Blog

  • चाँगुको चुनौती ‘डोजर आतंक!’

    चाँगुको चुनौती ‘डोजर आतंक!’

    भक्तपुरको चाँगुनारायण नगरपालिकाको मुख्य चुनौती ‘डोजर आतंक’ देखिएको छ। चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिका क्षेत्रमा जताततै अवैध रूपमा चल्ने डोजरले आतंक नै मच्चाएको जनाए।

    खुला क्षेत्रका रूपमा रहेको यो नगरपालिका क्षेत्रभरिका सबै वडाहरूमा अवैध प्लटिङ चलाउने र त्यसका लागि डोजर आतंक हुने गरेको उपप्रमुख बुढाथोकीले बताए।

    पूर्ववत् विभिन्न गाविसहरू मिलेर पछिल्लो पटक यो क्षेत्र चाँगुनारायण नगरपालिका घोषणा भएको थियो। भक्तपुरको उत्तरी क्षेत्रमा रहेको यो नगरपालिका पश्चिममा दुवाकोटदेखि पूर्वमा ताथलीसम्म रहेको छ।

    उपप्रमुख बुढाथोकीका अनुसार अनुमति लिएर जग्गा प्लटिङका लागि नगरपालिकाले स्वीकृति पनि दिँदै आएको छ। अनुमति लिएर डोजर चलाउनेहरूले नगरपालिकालाई राजस्व तिर्नुपर्छ। तर तिर्नेहरूसँगै बिनाअनुमति पनि सबै वडाहरूतिर डोजर चल्ने गरेको उनले बताए।

    ‘नगरपालिका घोषणा भएको पहिलो पाँच वर्षका नगरप्रमुख र उपप्रमुख पनि माटो र बालुवामै बिते,’ उनले भने, अबको यो दोस्रो पाँच वर्षको कार्यकाल पनि यसमै बित्नेजस्तो देखिएको छ।’

    नगरपालिका क्षेत्रभरि माटो ओसारपसार गर्ने र अवैध रूपमा बालुवा निकासी नियन्त्रणमै नगरका जनप्रतिनिधिहरूको वर्ष बितको उनको भनाइ हो। उनका अुनसार यसरी अवैध रूपमा डोजर चलाउनेहरूलाई कारबाही पनि गर्दै आएको छ। तर पनि समस्या जस्ताको तस्तै छ।

    ‘अवैध चलेका डोजर नगर प्रहरीले देख्यो कि साँचो लिएर आउने गर्छन्,’ उनले भने, ‘साँचो लिन नगरपालिका आउँदा एउटा डोजर बराबर ५० हजार जरिबाना तिर्नुपर्छ।’

    राजस्व संयोजकसमेत रहेका उपमेयर बुढाथोकीका अनुसार अवैध चलाइएका यस्ता डोजरबाट मात्रै चालु आर्थिक वर्षको वैशाखसम्म २२ लाख ५४ हजार जरिबाना रकम उठेको छ। ‘आजै मात्र एउटा नगर प्रहरीले कब्जा गरी ल्याएको एउटा डोजरको साँचो लिन आउनेलाई ५० हजार जरिबाना तिराइयो,’ उनले भने, ‘कति ठाउँहरूमा साँचो खोसाखोस गर्ने क्रममा झडपसमेत हुने घटना सामान्य भइसक्यो।’

    उपप्रमुख बुढाथोकीले आफूले कार्यभार सम्हालेको दुई वर्ष बित्दाका अनुभव सुनाउन आइतबार नगरपालिका सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा स्वीकृति लिई प्लानिङ गर्नेहरूबाट मात्रै चालु आर्थिक वर्षको वैशाखसम्ममा ७० लाख राजस्व उठेको जानकारी गराए।

    चाँगुनारायण नगरपालिकामा पछिल्लो स्थानीय निकायको निर्वाचनमा नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री निर्वाचित भएका थिए। उपप्रमुख भने नेकपा एमालेका बुढाथोकी निर्वाचित भएका थिए।

    मेयर र उपमेयर फरकफरक पार्टीबाट जित हासिल गरेकाले समग्र नगरपालिकाले नभई उपमेयरले मात्रै पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनमा पत्रकारहरू र उपमेयर बुढाथोकी मात्रै सहभागी थिए। सम्मेलनमा नगरप्रमुख जीवन खत्री, वडाध्यक्षहरू तथा नगरपालिकाका कर्मचारी कोही पनि सहभागी थिएनन्। यद्यपि सम्मेलनमा उपप्रमुख बुढाथोकीले प्रमुख र उपप्रमुखबीच कुनै द्वन्द्व नभएको बताए।

    यो नगरपालिकामा नेपाली कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी गरी चार वटा पार्टीबाट वडाध्यक्षहरू विजयी भएका छन्। भक्तपुरमा चार वटा नगरपालिका रहेका छन्।

    तीमध्ये भक्तपुर र मध्यपुर थिमि दुई वटा पुराना नगरपालिका हुने भने चाँगुनारायण र सूर्यविनायक दुई नगरपालिका नयाँ घोषित नगरपालिका हुन्। यीमध्ये नयाँ नगरपालिका चाँगुनारायण र सूर्यविनायकमा खुला क्षेत्र धेरै छन् भने भक्तपुर र मध्यपुर दुइटै पुराना नगरपालिकामा घना बस्ती भइसकेको छ।

  • द्वन्द्वउन्मुख देश

    द्वन्द्वउन्मुख देश

    संसद्मा प्रमुख प्रतिपक्षी दलहरूको विरोधका बाबजुद गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुभयो। जुन विषय कुनै नौलो र बहादुरीको कथा थिएन। उहाँद्वारा नै उपेन्द्र यादव नेतृत्वको दल जसपा टुक्र्याएपछिको परिणतिपछि १७ महिनाको अवधिमा प्रचण्डले चौथो पटक संसद्बाट विश्वासको मत प्राप्त गर्नुभएको हो। जसलाई उहाँले संसारकै आश्चर्यजनक घटना सम्झेर आफ्नो बहादुरी सम्झनुभयो।

    संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।

    हाल संसद्मा तेस्रो दलका रूपमा रहेको माओवादी केन्द्र संसदीय अभ्यासमा प्रवेश गरेको जनआन्दोलन २०६२/०६३ पछि मात्र हो। संसदीय अभ्यासमा यो कुनै लामो कालखण्ड होइन। २०६३ मंसिर ५ मा भएको सरकार र तत्कालीन विद्रोही माओवादी पार्टीका बीचको शान्ति सम्झोतापछि उहाँहरू सिंहदरवारस्थित ग्यालेरी बैठकमा प्रवेश पाउनुभएको थियो।

    एमालेकै हैसियतमा उहाँहरू पनि ८३ सिट प्राप्त गरी गर्विलो पाराले संसदीय शासन प्रणाली स्वीकारी १० वर्षे जनयुद्घताका आफूले गरेका क्रियाकलाप संसद्मार्फत आमनेपाली जनतालाई सुनाउनुभएको इतिहास सबै प्रबुद्घ वर्गलाई थाहा छ। सो पार्टीका अध्यक्ष तथा वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री प्रचण्डलगायतलाई जनताविरुद्घका हतियार बिसाइ शान्तिमार्गमा हिँडाउने तत्कालीन नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुन्। यदि गिरिजाप्रसादले उहाँहरूलाई शान्तिमार्गमा नहिँडाएको भए प्रचण्डपथ कहाँ पुग्थ्यो ? १८ वर्षको राजनीतिक इतिहासमा तीन पटक प्रधानमन्त्री पद सम्हालिसकेका पुष्पकमल दाहाललाई यो कुराको हेक्का अवश्य पनि भएको हुनुपर्छ।

    दुई महिनापहिले आफूविरुद्घ उभिने जुनसुकै राजनीतिक दल र तिनका नेता/कार्यकर्तालाई लात्तले हानेर ठेगान लाउनुपर्छ भनेर राजधानीको एक कार्यक्रममा आक्रोश पोखिराख्नुभएको थियो। यसैगरी आफू बाँचुन्जेल राष्ट्रमा उथलपुथल र आँधीबेहरी ल्याइरहने जस्ता उत्तेजित भाषा प्रयोग गरेर आफ्ना कार्यकर्ताद्वारा ताली पाइरहनुभएको थियो। जुन कुरा कुनै बेलाका उहाँका राजनीतिका परम शत्रु तर हालका परममित्र मानिएका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पाच्य बनेको छैन।

    अमिलो अनुहार लगाएका केपी कमरेडले पनि प्रचण्डको भाषालाई उचित ठाउँमा जवाफ दिनुहुनेछ भन्ने विश्वास गर्न सकिन्छ। पक्कै पनि यी दुई वामपन्थी नेतालाई विगत तीन वर्ष पहिलेझैँ राजनीतिक मार्गमा समयले आमनेसामने गराउनेछ । काङ्ग्रेसमाथि गरेको प्रचण्डको विषवमन अहिले केपीलाई राजनीतिक ओखती बनेको छ।

    सहकारी ठगी प्रकरणमा दोषी मानिँदै आएका हालका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्घ संसद्मा कडारूपमा उभिएको काङ्ग्रेस र उसको समर्थनमा रोस्टम घेराउ गर्न पुगेका विपक्षी सांसदहरूको अनुहार पनि केपी हेर्न चाहनुहुन्न। रवि लामिछाने पनि एकातिर प्रधानमन्त्री प्रचण्डको अर्कोतिर केपीको दरिलो समर्थन पाएर राज्यशक्तिको दुरूपयोग गर्नमा रमाइराखेका देखिन्छन्।

    प्रचण्डले विश्वासको मत लिएको मानिएको एक दिनअगाडि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा आक्रोशित मुद्रामा आफ्ना भनाइ राख्नुभयो। उहाँ जे बोलिरहनुभएको थियो त्यसमा सत्यता किञ्चित नरहेको, सत्यतथ्य कुराका लागि संसदीय छानविन समिति बनाउनुपर्छ भनेर प्रमुख प्रतिपक्ष काङ्ग्रेस, राप्रपालगायत आवाज उठाइरहेछन्।

    युवा जोस जाँगरका साथ रोस्टममा उभिएका रविको बोली, भाषा शैली र भावभंगी देख्दा लाग्छ, उहाँ कुनै टेलिभिजन कार्यक्रम सञ्चालन गरिराख्नुभएको छ। उहाँको शैली आक्रामक देखिए तापनि बढी समय काङ्ग्रेस, सो पार्टीका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाको चरित्र हत्या गर्ने, तेजोबध गर्ने र पार्टीलाई बदनाम गराउने खालको मात्र देखिन्थ्यो।

    जबकि उहाँले शालीन र सभ्य ढंगले संसद्मा सम्बोधन गर्नुपथ्र्यो, आफूमाथि लागेका आरोप बुँदागतरूपमा स्पष्ट पारी प्रतिपक्षको मन जित्न सक्नुपथ्र्यो र भन्न सक्नुपथ्र्यो कि निष्पक्षरूपमा संसदीय समिति गठन गर्न पदमा रहेर म सहयोग गर्न तयार छु। त्यसो नभनी राज्यशक्तिको दुरूपयोग गरी लाखौँ नेपाली जनताद्वारा पसिनाले कमाएको करोडौं रकम ठगी गरी हिनामिना गरेको भन्ने प्रतिपक्षको आरोपसहित पानीमुनिको ओभानो बन्न खोज्नु पीडित नेपाली जनतालाई सैह्य होला र ? यसैगरी उहाँको दोहोरो नागरिकता प्रकरणको विषय सेलाउन नपाउँदै गृह मन्त्री जस्तो अति संवेदनशील पदमा बसेर संवैधानिक निकायलाई प्रभावमा पारी संसदीय समिति केका लागि भनेर प्रतिपक्षले राखेका मागबाट भाग्न खोज्दै हुनुहुन्छ।

    के रवि लामिछाने जिन्दगीभर गृहमन्त्री पदमा बसिरहनुहुनेछ ? के सधैँभरि प्रचण्ड, एमाले अध्यक्ष ओलीको आशीर्वाद पाइरहनु हुनेछ ? जनताका माझबाट लोकप्रिय मतबाट यो उचाइमा पुगेको नाताले विगत र भविष्यको राजनीतिको आकलन गर्नुपर्दैन ?

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेजी, तपाईँ र तपाईँको राजनीतिक पार्टी संसदीय अभ्यासमा पुगेको धेरै भएको छैन। तपाईँको राष्ट्रप्रतिको सकारात्मक सोचाइ र तपाईँको स्पष्ट धारणाबारे जनता अझै पनि अलमलमा परेका देखिन्छन्। स्वर्णीम वाग्ले जस्ता योजनाकार रास्वपामा हुँदाहँुदै संसदीय मर्यादा र जनमानसमा कालो दाग लाग्नबाट बच्नका लागि तपाईँले समयमा नै लामो राजनीतिक पृष्ठभूमि भएका राजनीतिक दल र अनुभवी नेताहरूको सामु नम्र हुन सिक्नुहोस्, पद ठूलो होइन, प्रतिष्ठा र इमानदारिता ठूलो हो। तपाईँबाट नेपाली जनताले र विशेषगरी नेपाली युवा पिँढीले समाजको भलाइका लागि ठूलो भरोसा राखेका छन्।

    तपाईँलाई याद होला, एकपटक एमालेका तर्फबाट कानुन मन्त्री बन्न पुगेका शेरबहादुर तामाङ, कृषिमन्त्री हरिप्रसाद पराजुली र सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटामाथि सम्बन्धित मन्त्रालयको केही आरोप लाग्दा उहाँहरूले संसदीय मर्यादाअनुसार शालीन ढंगले आ–आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यो थियो सच्चा राजनीतिक कार्यकर्ताको धर्म र जनताप्रतिको इमानदारिता।

    संसद्मा मर्यादापालकको संरक्षणमा सभामुख देवराज घिमिरेको स्वीकृतिमा १५७ मत पाएर प्रम बन्न पुगेका प्रचण्डको सम्बोधनको भोलिपल्टै फौजी शैलीमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता कीर्तेका नाममा गिरफ्तार गरियो। जुन कदम तपाईँको ब्रह्मले दिएको आदेश हो या प्रम प्रचण्डको। हतारोमा गरिएको उक्त कदम आफैँमा लोकतन्त्र, वाक्स्वतन्त्रता र मानव अधिकारमाथिको ठाडो हस्तक्षेप हो भनेर चारैतिर गृहमन्त्री र सरकारको आलोचना भइराखेको छ।

    २०६२/०६३ को बेला तत्कालीन राजाको प्रतिगमन कदमविरुद्घमा सशक्त ढंगले उभिएको कान्तिपुर मिडिया ग्रुप र संस्थाका पत्रकारहरूको अमूल्य योगदान कहिल्यै पनि भुल्न सकिँदैन। लोकतन्त्रको रक्षाका लागि त्यसबेलाका पत्रकारहरू, कलाकारहरू, मानव अधिकारकर्मीहरू कारागारमा थुनिएका थियौँ। त्यसबेला तपाईँ कता हुनुहुन्थ्यो ? अमेरिका या नेपालको कुनै गुमनाम ठाउँमा ?

    केही विषय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका बारेमा पनि लेख्न मन लाग्यो। जनताको सर्वाेच्च निकाय व्यवस्थापिका संसद्को वर्षे अधिवेशन हाल संसद् भवन नयाँ बानेश्वरमा चालु छ। आगामी १५ गते बजेट ल्याइँदैछ। गणतन्त्र दिवस परेकाले त्यो दिन नेपाल र नेपालीका लागि हर्षोल्लासको दिन पनि हो। प्रजाबाट पूर्ण नेपाली नागरिक बनेको सुनौलो दिन भएकाले नेपालीहरू दीपावली गरेर १७औं गणतन्त्र दिवस हर्षोल्लासका साथ मनाउँदै छन्। तर संसद्भित्र सरकार र प्रतिपक्षबीचको राजनीतिक मुद्दाका कारण जति हर्षाेल्लासका साथ दीपावली मनाउनुपर्ने हो, त्यति सुखद पक्षका साथ मनाइने छैन।

    बलमिच्याइँका साथ संसद्मा सरकार उपस्थित भइरहेको देखिन्छ। सभामुख सबैका लागि साझा बनिदिनुपर्ने हो तर सभामुख एकतर्फी देखिनुभएको छ। सभामुखका क्रियाकलाप प्रमुख प्रतिपक्षी दलका प्रति बलमिच्याइँ गरेर संसद्लाई बन्धक जस्तो बनाइराख्नुभएको देखिन्छ। हो, विचारमा यहाँ वामपन्थी विचारधाराको हुनुहुन्छ। सभामुख बनेपछि सबै सांसदका लागि साझा र संसद्को अभिभावकत्व व्यक्तिका रूपमा देखिनुपर्ने हो, त्यो देखिएन।

    सहमति, सहकार्य र एकताका साथ सबैलाई मिलाएर संसद् चालु गर्नुपर्नेमा मर्यादापालकको संरक्षणकत्वमा प्रधानमन्त्रीलाई बोल्न समय दिने तर प्रतिपक्ष दलका सांसदलाई समय नदिने। यो कस्तोखालको संसदीय प्रणाली हो ? यसअघिका सभामुख दमननाथ ढुगाना, रामचन्द्र पौडेल, अग्नि खरेल र दिवंगत तत्कालीन सभामुख सुभासचन्द्र नेम्वाङको संसद् सञ्चालन गर्ने शैली र सोचबाट यहाँ अवश्य पनि टाढा हुनुहुन्न नि। कति भद्रता थियो, कस्तो चातुर्य र समभाव थियो उहाँहरूमा, एकपटक मनन गर्नुहोस त।

    संसद्को थालनी २०१५ सालको प्रथम संसदीय प्रणालीबाट सुरु भएको मान्न सकिन्छ। प्रथम सभामुख कृष्णप्रसाद भट्टराई र प्रथम प्रम बिपी कोइराला हुनुहुन्थ्यो। कार्यपालिका सरकारको र संसद् प्रतिपक्ष दलको भनेर कृष्णप्रसाद भट्टराईको अवधारणा थियो। सो अवधारणा २०४८ सालपछिका सबै सभामुखहरूले पालना गरेका थिए। एक किसिमको नजीर जस्तै बनेको थियो, संसद्सम्बन्धी कार्यविधि। अहिले पनि सो विधिका आधारमा संसद् सञ्चालन हुनु जरुरी देखिन्छ। सभामुख देवराज घिमिरेबाट पनि यही अपेक्षा सबैले राखेका छन्।

    केही प्रसंग पुनः प्रम प्रचण्डबारे राख्न मन लाग्यो। आफू संसद्मा तृतीय स्थानको राजनीतिक पार्टीको संसदीय दलको नेता भएर पनि प्रथम र दोस्रो हुने राजनीतिक पार्टीका नेतालाई पन्छ्याएर प्रधानमन्त्री पद हात पार्न यहाँ सिपालु राजनीतिक खेलाडी हुनुहुन्छ। कहिले शेरबहादुरलाई खसालेर केपीको विश्वासपात्र बनी पद प्राप्त गर्ने, कहिले केपीलाई बेखुसी पारी शेरबहादुरलाई धोका दिएर आफैँ प्रधानमन्त्री बन्न सक्ने अनौठो खुबी भएको चतुर नेता भएकै कारण अहिले चार पटक विश्वासको मत लिएर पदासीन हुनुहुन्छ।

    मुखभरिको जवाफ दिन पनि खप्पिस यहाँ गत वर्षको चुनावमा गोर्खाली काङ्ग्रेसीजनबाट ठूलै सहयोग पाएर यो पदमा पुगे तापनि ती दिनहरू यहाँले चटक्केै भुल्नुभएछ। बहादुरीका साथ गत सोमबार आफूविरुद्घ संसद्मा उत्रेका काङ्ग्रेस सांसदलाई चोर औँलो देखाउँदै भविष्यमा यसको चर्को मूल्य चुकाउनुपर्ने चुनौती पनि दिनुभयो। जुन कुरा यहाँको फगत मनको बिलौनाबाहेक अरू मान्न सकिन्न। नेपालको प्रजातन्त्र र लोकतन्त्रको मियो मानिएको पुरानो र भरपर्दो पार्टी काङ्ग्रेसको विगतको संघर्ष र बलिदानीपूर्ण इतिहास भुलेर हो या न पढेर हो, यहाँले काङ्ग्रेसका अगाडि धम्कीको भाषा प्रयोग गरेको।

    हो, १७ हजार मानिसको हत्या काङ्ग्रेसीजनले कहिल्यै गरेनन्, शान्तिपूर्ण आन्दोलनका आधारमा ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य, त्यसभन्दा अघि १०४ वर्षे राणाहरूको बिदाइ र २०६२/०६३ को जनआन्दोलनपछि २३९ वर्षे राजतन्त्रको हार्दिक बिदाइ काङ्ग्रेस पार्टीको नेतृत्वमा नै सम्पन्न भएको हो भन्ने कुराको हेक्का सम्माननीय प्रम प्रचण्डले राखिदिए हुन्छ। त्यतिमात्र हो र ? यहाँलगायत बाबुराम भट्टराईको पालामा सम्पन्न हुन नसकेको संविधान निर्माणको कार्य सुशील कोइरालाको प्रधानमन्त्रित्व कालमा २०७२ असोज ३ गते संसद् भवनबाट जारी भएको कुरा भुल्नुभएको छैन नै होला!

    संसदीय अभ्यासमा भाषा र व्यवहारको पनि ठूलो अर्थ हुन्छ । रोल्पा, रुकुम, हुम्ला, जुम्ला, सोलुखुम्बु, बझाङ, बाजुराका नागरिक पनि वर्तमानमा धेरै सचेत भैसकेको नेपाली समाजलाई भड्काउने गरी धम्कीको भाषा प्रयोग नगरिदिनुहुन सचेत नागरिक आग्रह गर्दछन्। संसद्मा मुठभेटको स्थिति सिर्जना गर्नुभयो भने त्यसको परिणाम के होला ? आफैँ अनुभवी हुनुहुन्छ नि। हुन त नेपाली काङ्ग्रेस नेतृत्वपंक्तिका कमी/कमजोरीका कारण समानुपातिक प्रणालीद्वारा संसद्मा देखिने केही अनुहार र तिनका क्रियाकलापदेखि आमनागरिक सन्तुष्ट छैनन् तर लोकतन्त्रको पहरेदार सो पार्टीको विगतको इतिहास गौरवमय रहेको बिर्सन सकिन्न।

  • बढ्दो गर्मीका विद्यालय बन्द, खोप अभियान पनि स्थगित

    बढ्दो गर्मीका विद्यालय बन्द, खोप अभियान पनि स्थगित

    गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।

    नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

    खोप अभियान स्थगित

    अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए। सो अभियान अब जेठ २० गतेदेखि पुनः सञ्चालन हुने पनि उनले जानकारी दिए।

  • तीन सगरमाथा आरोहीले बनाए नयाँ कीर्तिमान

    तीन सगरमाथा आरोहीले बनाए नयाँ कीर्तिमान

    विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहणको महिमा र चर्चा यसको उचाइसँग मात्र नभई यससँग जोडिएका विश्व कीर्तिमानको पनि उत्तिकै लोभलाग्दो छ। कुनै पनि आरोहीलाई सगरमाथाको आरोहण गर्नु जति गर्वको कुरा हुन्छ सगरमाथासँगै जोडिएका कीर्तिमानधारीका लागि विश्वव्यापी मान, सम्मान र ख्यातिको विषय पनि बन्न पुग्छ।

    सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर होस् वा सानै उमेरमा शिखर चुमेर होस्। अक्सिजन बिना आरोहण गरेर होस् वा सबैभन्दा छिटो आरोहण गरेर नै किन नहोस्। संसारभरिका धेरै आरोहीले धेरै प्रकारका कीर्तिमान त्यहाँ कायम गरेका छन्। त्यो क्रम अहिले पनि रोकिएको छैन।

    यसवर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विश्वका धेरै आरोहीहरू कस्सिइरहेकै छन्। तीमध्येका तीन नेपाली आरोही थामेका कामिरिता शेर्पा, गोर्खाकी पूर्णिमा श्रेष्ठ र फुन्जो जाङ्मु लामाले नयाँ कीर्तिमान कायम गरेका छन्।

    कमिरिता शेर्पाले यसै ऋतुमा २९ औं पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका थिए तर ३० औं पटक आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। उनले सबैभन्दा धेरै पटक सगरमाथा हिमाल आरोहण गर्ने पुरानो आफ्नै रेर्कड तोड्दै नयाँ रेकर्ड बनाएका छन्।

    उनले गत जेठ ९ गते बिहान ७ः४९ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। वसन्त ऋतुमा जारी आरोहणका क्रममा उनको यो आरोहण हो। उनी सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही हुन्।

    शेर्पा यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अप्रिल १७ तारिखमा काठमाडौंबाट हिँडेका थिए। यस्तै उनले गत वर्ष पनि एकै ऋतुमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए। शेर्पाले यसअघि गत जेठ ९ गते २८औं पटक र जेठ ३ गते २७औं पटक सगरमाथाको सफल आरोहण गरे। कामिरिताले २०५१ सालमा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए।

    खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र केटु आरोहण गरिसकेका छन्। यसैगरी उनले ४० पटक विश्वका अग्ला हिमालको आरोहण पनि गरिसकेका छन्।

    त्यस्तै फोटो पत्रकारसमेत रहेकी आरोही पूर्णिमा श्रेष्ठले एकै ऋतुमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छिन्। यससँगै एकै ऋतुमा तीन पटकसम्म सगरमाथा आरोहण गर्ने उनी पहिलो महिलासमेत बनेकी छिन्।

    उनले यही ऋतुको मे- १२, मे- १९ र मे २५ गरी एकै ऋतुमा तीन पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्। उनले पहिलोपटक मनास्लुबाट हिमाल आरोहण यात्रा सुरु गरेकी हुन्।

    गोरखाको आरुघाट गाउँपालिका १० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। सगरमाथासहित विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी उनले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरिसकेकी छिन्।

    विश्व कीर्तिमान कायम गरेकी आरोही श्रेष्ठले सगरमाथा चार पटक, मनास्लु दुई पटकसहित अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा ल्होत्से, मकालु, के–टु लगायतका हिमशृंखला उनले आरोहण गरिसकेकी छिन्।

    गोरखाकै आरोही फुन्जो जाङ्मु लामाले पनि यस ऋतुमा विश्व कीर्तिमान राखेकी छिन्। उनले सबैभन्दा छोटो समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेकी हुन्। लामा आधार शिविरबाट १३ घण्टा ३१ मिनेटमै सगरमाथाको शिखरमा पुगेकी हुन्।

    ३३ वर्षीय आरोही लामा गत बिहीबार बिहान ६ः२३ बजे सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ। यसअघि सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड हङकङकी स्याङ यिन हङको नाममा रहेको थियो। उनले २५ घण्टा ५० मिनेटमा आरोहण गरी विश्व रेकर्ड राखेकी थिइन्।

    गत चैत १२ गते पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको थियो। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीबाट आठ जनाले अनुमति लिएका थिए।

    आठ सदस्यीय सो समूह हिमालयन गाइड नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनी हुन् भने एभरेष्ट एक्सपिडिसन स्प्रिङ– २०२४ नाम रहेको पर्वतारोही दलको नेता अमेरिकन नागरिक छुल्दिम आङ् दोर्जे शेर्पा रहेका थिए।

  • पिपुल्स डेन्टल कलेजमा एसबिआई मर्चेन्टका ग्राहकलाई छुट

    पिपुल्स डेन्टल कलेजमा एसबिआई मर्चेन्टका ग्राहकलाई छुट

    नयाँ बजारको पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच व्यावसायिक सम्झौता भएको छ।

    पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्द र नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा कार्यालय तथा नेपाल एसबिआई मर्चेन्ट ठमेलमा मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ताले दन्त परीक्षण निःशुल्क र दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत छुट पाउनेछन्।

    यस्तै ग्राहकले दाँत सम्बन्धी अन्य सेवामा पाँच प्रतिशत र जनरल अस्पताल नयाँ बजारले सञ्चालन गर्ने सेवाहरूमा परीक्षण निःशुल्क पाउनेछन्। यसका साथै बेड चार्जमा १५ प्रतिशत, ल्याब, भिडियो एक्स रे, इसिजी र ओटीमा क्रमशः १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

  • कृषि उपभोक्ता समितिद्वारा अनियमितता

    कृषि उपभोक्ता समितिद्वारा अनियमितता

    विशेष अदालत काठमाडौंले मुगुमा सिँचाइ निर्माणमा अनियमितता भएको भन्दै तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायतलाई भ्रष्टाचार मुद्दामा आइतबार आंशिक ठहर गरेको छ।

    विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दा परेका ६ जनामध्ये दुई जनालाई सफाइ दिएको छ भने चार जनालाई दोषी ठहर गरेको हो।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिँचाइ निर्माणका क्रममा काम नसकिँदै भुक्तानी लिई उपभोक्ता समितिबाटै अनियमितता भएको भन्दै २०८० असार १२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

    अदालतले पञ्चलाल बुढा र टेकबहादुर खत्रीलाई जनही तीन महिना कैद र तीन लाख २० हजार रूपैयाँ जरिबाना र त्यत्ति नै बिगो असुल गर्ने ठहर गरेको छ। त्यसैगरी हस्तबहादुर रोकाया, राजेन्द्र शाहीलाई जनही तीन लाख २० हजार रूपैयाँ जरिबाना र त्यत्तिकै मात्रामा बिगो असुल गर्ने ठहर गरेको छ।

    मुगुमा २०७६/७७ मा सञ्चालन भएको खत्याड गाँउपालिका–४ खिराचौर कृषि सिँचाइ निर्माण योजना चलेको थियो। सिँचाइको काम समयमा नसकिएको तर काम सकिएको भन्दै नापी किताबमा चढाएर भुक्तानी लिइएको थियो।

    मुगुको खत्याड गाउँपालिका–४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आव २०७६/७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी गरिएको थियो।

  • के हो वैवाहिक जबर्जस्ती करणी ?

    के हो वैवाहिक जबर्जस्ती करणी ?

    वैवाहिक जबर्जस्ती करणी कसुर र सजाय कानुन कार्यान्वयन भएको दुई दशक हुन लाग्दा पनि अन्योल धेरै छ। एकाध उजुरी पर्दा ठूलै हल्ला, हाँस्यव्यंग, पक्ष/विपक्षका तर्कले यो विषयलाई हल्कारूपमा लिइएको बुझिन्छ। वैवाहिक जबर्जस्ती करणी परिवार र दम्पतीसँग सम्बन्धित फौजदारी कसुर हो।

    धेरैजसो वैवाहिक बलात्कार भनिए पनि परिभाषाअनुसार वैवाहिक जबर्जस्ती करणी नै उल्लेख गर्नुपर्ने हुन्छ। वैवाहिक जबर्जस्ती करणीको कसुर र सजायसम्बन्धी कानुन घरेलु हिंसालगायतका अन्य कानुनझैँ नागरिकले निरन्तर माग गरेर आएको व्यवस्था होइन। यो कानुन तत्काल मुलुकी ऐन जबर्जस्ती करणीको महलमा पत्नी र अन्य महिलाबीच गरिएको असमान व्यवस्थाको अन्त्य गरी समान व्यवस्था कायम गर्न निर्माण भएको हो।

    मुद्दामा अपराध गर्ने व्यक्तिको पीडितसँगको नाता सम्बन्धका आधारमा फौजदारी मुद्दामा सजायमा कमी हुने व्यवस्था नभएको र सामूहिक जबर्जस्ती करणी, गर्भवती, अशक्त, अपांगलगायत विभिन्न परिस्थितिमा भएको जबर्जस्ती करणीमा मूल सजायमा थप एकदेखि पाँच वर्षसम्म कैद सजाय र मतियारलाई समेत तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो।

    वैवाहिक जबर्जस्ती करणी परिभाषामा समेटिएपछि उक्त लैंगिक समानता कायम गर्ने ऐन २०६३ बाट नै लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था भयो। कैद सजाय तोकिएपछि तत्काल मुलुकी ऐन जबर्जस्ती करणीको महलमा पीडितको उमेरको आधारमा कसुरदारलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था भएकामा लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था समानतालगायत विभिन्न संवैधानिक हक अधिकारविरुद्ध भएको भनी समान दण्ड सजायको व्यवस्थाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर भयो।

