Blog

  • मुख्यसचिव अर्यालको कार्यकाल लम्ब्याउने प्रयास

    मुख्यसचिव अर्यालको कार्यकाल लम्ब्याउने प्रयास

    प्रचलित ऐनअनुसार ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जानेछन् । तर उनलाई समेत फाइदा हुने गरी संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीको अनिवार्य अवकाश ५८ बाट ६० वर्ष पुर्‍याइँदैछ ।

    अनिवार्य अवकाशको उमेर बढ्दा मुख्य सचिव अर्याललाई फाइदा नपुग्ने गरी प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

    प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको विधेयक ऐनमा रुपान्तरित भएर लागू भएको वर्ष ५८ वर्ष नै अनिवार्य अवकाशको उमेरहद राख्ने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्ष कायम गर्ने भनिएको छ ।

    तर, राष्ट्रिय सभामा विधेयक पुगेपछि सरकारले ऐन लागू भएको वर्ष नै ५९ वर्ष लागू गर्ने प्रस्ताव राखेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले केही प्रावधिक विषय मिलाउनुपर्ने भनेर यस्तो प्रस्ताव राखेकी छिन् । जसलाई विपक्षी दलहरूले स्वीकार गरिसकेका छैनन् ।

    प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान नै राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा मुख्यसचिव अर्यालले आगामी मंसिर ९ गते अनिवार्य अवकाश पाउनेछन् । सरकारले प्रस्ताव गरेअनुसार विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अनिवार्य अवकाश हुने भनिए मुख्यसचिव अर्यालको कार्यकाल २०८३ साल भदौ १३ गतेसम्म लम्बिनेछ ।

    अर्याल २०८१ साल भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए । मुख्यसचिवको कार्यकाल २ वर्ष कायम गर्ने विषयमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सहमत भएको छ । यो प्रावधान प्रतिनिधि सभाले समेत पारित गरेर पठाएको हो ।

    विधेयकमा टुंगिन बाँकी विषय आज टुंगो लगाएर राष्ट्रिय सभामा पेस गर्ने तयारी छ ।

    यदि विधेयक ऐनमा रुपान्तरित भएको वर्ष अनिवार्य अवकाशको उमेर हद ५९ वर्ष बनाइए नौ सचिवसहित सहसचिव र उपसचिवहरुको समेत कार्यकाल लम्बिने छ ।

  • ‘स्रोत र जनशक्ति अभावबीच पनि मानसिक स्वास्थ्य उपचारमा प्रगति भएको छ’

    ‘स्रोत र जनशक्ति अभावबीच पनि मानसिक स्वास्थ्य उपचारमा प्रगति भएको छ’

    कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा रणनीति पछ्याउँदै काम गरिएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना २०७९–०८७ को उद्देश्य पूरा गर्नेगरी काम भईरहेको सरोकारवालाले बताएका छन् ।
    रणनीतिको मध्यमकालिन समयमा भएको समीक्षालाई आधार मानेर सरोरकारवालाहरुले यो क्षेत्रमा कर्णालीमा उल्लेख्य प्रगति भएका धारणा राखेका छन् । कर्णाली प्रदेश सरकारले पछिल्ला वर्षहरुमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको पहुँच विस्तार पनि विस्तार गरेको दावी गरेको छ । मानसिक स्वास्थ्य रणनीतिमार्फत कर्णालीले मानसिक स्वास्थ्य क्षेत्रमा उपचारात्मक सेवालाई विस्तार गरेको दावी गरेको छ ।

    कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर सुशिल समदर्शीका अनुसार हालसम्म कर्णाली प्रदेशभर ३३ वटा अस्पतालसहित १८७ वटा स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा काम भइरहेको छ । यीमध्ये धेरैजसो सेवाप्रदायक संस्थाहरुमा आवश्यकता अनुसार जनशक्ति पदपूर्ति गरिएको उनले दावी गरे । यसले दुर्गम गाउँसम्म मानसिक स्वास्थ्य सेवा पुर्‍याउने बाटो खुलेको उनले बताए ।
    उनका अनुसार मानसिक स्वास्थ्य तथा मनोसामजिक क्षेत्रको सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई तालिम दिने कामलाई प्राथमिकतामा राखिएको छ । हालसम्म २७६ स्वास्थ्यकर्मीले मानसिक स्वास्थ्यसम्बन्धि विशेष तालिम पाइसकेका छन भने ७७ स्वास्थ्यकर्मीले आधारभूत मनोसामाजिक सहयोगसम्बन्धि तालिम लिएका छन् । यसले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमै सामान्य मानसिक समस्या समाधान गर्ने वातावरण निर्माण गरिएको डा. समदर्शीले बताए ।
    ‘मानसिक स्वास्थ्यलाई विद्यालयस्तरमै प्रवद्र्धन गर्ने प्रयास पनि जारी छ, अहिलेसम्म १८४ विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई सचेत गर्ने र शिक्षकलाई अभिमुखीकरण गर्ने काम भभएको छ,’ डा. समदर्शीले भने, ॅयसले बालबालिकाको प्रारम्भिक अवस्थादेखि नै मानसिक स्वास्थ्यप्रति सचेतना बढाएको देखिन्छ ।’
    उनका अनुसार प्रदेशले मानसिक स्वास्थ्यसम्बन्धि २८ भन्दा बढी सूचना तथा सञ्चार सामग्रीहरुको विकास गरेको छ । पर्चा, पोस्टर, रेडियो जिङ्गल र भिडियोमार्फत समुदायलाई मानसिक स्वास्थ्यप्रति सचेत पार्ने काम भइरहेको उनले बताए । आत्महत्या रोकथाम अभियानलाई समेत प्राथमिकतामा राखिएको उनले बताए । यही विषयमा कर्णालीका अधिकांश स्थानीय तहमा अभिमुखीकरण कार्यक्रमहरु गरिएको उनले बताए ।
    कर्णालीका भौगोलिक कठिनाई भएको क्षेत्रमा टेलिमेडिसिनमार्फत मानसिक स्वास्थ्यबारे सेवा दिईएको छ । यो विधिबाट हालसम्म २७२ जनाले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा लिएका छन् । यसले दुर्गम क्षेत्रका नागरिकलाई यस्तो सेवा लिन ठूला सहर धाउनुपर्ने बाध्यता कम भएको छ ।
    कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यमा समुदायको सहभागितालाई मजबुत बनाउन ४९ वटा स्वावलम्बन समूह गठन गरिएको जनाएको छ । यी समूहले गाउँ–बस्तीमा मानसिक स्वास्थ्यसम्बन्धि चेतना फैलाउने, समस्या देखिएका व्यक्तिलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने र आत्मनिर्भर बनाउन मद्दत गरेको सामाजिक विकास मन्त्रालयका मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्र गैरेले बताए ।
    सिमित पूर्वाधार र जनशक्ति अभावका बीच कर्णालीमा मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको डा. समदर्शी बताउँछन् । मानसिक स्वास्थ्यसम्बन्धि रणनीति बनेर कार्यान्वयनमा आएसँगै कर्णालीमा मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको संख्या पनि बढेको उनले बताए ।
    प्रदेश सरकारले मानसिक स्वास्थ्य सेवालाई दीगो र निरन्तर प्रणालीमा रुपान्तरण गर्ने लक्ष्यका साथ मानसिक स्वास्थ्य रणनीति बनाएर कार्यान्वयन गरिरहेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । सबै वर्गलाई समान, सहज र निःशुल्क सेवा दिने, विद्यालयदेखि समुदायसम्म सचेतना कार्यक्रम विस्तार गर्ने र प्रविधिको प्रयोगलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । समुदायस्तरमै उपचारात्मक पद्धतिको योजना सरकारले अघि सारिरहेको उनको भनाई छ । मानसिक स्वास्थ्यका क्षेत्रमा सरकार एक्लैले मात्र गर्न नसक्ने भएकाले सम्बन्धित क्षेत्रमा गैरसरकारी संस्थाहरुले सरकारसँग सहकार्य गर्नुपर्ने उनले औंल्याए ।
    प्रदेश सरकारले रणनीति बनाएर अघि बढेको भएपनि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न थुप्रै चुनौती झेल्नु परेको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले बताए । उनले आकस्मिक वा विपदजन्य अवस्थामा मानसिक स्वास्थ्यका लागि छुट्टै बजेट विनियोजन गर्ने कार्य धेरैजसो स्थानीय तहले गर्न नसकेको बताए । नियमित अनुगमन र मूल्याङ्कन प्रणाली अझै कमजोर भएकाले सेवा गुणस्तरीय बनाउन कठिनाई भइरहेको गैर बताउँछन् ।
    मानसिक स्वास्थ्य मानवअधिकारसँग जोडिएको विषय भएकाले यसलाई नजरअन्दाज गर्न नुहने अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी बताउँछन् । पछिल्लो समय परिवारका सदस्यबाट हत्या जस्ता घटनाहरु बढेको उल्लेख गर्दै उनले अधिकांश यस्ता घटना मानसिक स्वास्थ्यसँग जोडिएको बताए । यसको बारेमा अध्ययन हुन नसक्नुले समस्या समाधानउन्मुख हुन नसकेको उनको भनाई छ ।


    सरकारले स्वास्थ्यका क्षेत्रमा धेरै नीति तथा कार्यक्रम घोषणा गरेपनि अनुगमन र मूल्यांकन प्रभावकारी रुपमा नहुँदा उपलब्धि हासिल हुन नसकेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले बताईन् । उनका अनुसार मानसिक स्वास्थ्य समस्या सुर्खेत, रुकुम पश्चिम, दैलेख र सल्यान जिल्लामा बढी छ ।
    कर्णालीमा शारीरिक समस्या र पुरातनवादी मान्यताका कारण मानसिक समस्या बढिरहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका आयुर्वेद चिकित्सक डाक्टर शंकर रिजाल बताउँछन् ।

  • बालेनविरुद्धको अवहेलना मुद्दा :  फुयाल र पौडेल इजलासमा सुनुवाइ हुँदै

    बालेनविरुद्धको अवहेलना मुद्दा : फुयाल र पौडेल इजलासमा सुनुवाइ हुँदै

     काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
    न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ गर्न पेसी तोकिएको हो । यो दोस्रो सुनुवाइ हो ।
    अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी रिट निवेदन दिएका थिए  । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो ।
    तर उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियापछि अदालतमा अवहेलना मुद्दा दायर भएको हो ।
  • हात्ती–ड्रैगन मिल्नु राम्रो, तर अर्काको जंगल नफाडुन् : योगेश

    हात्ती–ड्रैगन मिल्नु राम्रो, तर अर्काको जंगल नफाडुन् : योगेश

    सोमबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भने, ‘हात्ती र ड्रैगन मिल्नु राम्रो हो। हामी पनि स्वागत गर्दछौँ। सवाल दुई मिलेर अर्काको जंगल नफाडुन भन्ने हो।’

    सात वर्षपछि चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।

    दुई नेताबीच करिब ५० मिनेट चलेको भेटवार्तामा सीमा विवाददेखि द्विपक्षीय सम्बन्ध सुधारका विषयमा कुराकानी भएको थियो।

    भेटका क्रममा राष्ट्रपति सीले भारत र चीनलाई ‘हात्ती’ र ‘ड्रागन’ को संज्ञा दिँदै दुवै देश अब सँगै अघि बढ्नुपर्ने बताएका थिए। ‘प्रधानमन्त्री मोदीलाई भेट्न पाउँदा खुसी लागेको छ। ड्रागन (चीन) र हात्ती (भारत) सँगै आउनुपर्छ,’ राष्ट्रपति सीको भनाइ थियो।

  • ट्रम्प सल्लाहकारको संकेत : रुसी तेल सस्तोमा किनेर ब्राह्मणले नाफा कमाए

    ट्रम्प सल्लाहकारको संकेत : रुसी तेल सस्तोमा किनेर ब्राह्मणले नाफा कमाए

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नावारोले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको बारेमा नयाँ बयान दिएका छन्।

    फक्स न्यूजसँग कुरा गर्दै उनले भने, ‘मोदी एक महान नेता हुन्, तर मलाई बुझ्दैन कि उनी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका नेता हुँदाहुँदै पनि पुटिन र सी जिनपिङसँग किन हात मिलाइरहेका छन्।’

    नवारोले भने, ‘म भारतका जनतालाई के भइरहेको छ भनेर बुझ्न भन्न चाहन्छु। ब्राह्मणहरूले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका छन्। हामी यो बन्द होस् भन्ने चाहन्छौं।’

    पिटर नावारोले यसअघि पनि भारतले रूसी तेल किनेकोमा आलोचना गरिसकेका छन्।

    राष्ट्रपति ट्रम्पको नजिक मानिने नाभारोले गत हप्ता ब्लूमबर्ग टिभीमा दिएको एक अन्तर्वार्तामा भनेका थिए कि रुस-युक्रेन युद्ध वास्तवमा ‘मोदीको युद्ध’ हो।

    भारतले हाल ५० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको छ। अमेरिकाले रुसी तेल खरिद गरेको भन्दै भारतमाथि यो भन्सार शुल्क लगाएको हो।

    अमेरिकाको तर्क यो छ कि रुसी तेल किनेर भारतले युक्रेन युद्धको लागि रुसलाई आर्थिक सहयोग गरिरहेको छ।

  • साेमबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

    साेमबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

    कञ्चनपुरसहित देशभर साेमबार देखि सप्ताहव्यापी रूपमा १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ।

    नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ देखि २२ गतेसम्म (सेप्टेम्बर १ देखि ७ तारिख) यो दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ। यो अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गरिन्छ।

    विसिएनका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पंछी संरक्षण सङ्घ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एशोसिएशनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गरिँदै छ।

    यस्तै, ६ सेप्टेम्बरसम्म स्थानीय स्वयंसेवकको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य सञ्चालन हुने उनले जानकारी दिए। उनको भनाइअनुसार सुदूरपश्चिममा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजातिका गिद्ध छन्।

    गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ। मरेका र सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ। चरा विज्ञ चौधरीका अनुसार गिद्धले आफैँ शिकार नगरी सिनोमा निर्भर रहने भएकाले वातावरण प्रदूषित हुनबाट जोगाउँछ।

    तर पछिल्लो समय गिद्ध लोपोन्मुख अवस्थामा छन्। दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ गिद्ध विनाशको प्रमुख कारण भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने र आधुनिक कृषि उपकरणको प्रयोगले पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ। साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरीले गिद्धको बासस्थान नष्ट भइरहेको तथ्याङ्कले देखाएको छ।

    यसैगरी, एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड, कारप्रोफेन र फ्लुनिक्सिनजस्ता औषधि गिद्धको मृत्युको कारण बनेका छन्। नेपालमा पाइने गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनद्वारा ‘अति सङ्कटापन्न’ श्रेणीमा छन् भने गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ। यस्तै, राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउँछन्। हिमाली गिद्ध नेपालको रैथाने भए पनि मुख्य रूपमा जाडो महिनामा तराईमा देखिन्छ।

    गिद्ध संरक्षण दिवस पहिलोपटक अफ्रिकामा सन् २००५ देखि ‘राष्ट्रिय सचेतना दिवस’ का रूपमा मनाइँदै आएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा ‘अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस’ का रूपमा मनाउन थालिएको हो। यो दिवस मनाउनुको प्रमुख उद्देश्य गिद्धको घट्दो सङ्ख्या, संरक्षणका प्रयास, चुनौती र यसको आवश्यकताबारे आमनागरिकमा सचेतना बढाउनु रहेको छ।

  • रुपन्देहीमा माओवादी एक्लै चुनावी तयारी : प्रचण्ड

    रुपन्देहीमा माओवादी एक्लै चुनावी तयारी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् ।
    बुटवलको बेलबासमा पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका
    हुन् । ‘पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस-एमालेका नेताहरूले मलाई भेट्दा यो परिवर्तन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ । मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरू माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्‍यो नि, रुपन्देहीमा हामीले पहिलाभन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईंहरू त्यसको तयारी गर्नुहोस्,’ उनले भने ।
    प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंघर्षको स्वाभाविक स्वरूप भएको बताए । उनले ऐतिहासिक दृष्टान्त दिँदै भने, ‘असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।’
  • साेमबार दिउँसो र राति पनि यी स्थानमा पानी पर्ने क्रम जारी रहने

    साेमबार दिउँसो र राति पनि यी स्थानमा पानी पर्ने क्रम जारी रहने

    देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यस क्रममा साेमबार दिउँसो र राति पनि पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। मौसम महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार साेमबार  दिउँसो देशभर साधारणतया बदली रहनेछ।

    कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    साेमबार  राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

  • अफगानिस्तान भूकम्प अपडेट : कम्तिमा २५० जनाको मृत्यु, ५०० बढी घाइते

    अफगानिस्तान भूकम्प अपडेट : कम्तिमा २५० जनाको मृत्यु, ५०० बढी घाइते

     अफगानिस्तानमा आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । छ ।

    भूकम्प भारतीय समयअनुसार राति १२: ४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

    न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ ।

    यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो । सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो । संयुक्त राष्ट्रसंघले भने १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो ।