सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ गतेदेखि असार एक गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशका सातवटै प्रदेशका टोलीहरूको सहभागिता रहनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश क्रिकेट संघका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । उनले कर्णालीमा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना हुँदै आएको उल्लेख गर्दै यस प्रतियोगिताले प्रदेशको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
गत वर्ष कर्णालीमा १६ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त भएको उनले बताए । उनका अनुसार महिला क्रिकेटको इतिहासमा कर्णालीमा आयोजना हुन लागेको यो पहिलो राष्ट्रिय प्रतियोगिता ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ । प्रतियोगिता सन् २०२७ मा हुने आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । यसले देशभरका प्रतिभावान महिला क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ ।
प्रतियोगिता सञ्चालनका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा तथा स्वास्थ्य सेवासहित आवश्यक व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई तीन हजार रुपैयाँ प्रदान गरिनेछ ।








