गोरखाको साम्दोमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) को आइतवार स्थापना गरेको छ। योसँगै चीनतर्फ बिओपीको संख्या १० पुगेको बलका डिएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए।

सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको उनले बताए।

नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायतका कार्यमा सहज हुने छ।

समुन्द्री सतहतबाट करीव ३ हजार ८ सय ७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ। हाल भारततर्फ २ सय ४४ र चीनतर्फ १० गरी बिओपीको संख्या २ सय ५४ वटा पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *