Blog

  • संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज

    संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज

    whatsapp sharing button
    साढे चार वर्षअघि संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी संवैधानिक नियुक्ति गरिएको विषयमा सर्वोच्च अदालतले बुधबार फैसला गर्ने भएको छ । यसअघि संवैधानिक इजलासबाट २८ जेठमा निर्णय सुनाउने मिति तोकिएर पनि १८ असारका लागि सारिको थियो ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा फैसला सुनाउनेछ । न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले यो मुद्दामा सुनुवाइ गरिरहेको थियो । गत १ जेठमा अन्तिमपटक सुनुवाइ गरेर निर्णय सुनाउने मितिसमेत तोकिएको थियो । तर, २८ जेठमा पुनस् समय लाग्ने भन्दै मिति सारिएको हो ।

    साढे चार वर्षअघि तत्कालीन सरकारले विभिन्न ५८ पदमा नियुक्ति सिफारिस गरेको थियो । यसको भोलिपल्टै अध्यादेशका साथसाथै नियुक्तिको वैधता परीक्षणका लागि सर्वोच्चमा रिट दर्ता भएका थिए । यसै विषयमा सर्वोच्चले फैसला गर्न लागेको हो । यस विषयमा एक दर्जनभन्दा बढी रिट विचाराधीन छन् । सर्वोच्च अदालतले लगाउमा रहेका १५ वटै मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैतमा सुनुवाइ गरेको थियो । त्यसपछि ३, ७, ८, ९, १०, २८ र ३० वैशाखमा हेर्दाहेर्दैमा राखी सुनुवाइ सकेको थियो ।

    सर्वोच्च अदालत नियमावलीको नियम ९० मा निर्णय सुनाउने मिति तोक्ने व्यवस्था छ । कुनै मुद्दामा जटिल संवैधानिक वा कानुनी प्रश्न समावेश भएमा, मुद्दामा थप अध्ययन गर्नुपर्ने वा न्यायाधीशबिच छलफल गर्नुपर्ने आवश्यकता भएमा सम्बन्धित इजलासले बढीमा एक महिनासम्मको समय तोक्न सक्ने व्यवस्था नियमावलीमा छ । यसको उपनियम ९३० मा विशेष कारण र परिस्थिति उत्पन्न भएमा तोकिएको मितिमा निर्णय सुनाउन नसकिने अवस्था परे यसको कारण खुलाई निर्णय सुनाउने अर्को मिति तोक्न सक्ने उल्लेख गरेको छ ।

    नियुक्तिको वैधता परीक्षणका विषयमा अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले साढे चार वर्षअघि नै रिट दायर गराएका थिए । संवैधानिक परिषद् अध्यादेश, यसअनुसार भएका नियुक्तिको वैधताजस्ता विषयमा कानुनी तथा संवैधानिक प्रश्न समावेश रहेको निवेदनमा थियो । १ पुस ०७७ देखि १० साउन ०७९ सम्म यी रिट दर्ता भएको सर्वोच्चको अभिलेख छ ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा रहेको गणपूरक संख्याको व्यवस्था संशोधन गरी दुईपटक तत्कालीन सरकारले विभिन्न संवैधानिक पदमा ५८ नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये पाँचजनाले नियुक्ति बुझेका थिएनन् भने ५२ जनाले नियुक्ति बुझेका थिए । यसमध्ये केही हालसम्म पनि कार्यरत नै छन् । नियुक्त भएकाहरूको कार्यकाल ६ वर्षको रहने गरेकोमा पाँचौँ वर्षमा बल्ल यो मुद्दामा निर्णय आउन लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती अध्यादेश जारी गरेकी थिइन् । ३० मंसिर ०७७ मा अध्यादेश ल्याई ३८ जनाको नाम सिफारिस गरिएको थियो । २१ वैशाख ०७८ मा पनि यस्तै अध्यादेश ल्याइयो र विभिन्न पदमा २० जनाको नाम सिफारिस गरिएको थियो । दुवैपटकका नियुक्तिविरुद्ध परेका रिटहरूमा एकैपटक फैसला आउने भएको हो ।

    तत्कालीन प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सम्मिलित बैठकले यी सिफारिस गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित थिए भने उपसभामुखको पद रिक्त थियो ।

  • संविधान सभा सदस्य यादवको निधन

    संविधान सभा सदस्य यादवको निधन

     नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको स्रोतले जनाएको छ ।

    यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए। स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए ।
    उनको २ छोरा, २ छोरी र श्रीमती रहेकी छिन्। उनको आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

  • जाजरकोटमा भूकम्पपछिको पानी संकट हट्दै, घरघरमा धारा

    जाजरकोटमा भूकम्पपछिको पानी संकट हट्दै, घरघरमा धारा

    जाजरकोट जिल्लाका ग्रामीण बस्तीका घर घरमा खानेपानी पुगेको छ ।

    नलगाड नगरपालिका–४ स्थित सार्कीवाडा, भात्चिउरा, फुलचाउली गाउँका करिब ४५ घरपरिवारको घर घरमा स्वच्छ खानेपानीको धारा पुगेको हो । भूकम्पले मुहान भासिएपछि खानेपानीको हाहाकार भएका गाउँबस्तीमा स्थानीय सरकार, आइएनएफ नेपालको साझेदारीमा घर घरमा धारा निर्माण गरेको हो । नलगाड नगरपालिका–४ स्थित भात्चिउराका १०, फुलचाउलीका चार, सार्कीवाडाका १५, प्यारगाराका १५ घरपरिवारको घरआँगनमा खानेपानी पुगेको छ । भूकम्पले आवाससहित खानेपानीमा क्षति गरेपछि समस्यामा परेका गरिब, दलित, विपन्न आर्थिक अवस्था कमजोर भएका जनताको घरआँगनमा खानेपानी धारा निर्माण गरेपछि डोकामा पानी बोकेर ल्याउनुपर्ने समस्याको अन्त्य भएको छ । छिपछिपे भात्चिउरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपा रावलका अनुसार भूकम्पले पानीको मुहान भासिएपछि खानेपानीको हाहाकार भएको गाउँमा घरमै खानेपानी आएपछि सहज भएको छ । धारा आउनुअघि उक्त गाउँमा दुई घण्टा पैदल हिँडेर ढाराखोलामा पालो पर्खिएर पानी ल्याउनुपर्ने बाध्यता थियो । अब त्यो समस्या हटेको उनको भनाइ छ ।

    करिब एक हजार दुई सय मिटरको दुरीमा रहेको छिपछिपे मुहानबाट गाउँमा पानी ल्याइएको छ । स्थानीय सरकार, साझेदार संस्थाको सहयोगमा निर्माण गरेको खानेपानीलाई व्यवस्थित गरी दिगो रूपमा सञ्चालन गर्ने उनको भनाइ छ । फुलचाउलीका चार घरपरिवारले एक हजार पाँच सय मिटर टाढा रहेको मुलपानीबाट ल्याएर खाने गरेका थिए । गाउँदेखि दुई घण्टा टाढा डिमुरापानी गएर गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो । चैत, वैशाख, जेठ र असारको आधा महिना मुहान सुकेपछि गाउँमाथिको तलाउमा जम्मा भएको पानी खाने गरेका थिए ।

  • सचिवालयका नाममा विकास बजेट दुरुपयोग

    सचिवालयका नाममा विकास बजेट दुरुपयोग

    सङ्घीय तथा प्रदेशका मन्त्री जस्तै स्थानीय तहका जनप्रतिनिधिले पनि सचिवालय गठन गरी विकास बजेट खर्च गरेको पाइएको छ ।

    पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७७ को दफा १५ को २ मा निर्धारण गरेका बाहेक अरू सेवासुविधा लिन नपाउने उल्लेख छ तर स्थानीय तहका प्रमुखले ऐनविपरीत सचिवालयमा आफन्त तथा कार्यकर्तालाई भर्ती गरेर राज्यकोषको विकासे बजेटमाथि दोहन गर्ने गरेको पाइएको हो । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले आफ्नो सचिवालय गठन गरी वार्षिक १४ लाख १३ हजार खर्च गर्ने गरेको पाइएको छ । नगरप्रमुख शाहीको सचिवालयमा छ जना कार्यरत छन् । ती सबै उनका दलका कार्यकर्ता हुन् । तिनीहरूको वार्षिक तलब मात्र १४ लाख १३ हजार खर्च हुने गरेको छ । यसमा नगर उपप्रमुख मनिराज बरालको पनि भाग छ । उनले पनि सचिवालयमा भनेर एक जना कर्मचारी राखेका छन् ।

    नरहरिनाथ गाउँपालिकाले पनि सचिवालयको नाममा रकम खर्च गर्दै आएको छ । नरहरिनाथ गाउँपालिकाले वार्षिक छ लाख ६२ हजार खर्च गर्ने गरेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । तिलागुफा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा माथि हस्तक्षेप गरेर ८३ जना करार कर्मचारी राखेर वर्षमा दुई करोड नौ लाख ८४ हजार ३८२ रुपियाँ खर्च गर्दै आएको छ । शिक्षक ७६ जनाको तलब भार अलग छ । तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्यायले चलाखीपूर्ण तरिकाले सचिवालयका व्यक्तिलाई करारको सूचीमा राअ‍ेका छन् ।

    शुभकालिका गाउँपालिकाले पनि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर सदरमुकाम मान्मलगायतका ठाउँमा सबैतिरको घरभाडामा मात्र २७ लाख ३९ हजार नौ सय खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कुनै पालिकाले सिधै सचिवालय भनेर बजेट दुरुपयोग गरेका छन् भने कतिपयले कागजी प्रक्रिया फरक गरेर कर्मचारी राखेर सचिवालय खडा गरी मन्त्रीको कार्यकक्ष जस्तै सञ्चालन गरिरहेका छन् ।

  • लालीबगरमा अझै तुइनको भरमा यात्रा

    लालीबगरमा अझै तुइनको भरमा यात्रा

     हिमाली जिल्ला हुम्लामा अझै तुइन तर्नुपर्ने बाध्यता हटेको छैन । खार्पुनाथ गाउँपालिका– १ र २ को सिमाना पर्ने लालीबगरको कर्णाली नदीमाथि तीन वर्षदेखि त्यहाँका स्थानीयले तुइन तर्नुपर्ने बाध्यता रहेको हो ।

    खार्पुनाथ गाउँपालिका–२ का बकबिर रावलले सङ्घ तथा प्रदेश सरकारले तुइन विस्थापन गर्ने योजना ल्याएको भए पनि आफूहरू कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपर्ने अवस्था रहेको बताए । कर्णाली कोरिडोरका दुल्लीकुना लालीबगर सडक निर्माणका क्रममा लालीबगरको भिरमा रहेको झोलुङ्गे पुल भत्किएपछि गाउँपालिकाले निर्माण गरिदिएको सो तुइनबाट स्थानीयवासी वारपार गररहेका छन् । कर्णाली नदी वारी आफूहरू र पारी कर्णाली कोरिडोरको सडक नियमित रहेको अवस्थामा स्थानीय तुइन चढेर नदी पार गर्ने र अनि गाडीमा यात्रा गर्नु परेको उनले जानकारी दिए। हिउँदे समयमा नदीको पानी कम हुँदा खासै डर नलाग्ने भए पनि बर्खामा भने नदीमा पानीको बहाब बढेको देख्दा आङै सिरिङ हुने उनको अनुभव छ ।

