर त्यसको राजनीतिक सन्देश राम्रो जान्थेन, जुन विकल्पतर्फ प्रवेश नै गर्नुभएन’, राजनीतिक विश्लेषक तिवारी भन्छन् ।

    अर्थात् सत्ता साझेदार एमालेका अध्यक्ष केपी ओलीले जस्तो प्रयत्न गरिरहेका छन्, त्यसतर्फ देउवाको रुचि देखिएन । प्रधानमन्त्री ओलीले बाँचुञ्जेल अध्यक्ष रहने गरी पार्टी विधान संशोधन गर्ने प्रयास गरिरहेका छन् । ७०वर्षे उमेर हद छल्ने गरी ओलीले २०७८ असोजको विधान महाधिवेशनमै पार्टी विधानको व्याख्या गरेका थिए । अहिले एमालेमा लगातार दुई कार्यकाल बढी एउटै पदमा (पालिका तहभन्दा माथिका पदाधिकारीमा) रहन नपाउने पार्टी विधानबारे मतभेद छ ।

    ओलीले सुटुक्कै पार्टी विधानको उक्त व्यवस्था हटाउन लगाएका छन् । यो विषय आगामी विधान महाधिवेशनमा छलफलको विषय बनाउने संस्थापन इतरको तयारी छ । ओलीले गरेको यस्तो मरिहत्ते देउवाले पनि गर्न सक्थे । पदाधिकारी, केन्द्रीय समिति र प्रतिनिधिहरूमा पनि देउवाले सहज बहुमत जुटाउन सक्थे । तर देउवाले त्यस्तो बाटो रोजेनन् ।

    ‘नेपाली कांग्रेस भनेको एमाले र माओवादी जस्तो होइन । यो पार्टीभित्र फरक मतले अर्थ राख्छ, असन्तुष्टिको स्वर सम्बोधन गर्न सजिलो हुन्न’ विश्लेषक आचार्य भन्छन्, ‘कांग्रेसको लोकतान्त्रिक छवि जोगाउन शेरबहादुर देउवाले ठिकै निर्णय लिनुभयो ।’

    विश्लेषक आचार्यले भने जस्तै कम्युनिष्टहरूमा सहज अवकाश लिने नेताहरूको उदाहरण भेट्नै मुस्किल छ । नेतृत्व छोड्नुपर्दा पार्टी नै फुटाएका उदाहरण चाहिं प्रशस्त छन् । पुष्पकमल दाहाल प्रचण्ड झण्डै चार दशकदेखि माओवादी प्रमुख छन् । उनले आफूलाई चुनौती दिने सबै नेतालाई एक–एक गरी निस्कने वातावरण बनाएका छन् ।

    ओलीले आफूलाई चुनौती दिने माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरूलाई एमालेमा नरहने वातावरण बनाए । अरू स–साना कम्युनिष्टहरूमा पनि नेतृत्वमै रहिरहन मरिहत्ते चल्ने गरेको छ ।

    कम्युनिष्टमा मात्र नभएर कांग्रेसमै पनि बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरूको मृत्यु सभापति हुँदै भएको थियो । तसर्थ पनि देउवाले अवकाश लिने घोषणा गर्नुलाई कांग्रेसभित्र स्वाभाविक प्रक्रियाका रूपमा मात्र लिन मिल्दैन ।

    विश्लेषक तिवारी भने देउवाले चाहेभन्दा धेरै अवसर पाइसकेकाले यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताउँछन् । ‘जति पाउने चाहना राख्नुभएको थियो, संभवत: त्योभन्दा धेरै अवसर पाउनुभयो । त्यसैले बलजफ्ती गर्नेतिर नलाग्नु भएको हुन सक्छ ।’

    सत्ताका सहयात्री

    अब कांंग्रेस विधानले देउवालाई लगातार तेस्रोपटक सभापति बन्न दिंदैन । र, उनले नयाँ नेतृत्वका निम्ति बाटो खोल्ने गरी राजनीतिक अवकाश लिने सार्वजनिक सन्देश दिएका छन्

    महाधिवेशनको मिति निश्चित नहुँदै अवकाशको घोषणा गरेर जस्तो सन्देश देउवाले दिन खोजेका छन्, उनको सम्पूर्ण जिन्दगीको निष्कर्ष ठीक विपरीत छ । नेतृत्व लिन उनले कैयौंपटक जोखिम उठाएका छन् । त्यसक्रममा कैयौंपटक उनको राजनीति संकटमा परेको छ, तर त्यो संकटलाई अवसरमा बदल्न सफल देखिन्छन् ।

    वैभवको पारिवारिक सुविधा हुँदाहुँदै किशोरवयमै पञ्चायत विरुद्ध होमिएर उनले अप्ठ्यारो जीवन यात्रा थालेका थिए । तर अप्ठ्यारो भनेर धेरैले नचाहने बाटो देउवाले जीवनभर रोजिरहे, जसलाई समकालीनहरूले मूर्खतापूर्ण मान्थे ।

    सुदूरपश्चिमको डडेलधुरामा ३१ जेठ २००३ सालमा जन्मिएका देउवासँग चुनौती लिने क्षमताकै कारण २४ वर्षकै उमेरमा नेविसंघको सभापति भए । नेविसंघको सभापतिहुँदै बीपी कोइरालाको संगतमा पुग्दा देउवाले राजनीतिका लगभग सबै पाटा सिके । जुन शिक्षा उनले २०४६ सालपछिको खुला राजनीतिमा उपयोग गरेको देखिन्छ ।

    समकालीन नेताहरूलाई उछिन्दै देउवा पार्टी र राज्य सत्ताको नेतृत्वमा पटक–पटक पुगे । आफूलाई अगाडि बढाउन देउवाले ‘एकता–संघर्ष’ को अभ्यासलाई बारम्बार उपयोग गरे । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाहरूसँग नजिक भएर २०४८ सालमै उनी गृहमन्त्री बने ।

    डडेलधुराबाट संसदीय चुनाव जित्नासाथ गृहमन्त्री बनेका देउवाले त्यसपछि डडेलधुराबाट आजपर्यन्त हार्नु परेको छैन । कांग्रेसका निम्ति प्रतिकूल रहेको २०५१, २०६४ र २०७४ को आमचुनावमा पनि देउवाले जिते । कांग्रेसलाई तुलनात्मक सजिलो रहेको २०४८, २०५६, २०७० र २०७९ को चुनावमा त देउवाले जितिहाले ।

    कहिल्यै चुनाव नहार्नुमा देउवाले जित्दा प्राप्त हुने अवसरको सम्भावना हो । २०४८ सालमा गृहमन्त्री हुनासाथ उनले डडेलधुरावासीलाई अब प्रधानमन्त्री बन्ने योजना सुनाएका थिए । योजना बमोजिम देउवा प्रधानमन्त्री बने ।

    २७ भदौ २०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री हुनुमा कांग्रेसभित्रको अन्तरसंघर्षले पृष्ठभूमि तयार पारेको थियो । यदि कांग्रेसको राजनीतिक कोर्स सरलरेखामा बगेको थियो भने संभवत: देउवा त्यति चाँडो प्रधानमन्त्री बन्ने थिएनन् ।

    तर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको संघर्षकै कारण २०५१ को मध्यावधि चुनावबाट देउवा निर्विरोध कांग्रेस संसदीय दलको नेता चुनिए । जुन निर्णयले देउवालाई राष्ट्रिय राजनीतिमा सरकारको नेतृत्व गर्ने मुख्य पात्रका रूपमा प्रस्तुत गर्‍यो । त्यसबेला मनमोहन अधिकारी नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन देउवाले ‘गर्न हुने–नहुने सबै’ काम गरेको आरोप लाग्ने गर्छ । २०५१–२०५६ को यो अवधिलाई संसदीय विकृतिको चरम उदाहरण पनि भन्ने गरिन्छ ।

    तर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता अघिल्ला पुस्ताकै नेताहरू नेतृत्वमा हुँदै देउवा प्रधानमन्त्री बनेपछि उनमा हौसला बढ्ने नै भयो । अगाडिको राजनीतिक घटनाक्रममा देउवाले त्यो हौसला लुकाएनन् ।

