सिरोहियालाई तेस्रो पटक म्याद थप गर्न एम्बुलेन्समै अदालत ल्याइयो

नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थप गर्न धनुषा अदालत ल्याइएको छ।

मुटुमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएकोमा उनलाई सोही अस्पतालको एम्बुलेन्स मार्फत अदालतसम्म ल्याइएको हो।

दोस्रोपटक दिएको म्याद आज सकिने भएपछि तेस्रो पटक म्याद थपका लागि उनलाई अदालतमा पेश गर्न लागिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

पहिलोपटक गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रबार ३ दिनको म्याद थप गरिएको थियो।

डिएसपी अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको बताए।

यसअघि सिरोहियाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरू रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए।

सिरोहियालाई गत मङ्गलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *