प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर

तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्। समयमै परीक्षण नगरे बालबालिकाको ज्यानै जान सक्छ। चिकित्सकका अनुसार नेपालमा प्रतिवर्ष ५० जना नयाँ बालबालिकामा क्यान्सर हुन्छ। हाल नेपालमा नयाँ र पुराना गरी २५० आँखाका क्यान्सरका बिरामी उपचाररत छन्।

विकसित देशमा हरेक शिशुको जन्मिनेबित्तिकै आँखा परीक्षण हुने र नियमित परीक्षण गर्ने अभ्यासका कारण समयमै समस्या पहिचान भई उपचार हुन्छ। तर नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा हरेक शिशुको आँखा परीक्षण गर्ने चलन नभएकाले आँखामा हुने क्यान्सरको कारण धेरै बालबालिका प्रभावित हुने गरेको तिलगंगा अस्पताल अकुलोब्लास्ट तथा अकुलर अन्कोलोजी विभाग प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताइन्।

विकसित देशमा जन्मेका हरेक शिशुको आँखा जाँच गर्ने नियमले यस्तो समस्या कम भइसको तर नेपालमा अहिले पनि उल्लेखनीय मात्रामा आँखाका क्यान्सर रोगी रहेको उनको भनाइ छ।

विभागकी प्रमुख डा. स्थापितका अनुसार अँध्यारो कोठामा बालबालिकाको आँखा असामान्य रूपमा रातो हुनु, तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिनु, आँखा दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिरतिर आउनु, आँखामा डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लास्टोमाको लक्षण हुन सक्छ।

यीमध्ये केही लक्षण देखिनेबित्तिकै तुरुन्त चिकित्सककहाँ पुगेमा आँखाको क्यान्सर निको हुन्छ। यो रोगको उपचार हाल नेपालमा शल्यक्रियासहित किमोथेरापीमार्फत हुने गरेको छ। रेडियोथेरापीका लागि भने भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल रेफर गर्ने गरेको अस्पतालले जनाएको छ।

नेपालमा ढिला उपचारकै कारण हुने थप क्षतिबाट बचाउन तिलगंगा आँखा प्रतिष्ठानले ओपनआइज नेपालसँगको सहकार्यमा निःशुल्क बहिरंग सेवा र उपचार सेवाको व्यवस्था गरेको थियो। यो सुविधा जेठ ५ गतेसम्म लागु भयो। यो सेवा लिन १० जना रेटिनोब्लास्टोमाका बिरामी सहभागी भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *