मुगुको डोल्फु गाउँँमा लुटपाट

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो।

हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामान लगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए। ‘गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्’, उनले भने।

लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताए। उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरी चौकीबाट प्रहरी टोली पठाएको बताए। विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो।

मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए। बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उनले बताए।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताए। मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो।

मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ। स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन्। -रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *