Blog

  • स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

    स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।

    आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

    ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद श्रेष्ठले भनिन् ।

    उनले भनेकी छन्, ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्‍यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’

    तथापि बिचौलियाहरू किन डराइरहेका छैनन् भन्ने उनको प्रश्न छ । ‘सबैभन्दा दुखको कुरा चाहीँ– सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच । कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र smugglers हरूमा पलाएको हो ?,’ सुमनाको प्रश्न छ, ‘सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’

    २०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गरिन् ।

    उक्त प्रतिवेदनले गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भनेर सरकारको ध्यानाकर्षण गरिन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्य दलमा केहि फरक नरहेको उनले बताइन् ।

    मानव तस्करीको जालो ठुलो रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग बन्नुपर्ने बताइन् ।

  • पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा

    पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा

     कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

    जिल्लाका नौवटै स्थानीय तहले सबै बालबालिकाले पूर्ण खोप पाएको घोषणा गरेपश्चात् शनिबार सदरमुकाम मान्ममा कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धताु भन्ने नाराका साथ कालीकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मराज पोख्रेलले बताए । स्थानीय तहका स्वास्थ्य संस्थाको अगुवाइमा वर्षभरि अभियान सञ्चालन गरेर खोप पाएको सुनिश्चितता गर्यौं उनले भने, वैशाखदेखि गाउँ बस्तीमा स्वास्थ्यकर्मी खटाएर खोज र खोप अभियानमार्फत छुटेका सबैलाई खोप दियौं । उनले १६ देखि ५९ महिनाका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चिततापछि ९ वटै स्थानीय तहसहित जिल्लालाई खोपयुक्त घोषणा गर्न सफल भएको बताए ।

    जेठदेखि असार १५ गतेभित्र यहाँका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्रलाई औपचारिक रूपमा घोषणा गरेपछि असार २७ गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार असार २८ गते कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा कालीकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको स्वास्थ सेवा कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिएका छन् । बालबालिकालाई दादुरा, टाइफाइड, पोलियो, पेन्टा, जापानीज इन्सेफलाटिस (जेई), रोटा, एफआईपीभी लगायतका १३ खोप दिनु पर्ने स्वास्थ्यकर्मी रवीन्द्र सेजुवालले बताए ।

    जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका तीन हजार ११ जनालाई घरधुरि सर्भेक्षण गरी राष्टिय खोप तालिका अनुसार खोप लगाइरहेको सुनिश्चितता गरिएको हो । पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिका ५ हजार ८ सय ४४ जना रहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागितामा सम्पन्न घोषणामा खोप अभियानमा योगदान पुर्याउने उत्कृष्ट स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको छ ।

  • द्वन्द्वपीडितले दुई दशकपछि समेत न्याय र परिपूरण नपाएको गुनासो

    द्वन्द्वपीडितले दुई दशकपछि समेत न्याय र परिपूरण नपाएको गुनासो

     कर्णाली प्रदेशका द्वन्द्वपीडितले सरकारसँग न्याय माग्दामाग्दै दुई दशक बितेको गुनासो गरेका छन् । उनीहरूले दुई दशकसम्म पनि नपाइएको न्याय अब कहिलेसम्ममा पाउने हो भन्दै चिन्ता व्यक्त गरेका छन् । द्वन्द्वपीडित भन्छन्, अहिलेसम्म पाइएको छैन, अब कहिलेसम्म न्याय पाउँ भनेर मागिरहने हो ?

    मुगुका द्वन्द्वपीडित पदमराज परियारले एउटै पीडा सधैँ कति पटक भन्नुपर्ने हो भन्दै आक्रोश पोखे । उनले न्यायालय पनि द्वन्द्वपीडितको पक्षमा नभएको आरोप लगाए । न्याय दिने पक्षले नै न्याय नदिँदा अब न्यायको पक्षमा आवाज उठाउनुपर्ने बेला भएको उनको भनाइ छ । अझै पनि वास्तविक द्वन्द्वपीडितले राहत र परिपूरण नपाएको भन्दै उनले सहिद परिवार, बेपत्ता तथा घाइतेका माग छुट्टाछुट्टै सम्बोधन गर्नुपर्ने जनाए । यस्तै जाजरकोटकी द्वन्द्वपीडित मुना सिंहले पीडितले न्याय मागेको दुई दशक बित्न लाग्दा पनि अहिलेसम्म न्याय मागिरहनु परेको गुनासो गरिन् । उनले द्वन्द्वपीडितका लागि बनेको आयोगमा आफूहरूलाई पनि समेट्नुपर्ने र शिक्षा, स्वास्थ्य तथा रोजगारीमा जोड्न आग्रह गरिन् । द्वन्द्वपीडितलाई आयोगमा नसमेट्दा आफूहरूको आवाज सम्बोधन नहुने उनको आशङ्का छ । न्यायका लागि हारगुहार गर्दासमेत न्याय र परिपूरण नपाउँदा पीडितको अवस्था अहिले पनि उस्तै रहेको भन्दै उनले अहिलेसम्म न बेपत्ताको अवस्था पत्ता लागेको, न खोजी नै भएको उनले बताइन् ।