    २०५७ को दशौं राष्ट्रिय महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमै प्रतिस्पर्धा गरे, तर हारे । सभापति हारे पनि देउवाले प्रधानमन्त्री बन्ने अवसरलाई गुम्न दिएनन् । ७ साउन २०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बन्दा कांग्रेस विभाजित भयो । देउवाले चाहेको भए प्रधानमन्त्री पद त्यागेर पार्टी विभाजन रोक्न सक्थे ।

    तर देउवा भिड्ने मूडमै गए, सभापति गिरिजाप्रसाद कोइरालाले गरेको कारबाहीलाई उनले अर्को पार्टी, कांग्रेस (प्रजातान्त्रिक) बनाउने अवसरका रूपमा लिए । फुटेकै कांग्रेसको भए पनि देउवा सभापति भए । नेताहरूका अनुसार त्यसैबेला विभाजित कांग्रेसको सभापति बन्न रामचन्द्र पौडेललाई आग्रह गरिएको थियो । तर पौडेल तयार नभएपछि देउवा आफंै सभापति बने ।

    कांग्रेस (प्रजातान्त्रिक) का सभापतिको हैसियतमा २१ जेठ २०६१ मा देउवा तेस्रोपटक पनि प्रधानमन्त्री भए । संसद् विघटन गरेर राजा ज्ञानेन्द्रले पालैपालो प्रधानमन्त्री बनाउन थालेका थिए । त्यही शृङ्खलामा एमाले सहितको सरकार बन्यो, देउवा प्रधानमन्त्री भए ।

    तर तेस्रोपटक प्रधानमन्त्री बन्दा देउवालाई राजा ज्ञानेन्द्र शाहले ‘अक्षम’ भन्दै १० महिना नजरबन्दमा राखे । सत्ताको पछाडि दौडिएको देउवाका निम्ति यो समय असाध्यै संकटपूर्ण थियो । पार्टी फुटाएर कांग्रेस (प्रजातान्त्रिक) को नेतृत्व गरिरहेका देउवा नजरबन्दमा थिए, तर राष्ट्रिय राजनीतिको बहाव गिरिजाप्रसाद कोइराला नेतृत्वतर्फ बढिरहेको थियो । नभन्दै दोस्रो जनआन्दोलन सफल भयो । राजतन्त्र नै ढल्यो ।

    तर बदलिएको परिस्थितिमा देउवाले पनि गिरिजालाई सभापति मानेर पार्टी एकता गर्ने निर्णय लिए । तीनपटक प्रधानमन्त्री र कांग्रेस प्रजातान्त्रिकका सभापति भइसकेका देउवा दोस्रो वरीयताका नेताको हैसियतमा बस्न मञ्जुर भए, बसे ।

    तर ६०/४० को अनुपातमा पार्टी एकता गरेपछि देउवाले सग्लो कांग्रेसकै सभापति बन्ने प्रयत्न गर्न छाडेनन् । धेरैलाई देउवाको प्रयत्न असम्भव जस्तै लाग्थ्यो । किनकि जुन पार्टी फुटाउने नेतृत्व गरे, त्यही पार्टीमा फर्किएर सभापति बन्ने चाहना राखेका थिए ।

    योजना बमोजिम पार्टी एकतापछि १२औं महाधिवेशनबाटै देउवा सभापति पदमा भिड्न थाले । गिरिजाप्रसाद कोइरालाको निधनपछि कार्यवाहक सभापति रहेका सुशील कोइरालासँग १२औं महाधिवेशनमा पराजित भए । गिरिजा जस्तै सभापति पदमै सुशील कोइरालाको पनि निधन भयो । रामचन्द्र पौडेल कार्यवाहक सभापति भए ।

    अब देउवाले १३औं महाधिवेशनमा रामचन्द्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । उमेरले ६९ वर्षका देउवालाई यो अन्तिम अवसर भनिएको थियो । नभन्दै कार्यवाहक सभापति पौडेललाई हराएर देउवा सभापति निर्वाचित भए । कांग्रेस फर्किएको ८ वर्षभित्रै सभापति बन्न देउवाले अनेक नेताहरूसँग सम्झौता र संघर्ष गरे ।

    देउवा सभापति बनेलगत्तै माओवादीसँग मिलेर सरकार बनाउन सफल भए । २०७३ मा चौथोपटक देउवा प्रधानमन्त्री भए । तर २०७४ को चुनावमा वाम शक्तिहरू बीच ऐतिहासिक गठबन्धन भयो, एमाले–माओवादी गठबन्धनले दुई तिहाइ सिट जित्दा कांग्रेस ६३ सिटमा खुम्चियो ।

    कांग्रेस राजनीतिको यस्तो प्रतिकूलतामा पनि २०७८ साउनमा देउवा पाँचौंपटक प्रधानमन्त्री भए । तत्कालीन नेकपाभित्र बढेको अन्तरकलह र विभाजनले देउवालाई प्रधानमन्त्री बन्ने अवसर जुरेको थियो । प्रधानमन्त्री हुँदै २०७८ पुसमा सम्पन्न १४औं महाधिवेशनमा देउवाले दोस्रोपटक सभापति जिते, शेखर कोइराला निकटतम प्रतिस्पर्धी थिए ।

    अब कांंग्रेस विधानले देउवालाई लगातार तेस्रोपटक सभापति बन्न दिंदैन । र, उनले नयाँ नेतृत्वका निम्ति बाटो खोल्ने गरी राजनीतिक अवकाश लिने सार्वजनिक सन्देश दिएका छन् ।

    (अनलाइनखबर)

  • भारतमा औषधि उद्योगमा विस्फोट : मृत्यु संख्या ३४ पुग्यो

    भारतमा औषधि उद्योगमा विस्फोट : मृत्यु संख्या ३४ पुग्यो

    भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

    घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

    तेलंगनाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विष्फोट भएको थियो । विष्फोटबाट उद्योगको भवन भत्किएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलमा आगो लागेको देखिन्छ ।

    यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारको दरले राहत दिने घोषणा गरेका छन् ।

  • दैलेखमा अटो पल्टिदा १ जना घाइते

    दैलेखमा अटो पल्टिदा १ जना घाइते

    दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक जना घाइते भएका छन्। दैलेख बजारदेखि चुप्रा जाँदै गरेको अटो अनियन्त्रित भई पल्टिएको हो।

    इन्द्रबहादुर पराजुलीले चलाएको भे १ ह १९०९ नम्बरको अटो पल्टिदा चारजना सवारी मध्ये एकजना घाइते भएका छन्। सवार भएका मध्य तीनजनालाई सामान्य भएको र एकजना बिमा थापा मगरको हातको औंला भाँचिएको निधार र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

    पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

    साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।

    प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

    पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

  • सुर्खेतमा औद्योगिक प्रदर्शनी, उत्कृष्टलाई पुरस्कार

    सुर्खेतमा औद्योगिक प्रदर्शनी, उत्कृष्टलाई पुरस्कार

     कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले  असार २० देखि २२ गतेसम्म प्रादेशिक औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ मा अवस्थित लघु औद्योगिक ग्राममा हुने उक्त प्रदर्शनीमा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

    कर्णाली प्रदेशका लघु, घरेलु तथा साना उद्यमीहरूले आफ्ना उत्पादन र सेवाको गुणस्तर, ब्रान्ड र परिमाणका बारेमा सर्वसाधारण, व्यापारी तथा सरकारी निकायलाई जानकारी दिने र उत्पादनको बजार विस्तार गर्न प्रदर्शनी आयोजना गरिएको निर्देशनालयका निर्देशक देविलाल सापकोटाले जानकारी दिए ।

    प्रदर्शनीमा सहभागिता जनाउन चाहने उद्यमीहरूले २०८२ असार १७ गतेसम्म आफ्नो उद्योगका उत्पादन विवरणसहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन इमेल udyogkarnali@gmail.com मा पठाउन वा निर्देशनालयको प्रशासन शाखामा बुझाउन सकिनेछ। सहभागिताका शर्तहरू आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, उद्योग दर्ता तथा नवीकरण प्रमाणपत्र, आयकर दर्ता र करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ ।

    अपाङ्गता र एकल महिला उद्यमीका लागि सोको प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ। कृषि तथा वन पैदावारमा आधारित उत्पादन, परम्परागत सीपमा आधारित उत्पादन, महिला उद्यमी समूह वा सहकारी उद्योग र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिइनेछ।

