चोर बाटोबाट इ–सिगरेट (भेप) उत्पादन गरि कर छली गर्ने एक उद्योगका सञ्चालकलाई कारबाहीबाट बचाउन चलखेल गरिएको घटना सार्वजनिक भएको छ।
बाराकाे महागढीमाई नगरपालिका-५ गंजभवानीपुरमा अवस्थित इ–सिगरेट (भेप) उत्पादन गर्दै आएको हिमालयन टेक्नोलोजीका सञ्चालक राजाबाबु साहलाई जोगाउन चलखेल भइरहेको हो।
सो उद्योगले इ–सिगरेट उत्पादन गरी चोर बाटोबाट तेस्रो मुलुकहरूमा निर्यात गरेको र तिर्नु पर्ने कर समेत छली गरेको सूचनाका आधारमा आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले माघ १८ गते उद्योगमा शिलबन्दी गरी कागजपत्रहरु नियन्त्रणमा लिएका थिए।
उद्योगमा शिलबन्दी गर्न पुगेको टोलीको नेतृत्व आन्तरिक राजश्व कार्यालय सिमरा, बाराका प्रमुख राजकुमार खतिवडाले गरेका थिए। उनका अनुसार अनुगमनको क्रममा उद्योगले आवश्यक प्रक्रिया नपुर्याएर उद्योग संचालन गरेको र र कर समेत नतिरेको पाइएको थियो। ‘त्यसपछि हामीले उद्योगमा शिलबन्दी गरेका हौं।’ प्रमुख खतिवडाले भने।
उद्योगले उत्पादन गरेको भेपमा राखिएको मूल्यको ३० प्रतिशत अन्तःशुल्क लगायतका कर तोकिए पनि उद्योग सञ्चालक राजाबाबुले अन्तःशुल्क लगायतका करहरू नतिरेको बताउँदै प्रमुख खतिवडाले भने ‘उत्पादित भेप कहाँ बिक्री गरेको त्यो पनि प्रष्ट छैन।’
उक्त उद्योगमा माघ १८ गते शिलबन्दी गरिएको थियो। तर हालसम्म पनि उद्योग सञ्चालकलाई न त प्रहरीले नियन्त्रणमा लिएको छ, न त कुनै जरिवाना नै गरिएको छ। आन्तरिक स्रोतका अनुसार उनी कारबाहीबाट बच्न आन्तरिक राजश्व कार्यालय धाउन थालेका छन्।
सामान्यतया अन्तःशुल्क नतिर्ने र उत्पादित माल बस्तुहरूको बिक्री विवरण नदेखाउने उद्योगको सञ्चालनलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयले छानबिन गर्ने गर्छ। तर यस घटनामा भने सम्बन्धित निकाय मौन देखिन्छ।
यता आन्तरिक राजश्व कार्यालयका प्रमुख खतिवडाले उद्योग सञ्चालक राजाबाबु समाजमा प्रतिष्ठित व्यक्ति भएकोले उनलाई नियन्त्रणमा नराखिएको बताए। ‘राजाबाबुका बुवा प्रदेश सभा सदस्य समेत रहेका हुँदा बाहिर जान नसक्ने कारणले नियन्त्रणमा राख्न जरुरी नदेखिएको हो।’ खतिवडा भन्छन्।
मधेश प्रदेश सरकारले पनि तयार गरेको उद्योग प्रवर्द्धन ऐनमा भेपको उत्पादन गर्न दिन घरेलु तथा साना उद्योग कार्यालयलाई अधिकार दिएको खतिवडा बताउँछन्। संघ र प्रदेशले भेप उत्पादन गर्न अनुमति दिन सकिने ऐन बनाएकोले भेप उत्पादनको अनुमति प्रदेशले दिने कि संघले दिने त्यसमा अन्योल रहेको उनले सुनाए।
‘भेप उत्पादनको अनुमति कुन निकायले दिएको भन्दा पनि भेप उत्पादन गर्ने उद्योगले कर तिरेको छ वा छैन त्यसलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न गरेको छौं’ उनले भने।
खतिवडाका अनुसार प्रारम्भिक अनुसन्धानमा हिमालयन टेक्नोलोजीले करोड भन्दा बढीको भेप उत्पादन गरेको भेटिएको छ। ‘अबको दुई चार दिनमै कर निर्धारण गरेर असुल्न तर्फ हामी लागि परेका छौं’ उनले भने।
उद्योग सञ्चालक साहलाई कारबाहीबाट बचाउन र कम कर तिर्न लगाउनको लागि आन्तरिक राजश्व कार्यालय र आन्तरिक राजश्व विभागका पदाधिकारीहरू बिच मोल मोलाई भइरहेको हो ? भन्ने हाम्रो प्रश्नमा खतिवडाले यो सबै बाहिरी हल्ला मात्रै भएको र यसमा केही कर्मचारीको संलग्नता नरहेको दाबी गरे।
उद्योगमा शिलबन्दी गरेर आन्तरिक राजश्व कार्यालय सिमराले अनुसन्धान गरि रहेको अवस्थामा संचालक साह चीन समेत पुगेको थिए। उनले राजश्व कार्यालय र राजश्व विभागका पदाधिकारीहरूलाई पटक पटक भेटेर प्रभावित गर्ने काम गरिहरेको स्रोतको दाबी छ।

Leave a Reply