    मुद्दामा अपराध गर्ने व्यक्तिको पीडितसँगको नाता सम्बन्धका आधारमा फौजदारी मुद्दामा सजायमा कमी हुने व्यवस्था नभएको र सामूहिक जबर्जस्ती करणी, गर्भवती, अशक्त, अपांगलगायत विभिन्न परिस्थितिमा भएको जबर्जस्ती करणीमा मूल सजायमा थप एकदेखि पाँच वर्षसम्म कैद सजाय र मतियारलाई समेत तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो। जसमा थप सजायभन्दा वैवाहिक जबर्जस्ती करणीको मूल सजाय कम भएको न्यायोचित नहुने उल्लेख गरी सर्वोच्च अदालतबाट २०६५ सालमा वैवाहिक बलात्कार र गैरवैवाहिक बलात्कारको अपराधबीच विभेदपूर्ण सजायको व्यवस्थामा सामञ्जस्यता ल्याउने गरी आवश्यक र न्यायोचित व्यवस्था गर्नेतर्फ आवश्यक पहल गर्नू भन्ने निर्देशनात्मक आदेश भयो। त्यसपछि वर्तमान मुलुकी अपराध (संहिता) २०७४ को जबर्जस्ती करणीको महलमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैंदको सजाय हुने व्यवस्था भयो र हालसम्म त्यही व्यवस्था कार्यान्वयनमा छ।

    वैवाहिक जबर्जस्ती करणी फौजदारी कसुर हुनाले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्दा हाजिर भएर गरिने सेवामा अवरोध, निलम्वन र सरकारी वा कतिपय सेवामा कसुर ठहर भएमा बर्खास्तसमेत हुने अवस्था हुन्छ।

    हाल कैंद सजायबाहेक पीडितको निवेदन मागबमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा पत्नीलाई घरमा बस्न दिन, खान लाउन दिन, कुटपिट नगर्न, शिष्ट व्यवहार, उपचारलगायत पत्नीको हित र सुरक्षाका निमित्त आवश्यक र उपयुक्त कुरा गर्न/गराउन आदेश जारी गर्न सक्ने व्यवस्थासमेत छ। त्यसरी नै सम्बन्ध विच्छेदसम्बन्धी कानुनमा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्थासमेत छ।

    जबर्जस्ती करणीको परिभाषामा कुनै महिलालाई भन्ने शब्दले अन्य जबर्जस्ती करणी र वैवाहिक जबर्जस्ती करणीको कसुरको गाम्भीर्यता उस्तै र सजाय मात्र अन्यको तुलनामा कम भनेर बुझ्नुपर्ने हुन्छ। यस्तो कसुर वा ठहरबाट कसुर गर्नेको पारिवारिक र सामाजिक परिवेशमा दुवैतर्फ समस्या उन्पन्न हुन सक्छ।

    संवैधानिक अंग तथा आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि हुनुपर्ने योग्यताजस्ता कुरामा असर पर्दछ। यस्तो कसुरमा अदालतबाट सजाय पाएमा न्यायाधीशहरूको पद रिक्त हुने अवस्था बन्छ।

    वैवाहिक जबर्जस्ती करणीको कसुरबाट कसुर गर्ने व्यक्तिको दाम्पत्य सम्बन्धमा खटपट मात्र नभएर विच्छेदसमेत हुन सक्छ। पत्नीले अन्तरिम राहत मागलगायत अंशसमेत लिन सक्ने अवस्था हुन्छ। कसुर ठहर्नेको पारिवारिक इज्जत, सामाजिक मान मर्यादा घट्न सक्छ। घर परिवारका सदस्यमा हुने बेइज्जत अनुभूतिले चौतर्फी असर पर्न सक्दछ।

    वैवाहिक जबर्जस्ती करणी फौजदारी कसुर हुनाले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्दा हाजिर भएर गरिने सेवामा अवरोध, निलम्वन र सरकारी वा कतिपय सेवामा कसुर ठहर भएमा बर्खास्तसमेत हुने अवस्था हुन्छ। यस्तो कसुर ठहर भएमा संघीय वा प्रदेश संसद्को सदस्यका लागि हुनुपर्ने योग्यतामा अवरोध हुन्छ।

    संवैधानिक अंग तथा आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि हुनुपर्ने योग्यताजस्ता कुरामा असर पर्दछ। यस्तो कसुरमा अदालतबाट सजाय पाएमा न्यायाधीशहरूको पद रिक्त हुने अवस्था बन्छ। यस्तो कसुरमा दोषी ठहर भएको अवस्थाले सबैजसो संघ, संस्था, सरकारी सेवा, राजनीति सबै क्षेत्रमा बाधा, विरोधको अवस्था सिर्जना हुन सक्छ।

  • रोयल कपनको दोहोरो जित

    रोयल कपनको दोहोरो जित

    रोयल कपनले प्रथम भ्याली पब्लिक एसइई कप बोइज फुटसल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ।

    भंगालस्थित आयोजक भ्याली पब्लिक स्कुलको फुटसल कोर्टमा रोयलले ड्रागन एलिट एफसीलाई ३-२ तथा समृद्धिलाई १०-२ गोलले पराजित गर्‍यो।

