Blog

  • ‘नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ’

    ‘नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन्।

    चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्तो टिप्पणी गरेका हुन्।

    मोदीले ‘एक्स’ मा लेखेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ।’

    दुवै नेता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनमा छन्। सोही सम्मेलनका क्रममा उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो।

  • युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या

    युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या

    युक्रेनको पश्चिमी शहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ। सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्।

    जेलेन्स्कीले सन् २०१० को दशकमा संसदीय सभामुख रहेका चर्चित राजनीतिज्ञ एन्ड्री पारुबीको हत्याको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे। “हत्याराको अनुसन्धान र खोजीमा सबै आवश्यक शक्ति र साधन लगाइएका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

    प्रहरीका अनुसार ५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको हो। ​​​​​​​आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

    सन् २०१६ देखि सन् २०१९ सम्म संसदको सभामुख रहेका पारुबी सन् २००४ को युरोप समर्थित ‘ओरेन्ज रिभोलुसन’ र सन् २०१४ को ‘मेडन रिभोलुसन’का प्रमुख समर्थक थिए। उनले युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को सचिवको रूपमा पनि काम गरेका थिए।

     

  • चीनको धान उत्पादन विशेष क्षेत्र अवलोकन गर्न पुगे प्रधानमन्त्री ओली

    चीनको धान उत्पादन विशेष क्षेत्र अवलोकन गर्न पुगे प्रधानमन्त्री ओली

    चीनको धान उत्पादन विशेष क्षेत्र अवलोकन गर्न पुगे प्रधानमन्त्री ओली

     शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले हुवइगाउँस्थित धान उत्पादन क्षेत्र अवलोकन गरेका छन्।

    प्रधानमन्त्री ओलीले जेडी ९३९ धानको बीउ उत्पादनसँगै कृषि, पर्यटन र शिक्षामा जोड दिइएको नमूना कार्यबारे जानकारी लिए।

    उनले आजै नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको समेत अवलोकन गरे। चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन्।
    अवलोकनमा प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सहित अन्य उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।
  • हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ- गृहमन्त्री लेखक

    हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ- गृहमन्त्री लेखक

     
    गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।
    पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको उनले बताए ।
    ‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौं’, उनले भने, ‘औषधिको कमी हुन दिनेछैनौं । चिकित्सकको पनि कमी हुन दिनेछैनौं ।’

    गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीरकरण गर्ने बताए ।

    ‘हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौं’, उनले भने । अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

    शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरूका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएका बताए ।

    ‘अस्पतालसँग जेजति स्रोतसाधन रहेको छ । सोहीअनुसारको उपचार कार्य भइरहेको छ’, उनले भने, ‘अहिले हैजाका बिरामीको सङ्ख्या घट्ने क्रम छ ।’

    गृहमन्त्री लेखकलले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको पनि बताए ।

  • दसैँका लागि सुकिला नोट २९ गतेदेखि साट्न पाइने

    दसैँका लागि सुकिला नोट २९ गतेदेखि साट्न पाइने

    दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ।

    यस वर्ष विजया दशमी असोजको १६ गते परेकाले भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने भएको हो। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नयाँ नोट साट्न सकिने छ। साथै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थाले कारोबारको समयमा नोट साट्न पाउने छन्।

  • गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

    गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

     बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए ।

    बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।
    गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।
    महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

    यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

  • गौरापर्व नारी शक्ति र संस्कृतिप्रतिको आस्था हो : देउवा

    गौरापर्व नारी शक्ति र संस्कृतिप्रतिको आस्था हो : देउवा

    गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवानेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् ।

    गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने यस पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको उल्लेख गरे ।

    देवी गौरी (गौरा) र भगवान् शिव (महेश्वर) को पूजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्दछ । विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरू रहेका छन् ।

    सभापति देउवाले गौरापर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताए । विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन, देउडालगायत नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ ।
    यस पर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्नसमेत उत्प्रेरित गरेको सभापति देउवाको भनाइ छ । उनले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
  • ५१ किलोको मालाले स्वागत

    ५१ किलोको मालाले स्वागत

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् ।

    वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् ।

    राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।

    निर्देशन अवज्ञा गर्दै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु,  केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

  • अझैं कति समय लाग्छ कोहलपुर–सुर्खेत १३२ केभी विद्युत सुचारु गर्न?

    अझैं कति समय लाग्छ कोहलपुर–सुर्खेत १३२ केभी विद्युत सुचारु गर्न?

    सम्झौता अनुसार काम हुन सकेको भए कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माणको काम साढे तीन बर्षअघि नै सकिइसकेको हुन्थ्यो । कमजोर प्रसारण लाइनका कारण हैरानी खेपिरहेको सुर्खेत र आसपासका क्षेत्रमा १३२ केभी क्षमताको हाइटेन्सन लाइनमार्फत विद्युत आपूर्ति गरिएको हुन्थ्यो ।
    यो प्रसारण लाइन निर्माणका लागि २०७७ भदौमा सम्झौता भएको थियो। जसअनुसार भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७९ भदौमा काम सकेर हस्तान्तरण गर्नुपर्ने थियो। सुरुमा राष्ट्रिय निकुञ्जका रुख कटानका लागि स्वीकृति लिन झमेला खेपेको कम्पनीले त्यसपछि जग्गा विवादको झमेला खेप्नुपर्‍यो । यसले गर्दा बर्षौं पछिसम्म पनि ठेक्का पाएको कम्पनीले काम गर्न सकेन । यसकारण आयोजना तीन बर्ष पछाडि धकेलियो। अहिले यी सबै विवाद सुल्झिसकेका छन् । यद्यपि कोहलपुर–सुर्खेत हाइभोल्टेज प्रसारण लाईन निर्माणको कामले पूर्णता भने पाइसकेको छैन ।

    फिल्ड सुपरभाईजर सुवेदी भन्छन्‌– अपेक्षाअनुसार काम भए दशैं र तिहारको बीचमा विद्युत आउँछ

    वीरेन्द्रनगरमा सबस्टेसन बनाउने जिम्मा लिएको नेपाल हाइड्रो लिमिटेडले भने ९० प्रतिशत भन्दा धेरी काम सकिसकेको छ । प्रसारण लाईनको काम कहिले सकिएर विद्युत परीक्षण गर्ने भन्ने टुंगो नलागेकाले कम्पनीले सतप्रतिशत काम गरेको छैन । विद्युत पुग्ने पक्का हुनेवित्तिकै स्टेशनको सम्पूर्ण कार्य पूरा हुने कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ ।
    विद्युतको प्रसारण लाइन निर्माणको काम भईरहेको भएपनि कुन मितिमा वा कहिले स्टेशनमा विद्युत परीक्षण गर्ने भन्ने टुंगो अझ पनि लागिसकेको छैन । आयोजना कार्यालयले भने सकेसम्म दशैं र तिहारको बीचमा १३२ केभी हाइभोल्टेज विद्युत सुर्खेत पुर्‍याउने लक्ष्य राखेको छ ।
    आयोजनाका फिल्ड सुपरभाईजर मिलन सुवेदीका अनुसार कोलपुरदेखि वीरेन्द्रनगरसम्म १६२ वटा एंगल टावर बनाउनुपर्नेमा अब चार वटाको काम बाँकी छ । १४२ वटा टावर निर्माण भईसकेका छन् । २० वटा बाँकी मध्ये १६ वटा टावरको फाउण्डेशन तयार भईसकेर टावर उठाउन मात्र बाँकी छ । बाँकेको बानियाँबार र देउराली क्षेत्रका चारवटा टावरको भने फाउण्डेशन बनाउने कार्य भर्खरै सुरु भएको सुवेदीले जानकारी दिए ।
    ॅसामुदायिक वन र राष्ट्रिय निकुञ्जको समस्या समाधान भईसकेपछि वस्ती क्षेत्रमा केही अवरोध थियो, त्यो पनि पछिल्लो समय समाधान भईसकेको छ,’ फिल्ड सुपरभाईजर सुवेदीले भने, ॅपछिल्लोपटक विवाद सकिएका ठाउँमा बढीमा एक महिनामित्र टावर निर्माण भईसक्छन् ।’
    उनका अनुसार आयोजना निर्माणमा अबको मुख्य ढिलाई भने रुख कटानमा हुने देखिएको छ । सुर्खेतर्फको हर्रेमुनिको करिब पाँच किलोमिटर क्षेत्रमा रुख कटान भईरहेको छ । यो काम जति छिटो सकियो उति नै छिटो विद्युत प्रसारण हुने उनले बताए ।
    ॅरुख काट्ने काम पनि भईरहेको छ, तर काटेकै दिन बोक्न नसकिएकाले यसमा ढिलाई हुने देखिन्छ,’ उनले भने, ॅटावर र सवस्टेसन निर्माणमा अब समस्या छैन, समयमै रुख कटान हुन सके दशैं र तिहारको बीचमा १३२ केभी विद्युत सुर्खेत स्टेसनमा पुर्‍याउने योजना छ ।’ यद्यपि यो समयमा काम पूरा हुन नसकेपछि बढीमा आगामी माघसम्म १३२ केभी प्रसारण लाइन सुर्खेतसम्म सुचारु गर्न सकिने सुवेदीको भनाई छ ।
    टावर निर्माण पूरा भएको क्षेत्रमा ३४ किलोमिटर तार पनि तानिएको उनले बताए । बाँकी टावर निर्माण र तार जडानको काम सँगसँगै पूरा हुने उनले बताए ।
    ५१ किलोमिटर लामो कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन निर्माण ढिलो हुनुमा मुख्य दुइटा कारण छन् ।
    पहिलो कारण भनेको बर्दिया राष्ट्रिय निकुञ्जका रुख कटान अनुमति पाउन ढिलो हुनु हो । आयोजनाको डिपिआरमा ८ हजार रुख काट्नुपर्ने भनिएको थियो । ठेक्का हुँदासम्म थप ६ हजार कटान गर्नुपर्ने भयो । कुल १४ हजार रुख कटान गर्नुपर्ने प्रतिवेदन पास भयो, तर स्वीकृत भएन । प्रतिवेदनपछि रुख कटानका लागि संघको मन्त्रिपरिषदले स्वीकृति दिनुपर्ने थियो । ठेक्का भइसकेर काम सुरु भएको केही समयपछि २०७९ असार १५ गते मात्र मन्त्रिपरिषद बैठकले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटानका लागि स्वीकृति दियो । ठेक्का सम्झौदा गरेको निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले भने त्यसअघि नै निकुञ्ज बाहेकका क्षेत्रमा टावर निर्माण काम सुरु गरिसकेको थियो ।
    प्रसारण लाइनभित्र पर्ने व्यक्तिगत जग्गामा विवाद हुनु यो आयोजना ढिलो हुनुको दोस्रो कारण हो । निकुञ्ज क्षेत्रको समस्या समाधान भएर काम हुँदै गर्द अन्तिम समयमा जग्गा सम्बन्धी विवाद आयोजनाका लागि बोझ बनेको थियो । प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने निजी जग्गाधनीले सरकारी दरअनुसारको मुआब्जामा चित्त नबुझाएपछि विवाद लामो समयसम्म सुल्भिएन । कोहलपुरदेखि वीरेन्द्रनगरसम्म मुख्यगरी चार ठाउँ; बाँकेमा बानियाभार र गाभर, सुर्खेतमा छिन्चु र वीरेन्द्रनगरमा जग्गा विवाद थियो । यीमध्ये छिन्चुको समस्या सुरुमा समाधान भयो ।
    मुआब्जाकै विषयमा बानियाभारका स्थानीयले नेपालगञ्जमा रहेको उच्च अदालत तुलसीपुर इजलासमा रिट हालेका थिए । अदालतले यो नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन बनाउन दिनुपर्ने भन्दै रिट खारेज गरिदिएको थियो । तर पनि काम सुरु भएन । पछिल्लो समय भने प्रशासनको सहयोग लिएर आयोजनाले ती क्षेत्रमा काम थालेको हो ।
    कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माणका लागि आरएस कम्पनीसँग ७० करोड रुपैयाँमा ठेक्का भएको थियो । आयोजना अन्तर्गत कोहलपुरदेखि वीरेन्द्रनगरसम्म १६२ वटा एंगल टावर बनाउनुपर्छ ।
    हाल सुर्खेतमा मुख्य सबस्टेसन रहेको ३३ केभिए विद्युत प्रसारण लाइन छ । २०४५ सालमा बनेको यही प्रसारण लाइनबाट कर्णाली प्रदेशका आठ वटा जिल्लामा विद्युत पुगेको छ । त्यसैले यसले अहिलेको विद्युत खपत धान्न मुस्किल परेको छ । कम क्षमता र कमजोर संरचनाका कारण कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण प्रभावकारी बन्न सकेको छैन ।
    पहिलेको ३३ केभिए प्रसारण लाइन कोहलपुर–बबई–हर्रे हुँदै सुर्खेतको भेरीगंगास्थित रामघाटमा सबस्टेसनमा ल्याइएको छ । रामघाटबाट दशरथपुर हुँदै वीरेन्द्रनगरसम्म पुर्‍याइएको छ । अहिले निर्माण गरिने प्रसारण लाइन भने सिधै राजमार्ग छेउबाट वीरेन्द्रनगरको सुब्बाकुनामा पुर्‍याइँदैछ ।
    यो प्रसारण लाइन दैलेख हुँदै जुम्लासम्म पनि पुग्छ । सुर्खेतबाट दैलेखसम्म ३२ किलोमिटर लामो प्रसारण लाइनको अहिले टावरको जग निर्माण काम थालिएको छ । यसअन्तर्गत दैलेखको चुप्रामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । दैलेखबाट कालिकोट र कालिकोटबाट जुम्लासम्म यही प्रसारण लाइन विस्तार हुँदैछ ।