२०८३ मंसिर १३ , आइतबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता, ३×३ बास्केटबलमा रजत

३×३ मा आर्मीलाई स्वर्ण र कर्णालीलाई रजत, फुल कोर्टमा एपीएफ च्याम्पियन


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुदमा महिला ३×३ बास्केटबलमा रजत जित्दै कर्णालीले पदकको खाता खोलेको छ। फुल कोर्टतर्फ भने एपीएफले स्वर्ण पदक जितेको छ।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पदकको खाता खोलेको छ। आइतबार सम्पन्न महिला बास्केटबलको ३×३ विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत पदक हात पारेको हो।

आइतबार भएको ३×३ विधा अन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले १३ अंकसहित स्वर्ण पदक हात पार्दा कर्णालीले ९ अंकसहित रजत पदक जितेको हो। यो प्रतियोगितामा कर्णालीका लागि पहिलो पदक हो। शनिबारसम्म कर्णालीले कुनै पदक जित्न सकेको थिएन, तर आइतबार महिला बास्केटबलमा रजत पदक जित्दै कर्णालीले पदक तालिकामा खाता खोलेको छ। यही विधामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कास्य पदक हात पारेको छ।

यसैगरी, फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्वर्ण पदक हात पारेको छ। एपीएफ ५७ अंकसहित पहिलो भएको छ भने त्रिभुवन आर्मी क्लब २९ अंकसहित दोस्रो हुँदै रजत पदकमा सीमित बन्यो। नेपाल पुलिस क्लबले कास्य पदक हात पारेको बास्केटबलका सिनियर रेफ्री राजेश महर्जनले बताए।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार