Blog

  • नदीमा हाम फालेर युवक बेपत्ता

    नदीमा हाम फालेर युवक बेपत्ता

    sharethis sharing button
     चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३, सिमारका २६ वर्षीय महेश राना रहेका प्रहरीले जानकारी दिए ।

    सोमबार (असार १६) बिहान ६ बजेतिर राना घरनजिकैको चौलानी नदीमा हाम फालेका पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका निम्ति नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

  • मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

    मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

     मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन् ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउनेलगायत रहेका छन् ।

  • पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

    पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

     प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।

    जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन-२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताए ।

    यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक नरहेको उनले बताए । उनले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गरे ।प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए ।

  • बस दुर्घटना, चालकसहित ८ जना घाइते

    बस दुर्घटना, चालकसहित ८ जना घाइते

     सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ ।

    बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो ।

    गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

  • पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड

    पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड

     नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् ।

    भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए । कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे ।
    अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए । पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको आज भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पार्टी फेरि अभियानमार्फत आफ्नै वर्गतिर फर्किएको बताएका हुन् ।

     

  • गृहमन्त्रीलाई राप्रपाको चेतावनी : फुर्ती नदेखाउनू, प्रतिपक्षमा आउनुपर्ला

    गृहमन्त्रीलाई राप्रपाको चेतावनी : फुर्ती नदेखाउनू, प्रतिपक्षमा आउनुपर्ला

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक सौहार्द हुन गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएको छ । नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उक्त पार्टीको माग छ ।

    शनिबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई चोख्याउन छानबिन आयोग बनेको बताइन् ।

    ‘गृहमन्त्रीलाई प्रश्न छ– मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदै छ ? गृहमन्त्रीज्यू तपाईंसँग यसको जवाफ छ ?,’ कार्कीले भनिन् ।

    उनले गृहमन्त्रीबाट नैतिकताको खोजी भएको पनि बताइन् । ‘गृहमन्त्रीज्यूलाई सानो सुझाव छ– बीपीले भन्नुभएको थियो जो कार्यकर्ताहरू नेताको ज्यादती सहेर बस्छन् कि त ति चरम अवसरवादी हुन कि त दास हुन्,’ कार्कीको प्रश्न छ, ‘म सोध्न चाहन्छु तपाईं कुन वर्गमा पर्नुहुन्छ ?’

    गृहमन्त्री लेखकप्रति आफ्नो बुझाइ समेत खण्डित हुन पुगेको उनले बताइन् । ‘मैले त गृहमन्त्रीज्यूलाई अलिकति सोझोसाझो भन्ठानेको थिएँ । उहाँ त चम्फो बाठो हुनुहुँदो रहेछ,’ उनले भनिन् ।

    उदाहरणको रुपमा उनले भिजिट भिसा प्रकरणबारे सरकारले गठन गरेको छानबिन समिति रहेको भनेर प्रस्तुत गरिन् ।

    ‘उहाँले यस्तो समिति बनाउनुभयो कि–त्यो समितिबाट उहाँलाई धेरै सजिलो भयोे । र कमाइलाई बचाउन पनि धेरै सजिलो भयो,’ उनले भनिन् ।

    आफूलाई बचाउने गरी गृहमन्त्रीले समिति बनाउने प्रस्ताव गरेको र सरकारले त्यसलाई अनुमोदन गरेको भनेर उनले अर्को प्रश्न गरिन् । ‘म भन्न चाहन्छु– गृहमन्त्रीजी धेरै फुर्ती नदेखाउनुस् । एकदिन यस्तो समय आउनेछ, तपाईं पनि त्यो पल्लो छेउ (सत्तापक्ष)बाट वल्लो छेउ (प्रतिपक्ष) आउनुहुन्छ । त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?,’ गृहमन्त्रीलाई राप्रपा सांसद कार्कीको प्रश्न छ ।
    भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी पैसा लिने विषय कहिल्यै उचित हुन नसक्ने उनको आग्रह छ ।

    ‘तपाईंले भिजिट भिसाको नाममा विदेश जानेसँग दैनिक जुन असुली गर्नुभएको छ, ५० लाख देखि एक करोडसम्म लिएर नेपाली जनताहरूलाई बेच्नुभएको छ,’ कार्की भन्छिन्, ‘नेपाली जनताहरू जसको रेमिट्यान्समा हामी गर्व गर्छौं, अर्थमन्त्रीज्यु गर्व गर्नुहुन्छ हामीलाई यति रेमिट्यान्स आयो भनेर । तिनिहरूलाई भिजिट भिसाको नाममा यसरी मानव तस्करी गरेर बेच्न पाइन्छ ?’

