Blog

  • दाजुद्वारा भाइको हत्या

    दाजुद्वारा भाइको हत्या

     अर्घाखाँचीमा आपसका विवाद हुँदा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन्। शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

    भाइलाई बन्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यी २० माध्यमबाट हेर्न सकिन्छ

    एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यी २० माध्यमबाट हेर्न सकिन्छ

     राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा गरी अन्तिम चरणमा पुर्‍याएको छ । बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिइरहेकाले सम्भवत आज नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

    परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक विषयहरू मिलाउने काम अन्तिम चरणमा रहेको पुष्टि गरे । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर नतिजा प्रकाशित हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘हामी प्रक्रियामै छौँ।’

    उनले आफू कार्यालय पुगेर बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई जानकारी गराइसकेको बताए । गत चैत ७ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सम्मिलित भएका थिए । बोर्डका अनुसार, यसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ९पूरक० ६७ हजार ७१५ जना विद्यार्थी रहेका छन् । प्राविधिक तयारी सम्पन्न हुनासाथ बोर्ड बैठक बसी नतिजालाई अन्तिम स्वीकृत प्रदान गरिनेछ र त्यसलगत्तै आधिकारिक रूपमा सार्वजनिक गरिनेछ ।

  • बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

    बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

     नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् ।

    बाढीमा परेर उनको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले अनलाइनखबरलाई जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

    उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ ।

    ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्‍याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको डीएसपी लामाले बताए ।

  • कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : देउवा

    कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : देउवा

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् ।

    सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको उनको भनाइ छ ।

    चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए ।

    ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,’ देउवाले भने तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’

    कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको देउवाको भनाइ छ ।

  • नौ स्थानीय तहको पाँच अर्बभन्दा बढीको बजेट सार्वजनिक

    नौ स्थानीय तहको पाँच अर्बभन्दा बढीको बजेट सार्वजनिक

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र बजेट अुनमान असार १० गते भित्र गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेको बमोजिम यहाँका स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन् । जिल्लाका दुई नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि एक अर्ब ९८ करोड २९ लाख १२ हजार रुपिँया बराबरको अनुमानित बजेट नगरसभाबाट पारित गरेका छन् ।

    शारदा नगरपालिकाको बजेट एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँ रहेको छ भने बनगाड कुपिण्डे नगरपालिकाको बजेट ७९ करोड रुपिँया रहेको छ । तर जिल्लाको अर्को नगरपालिका बागचौर नगरपालिकाले भने नगरसभाको १४ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गरेर पारित गरेको छ भने बजेट कार्यक्रमबारे छलफल चलिरहेकाले अधिवेशनको अर्को बैठकमा पेश हुनेछ। गाउँपालिकातर्फ छत्रेश्वरी गाउँपालिकाले ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपिँयाको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ। आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकाससँगै वातावरण, विपद् तथा प्राकृतिक स्रोत व्यवस्थापनलाई जोड दिँदै यस गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।

    यस्तै कालिमाटी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४९ करोड ९५ लाख, कुमाख गाउँपालिकाले ४९ करोड ८७ लाख तथा त्रिवेणी गाउँपालिकाले ४५ करोड ८४ लाख ४१ हजार ५८४ रुपिँयाको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको दार्मा गाउँपालिकाले ४४ करोड ९२ लाख ४६ हजार तथा कपुरकोट गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर ४२ करोड ६८ लाख ८८ हजार र सिद्धकुमाख गाउँपालिकाले ३५ करोड ३७ लाख रुपियाँको बजेट पारित गरेका छन् ।

  • आमसञ्चार विधेयक अगाडि बढ्ने

    आमसञ्चार विधेयक अगाडि बढ्ने

    सुर्खेत । कर्णालीमा यसअघि निष्क्रिय भएको आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई फेरि अगाडि बढाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक पुनः प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

    प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेश सभामा पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

    यो विधेयक ०७७ मा पहिलो पटक सभामा दर्ता भएको थियो । प्रदेशमा मिडिया व्यवस्थित गर्ने, आमसञ्चार गठन गर्ने लगायत विषयमा रहेर ल्याइएको उक्त विधेयक विभिन्न राजनीतिक खेलकाबिच पहिलो कार्यकालमा पारित नै हुन सकेन ।

