यी हुन् जेन–जी आन्दोलनका क्रममा क्षति भएको सार्वजनिक र निजी सम्पत्ति

जेनजी–जी समूहको आन्दोलनले एकप्रकारको मूर्तरुप पाइसकेपछि देशभर अवस्था सामान्य बनेको छ । सडकमा सुरक्षार्थ निस्किएको नेपाली सेना र सशस्त्र प्रहरी फर्किएको छ । नियमितजसो नेपाल प्रहरीले सार्वजनिक क्षेत्रमा आफ्नो ड्युटी लिईसकेको छ । सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । मानिसहरुको आवतजावत लगभग सहज भइसकेको छ । विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउँदैछन् । बन्द भएका सरकारी कार्यालयहरुले पनि आइतबारबाट सेवाप्रवाह सुरु गर्ने भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको नापी कार्यालयले भने कहिलेदेखि आफ्नो सेवा सुरु गर्ने भन्ने टुंगो छैन । जेनजी समूहको प्रदर्शनका क्रममा घुसपैठ भएको समूहले तोडफोड र आगजनी गरेपछि कार्यालय सुनसान छ । न कार्यालयका कागजात छन्, न त भवन कार्यालयजस्तो नै देखिन्छ । आगलागीले भित्रि भाग पूर्णरुपमा जलेको कार्यालयले आफ्नो सेवा कहिलेदेखि र कसरी सुरु गर्ने भन्ने निश्चित छैन ।
‘प्रशासनले कार्यालयको क्षतिको मुचुल्का गर्न बाँकी नै छ, मुचुल्कापछि मात्र कहाँबाट र कसरी सेवा दिने भन्ने विभागसँग छलफल गरेर टुंग्याउने हुन्छ होला ।’ नापी कार्यालय सुर्खेतका प्रमुख दिनेश भण्डारीले भने । उनका अनुसार अहिले कार्यालयमा भएका करिब १ हजार पाँच सय जति नक्साहरु प्रदर्शनका क्रममा भएको आगलागीबाट जलेर नष्ट भएका छन् । रेकर्ड राखिएका फाइलहरु पनि नष्ट भइसकेका छन् । लिखित फाइलविनै सर्भरमा भएको रेकर्डले मात्र नापी कार्यालयको सेवाप्रवाह गर्न नसकिने भएकाले नापी विभागसँग छलफलबाट मात्र कामकाज गर्ने विषयमा निश्चित हुने प्रमुख भण्डारीले बताए ।
नापी कार्यालयको छेउमै रहेको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको पनि नियमित काम सुचारु गर्ने टुंगो लागेको छैन । प्रदेशको लेखा प्रणालीलाई व्यवस्थित र नियन्त्रित राख्ने लेखा नियन्त्रकको कार्यालयभित्र पनि आगलागीले अधिकांस दस्तावेज र सामग्री जलिसकेका छन् । इन्टरनेट, विद्युत प्रणालीमा समेत आगलागीबाट ठूलो क्षति पुगेको छ ।
कर्णाली प्रदेश सभा सचिवालयमा कर्मचारीहरु गएर हाजिर गर्ने र फर्किनेसम्म आन्दोलनको भोलिपल्टैबाट भएको थियो । तर कसरी पहिलेकै जसरी कामकाजलाई नियमित गर्ने भन्ने अन्योलता कर्मचारीमै छाएको छ । पुराना अभिलेख जलिसकेको प्रदेश सभाको भौतिक संरचनाभित्र बसेर कर्मचारीहरुले काम गर्ने मेसो पाएकै छैनन् । ‘सभामुखको भेटघाट कक्षमा फुटेका सिसाहरु पन्छाएर कर्मचारीहरु बस्ने गरेका छौं, मुचुल्का नभईसकेकाले हामीले सामग्री खोज्ने काम गरेका छैनौं,’ सचिवालयका अधिकृत राजेन्द्र पौडेलले भने, ‘अभिलेखहरु सबै नष्ट भईसकेका छन्, सभा र सचिवालयलाई पुरानै लयमा फर्काकाउन निकै समय लाग्ने र कष्ट हुने भएको छ ।’
जेनजी समूहको उग्र बनेको आन्दोलन मत्थर भइसकेपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारीले गरेको ज्यादतिका कारण कयौं सार्वजनिक निकायले आफ्ना सेवालाई तत्काल पुरानै अवस्थाअनुसार निरन्तरता दिन सक्ने अवस्था छैन । आन्दोलनबाट कार्यालयहरुमा पुगेको क्षतिले अर्बौं आर्थिक नोक्सानी व्यहोर्नुपर्ने त छँदैछ, सेवा लिन आउने सेवाग्राहीलाई समेत थप झमेला खेप्नुपर्ने भएको छ ।
आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका सार्वजनिक र व्यक्तिगतसहित ३६ वटा संरचनामा ठूलो क्षति पुर्याएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यक्तिका घर ७, राजनीतिक दलका पार्टी कार्यालय ४, प्रदेश सरकारका संरचना ५, संघ र स्थानीय तहका कार्यालयहरु १९, बैंकको संरचना १ वटा गरी ३६ वटामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कर्णाली प्रदेश सरकारका संरचनाहरुमा मुख्यमन्त्री कार्यालयमा आगजनीबाट आंशिक क्षति भएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्णरुमा क्षति पुगेको छ । कर्णाली प्रदेश सभा सचिवालय तथा संसद भवन र प्रदेश लेखा नियन्त्रक कार्यालयमा आगलागी र तोडफोडबाट पूर्ण क्षति पुगेको छ । मुख्यन्याधिवक्ताको कार्यालयमा आशिक क्षति पुगेको डिएसपी बुढथापाले जानकारी दिए ।
वीरेन्द्रनगर–७ मा रहेको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाई डा. डम्बर खड्का र विष्णु खड्काको घरहरुमा तोडफोड र आगलागीबाट पूर्णरु क्षति भएको छ । वीरेन्द्रनगर–८ मा रहेका मोयर मोहनमाया ढकालको घरमा आगलागी र तोडफोडबाट आंशिक क्षति पुगेको छ भने मुख्यमन्त्री यामलाल कँडेलको वीरेन्द्रनगर–४ मा रहेको घरमा पूर्ण क्षति पुगेको छ । वीरेन्द्रनगर–४ मा रहेको उपमेयर निलकण्ठ खनालको घरमा पनि आगलागी र तोडफोड गर्दा आंशिक क्षति पुगेको छ । विष्णु खड्काको वीरेन्द्रनगर–१० मा रहेको पेट्रोल पम्पमा पनि आंशिक क्षति भएको छ ।
वीरेन्द्रनगरमा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति पुगेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आन्दोलनकारीले तोडफोड गर्दा आंशि क्षति पुगेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि आंशिक क्षति पुगेको छ । नापी कार्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । उच्च सरकारी वकिल कार्यालयमा सामान्य र सिटी हलमा आंशिक क्षति पुगेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ कार्यालयहरुमा आगलागी र तोडफोड हुँदा पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । वडा नम्बर १, ७, ८, ९, १० र ११ कार्यालयहरुमा आंशिक क्षति पुगेको डिएसपी बुढ्थापाले जानकारी दिए । यस्तै, वीरेन्द्रनगर–४ मा रहेको रेडक्रस र हिमाली पुस्तकालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेत उपत्यका खानेपानी संस्थाको कार्यालयमा पनि आन्दोलनकारीले ढुंगामुढा गर्दा आंशिक क्षति पुगेको उनले बताए । प्रदेश सभाको गेटमा राखिएको एनआइसी एसिया बैंकको एटीएममा आन्दोलनकारीले पूर्ण क्षति पुर्याएका छन् ।
क्षतिको मूल्याङ्कन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेन–जी समूहको आन्दोलनका क्रममा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा बनेको समितिले क्षति पुगेका सरकारी कार्यालय र निजी घरहरुको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।

गठित समितिले दिएको प्रतिवेदनका आधारमा क्षतिको आँकलन गरिने प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायाले बताए । ‘कार्यविधिअनुसार तीन दिनको समयसीमा दिएर हामीले समिति गठन गरेका छौं, यस अवधिमा आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न पनि समितिलाई निर्देशन दिईएको छ ।’ उनले भने ।
क्षति भएका कार्यालयहरुको सेवा आइतबारबाट सञ्चालन गर्नेगरि छलफल भईरहेको प्रजिअ उपाध्यायले बताए । संयमित भएर सेवाग्राहीहरुलाई आफ्ना सेवा दिन निकायहरुलाई निर्देशन पनि गरिएको उनले जानकारी दिए ।
Leave a Reply