    यस्तो कार्य गर्न गृहमन्त्रीलाई नैतिकताले दिन्छ कि दिँदैन भनेर उनले फेरि पनि राजीनामा मागिन् । ‘तपाईंले जुन छानबिन समिति बनाउनुभएको छ दूधको साक्षी बिरालो जस्तो गरेर आफूलाई उम्काउने गरी । यसमा तपाईंलाई बधाइ होस्,’ उनले भनिन्, ‘तर तपाईं धेरै दिन उम्केर बस्न सक्नुहुन्न । एक दिन न एक दिन जनताको कठघरामा आउनुहुन्छ ।’

    चुनाव लड्न जाँदा जनतालाई के जवाफ दिने योजना छन् भन्दै उनले प्रश्न दोहोर्‍याइन्, ‘तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् र छानबिनाई सघाउ पुर्‍याउनुस् । निश्पक्ष छानबिन गर्न सरकारलाई सघाउनुस् ।’

  • प्रधानमन्त्रीले भने- अंक थपेर एसईईको नतिजा बढाइएको होइन

    प्रधानमन्त्रीले भने- अंक थपेर एसईईको नतिजा बढाइएको होइन

     प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अंक थपे नबढाएको दाबी गरेका छन् ।

    हिजो (शुक्रबार) मात्रै सार्वजनिक भएको ०८१ को एसईईको नतिजाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभा बैठकबाटै यस्तो दाबी गरेका हुन् ।

    ‘मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी नयाँ पुस्तालाई होच्याउने गरी विद्वानले बोलेको कुरा सुन्दा दु:ख लाग्छ । नम्बरमा खेलबाड होइन । विद्यार्थीले मिहिनत गरेर यो नम्बर ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने ।

    नतिजामा केही मानिसले अंक थपेर हचुवाको भरमा बिना आधार बोलेको भन्दै प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गरे ।

    शुक्रबार प्रकाशित भएको एसईईको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।

    ‘४८ पनि नपुगेको ठाउँबाट ६१ प्रतिशत पुगेको छ । रेकर्ड ब्रेक भयो । विद्यार्थी फेल नगर्ने परिपाटी बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले विद्यार्थीको मिहिनेतलाई अपमान नगर्न पनि आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले गत वर्षको नतिजा कमजोर भएपछि ७० प्रतिशत पुर्‍याउने बताएका थिए । यो वर्ष ६१ प्रतिशत पुगेकाले आगामी वर्ष ७० पुर्‍याउन पहल गर्ने बताए ।

    ‘मैले केही युवा शिक्षकलाई आग्रह गरे मेन्टर शिक्षकको रुपमा खटेका छन् । ल्यापटप, मोबाइल, दूरसञ्चार, इन्टरनेट सेवा पुर्‍याएर अनलाइन कक्षा भयो । डेढ लाख विद्यार्थीलाई नि:शुल्क अनलाइन कक्षा चलाइएको छ,’ ओलीले भने, ‘राम्रो काममा प्रसंशा गर्नुपर्छ । आगामी वर्ष यो भन्दा ६५–७० प्रतिशत पुर्‍याउछौँ ।’

    यसरी धेरैवर्ष यता नतिजामा उल्लेखिय सुधार भएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई संसदबाट बधाइ र धन्यावाद पनि दिए ।

    ‘धेरै वर्ष यता नतिजामा उल्लेखिय वृद्धिको खुसीको कुरा हो । मिहिनेतका साथ अध्ययन गरेर सफलतामा पुर्‍याउने देशको रेकर्ड रनारात्मक ४८ प्रतिशतबाट ६१ प्रतिशत पुर्‍याउन मिहिनेत गर्ने विद्यार्थी भाइबहिनीलाई बधाइ । पढाइमा सिकाइमा राम्रो ज्ञान दिने शिक्षकलाई धन्यवाद,’ ओलीले भने ।

  • अध्यागमन कार्यालयका केही कर्मचारी र उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय

    अध्यागमन कार्यालयका केही कर्मचारी र उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय

     त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र काठमान्डौं उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय हुन थालेका छन ।अहिले पनी त्रिभुवन अन्तराष्टिय विमान स्थालका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरु दैनिक भेटने गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा ७ जेष्ठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत छानबिन गरिरहे भएपनी अझै विकृति नरोकिएको हो । तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ । तर, यतिबेला पनि केही कर्मचारीहरूले बदमासी गर्न छाडेका छैनन् ।

    देशभित्रै एजेन्टहरूको नेटवर्क बलियो बनाएर सरकारी कर्मचारी नै त्यसमा प्रत्यक्ष संलग्न हुने गरेको खुलासा ७ जेष्ठमा अख्तियारले छापा हान्दा देखिएको थियो । ‘भ्रमण’को नाममा एजेन्टहरुले आकर्षक प्रस्ताव दिँदै उनीहरूले दुबई, मलेसिया, साइप्रस, पोल्याण्डलगायत मुलुकमा पठाउने प्रस्ताव राख्ने गरेका छन । परिवारको सपना, गरिबीको पीडा र उज्ज्वल भविष्यको कल्पनाले युवाहरू सजिलै झुक्किन्छन् ।त्यसको प्रत्यक्ष फाइदा काठमाण्डौमा रहेका ट्राभल एजेन्ट , विमानस्थलका अध्यागमनका कर्मचारी र ट्रार्भल एजेन्सीका सञ्चालकहरुले लिने गरेका छन ।

    गएको वैशाख महिनामा कतारको दोहामा भिजिट भिषामा पुगेका करिब ५० जना नेपाली युवा बेरोजगार र अलपत्र अवस्थामा भेटिए । उनीहरूलाई एजेन्टहरूले होटल र सेक्युरिटी गार्डको काम पाउने भन्दै ३ देखि ५ लाख रुपैयाँसम्म लिई पठाएका थिए । उनीहरु विचल्लीमा परेको खवर सो समयमा प्रमुख प्राथमिकतामा समेत परेका थिए । भिजिट भिषामा जानेहरु सुरक्षाकर्मीबाट दुव्र्यवहार, गिरफ्तारी र डिपोर्टेसनजस्ता समस्यामा परेका थुप्रै घटना देखिएका छन् ।तर पनी त्रिभुवन विमानस्थलबाट भिजिट भिषामा महिलाहरु साउदी , कतार , ओमन लगायतका देशमा दैनिक रुपमा एजेन्ट मार्फत जाने गरेका छन । त्यसलाई सहजिकरणका लागी सिमित कर्मचारीले आफनो स्वार्थ सिद्ध गर्नको लागी अहिले पनि निरन्तर ट्रार्भल एजेन्सीका सञ्चालकहरु सगँ कार्यालय समय पछी भेटने गरेका छन ।

    स्रोतका अनुसार, कुवेत, दुबई, ओमान लगायतका खाडी मुलुकहरूमा आकर्षक तलब र सुरक्षित जागिरको झूटो प्रलोभन देखाई महिलाहरूलाई भिजि६ भिषा को प्रयोग गरी वैदेशिक गन्तव्यमा पठाइन्छ। तर त्यहाँ पुगेपछि उनीहरूलाई घरेलु कामदारका रूपमा काम गर्न बाध्य पारिन्छ, पासपोर्ट खोसिन्छ, र सम्पर्क टुटाइन्छ।एक पीडित युवतीकी दिदीले भनिन्, “बहिनीलाई सफा होटलमा काम गराउने भनेर पठाइएको थियो, तर पछि थाहा भयो कि उसलाई एक घरमा थुनेर राखिएको छ।”

    यस्तो प्रकारको कार्यमा संलग्न एजेन्टहरूले प्रहरी वा अध्यागमन कर्मचारीहरूसँग मिलेर प्रक्रियालाई सहज बनाउने गरेको बताइएको छ। एक अनुसन्धानमा खुलेको छ कि यो संगठित मानव तस्करीको सञ्जाल हो, जसमा ट्राभल एजेन्ट, अध्यागमनका कर्मचारी, र विदेशमा बसेका दलालहरू समेत संलग्न छन्। पीडितको उद्धार गर्न कहिलेकाहीं माईति नेपाल , ओरेक नेपाल वा नेपाली दूतावासको सहयोग आवश्यक पर्छ।मानव बेचबिखन विरुद्धको ऐन, २०६४ अनुसार यस्तो कार्य कानुनी रूपमा गम्भीर अपराध हो। दोषीलाई २० वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ। तर राज्य संयन्त्रको कमजोरी, निगरानीको अभाव, र भ्रष्टाचारका कारण यस्तो गतिविधि बारम्बार दोहोरिएको छ।