    दुई दिनअगाडि मात्र योजनाको अनुगमन गर्नु गएका सिमकोट गाउँपालिकाका प्राविधिक विकास रोकायाले तुइन तरेर आफू वडा नं २ को थाली गाउँमा पुगेको बताए । वडा नं १ बाट २ जान छ घण्टा लामो दुरी पैदल हिँड्नुपर्ने अवस्था छ भने कि तुइन तर्नु पर्छ । तुइन पनि सामान्य काम चलाउने अवस्थामा रहेको बताउँदै उनले त्रासले वारपार गर्नुपरेको उल्लेख गरे । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले लालीबगरमा तीन वर्षदेखि तुइन सुचारु रहेको बताउँदै यो बाध्यताको उपज भएको बताए । यसअघि पनि पटक पटक झोलुङ्गे पुल निर्माणका लागि सरोकारवाला निकायसँग माग गरेको भए पनि त्यो सुनुवाइ हुन नसकेको उनले जनाए ।

    वडास्तरमा अनुगमन वा अन्य कार्यक्रममा जाँदा आफूले पनि सो तुइन तरेको सुनाउँदै उनले स्थानीयलाई सुरक्षित यात्राका लागि पुल निर्माण गर्नु अति आवश्यक रहेको जानकारी दिए। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सो स्थानमा पूर्वाधार विकास कार्यालयबाट पक्की पुल निर्माणका लागि टेन्डर आह्वान भएर निर्माण कम्पनी २०७८ सालमै छनोट भए पनि हालसम्म पनि काम सुरु गरेको छैन । यसअघि जिल्लाभर आधा दर्जन तुइन सञ्चालन हुँदै आएकोमा हाल भने लालीबगरको मात्र तुइन छ । अन्यत्र सबै विस्थापित भइरहेका छन् ।

  • सुनको मूल्य घट्दै

    सुनको मूल्य घट्दै

    तोलामा दुई लाख रुपियाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपियाँले घटेको छ ।

    निरन्तर बढ्दै गएको सुनको मूल्य इजरायल र इरानबिच भएको युद्ध रोकिएसँगै घट्न थालेको हो । युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्यसमेत घट्दै गएको बताइएको छ । आगामी दिनमा थप मूल्य घट्दै जाने बताइएको छ । असार १ गते प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य दुई सातामै तोलामा नौ हजार चार सय रुपियाँले घटेर सोमबार एक लाख ८८ हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । युद्धका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य निरन्तर बढ्दै गएको थियो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले युद्ध रोकिएपछि लगानीकर्ता धमाधम सुन बेच्न आउन थालेपछि सुनको मूल्य घट्न थालेको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार डलरसम्म झर्ने अनुमान गरिएको छ शाक्यले भने त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य एक लाख ७५ हजार रुपियाँ हुन्छ । मूल्य घट्दा बजारमा सुनको माग बढ्ने हुँदा कारोबारसमेत वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ । यसअघि सुनको मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस तीन हजार ५०९ डलर पुगेको थियो । यो वर्षकै सबैभन्दा उच्च मूल्य हो । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य तोालमा एक लाख ९७ हजार नौ सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो एक÷डेढ सातादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार २७४ डलरमा आएको छ ।

    निरन्तर मूल्य घटे पनि स्थानीय बजारमा सुनचाँदीको कारोबार भने हुन नसकेको व्यवसायीको भनाइ छ । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गदै व्यवसायीले अनिश्चितकालीन पसल बन्द गर्दा कारोबार हुन नसकेको हो । दुई दिनअघिदेखि मुख्य सडकदेखि भित्री गल्लीमा रहेका सुन पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रेका छन् । पसल बन्द हुँदा गहना खरिद गर्ने ग्राहकलाई भने समस्या परेको छ । दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुन आयात गर्दै आएकामा पछिल्लो समय आयात रोकेका छन् । बैङ्कसँग ५८ किलो सुन रहेको र माग पनि नभएकाले आयात नगरेको बताइएको छ ।

    यसैबिच एक वर्षको अवधिमा बजारमा प्रतितोला सुनको मूल्य तोलामा ४६ हजार रुपियाँले बढेको छ । १६ असार २०८१ मा प्रतितोला एक लाख ४२ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर सोमबार एक लाख ८८ हजार एक सय रुपियाँमा कारोबार भएको छ । सुन आयातमा लाग्दै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्दा तोलामा एक लाख ८१ हजार पुगेको सुनको मूल्य घटेर एक लाख ४७ हजार रुपियाँमा झरेको थियो । त्यसपछि पनि क्रमिक रूपमा बढ्दै गएर सुनको मूल्य दुई लाख नजिक पुगेको
    थियो ।

  • खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या

    खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या

     रुकुम पश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गए राती चन्द्रबहादुरले धारिलो हतियार (खुकुरी) देविको घाँटिमा प्रहार गरेर हत्या गरेका छन् ।

    उक्त घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा भएको प्रहरी टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल गएको छ । हत्याको कारण भने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • रुकुम पश्चिम: अस्पताल भवन निर्माणमा खटिएका कामदार कोठामा मृत फेला

    रुकुम पश्चिम: अस्पताल भवन निर्माणमा खटिएका कामदार कोठामा मृत फेला

     रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेको निर्माणाधिन भवनका एक कामदार कोठा भित्रै मृत अवस्थामा फेला परेका छन् ।

    मुसिकोट नगरपालिका–१ स्थित अस्पतालकोनिर्माणाधिन भवनका कामदार काठमाडौं घर भएका ४० वर्षीय दिलिप तामाङ भाडामा बस्दै आएको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङ तीन महिनादेखि स्थानीय भिमा थापाको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । कोठामा एक्लै बस्ने तामाङलाई मंगलबार बिहान बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर आएको थियो ।

    सल्लेस्थित बिमानस्थल सुरक्षा गार्डबाट प्रहरी बरिष्ठ नायब निरीक्षक बिष्णु बिनोद कोईरालाको कमाण्डमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोबरमा ढोका फोरी हेर्दा तामाङलाई खाटमा सुतिरहेको र मुखबाट फिज निकालेको अवस्थामा फेला पारिएको थियो । तत्कालै जिल्ला अस्पताल सल्ले लिईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।

  • ३० जना उत्कृष्ट शिक्षक सम्मानित

    ३० जना उत्कृष्ट शिक्षक सम्मानित

    कर्णालीका प्रदेशका ३० जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा छनौट भएका ३० जना शिक्षकलाई सम्मान गरिएको हो ।


    सामाजिक विकासमन्त्री माननीय घनश्याम भण्डारीका अनुसार उत्कृष्ट शिक्षक छनौट मापदण्डका आधारमा शिक्षकलाई सम्मानित गरिएको ।
    ‘प्रत्येक जिल्लाका माध्यमिक तह एक निम्नमाध्यमिक तह एक प्राथमिक तह एक गरी जम्मा तीन जना छनौट गर्नुपर्ने थियोे,’ उनले भने, ‘जसमा कम्तिमा एक जना महिला अनिवार्य समावेश हुने गरी छनौट गर्नुपर्ने मापदण्ड बनाएका थियौं ।’
    प्रत्येक तह कक्षा ५, कक्षा ८, र एसइईको परीक्षामा उत्कृष्ट सिकाई उपलब्धी भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९/८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्ने र एउटै स्थानीय तहबाट एक मात्र पर्ने गरी सम्बन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट प्रमाणित सिफारिस हुनुपर्ने मापदण्ड तोकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।


    ५ वर्ष स्थायी सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट शिक्षक प्रोत्साहनसँग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व–घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्ने र शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ अनुसार कुनै पनि विभागिय सजाय नपाएको शिक्षक छनौट गरेर सम्मानित गरिएको निर्देशनालयले जनाएको छ ।

