कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले समाचार रोकाउन ब्ल्याकमेलिङ गरी मूल कुरा विषयान्तर गर्न आफू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाले नागरिकता विवाद प्रकरणमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि सिरोहियाले विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी गरेका हुन्।
सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी रहेको सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल कुरा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ विज्ञप्तिमा भनिएको छ,‘यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक वैधितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन।’
अध्यक्ष सिरोहियाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएको आरोप लगाएका छन्।
उनले विज्ञप्तिमा ‘प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने ‘पदाधिकारी’ दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको’ आरोप पनि थपेका छन्। उक्त विषयमा ‘कहिले अनुसन्धान हुने हो ?’ भन्ने सिरोहियाको प्रश्न छ ।
‘अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?’ सिरोहियाले थप अर्को प्रश्न विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको सिरोहियाले उल्लेख गरेका छन्।
उनले विज्ञप्तिमा अगाडि लेखेका छन्, ‘राज्य शक्ति र श्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ। कान्तिपुरको पहिचान र विरासत यही हो।’
यस्तै, विज्ञप्तिमा कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको अध्यक्ष सिरोहियाले उल्लेख गरेका छन्। तर राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू र कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने सिरोहियाले भनेका छन्।
‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ। निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ सिरोहियाले अगाडि लेखेका छन्, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ।’
सिरोहियाले अहिले पनि आफू व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको तर कान्तिपुरले आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता नगर्न दाबी गरेका छन्।

Leave a Reply