    एउटै प्रकारको उत्पादन भएकाहरूमध्ये पुरानो उद्योग र महिला, अपाङ्गता भएका व्यक्ति वा एकल महिला उद्यमीलाई प्राथमिकता दिने बताइएको छ । पुरस्कार र सुविधा प्रदर्शनीमा प्रथम हुनेलाई ५०,०००, द्वितीयलाई ३०,००० र तृतीय हुनेलाई २०,००० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । सुर्खेत बाहिरबाट आउने सहभागीलाई यातायात, ढुवानी र खानावास खर्चबापत अधिकतम ३,००० रुपैयाँ र सुर्खेत जिल्लाभित्रका सहभागीलाई ६०० रुपैयाँसम्म उपलब्ध गराइनेछ। थप जानकारीका लागि ९८४४४५०५०४ वा ९८४८०३५४३४ मा सम्पर्क गर्न सकिने निर्देशनालयले जनाएको छ।

  • सेयर बजार बढ्दा पनि घट्यो कारोबार

    सेयर बजार बढ्दा पनि घट्यो कारोबार

    सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।

    अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढे ।

    फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटे ।

    राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो ।

    पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.६५, पिपुल्स हाइड्रोपावरको ३.७५, पाँचथर पावरको ३.४९, कालिका पावरको ३.४२ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

  • पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

    पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

     नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।

    ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ उनी निकट स्रोत भन्छ, ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’

    ती स्रोतले बताए अनुसार, आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारी छ ।

    ‘अहिले सरकारले उहाँलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ’, उनी भन्छन् ।
    पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।

    भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।

  • कर्णालीमा औद्योगिक विकास कमजोर, कृषि र सेवामै निर्भरता

    कर्णालीमा औद्योगिक विकास कमजोर, कृषि र सेवामै निर्भरता

     कर्णालीमा औद्योगिक तथा आर्थिक प्रतिष्ठान न्यून रहेका छन् । आर्थिक गणना २०७५ का अनुसार दर्जनभन्दा बढी मात्र आर्थिक प्रतिष्ठान कर्णालीमा सञ्चालनमा रहेका छन् ।

    प्रदेशमा ठुला उद्योग कलकारखाना स्थापना हुन सकेका छैनन् । बेरोजगारीको अवस्था विकराल छ । लगानीमैत्री वातावरण नहुँदा जलविद्युत् आयोजना अध्ययनमै सीमित बनेका छन् । ठुला उद्योग कलकारखाना नहुँदा सरकारको आन्तरिक आम्दानी पनि न्यून छ । यो अन्य प्रदेशको तुलनामा न्यून हो । तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतले २०७५ मा आर्थिक गणना गरेको थियो । अध्ययनमा प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन क्षेत्र पर्छन् भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत्, ग्यास, पानी, निर्माणलगायतका क्षेत्र पर्छन् ।

    आर्थिक गणनामा प्रदेशभर छ हजार २३५ वटा होटेल व्यवासाय रहेको पाइएको छ । प्रदेशभर १३ हजार ३९८ जनशक्ति कार्यरत छन् । वित्तीय तथा बिमा क्षेत्र ७०९ वटा रहेका छन् जसमा पाँच हजार ९५४ जनशक्ति कार्यरत छन् । शिक्षातर्फका आर्थिक प्रतिष्ठान तीन हजार ३७४ वटा रहेका छन्, यसमा २८ हजार ५१८ जनशक्ति कार्यरत छन् । यस्तै प्रदेशमा मानव स्वास्थ्य तथा सामाजिक कार्यका प्रतिष्ठान एक हजार ५५५ वटा रहेका छन्, यसमा पाँच हजार ९९७ ले रोजगारी पाएका छन् । अन्य सेवा सञ्चालन गर्ने प्रतिष्ठान एक हजार ६०७ वटा रहेका छन्, यसमा छ हजार ४३७ ले रोजगारी पाएका छन् ।