    अन्य खेलमा जुगल नव गुरुकुलले साइप्रेसलाई ९-४, टोखा एफसीले टिम बिस्टलाई ३-१, डाउन टाउनले इन्साइट भिजन ‘बी’ लाई ५-४, दी सेभेन ब्रोसले साइप्रेसलाई ४-१, विद्या आर्जनले भ्याली पब्लिक ‘बी’ लाई ७-२, ड्रागन एलिटले भ्याली पब्लिक ‘बी’ लाई नै ५-३ र सेक्रेड हार्टले भ्याली पब्लिक ‘ए’ लाई ४-१ ले हराए।

    उक्त प्रतियोगिताको भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले उद्घाटन गरेका थिए। प्रतियोगितामा १८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।

    विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पनि पाउनेछन्। फाइनल मंगलबार हुनेछ।

  • प्रयोगविहीन आइसियु र भेन्टिलेटर

    प्रयोगविहीन आइसियु र भेन्टिलेटर

    दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल, कालीकोटमा एक करोडभन्दा बढी खर्चेर किनेका आइसियु र भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएका छन्। कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन आएको छैन।

    प्रदेशको सामाजिक विकास मन्त्रालयले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि कुनै चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको स्वास्थ्य सेवा कार्यालय, कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए।

    कर्णाली प्रदेश सरकारले २०७६/७७ मा एक करोड ५८ लाख बजेटबाट चार शैड्ढयाको भेन्टिलेटर र १० शैय्याको आइसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो। कोभिडको समयमा समेत प्रयोगमा नआएको आइसियू सेवा अहिले भने झन बन्द जस्तै छ।

    उनले भने, ‘आइसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ। दक्ष जनशक्ति भए आइसीयू सञ्चालनमा ल्याउन सकिन्छ। अहिलेसम्म आइसीयू सञ्चालनमा ल्याउन सकिएको छैन कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु? खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका हुन्।’

    कोभिड विशेष अस्पतालका रूपमा २०७६ सालमा स्थापना भएको अस्पताललाई २०७८ सालमा कर्णालीकै पहिलो सरुवारोग अस्पतालका रूपमा स्थापना गरी १५ शैड्ढयाको अस्पतालबाट एक वर्ष सेवा सुरु भएको थियो।

    सरुवा रोग अस्पताल सञ्चालनका लागि २०८०/८१ मा प्रदेश सरकारले बजेट नपठाउँदा अहिले बन्द अवस्थामा छ। करिब तीन करोडका सामग्री भएको सरुवा रोग अस्पतालबाट अहिले कुनै पनि सेवा सुचारु छैनन्।

    अस्पतालमा आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका बिरामीलाई नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको डाक्टर संकेत विश्वकर्माले बताए।

    अस्पताल व्यवस्थापनका लागि दक्ष जनशक्ति तथा थप दरबन्दी लगायतमा सरकारले ध्यान नदिँदा थप समस्या आएको र पछि सरुवा रोग अस्पतालको सामग्री जिल्ला अस्पतालमा लिएर प्रयोग गर्नुपर्ने जिल्ला अस्पताल कालीकोटले जनाएको छ।

    प्रदेश सरकारले बजेट पठाए पनि पानी, बत्तीलगायतको जनशक्तिको व्यवस्थापन गर्न पनि समस्या हुने बताइएको छ। स्वास्थ्य सेवा कार्यालय, कालीकोटको स्वामित्वमा कर्णाली सरकारले सरुवा रोग अस्पतालका रूपमा स्थापना गरेको थियो।

    तत्कालीन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गरेका थिए। सरुवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ। वरिष्ठ कन्सल्ट्यान्ट जनरल फिजिसियन एकजना, मेडिकल अधिकृत एकजना, हाउस किपर सहायक एकजना, फार्मेसी सहायक एकजनालगायत अन्य जनशक्ति गरी २१ जनाको दरबन्दी छ।

    यहाँबाट कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगुलगायत छिमेकी जिल्ला अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रूपमा सेवा लिन सक्ने बताइएको छ। यीमध्ये अहिले सरुवा रोग अस्पतालमा कुनै पनि दक्ष जनशक्ति छैन, सरुवा रोगका बिरामी पनि छैनन्, अस्पताल पनि सञ्चालनमा छैन।

    सरकारले तीन करोड खर्च गरेर दिगो रूपमा अस्पताल चलाउन नसक्दा समस्या आएको स्थानीयको भनाइ छ। अहिले सुर्खेतमा पनि सरुवा रोग अस्पताल निर्माणाधीन अवस्थामा छ। स्थानीयका अनुसार कालीकोटको सरुवा रोग अस्पतालको बजेट कटौती गरेर प्रदेशमा बन्न लागेको अस्पतालका लागि खर्च भएको हुन सक्ने आशंका छ। कालीकोटमा मात्र नभएर कर्णालीका अन्य जिल्लामा पनि भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन्।

  • पुवा न्यूगिनी पहिरो: मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी भएको अनुमान

    पुवा न्यूगिनी पहिरो: मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी भएको अनुमान

    पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले बताएका छन्।

    प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ।

    ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि ८ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६७० भन्दा बढीले ज्यान गुमाएको हुनसक्ने बताए।

    एङ्गा प्रान्तको विपद क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार २५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

    पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रवार बिहान करिब ३ बजे भीषण पहिरो गएको थियो।

    हताहत हुनेको सङ्ख्या अझै बढ्न सक्ने पनि उनले बताए। बेपत्ता भएकाहरूको खोजी भइरहेको भन्दै उनले निरन्तरको पहिरो र पहिरोसँगै खसेको ढुङ्गाले उद्धार कार्यलाई प्रभावित बनाइरहेको बताए। रासस