    सरकारले भिजिट भिसा प्रकरण, अध्यागमन कार्यालयमा देखिएका विकृति लगायतका विषयमा अध्ययन गर्न पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरे पनि विगतमा गठित कार्यदल तथा समितिका सुझावहरू अझै कार्यान्वयन नभएको पाइएको छ । पटक–पटक सुझाव पेश गर्न कार्यदल तथा समिति गठन हुने, तर प्रतिवेदनबमोजिम सुधार नहुने प्रवृत्ति देखिएको हो । २०८१ मंसिर १३ गते तत्कालीन गृह सचिवस्तरीय निर्णयले गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छवी रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । अध्यागमन प्रशासनलाई व्यवस्थित, सेवाग्राहीमैत्री तथा प्रविधिको अधिकतम प्रयोग हुने गरी सुधार गर्नका लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी कार्यदललाई दिइएको थियो ।

    १ महिनामा २ लाख २५ हजारले पाए प्रस्थान अनुमति

    २०८२ जेठ ९ देखि असार ८ सम्म १ महिनाको अवधिमा २ लाख २५ हजार ९७० जनाले प्रस्थान अनुमति पाएका छन् । यसमध्ये १ लाख ३८ हजार ८२७ जना नेपाली र ८७ हजार १४३ जना विदेशी छन् । अध्यागमन कार्यालयको अभिलेखअनुसार उक्त अवधिमा १ लाख २ हजार २१२ नेपाली पुरुष र ३६ हजार ६१५ जना नेपाली महिलाले प्रस्थान अनुमति पाएको देखिन्छ । त्यसैगरी ४९ हजार ८०६ विदेशी पुरुष र ३७ हजार ३३७ विदेशी महिलाले प्रस्थान अनुमति पाएको देखिन्छ ।

    प्रस्थान अनुमति पाएका नेपालीहरूमध्ये २ हजार ३९१ जना व्यवसायको सिलसिलामा, ५६० जना कन्सर्ट, सांस्कृतिक कार्यक्रम तथा इभेन्टका लागि, २ हजार ५०७ जना सेमिनार तथा तालिमका लागि, ३ हजार २२९ जना डिपेन्डेन्ट, ७७ हजार १५ जना रोजगारीका लागि, १२ हजार ३१६ जना परिवार तथा नातागोता भेट्न, १ हजार ८९० जना स्वास्थ्य उपचारका लागि, १ हजार ४६२ जना अफिसियल भिजिटका लागि, ४ हजार ६७६ जना पर्मानेन्ट रेसिडेन्ट, २९४ जना खेलकुदका लागि, ६ हजार ६०१ जना अध्ययनका लागि, १५ हजार ९०९ जना घुमघामका लागि र ३९९ जनाले यूएन मिसनका लागि गएकाहरू छन् । १ हजार ५७४ जनालाई अफलोड गरिएको छ ९१ हजार ३० पुरुष र ५४४ महिला० । २५८ जनालाई डिपोर्ट गरिएको छ ९२१६ जना पुरुष र ४२ जना महिला० । २६ जना ब्ल्याक लिस्टको सूचीमा रहेको पाइएको छ । साथै १ महिनाको अवधिमा १ लाख ८४ हजार ४४६ जना नेपाल आएको पाइएको हो । यसमध्ये १ लाख २४ हजार ६५ पुरुष र ६० हजार ३८१ महिला छन् । जसमा कुल १ लाख ५ हजार ६२७ जना नेपाली रहेका छन् ।

    भिजिट भिसा, श्रम भिसालगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूले बेहोर्नुपरेको समस्या तथा विदेशमा अवैधरूपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथाम गर्न अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेश गर्ने, अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज, छिटो छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने, विदेश प्रस्थान र आगमन गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेश गर्ने, अध्यागमनको आगमन र प्रस्थानको अभिलेखलाई सुरक्षित, दुरुस्त राख्न अपनाउनुपर्ने उपायका बारेमा सुझाव दिने कार्यादेश दिइएको छ । विगतमा पटकपटक सुझाव पेश गर्न कार्यदल गठन भएपनि अध्यागमन प्रणालीमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।