साहित्यिक पत्रकार संघले टेक्सस अमेरिकाको ग्रेटर अस्टिन नेपालिज साेसाइटीकी नवनिर्वाचित कार्यसमिति सदस्य सफ्टवेयर इञ्जिनियर सपना राउतको स्वागत तथा सम्मान गरेको छ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुञ्जनकी संस्थापक एवं निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक तथा पूर्व सचिव एवं कवि देवेन्द्रप्रसाद सिटौला लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ग्रेटर अस्टिन नेपाललिज साेसाइटीकी नवनिर्वाचित सदस्य सपना राउतलाई प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष लेकालीले फूलको माला तथा रूद्राक्षको मालासहित बधाईपत्रले सम्मान गरेका थिए।
प्रमुख अतिथि कलाकार मदनदास श्रेष्ठले अमेरिका जस्तो ठाउँमा बसेर सामाजिक सेवा तथा नेपाली भाषा, साहित्य र कला क्षेत्रमा धेरै नेपाली लागेकोमा खुशी व्यक्त गर्दै ग्रेटर अस्टिन नेपालिज साेसाइटीको कार्यसमिति सदस्यमा निर्वाचित भएकी सपना राउतलाई बधाई तथा शुभकामना दिएका थिए।
सम्मानित व्यक्तित्व राउतले आफ्नो कार्यकालमा नेपाल, नेपाली, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा जतिसक्दाे खट्न बताएकी थिइन्।
कार्यक्रममा सभाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै ग्रेटर अस्टिन नेपालिज साेसाइटीकाे गतिविधिबारे प्रकाश पारेका थिए।
विदेशमा रहेर नेपाली साहित्य, कला र संस्कृतिको उन्नयनमा सोसाइटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए भने साहित्यिक पत्रकार सङ्घले गर्दै आएको विविध योगदानको चर्चा पनि गरेका थिए।
उनले देशले आर्थिक उन्नति तथा देश थाम्ने सवालमा साहित्यकारहरूले भूमिका खेल्नुपर्ने तथा विसङ्गति र विकृतितर्फ साहित्यकारहरूको कलम चल्नुपर्ने पनि बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि लगायत सभापति लेकालीले सामाजिक अभियन्ता, गीतकार शोभित उप्रेतीलाई हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक कोषाध्यक्ष पदमा मनोनित भएकोमा बधाई दिंदै सम्मान गरेका थिए।
कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका महासचिव डा. दामोदर पुडासैनी ुकिशोरुले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि पारू तिमिल्सिनाले गरेकी थिइन्। कार्यक्रमको अन्तमा बालकलाकार रञ्जना थपलियाको सुन्दर तथा आकर्षक नृत्य प्रस्तुति गरिएको थियो।

Leave a Reply