कांग्रेसलाई लगाइएको अलोकतान्त्रिक आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनी मार्गमा पुगेर आमसभामा परिणत भएको थियो।

विरोध सभामा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, कार्यकर्ता तथा भ्रातृ संस्थाका पदाधिकारी सहभागी थिए।

सभामा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिएका छन्। उनले भने,’कांग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै हो। कांग्रेसलाई लोकतन्त्रवादी र अलोकतान्त्रिक भनी प्रश्न गर्नेसँग हामी सहमत हुँदैनौँ।’

अन्यायमा परेका निमुखा तथा श्रमजीवी नागरिकको मुद्दालाई पार्टीले गहन ढङ्गले उठाउँदै आएको बताउँदै उनले कांग्रेसमाथि लगाइएको अलोकतान्त्रिकको आरोप आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिए।

महामन्त्री शर्माले भने,’सरकार प्रतिपक्षलाई हेर्ने अहिलेको व्यवहारबाट सच्चिनुपर्छ, सभामुख स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, सहकारी प्रकरणमा संलग्नमाथि निष्पक्ष संसदीय छानबिन हुनुपर्छ।’

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बाँनिया र काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलगायतले सहकारीको बचत अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पार्टीले उठाउँदै आएको संसदीय छानबिनको माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *