कृषि उपभोक्ता समितिद्वारा अनियमितता

विशेष अदालत काठमाडौंले मुगुमा सिँचाइ निर्माणमा अनियमितता भएको भन्दै तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायतलाई भ्रष्टाचार मुद्दामा आइतबार आंशिक ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दा परेका ६ जनामध्ये दुई जनालाई सफाइ दिएको छ भने चार जनालाई दोषी ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिँचाइ निर्माणका क्रममा काम नसकिँदै भुक्तानी लिई उपभोक्ता समितिबाटै अनियमितता भएको भन्दै २०८० असार १२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

अदालतले पञ्चलाल बुढा र टेकबहादुर खत्रीलाई जनही तीन महिना कैद र तीन लाख २० हजार रूपैयाँ जरिबाना र त्यत्ति नै बिगो असुल गर्ने ठहर गरेको छ। त्यसैगरी हस्तबहादुर रोकाया, राजेन्द्र शाहीलाई जनही तीन लाख २० हजार रूपैयाँ जरिबाना र त्यत्तिकै मात्रामा बिगो असुल गर्ने ठहर गरेको छ।

मुगुमा २०७६/७७ मा सञ्चालन भएको खत्याड गाँउपालिका–४ खिराचौर कृषि सिँचाइ निर्माण योजना चलेको थियो। सिँचाइको काम समयमा नसकिएको तर काम सकिएको भन्दै नापी किताबमा चढाएर भुक्तानी लिइएको थियो।

मुगुको खत्याड गाउँपालिका–४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आव २०७६/७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *