Blog

  • म सङ्गठनलाई अझ प्रभावकारी र उत्तरदायी बनाउन चाहन्छु :  देउवा

    म सङ्गठनलाई अझ प्रभावकारी र उत्तरदायी बनाउन चाहन्छु : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

    ‘आफ्नै देशको उत्पादन हाम्रो सान, कृषिमा उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ बिहीबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले १४ वर्षपछि हुन लागेको यस महाधिवेशनले नेपाली किसानमा नयाँ ऊर्जा र हौसला प्रदान गर्ने बताए।

    ‘म सङ्गठनलाई अझ प्रभावकारी, उत्तरदायी र किसानमैत्री बनाउन महाधिवेशन सफल होस् भन्ने कामना गर्दछु,’ उनले भने, ‘नेपाली कांग्रेसको गौरवशाली इतिहासमा किसान आन्दोलन सधैँ प्राथमिकतामा रहिआएको छ, नेपाली कांग्रेसले समाजवादको बाटो अपनाउँदा, त्यो बाटो किसान, श्रमिक र सर्वसाधारणको उन्नति, प्रगति र मुक्तिका लागि थियो।’

    उनले नेपाली कांग्रेसको लक्ष्यप्राप्तिका लागि लोकतन्त्रवादी किसानलाई गोलबद्ध गर्दै किसानको हकहितका पक्षमा आवाज बुलन्द गर्न महासङ्घ स्थापना भएको उनको भनाइ थियो। ‘आज हामी त्यस्तो समयको मोडमा छौँ, जहाँ कृषकले विभिन्न चुनौतीको सामना गरिरहनुभएको छ, जलवायु परिवर्तन, उत्पादनको उचित मूल्य नपाउनु, सिँचाइको अभाव र कृषि अनुदान तथा सहुलियत सेवामा पहुँचको अभावजस्ता समस्याले किसान पीडित छन्। यस्तो अवस्थामा, किसान महासङ्घले यी विषयलाई नीतिगत तहमा पुर्याउनु र समाधानका लागि दबाब सिर्जना गर्नु अत्यन्त आवश्यक छ,’ उनले भने।

    उनले कृषिमा आत्मनिर्भर हुन वास्तविक किसानले अनुदान प्राप्त हुने अवस्थाको सुनिश्चितता आवश्यक भएको उल्लेख गरे।

  • हामी नेपाली जनताप्रति ऋणी छौँ : ओली

    हामी नेपाली जनताप्रति ऋणी छौँ : ओली

    ‘हामी नेपाली जनताप्रति ऋणी छौँ । इमान्दार छौँ । एमालेलाई ध्वस्त गर्छौँ भने पनि नेपाली जनताले हामीलाई साथ दिएका छन् । निर्णायक मजबुत शक्तिमा रहेको छ त्यसैले एमालेले सरकारको नेतृत्वमा छ,’ अध्यक्ष ओलीले भने ।

    त्यस्तै उनले माधवकुमार नेपालहरूप्रति इंगित गर्दै आधा हिस्सा चाहियो भन्नेहरूको पार्टी नभएको बताए । उनले अगाडि भने, ‘पार्टी आधा चाहियो भनेहरूको यो पार्टी थिएन । नेतृत्वप्रतिको विश्वास पुनर्गठनका बेला देखाउनु पऱ्यो। महिला दिदीबहिनीको पार्टी जोगाउन बढी योगदान छ। पुरुषको योगदान छैन भनेको होइन ।’

    उनले पार्टीका पुराना नेताहरू हराएको पनि बताए । उनले भने, ‘मुर्धन्य नेताहरू कुहिराको कागजस्ता भए । नेता कहाँ पुगे । आदोलन हाँक्न सकिन्छ भन्ने विश्वास छ । म केही भइहाले पनि तपाईंले पार्टी अघि बनाउनुहुन्छ ।’

  • मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस मनाइयो

    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस मनाइयो

     मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुत्रःबार काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्‍यालीसहित यो दिवस मनाइएको हो ।

    यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदै छ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ ।
    र्‍यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए ।
    र्‍यालीमा सहभागीहरूले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानुनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।
  • नक्कली विवाह  गराएर ठगी गर्ने दुई जना पक्राउ

    नक्कली विवाह गराएर ठगी गर्ने दुई जना पक्राउ

    नक्कली विवाह गराएर ठगी गरेको कसुरमा दुई जना पक्राउ परेका छन् । आमा, बाबु र छोरी बनेर पुरुषसँग विवाह गराउने र विवाहपश्चात गरगहना तथा नगद लिएर भाग्ने गरेको उजुरी परेपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
    उक्त कसुरमा दैलेख घर भई वीरेन्द्रनगर–१० सुर्खेत बस्ने ४० बर्षीय गोपाल विका र अछामको तुर्माखाँदगाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ बर्षीया भविसरा रास्कोटी मगर पक्राउ परेका हुन् । गोपाल वीरेन्द्रनगरमा सदाशंकर होटलका सञ्चालक पनि रहेको सुर्खेत प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
    ‘सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट जोडिएर नक्कली आमाबुवा तथा छोरी बनेर ठगी गर्ने मनसायले पुरुषसँग विवाह गर्ने, विवाहपश्चात बेहुलीले नगद तथा गरगहना लगेर वेपत्ता हुने गरेको पाईयो,’ डिएसपी बुढथापाले भने, ‘प्रहरीलाई आएको सूचनाका आधारमा अनुसन्धान गर्दा फरकफरक मितिमा विभिन्न पुरुष व्यक्तीसँग एउटै महिलालाई विहे गराई ठगी गरेको भेटिएको छ ।’
    पक्राउ परेका दुवै जनामाथि आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

  • के हो पुतलीका कारण आँखामा लाग्ने ‘शापू’ रोग ?

    के हो पुतलीका कारण आँखामा लाग्ने ‘शापू’ रोग ?

    कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले आँखामा लाग्ने ‘शापू’ रोगबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । बिहिबार निर्देशनालयले आयोजना गरेको सञ्चारकर्मी तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रममा आँखासम्बन्धि रोगका चिकित्सकहरुले शापूबाट बच्न सुतेको समयमा सेतो बत्ती नबाल्न र झुल लगाएर सुत्न आग्रह गरेका छन् ।
    शापू रोगले छोएमा र समयमा उपचार हुन नसकेमा मानिसको आँखाको दृष्टि नै गुम्ने हुँदा यसबाट बच्न अधिकतम उपाय अपनाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । नेपालका मध्यपहाडी क्षेत्रमा यो रोगको जोखिम रहेको निर्देशनालयले जनाएको छ ।
    ‘शापू’ रोग मानिसको आँखासँग सेतो पुगलीको संशर्ग हुँदा लाग्ने गर्छ । हालसम्म सेतो पुतीले (मोथ) लाई शापू रोगको प्रमुख कारकका रुपमा लिईएको छ । कतिपय अवस्थामा भने सेतो पुतलीको संशर्गमा नआएका मानिसहरुमा पनि यो रोग देखा पर्ने गरेको छ । अन्य जिवाणु वा विषाणुका कारण पनि यो रोग लाग्ने गरेको अध्ययनले देखाएको छ ।
    शापू एक दृष्टिनासक रोग हो । यो प्राय बर्षा याम सकिन लाग्दा भदौदेखि मंसिर महिनासम्म मानिसमा देखिने गरेको छ । यो रोगको लक्षण् देखिएको २४ देखि ४८ घण्टासम्म उपचार हुन नसके आँखाको दृष्टि गुम्ने खतरा अत्याधिक हुन्छ ।
    एक्कासी एउटा आँखा रातो हुने, आँखामा चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसकिने, आँखाको दृष्टिमा तत्कालै कमी हुने, आँखा दुख्ने, उपचारमा ढिलो हुँदा कालो नानीमा सेतो धब्बा देखिनु शापू रोगका लक्षणहरु हुन् । यी लक्षण देखा पर्नेवित्तिकै अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा पुग्नुपर्ने चिकित्सक बताउँछन् ।
    सुर्खेत आँखा अस्पतालमा कार्यरत डा. आकांक्षा रानाका अनुसार यो रोग ५० बर्षअघि सन् १९७५ मा पत्ता लागेको हो । यो रोगको असर बढीजसो बालबालिकामा देखिने गरेको उनले बताईन् । नेपालमा यो रोगको गण्डकी र लुम्बिनी प्रदेशमा हालसम्म देखिएको उनले जानकारी दिईन् ।
    ॅकेस अस्पतालसम्म नआएर हो वा अन्य कुनै कारणले हो कर्णालीमा भने तत्काल प्रभाव देखिएको छैन,’ डा. रानाले भनिन्, तर यसको जोखिम भने सबै मध्यपहाडी क्षेत्रमा हुन्छ, त्यसैले समयमै रोकथामको उपाय अपनाउनुपर्छ ।’
    उनका अनुसार यो रोगको प्रभावलाई अध्ययन गर्दा एक बर्षको फरकमा देखिने गरेको छ । यो रोगको प्रमुख कारकका रुपमा रहेको सेतो पुतली रातिको समयमा बढी सक्रिय हुने हुँदा झुल लगाएर, बत्ति निभाएर सुत्नुपर्ने उनी बताउँछिन् । सन् २००३ को प्रतिवेदनअनुसार यो रोग लागेका मानिसको उपचार पद्धतिमा अपरेशन बढी प्रभावकारी भएको
    देखिन्छ ।


    प्रतिवेदनअनुसार अपरेशन विधिबाट ५० प्रतिशत बिरामी निको भएको उनले बताईन् । सन् २०१० को अर्को प्रतिवेदनअनुसार औषधि विधिबाट ३३.३ प्रतिशत शापू रोगका बिरामीको उपचार सफल भएको डा. रानाले जानकारी दिईन् ।
    शापूको रोकथामका लागि सेतो पुतलीको संशगबाट टाढा रहने, धेरै उज्यालो र सेतो बत्ती नबाल्ने, रातिमा झ्यालढोका बन्द गरेर सुत्ने, सम्भव भएसम्म झ्याल तथा ढोकामा जाली लगाउने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर सुत्ने
    गर्नुपर्छ ।
    समयमै उपचार पाए निको हुने यो रोगले उपचारमा ढिलाई भए आँखाको दृष्टि गुम्ने वा आँखा सुकेर जाने सम्भावना बढी हुन्छ । यस्तो रोगको शंका लागेमा आफूखुशी औषधि वा जडीबुटीको प्रयोग नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

  • वर्ल्डलिंकले पनि बन्द गर्‍यो सूचीकृत नभएका सामाजिक सञ्जाल

    वर्ल्डलिंकले पनि बन्द गर्‍यो सूचीकृत नभएका सामाजिक सञ्जाल

     सरकारको निर्देशनसँगै  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गरेको छ । कप्मनीले शुक्रबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचार, सर्वोच्च अदालतको परमादेश, नेपाल सरकार मन्त्रिपरिषद्‌को ९ भदौको मन्त्रिपरिषद्को निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका, २०८० अनुसार नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गरिएको कम्पनीले जनाएको छ ।

    सरकारले बिहिबार सूचीकृत नभएका फेसबुक, युट्युब, एक्सलगायत समाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो । सो निर्णयअनुसार नेपाल टेलिकम र एनसेलले हिजो नै बन्द गरेको सूचना निकालेका थिए ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

    फाइल तस्बिर
     शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

    अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

  • सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग

     प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेकी हुन् । उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नीति आधारित, प्राविधिक र कानुनी उपायहरू अवलम्बन गर्न र भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउन पनि सुझाव दिएकी छन् ।

    सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभएर लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीतको कदम भएको श्रेष्ठको भनाइ छ ।

    उनले लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया भएको जिकिर गरेकी छन् ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टी नागरिक अधिकार, डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चार प्रयोगको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ,’ श्रेष्ठले भनेकी छन्, ‘नागरिक अधिकार कुण्ठित गर्ने गरी नेपाल सरकारले गर्ने यस्ता प्रयासप्रति हाम्रो कडा प्रतिवाद रहने छ ।

  • प्रदेश गौरवको आयोजना: सरकारको निर्णयविरूद्ध रिट

    प्रदेश गौरवको आयोजना: सरकारको निर्णयविरूद्ध रिट

    कर्णाली प्रदेश सरकारको पर्खाल लगाउने निर्णयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट परेको छ । बुधबार सार्वजनिक सरोकार राख्ने अधिवक्ता र मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकाय अध्ययनरत विद्यार्थीले पर्खाल लगाउने निर्णयका विरुद्ध उच्च अदालतमा रिट दायर गरेका हुन् ।
    अन्तरिम आदेशसहितको उत्प्रेषण परमादेश लगाउन आज्ञा जारी गरिदिन माग गर्दै उनीहरुले रिट दायर गरेका हुन् ।


    अधिवक्ता प्रकाशबाबु ऐडी, मध्यपश्चिम विश्वविद्यालय कानुन संकाय अध्ययनरत गोपालबहादुर ऐडी र दीपक बुढाथोकीले उच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उपत्यका नगर विकास समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
    संविधानप्रदत्त नागरिकको मौलिक हक तथा नागरिक अधिकारका दृष्टिकोणले सरकारको पर्खाल लगाउने विषय सामूहिक हकहित र सरोकारको विषय भएकाले उक्त विषयमा रिट दायर गरिएको निवेदकले उल्लेख गरेका छन् ।सरकारको सार्वजनिक क्षेत्रमा पर्खाल लगाउने निर्णयले कर्णालीवासी नागरिकलाई मौलिक हक उपभोग गर्नबाट बञ्चित गर्ने अवस्था सिर्जन भएकाले उक्त कार्य हुन नदिन रिट हालिएको उल्लेख गरेका छन् ।
    ॅनागरिकको मौलिक हकअधिकारसँग सम्बद्ध कानुनी व्यवस्थालाई नजरअन्दाज गरी कर्णाली प्रदेश सरकारले २५ करोड लागतमा २.५ किलोमिटर लामो पर्खाल निर्माणको कार्य अगाडि बढाई नागरिकको स्वतन्त्रतापूर्वक सहज तवरबाट सेवा लिनपाउने हकको मान्यतालाई निषेध गरेको छ, यो पर्खाल निर्माण गर्ने व्यवस्थाले राज्यका ठूला पदमा आसिन व्यक्तिहरु र नागरिकबीचको सेवा प्रवाहमा ठूलो विभेद सिर्जना गर्नेछ,’ रिट निवेदनमा भनिएको छ, ॅसार्वजनिक सम्पत्तिको सुरक्षाको लागि ट्राफिक व्यवस्थापन, सिसीटिभी क्यामरोको प्रयोग, सुरक्षाकर्मीको उपस्थिति जस्ता अन्य आधुनिक र कम बाधक उपायहरुको विकल्प हुँदाहुँदै पनि कर्णाली प्रदेश सरकारको पर्खाल लगाउने निर्णय रचनात्मक र जनतामैत्री सेवा प्रदान नभई नागरिकका मौलिक हक हनन् हुने स्पष्ट देखाउँछ ।’
    प्रदेशको भौीतक पूर्वाधार निर्देशनालयले पर्खाल लगाउन जारी गरेको ठेक्का प्रक्रिया अदालतको उत्प्रेषण आदेशले बदर गर्न निवेदकले माग गरेका छन् । ॅनिर्देशनालयको टेन्डर तथा सरकारको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गरी आम नागरिकको दैनिक आवागमनमा बाधा, अवरोध सिर्जना हुनेगरि पर्खाल निर्माण लगायतका कुनै पनि कार्य नगर्नु, नगराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गरीपाउँ ।’ निवेदनमा भनिएको छ ।
    कर्णाली प्रदेश सरकारले प्रस्तावित मन्त्रालय भवनस्थल र केही महत्वपूर्ण सरकारी कार्यालयहरुलाई भित्र पारेर पर्खाल लगाउने योजना कार्यान्वयनका लागि अघि बढाएको छ ।
    सरकारी कार्यालयमा नागरिकलाई प्रवेशमा अवरोध हुनेगरि प्रदेश सरकारले २.५ किलोमिटर वरिपरि पर्खाल लगाउने योजनालाई ॅप्रदेश गौरवको योजना’ भनेको
    छ ।
    यो पर्खाल निर्माणका लागि भौतिक पूर्वाधार निर्देशनालयले गत असार २७ गते सूचना जारी गरेको थियो । सूचनापछि ३० भन्दा बढी निर्माण कम्पनीहरुले प्रस्ताव दर्ता गराएका छन् । यो आयोजना सम्पन्न गर्न सरकारले चालु आर्थिक बर्षको बजेटबाट २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
    नागरिकले दैनिक सेवाका लागि पुग्ने वडा कार्यालय, प्रहरी, अदालत तथा सार्वजनिक क्षेत्रमा समेत सहज आउजाउ गर्न बाधा पुग्नेगरि सरकारले लगाउन लागेको पर्खाल आयोजना’ को सर्वत्र आलोचना भईरहेको छ । नागरिक, नागरिक समाज संस्था, राजनीतिक दल लगायत संसदका प्रतिपक्षी दलले समेत यो आयोजनाको विरोध गरेका छन् ।


    वीरेन्द्रनगरको मुख्य सेवाप्रदायक निकाय भएको क्षेत्रमा बन्ने २.५ किलोमिटर पर्खालमा नागरिक प्रवेशका लागि जम्मा चार वटा मात्रै गेटहरु राख्नेगरि निर्देशनालयबाट ठेक्का प्रक्रिया भएको छ । वीरेन्द्रनगरको सरकारी अड्डा भएको यो क्षेत्रमा प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयसहित आठ वटा मन्त्रालय पनि छन् ।
    हालको प्रदेश प्रहरी कार्यालयको पूर्वतर्फ तीन अर्बभन्दा बढी रुपैयाँ लागतमा छुट्टै सबै मन्त्रालय रहनेगरि एकीकृत संरचना बनाउँदैछ । यसको पनि जेठ ९ गते टेन्डर भइसकेको छ ।
    २.५ किलोमिटर पर्खालमध्येमा घण्टाघरको माथिल्लो चोक, इत्राम स्कुल चोक, यातायात चोक र खारखोली पुल नजिक १५ मिटर अग्ला चार वटा गेट निर्माण गरिनेछ । दुई वटा काँक्रेविहार शैलीमा र दुई वटा घरको धुरी आकारमा गेटको डिजाइन गरिएको छ ।
    पर्खाल लगाउने क्षेत्रभित्र वडा कार्यालय, दुई वटा अदालत, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, प्रहरी गण, नापी कार्यालय, मालपोत कार्यालय, नेपाल टेलिकम, विद्युत प्राधिकरणको वितरण केन्द्र, खानेपानी, लोकसेवा आयोगलगायत जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयहरु रहेका छन् ।