Blog

  • इजरायली आक्रमणमा हमासका शीर्ष नेता मारिए

    इजरायली आक्रमणमा हमासका शीर्ष नेता मारिए

     इजरायलको आक्रमणमा परि हमासका शीर्ष नेता मोहम्मद सिन्वर मारिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिन्वर मारिएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको तीन दिनपछि इजरायली सेनाले पनि उनी मारिएको पुष्टि गरेको हो ।

    सिन्वरसँगै हमासको राफा ब्रिगेडका कमान्डर मोहम्मद शबाना र खान युनिस बटालियनका कमान्डर मेहदी क्वारा पनि मारिएको इजरायली सेनाले जनाएको छ । उनीहरुले युरोपेली अस्पतालको जमिनमुनि कमान्ड सेन्टर बनाएका थिए । त्यहीँ बसेर उनीहरूले रणनीति बनाउने गर्थे ।

    यद्यपी हमासले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । सिन्वर यसअघिका शीर्ष नेता याह्या सिन्वरका भाइ हुन् । तत्कालीन शीर्ष नेता इस्माइल हानिये जुलाई २०२४ मा मारिएपछि याह्या सिन्वर शीर्ष नेता चुनिएका थिए । अक्टोबरमा सिन्वर मारिएपछि मोहम्मद सिन्वर नेता चुनिएका थिए ।

     

  • स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

    स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।

    बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनका लागि मागेको हो । बोर्डले गत साउन यताको झन्डै ११ महिनाको रिभ्यु सुरू गरेको छैन । यी मेडिकल अधिकृतहरुलाई पेन्डिन अवस्थामा रहेको मागदाबीको रिभ्यु गर्न खटाउने छ ।

    जनशक्ति कम भएका कारण रिभ्यू गर्न बाँकी रहेको हो । रिभ्यू बाँकी हुँदा रकम भएको अवस्थामा पनि भुक्तानी गर्न मिल्दैन । बोर्डले १६ अर्बभन्दा बढीको भुक्तानी तिर्न नै बाँकी छ ।

    १५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फरफारक गर्ने सरकारले दाबी गरेको छ । सोही अनुसार बोर्डले जनशक्ति थप गर्न लागेको हो ।

    अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन् ।

    पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ ।

    बोर्डका सुचना अधिकृत विकेश मल्लका अनुसार मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण हुनु पर्ने छ । उनीहरुले नेपाल सरकारले तोकेको आठौँ तहको सुविधा पाउनेछन् ।

    बोर्डले योग्यता पुगेका चिकित्सकले ७ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ ।

  • सुन मूल्य तोलामा रु. तिन सयले बढ्यो

    सुन मूल्य तोलामा रु. तिन सयले बढ्यो

     गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

    राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

    फिरन्ते राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा दैलेख प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका—३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक गणेश बरालले  बताए ।

    शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको उनको भनाइ छ । ‘हामीले सुर्खेत प्रहरीको अनुरोधमा पक्राउ गरेको हो,’ उनले भने, ‘हामीले सुर्खेत पठाइदिएका छौँ, बाटोमै छ ।’

    घटना पनि सुर्खेतकै हो । चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो ।

    लगत्तै प्रहरीले उनीहरूको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

    ‘भिडियोमा दुर्व्यवहार नै गरेको देखिन्छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान होला ।’

  • बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल

    बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा विशेष ध्यान केन्द्रित हुने बताएका छन् ।

    आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको दोस्रो दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले चर्चाका लागिभन्दा सन्तुलित विकासका लागि यथार्थपरक बजेट प्रस्तुत गरिएको बताए ।

    मन्त्री पौडेलले भने, “कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” “बजेटको आकारबारे धेरै टिप्पणी नभए पनि आम्दानी र खर्चको दृष्टिकोणबाट यो व्यावहारिक छ ।”

    उनले प्रस्तुत बजेट लक्ष्य हासिल गर्नसक्ने सीमाभित्र रहेको समेत स्पष्ट गरे । जीडीपीको ५.५ प्रतिशतको अनुपातमा आन्तरिक ऋण उठाउने सीमा तोकिएको भए पनि त्यसलाई सबै उपयोग नगरिएको उनले बताए ।

    विकास निर्माणमा वैकल्पिक स्रोतहरू पनि परिचालन गरिने जानकारी दिँदै उनले भने, “विकासका निम्ति वैकल्पिक वित्त स्रोत तथा कोषको प्रयोग गर्ने भनेका छौँ ।”

     

  • सुनको मूल्य सामान्य बढ्यो

    सुनको मूल्य सामान्य बढ्यो

    sharethis sharing button
    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

  • वरिष्ठ पत्रकार विजय चालिसेको निधन

    वरिष्ठ पत्रकार विजय चालिसेको निधन

     वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

    सरकारी मुखपत्र गोरखापत्र दैनिका पूर्वप्रधान सम्पादक तथा अध्यक्ष एवम् प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष उनी केही समयदेखि बिरामी थिए ।

    उनको उपचारकै क्रममा निधन भएको हो । चालिसेको शुक्रबार नै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

    स्वर्गीय चालिसेले आमसञ्चार तथा पत्रकारिताको अध्ययपन पनि गर्दै आएका थिए । उनका आमसञ्चार र पत्रकारितासम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।
  • मोटरसाइकल र अटो ठोक्किँदा एक जनाको मृत्यु

    मोटरसाइकल र अटो ठोक्किँदा एक जनाको मृत्यु

    सल्यानमा बिहीबार राति मोटरसाइकल र अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

    जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे १ ह ९९३० नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको भे १० प ८३८३ नम्बरको मोटरसाइकल अम्रा नजिकै ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार बन्गाड कुपिण्डे नगरपालिका–५ का वर्ष २१ का नवीन रानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार मोटसाइकल चालक बन्गाड कुपिण्डे नगरपालिका–५ बस्ने वर्ष २१ का सविन राना सख्त घाइते भएका छन् ।

    अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा सख्त घाइते भएका दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि नेपालगन्ज लगिएको र नवीन रानाको भेरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। उनका अनुसार घाइते सविन रानाको नेपालगन्जस्थित नेसनल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले अटो चालक गुर्वाकोट नगरपालिका–३ सुर्खेतका वर्ष २८ का ढाकवीर कामीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।