Blog

  • एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु

    एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु

    पूर्वी नवलपरासीको दुम्कौली चोकमा बिरामी बोकेको एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय रजहरका अनुसार आज बिहान भएको दुर्घटनामा परेर स्कुलको भ्यानका चालक कुलप्रसाद सुवेदीको मृत्यु भएको हो । उनी ५२ वर्षका थिए ।

    बिरामी बोकेर नारायणगढतर्फ जाँदै गरेको एम्बुलेन्स र दिव्य एकेडेमी स्कुलको विद्यार्थी ओसार्ने भ्यान ठोक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेहरूको उद्धार गरेर उपचारका लागि पठाएको प्रहरीले जनाएको छ ।

  • बजेटले जनताको भरोसा जित्ने र देशलाई समृद्धिको बाटोमा अघि बढाउने पूर्वमन्त्री डा.महतोको विश्वास

    बजेटले जनताको भरोसा जित्ने र देशलाई समृद्धिको बाटोमा अघि बढाउने पूर्वमन्त्री डा.महतोको विश्वास

    काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा.विरेन्द्र प्रसाद महतोले नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रमको स्वागत गरेका छन् । बजेटले विशेषगरि युवा, उद्यमशीलतालाई प्रवद्र्धन, रोजगारी सिर्जना, उत्पादमूलक क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता तथा समावेशी समृद्धिको दिशामा महत्वपूर्ण संकेत गरेको बताएका छन् ।

    देशको अर्थतन्त्रलाई दीर्घकालिन सुधारको दिशातर्फ उन्मुख गराउन, स्वरोजगार र उद्यमशीलतालाई प्रोत्साहन दिन, घरेलु उत्पादन वृद्धि गर्न तथा आयातमा निर्भरता घटाउने लक्ष्यसहित ल्याईएको नीति तथा कार्यक्रम पनि प्रशंसनीय रहेको महतोको भनाई छ । महतोले जारी गरेको वक्तव्यमा भनिएको छ,‘विशेषगरि युवाहरुलाई लक्षित गर्दै सञ्चालित कार्यक्रमहरु सीपमूलक तालिम, स्टार्टअप अनुदान, कृषि तथा प्रविधिमा नवप्रवर्तनको प्रर्वद्धन–देशको समग्र आर्थिक पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौं ।’

    बजेटले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण प्रदान गर्नेपनि महतोको विश्वास छ । उनले राज्य र निजी क्षेत्र साझेदारी (पीपीपी) मार्फत आधारभूत संरचना विकासमा गति दिने नीति देशको दीर्घकालिन विकासको मेरुदण्ड सावित हुने आशा गरिएको बताएका छन् ।

    महतोले विज्ञप्तीमार्फत भनेका छन्–‘जनता समाजवादी पार्टी सधैं लोकतान्त्रिक, समाजवादी र समावेशी मूल्य र मान्यताको पषमा रहेर उत्पादनमूलक अर्थतन्त्र निर्माणमा योगदान गर्न तयार रहेको छ । प्रस्तुत बजेटले जनताको भरोसा जित्ने र देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने अपेक्षा हामीले गरेका छौं ।’

     

  • गाजा इजरायलको आक्रमणमा परी ३१ जनाको मृत्यु

    गाजा इजरायलको आक्रमणमा परी ३१ जनाको मृत्यु

     दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

    घटनाबारे विवरण दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले भने,“अधिकांश घाइतेहरू शरीरको माथिल्लो भागमा चोटपटक भई गम्भीर अवस्थामा छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।” उनले क्षेत्रमै जारी सैन्य गतिविधिका कारण एम्बुलेन्सहरूलाई घटनास्थलमा पुग्न कठिन भइरहेको बताए ।

    प्रत्यक्षदर्शीहरूका अनुसार, बिहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो ।

    गाजास्थित हमास नियन्त्रित सरकारी सञ्चार कार्यालयले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई सहायता वितरण केन्द्रहरूमा पुनःपुनः लक्षित आक्रमण हुने क्रमको एक भाग भएको बताएको छ । यस कार्यालयका अनुसार, उक्त सहायता केन्द्र एक अमेरिकी इजरायली कम्पनीको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालनमा थियो ।

    यता, इजरायली रक्षा बल ९आइडीएफ० ले आइतवार एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता वितरणस्थलमा आफ्ना गोलीबाट घाइते भएकोबारे जानकारी नभएको उल्लेख गरेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सञ्चारमाध्यमहरूले इजरायली सेनाको उपस्थितिको उद्देश्य ‘आतङ्ककारी तत्व’ विरुद्ध लक्षित कारबाही रहेको बताएका छन् ।
    यसबीच, इजरायलले मार्च २ तारिखदेखि गाजातर्फ जाने सीमाहरू बन्द गर्दै मानवीय सहयोगको आपूर्ति कटौती गरेको थियो । मे २२ देखि सीमित मात्रामा सहायता पुनः प्रवेश गर्न दिइएको छ ।

    मार्च १८ मा हमाससँग दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले गाजामा पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार, आइतवारसम्म कुल चार हजार १४९ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १२ हजार १४९ जना घाइते भएका छन् ।

  • प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब अनुदान

    प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब अनुदान

    आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो ।

    अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् ।

    ७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

    स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट जाँदैछ ।

  • राजावादीले आज शोक मनाउने

    राजावादीले आज शोक मनाउने

    राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका छन् ।

    २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले बताए ।

    आजको दिन साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सो कार्यक्रममा सहभागी हुन आन्दोलनकारीहरुलाई अनुरोध समेत गरेका छन् ।
  • भारतमा कोरोनाबाट दुई जनाको मृत्यु

    भारतमा कोरोनाबाट दुई जनाको मृत्यु

     छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।

    भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

    पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।

    पछिल्लो तथ्यांक अनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै केरलमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ ।

    यसैगरी महाराष्ट्रामा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छने । धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुवै जना मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।

     

     

  • सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

     डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    के.आई.सिंह गाउँपालिका–५ केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा आइतबार बिहान साढे ९ बजे सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा डोटी बोगटान फुड्सिल गाउँपालिकाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

    जिपमा सवार अन्य ८ जना घाइते भएका छन् ।

    घाइते हुनेमा ५० वर्षीय चनादेवी चन्द, ४० वर्षीय महेश्वरा देवी चन्द,४२ वर्षीय बिर्मा देवी चन्द, ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुराकी २३ वर्षीय राधिका देउवा, उनकी दुई वर्षीया छोरी रियान्सा देउवा र डोटीकै १९ वर्षीय धनबहादुर बम घाइते भएको डीएसपी जोराले बताए ।

    घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

    जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय हरिचन्द्र चौधरी पनि घाइते भएका छन् ।

    समान्य घाइते चौधरीलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • गणेश रसिकको निधन

    गणेश रसिकको निधन

     गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा केहि समाय अगाडि रसिकको निधन भएको सेतले जनाएको छ ।

    रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । उनलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

    रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए ।

  • यातायात बन्दको मारकामा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो

    यातायात बन्दको मारकामा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो

    पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि स्कर्टिङ्ग गरिएको छ ।

    सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई जेठ १८ गते बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्ने छ भने त्यहाँबाट नं। २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ ।

    डिएसपी शैलेन्द्र थापाका अनुसार गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुहरूलाई सुरक्षित रूपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍याइने छ । २५ वटा बस चितवन र काठमाडौंको लागि छुटेका हुन् ।

    शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कटिङमा पर्यटक बस र स्कुलमा मुग्लिन पठाइएको छ ।