    यसै गरी थोक तथा खुद्रा व्यापारका प्रतिष्ठान २२ हजार ७२८ रहेकोमा ४० हजार २९ जनशक्ति कार्यरत छन् । प्रदेशमा औद्योगिक उत्पादन प्रतिष्ठान चार हजार ४२८ वटा रहेका छन् । उक्त प्रतिष्ठानमा नौ हजार ८८३ जनशक्ति कार्यरत छन् । कृषि वन तथा माछापालन व्यवसाय प्रतिष्ठान एक हजार ५९० वटा छन् । ती प्रतिष्ठानमा चार हजार ३२४ जनशक्ति कार्यरत छन् । तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतले दोस्रो आर्थिक गणना गर्न लागेको छ । पहिलो आर्थिक गणना २०७५ सालमा गरिएको थियो । पाँच÷पाँच वर्षमा आर्थिक गणना हुने भए पनि ढिला मात्र दोस्रो आर्थिक गणना गर्न लागिएको हो । आगामी आवदेखि गणना सुरु गरिने कार्यालय प्रमुख विनोद आचार्यले बताए । उनका अनुसार दोस्रो आर्थिक गणना गर्न लागिएको हो ।

    कर्णालीमा ठुला उद्योग तथा कलकारखाना नभएकाले सेवा क्षेत्र र कृषि, वन तथा खनिज क्षेत्रको योगदान बढी रहेको छ । यस्तै कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान गरिएको छ । चालु आव २०८१÷८२ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्य अनुसार ४.७४ प्रतिशत रहने अनुमान गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय, काठमाडौँले सार्वजनिक गरेको कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमान अनुसार कर्णालीको अर्थतन्त्रको आकार, अर्थात् कुल गार्हस्थ उत्पादन, दुई खर्ब ५५ अर्ब ५९ करोड रुपियाँ हुने अनुमान गरिएको छ । यो देशको सबैभन्दा सानो आकारको अर्थतन्त्र हो । राष्ट्रिय कुल गार्हस्थ उत्पादन ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा कर्णालीको वृद्धिदर केही माथि रहेको बताए । राष्ट्रिय वृद्धिदर ४.६१ प्रतिशत रहेकामा कर्णालीको ४.७४ प्रतिशत रहेको उनले जानकारी दिए । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दो अवस्थामा रहेकाले अवस्था सन्तोषजनक रहेको उनले बताए । आव २०७९÷८० मा दुई खर्ब ३० अर्ब रुपियाँ रहेको कुल गार्हस्थ उत्पादन आव २०८०÷८१ मा दुई खर्ब ५० अर्ब रुपियाँ पुगेको थियो । चालु आव २०८१÷८२ मा दुई खर्ब ५५ अर्ब रुपियाँ पुगेको आचार्यले जानकारी दिए ।

  • मुम्बई विमानस्थलबाट १६ जीवित सर्पसहित यात्रु नियन्त्रणमा

    मुम्बई विमानस्थलबाट १६ जीवित सर्पसहित यात्रु नियन्त्रणमा

     थाइल्यान्डबाट भारत फर्किएका एक यात्रुको साथबाट १६ वटा जीवित सर्प बरामद भएको छ।

    मुम्बई विमानस्थलमा भारतीय भन्सार अधिकारीहरूले ती सर्पसहित यात्रुलाई नियन्त्रणमा लिँदै तस्करी प्रयास विफल बनाएका हुन्।

    यो घटना चालु महिनामै भएको तेस्रोपटकको वन्यजन्तु तस्करी प्रयास हो। पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

    जफत गरिएका सर्पहरूमा गार्टर सर्प, राइनो र्‍याट सर्प, र केन्याली स्यान्ड बोआजस्ता प्रजातिहरू छन्, जुन प्रायः विषरहित मानिन्छन्। यस्ता जीवजन्तुहरू प्रायः गैर कानुनी रूपमा व्यापार गर्ने उद्देश्यले तस्करी गरिने गरिएको पाइन्छ।

    वन्यजन्तु व्यापार निगरानी संस्था ‘ट्राफिक’ ले यस घटनालाई ‘गम्भीर चिन्ताको विषय’ भन्दै पछिल्ला साढे तीन वर्षमा मात्र थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै ७,००० भन्दा बढी जीवजन्तु जफत भइसकेको तथ्यांक सार्वजनिक गरेको छ।

    यसरी दोहोरिँदो तस्करीको प्रयासले भारत र छिमेकी देशहरूमा वन्यजन्तु संरक्षण र जैविक विविधतामाथि गम्भीर चुनौती खडा भएको ट्राफिकको भनाइ छ।