    पहिलो कार्यकालमा तत्कालीन कानुन मन्त्री नरेश भण्डारी र अर्थमन्त्री प्रकाश ज्वालाले आ–आफ्नो मान्छे राख्ने खेलबन्दीका कारण राजनीति सहमति नजुटेपछि असफल भएको बताइन्छ ।

    महासङ्घले पुनः दबाब दिएपछि ०७८ मा अगाडी बढाइयो । तर पनि पारित नै हुन सकेन । पहिलो कार्यकाल सकिएपछि उक्त विधेयक निष्क्रय भयो । अहिले पुनः उक्त विधेयकलाई अगाडी बढाइएको हो ।

    यस्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदमा कायम मुकायम सचिवको जिम्मेवारी शेरबहादुर श्रेष्ठलाई दिने निर्णय गरेको छ । यस्तै प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा कृष्ण खरेललाई खटाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

  • काँक्रेविहारमा पर्यटन महोत्सव आयोजना हुँदै

    काँक्रेविहारमा पर्यटन महोत्सव आयोजना हुँदै

    काँक्रेविहारमा खोज, अनुसन्धान तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेकाे काँक्रेविहारमा ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक पक्षको गहन अध्ययन, समीक्षा र प्रचारप्रसार गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
    विहिबार वीरेन्द्रनगर–९ को आयोजनामा काँक्रेविहार परिसरमै काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव’ तथा युवा बालबालिका तथा विद्यार्थी सम्मेलन’ आयोजना गरिने जानकारी दिइएको छ।


    वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीका अनुसार, यस महोत्सवको मुख्य उद्देश्य काँक्रेविहारलाई शैक्षिक विमर्श, बौद्धिक अन्तर्क्रिया तथा सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बनाउनु हो ।
    महोत्सवमा काँक्रेविहारसम्बन्धी विविध महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने, विद्वानहरूको टिप्पणी, खुला बहस तथा विचार–विनिमय कार्यक्रम सञ्चालन गरिने बताइएको हाे ।
    महोत्सवमा विभिन्न विद्यालयस्तरीय प्रतियोगिताहरू पनि आयोजना गरिनेछन् ।

    जसअन्तर्गतः

    • वक्तृत्वकला प्रतियोगिता कक्षा ९–१२
    • चित्रकला प्रतियोगिता – ‘सपनाको काँक्रेविहार’ शीर्षकमा कक्षा ६–८
    • नृत्य प्रतियोगिता – स्थानीय कला–संस्कृति झल्किने प्रस्तुतिहरू कक्षा १–५

    यसबाहेक, समाजका विभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिनेछ। विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी स्थानीय थारू, भोटे तथा अन्य आदिवासी समुदायको सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा समावेश गरिनेछ ।
    वडा कार्यालयका अनुसार, यस्ता गतिविधिहरूले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना बलियो बनाउनेछ भने आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ ।

  • टिपरको ठक्करबाट युवकको मृत्यु, स्थानीयले जलाए टिपर

    टिपरको ठक्करबाट युवकको मृत्यु, स्थानीयले जलाए टिपर

    सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका -८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो ।

    उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगत‌ै स्थानीयले टिपरमा आगजनी गरि जलाएका छन् ।

    घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  • वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ५८ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ५८ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

    वैदेशिक रोजगारीका लागि यूके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
    उनले भने, ‘पक्राउ परेकामध्ये नवीनाले युके पठाइदिने भन्दै दुई जनाबाट रु ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट रु छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।’ पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
  • डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

    डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

    sharethis sharing button
     नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले “नामी फाइभ स्टार अफर” सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ।

    नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट 7kW + 3.5kW चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन्। विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ। यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ।

    बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ। बेस्ट-इन-क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ।

    यी सीमित अवधिका अफरहरूको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि ग्राहकहरूलाई आफू नजिकको डोङफेङ शोरूममा चाँडोभन्दा चाँडो पुग्न प्रोत्साहन गरिन्छ।