  • अमेरिकी विदेशी सहायता कटौतीले एक करोड ४० लाख बढी मानिसको मृत्यु हुनसक्छ

    अमेरिकी विदेशी सहायता कटौतीले एक करोड ४० लाख बढी मानिसको मृत्यु हुनसक्छ

     ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले मंगलबार प्रक्षेपण गरेको छ ।

    प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि विश्व र व्यापारिक नेताहरू भेला हुँदा सङ्कटमा रहेका सहायता क्षेत्रलाई बलियो बनाउने आशामा प्रकाशित भएको थियो ।

    अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी–युएएड) ले जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कनु अघिसम्म विश्वव्यापी मानवीय कोषको ४० प्रतिशतभन्दा बढी सहयोग गर्दै आएको थियो ।

    दुई हप्तापछि ट्रम्पका तत्कालीन निकट सल्लाहकार र संसारका धनी व्यक्ति एलन मस्कले एजेन्सीलाई ‘काठ काट्ने मेसिनमा हालेको’ भनेर घमण्ड गरेका थिए ।

    बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आइएसग्लोबल) का अनुसन्धानकर्ता एवं अध्ययनका सह–लेखक डेभिडे रसेलाले कोष कटौतीले ‘जोखिममा रहेका जनसङ्ख्याहरूको स्वास्थ्यमा दुई दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने जोखिम छ’ भनी चेतावनी दिए ।

    ‘धेरै निम्न र मध्यम आयका देशहरूका लागि यसको परिणामले हुने आघात विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मापदण्डसँग तुलना गर्न सकिन्छ’, उनले एक विज्ञप्तिमा भने ।

    एक सय ३३ राष्ट्रको तथ्याङ्कलाई फर्केर हेर्दा अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले युएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ ।

    यो इतिहासको सबैभन्दा घातक द्वन्द्व दोस्रो विश्वयुद्धमा मर्ने अनुमानित सङ्ख्याभन्दा बढी हो । शोधकर्ताहरूले यस वर्षको सुरुमा अमेरिकी सरकारले घोषणा गरेको तथ्याङ्कले मृत्युदरलाई कसरी असर गर्नसक्छ भनेर ८३ प्रतिशतले कोष कटौती गर्ने भनेर प्रक्षेपण गर्न मोडलिङ पनि प्रयोग गरे।

    कटौतीले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढीको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । उक्त सङ्ख्यामा पाँच वर्षमुनिका ४५ लाखभन्दा बढी बालबालिका थिए अर्थात एक वर्षमा करिब सात बालबालिकाको मृत्यु।

    तुलनाका लागि भन्नुपर्दा करिब एक करोड सैनिक प्रथम विश्वयुद्धको समयमा मारिएको अनुमान गरिएको छ ।

    युएसएडद्वारा समर्थित कार्यक्रमहरू सबै कारणबाट हुने मृत्युको १५ प्रतिशत कमीसँग जोडिएको शोधकर्ताहरूले निर्धारण गरेका छन् ।

    पाँच वर्षमुनिका बालबालिकाका लागि मृत्युको गिरावट दुई गुणा तीव्र अर्थात ३२ प्रतिशत थियो ।

    युएसएडद्वारा समर्थित कार्यक्रमहरू सबै कारणबाट हुने मृत्युको १५ प्रतिशत कमीसँग जोडिएको शोधकर्ताहरूले निर्धारण गरेका छन् ।

    रोगबाट हुने रोकथाम योग्य मृत्युलाई रोक्न युएसएड कोष विशेष गरी प्रभावकारी भएको पाइएको थियो ।

    युएसएडको उच्च स्तरको सहायता पाउने देशहरूमा कम वा कुनै सहायता नपाउने देशहरूको तुलनामा एचआइभी/एड्सबाट हुने मृत्यु ६५ प्रतिशत कम थियो भनेर अध्ययनले पत्ता लगाएको छ ।

    मलेरिया र उपेक्षित उष्णकटिबन्धीय रोगहरूबाट हुने मृत्युहरू पनि समान रूपमा आधामा कटौती भएको थियो ।

    मोजाम्बिकको म्यानहिका हेल्थ रिसर्च सेन्टरका अध्ययनका सह–लेखक फ्रान्सिस्को साउटले युएसएडले एचआइभी, मलेरिया र क्षयरोग जस्ता रोगहरूसँग लड्न कसरी मद्दत गर्‍यो भनेर जमिनमा देखेको बताए ।

    ‘अहिले यो सहायता कटौतीले जीवनलाई मात्र जोखिममा राख्दैन – यसले निर्माण गर्न दशकौँ लागेको महत्त्वपूर्ण पूर्वाधारलाई पनि कमजोर बनाउँछ’, उनले जोड दिए ।

    बोस्टन विश्वविद्यालयका रोग मोडलर ब्रुक निकोल्सले सञ्चालन गरेको भर्खरै अपडेट गरिएको ट्र्याकरले अमेरिकी सहायता कटौतीको परिणामस्वरूप पहिले नै लगभग एक लाख आठ हजार वयस्क र दुई लाख २४ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको अनुमान गरेको छ ।

    ट्र्याकरका अनुसार यसले प्रत्येक घण्टामा ८८ जनाको मृत्यु हुने गर्छ । एसएड बन्द भएपछि फ्रान्स, जर्मनी र बेलायतलगायत अन्य धेरै प्रमुख दाताले आफ्नो विदेशी सहायता बजेट घटाउने योजना घोषणा गर्दै त्यसको पछि लागे ।

    ‘यी सहायता कटौतीले विशेष गरी युरोपेली सङ्घ (इयु) मा आगामी वर्षहरूमा अझ बढी मृत्युहरू निम्त्याउन सक्छ”, आइएसग्लोबलको अध्ययन सह–लेखक क्याटरिना मोन्टीले भने ।

    तर डरलाग्दो प्रक्षेपणहरू हालको प्रतिज्ञा गरिएको सहायताको मात्रामा आधारित छन् भन्दै त्यसैले स्थिति परिवर्तन भएमा तुरुन्तै घट्नसक्ने अनुसन्धानकर्ताहरूले जोड दिए ।

    एक दशकमा सबैभन्दा ठूलो सहायता सम्मेलनका लागि यस हप्ता स्पेनी सहर सेभिलमा दर्जनौँ विश्व नेताहरू भेला भइरहेका छन् ।

    युएसएड बन्द भएपछि फ्रान्स, जर्मनी र बेलायतलगायत अन्य धेरै प्रमुख दाताले आफ्नो विदेशी सहायता बजेट घटाउने योजना घोषणा गर्दै त्यसको पछि लागे ।

    तर, संयुक्त राज्य अमेरिका भने उपस्थित हुनेछैन । ‘अहिले कम गर्ने होइन, बढाउने समय हो’, रसेलाले भन्नुभयो ।

    आफ्नो सहायता कटौती हुनुअघि युएसएडले सम्पूर्ण अमेरिकी सङ्घीय खर्चको शून्य दशमलव तीन प्रतिशत प्रतिनिधित्व गर्थ्यो ।

    ‘अमेरिकी नागरिकहरूले युएसएडमा प्रतिदिन लगभग १७ सेन्ट अर्थात प्रतिवर्ष करिब ६४ डलर योगदान गर्छन्’, लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयका अध्ययनका सह–लेखक जेम्स म्याकिन्कोले भने, ‘मलाई लाग्छ कि लाखौँको ज्यान बचाउन यति सानो योगदान कति प्रभावकारी हुनसक्छ भन्ने थाहा भएमा अधिकांश अमेरिकीले युएसएडको निरन्तर कोषलाई समर्थन गर्नेछन्।’