    द्वन्द्वपीडितको पक्षमा काम गर्दै आएको सिभिडब्लुएनले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा पदमराज र मुना जस्तै अन्य द्वन्द्वपीडितले पनि जति न्याय माग्यो, न्याय उति टाढा हुँदै गएको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका अधिकृत मानबहादुर कार्कीले संयन्त्र नबन्दासम्म पीडितले न्याय र परिपूरण नपाउने हुँदा छिटो गठनका लागि सबैको दबाब आवश्यक भएको उल्लेख गरे । उनले सङ्कटग्रस्त सङ्क्रमणकालीन न्याय प्रक्रिया अब धेरै लम्ब्याउनुहुँदैन भन्दै पीडितलाई जतिसक्यो छिटो न्याय दिने सवालमा सरकार गम्भीर बन्नुपर्ने सुझाव दिए । अधिवक्ता तथा मेलमिलापकर्ता सुशीला चौधरीले पीडितलाई उचित परामर्श र सहभागिता सुनिश्चित नगराएकाले नेपालको सङ्क्रमणकालीन न्याय आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया सङ्कटमा रहेको बताए ।

    कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) मा भएका राम्रा व्यवस्था र अबको कार्यदिशाबारे अवगत गराए । उनले कानुनमा अन्तिम राहत र परिपूरण तीन महिनाभित्र सरकारले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था, क्षमादानमा पीडित परिवारको अनिवार्य सहमति लिनुपर्ने, आयोगको कामप्रति चित्त नबुझे विशेष अदालत जान सकिने जस्ता राम्रा प्रावधान राखिएको जानकारी दिए । आगामी दिनमा सरकारले सिफारिस समिति नयाँ बनाउनुपर्ने, अधिकार सम्पन्न, योग्य व्यक्ति छनोट गर्नुपर्ने, पीडित तथा नागरिक समाज थप चनाखो बन्नुपर्ने र सङ्क्रमणकालीन न्यायलाई जतिसक्यो छिटो टुङ्ग्याउनुपर्ने अबको आवश्यकता भएको उनको भनाइ छ ।

  • उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी

    उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी

     रूसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन् ।

    उत्तर कोरियाको वोनसानमा रहेका उनले ती देशहरूले उत्तर कोरियालाई लक्षित गर्दै कुनै पनि सुरक्षा गठबन्धन वा सैन्य सम्झौता नगर्नु उपयुक्त हुने बताए ।

    उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा विदेशमन्त्री चोई सोन हुईसँग भेटवार्ता गरेका छन्।

    रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले टेलिग्राममा पोस्ट गरेको एक भिडियोमा उनी र किम जोङ उनबीच हात मिलाएको र अंकमाल गरेको दृश्य देखिएको छ।

    यस भेटलाई विश्लेषकहरूले उत्तर कोरिया–रूसबीचको सम्बन्ध झनै प्रगाढ हुँदै गएको संकेतका रूपमा लिएका छन्।

    भेटपछि पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले भने, ‘हामी चेतावनी दिन चाहन्छौं कि यी कूटनीतिक सम्बन्धहरूलाई कुनै मुलुकविरुद्ध गठबन्धन बनाउन प्रयोग नगरियोस्, चाहे त्यो उत्तर कोरिया होस् वा रूस।’

    तीन दिने भ्रमणमा रहेका लाभरोभले शनिबार उत्तर कोरियाली समकक्षीसँग भेटपछि भने, ‘रूस उत्तर कोरियाले किन परमाणु हतियार विकास गरिरहेको भनेर बुझ्छ । त्यो प्राविधिक क्षमता उत्तर कोरियाली वैज्ञानिकहरूको कठोर मेहनतको परिणाम हो, जसको हामी सम्मान गर्छौं।’

    रूसी समाचार एजेन्सी (तास) अनुसार लाभरोभले रूस–युक्रेन युद्धको बारेमा पनि उत्तर कोरियाली नेतृत्वसँग छलफल गरेका थिए। उत्तर कोरियाले रूसलाई युद्धमा सैनिक र हतियार आपूर्ति गर्दै आएको बताउने गरिएको छ। यसको सट्टामा, रूसले उत्तर कोरियालाई सैन्य तथा आर्थिक सहायता दिँदै आएको बताइएको छ।

    युक्रेन युद्धमा २५–३० हजार सैनिक पठाउने तयारीमा उत्तर कोरिया !

    युक्रेनी गुप्तचर निकायका अनुसार उत्तर कोरिया अहिले रूसलाई २५ हजारदेखि ३० हजारसम्म थप सैनिक पठाउने तयारीमा छ। गत वर्ष उसले करिब ११ हजार सैनिक रूस पठाएको थियो।

    उत्तर कोरियाको सरकारी समाचार संस्था केससीएनएका अनुसार नेता किम जोङ उनले युक्रेन युद्धमा रूसको सैन्य कदमहरूको समर्थन गरेका छन्। उनले भने, ‘प्योंगयाङ र मस्कोबीच रणनीतिक विषयमा समान सोच छ।’

    अमेरिका, दक्षिण कोरिया र अन्य देशहरूले रूसले उत्तर कोरियालाई संवेदनशील प्रविधि हस्तान्तरण गर्न सक्ने र यसले उसको परमाणु र मिसाइल कार्यक्रमलाई थप गति दिन सक्ने आशंका गर्दै आएका छन् ।

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रूसलाई पूर्ण र बिना सर्त समर्थन दिने बताएका छन्। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार, हाल उत्तर कोरियाको भ्रमणमा रहेका रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभसँगको भेटका क्रममा किमले यस्तो धारणा राखेका हुन्।

    किमले भने, ‘युक्रेनी संकटका मूल कारण समाधान गर्न रूसले चालेका सबै कदमहरूको म दृढ समर्थन गर्छु।’

    सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीचको युद्ध अझै जारी छ।

  • हुम्लामा दस वटा नयाँ विद्यालय भवन निर्माण

    हुम्लामा दस वटा नयाँ विद्यालय भवन निर्माण

    हुम्ला जिल्लामा चालु आर्थिक वर्षमा १० वटा विद्यालयका भवन निर्माण भएका छन् । विद्यालयको निर्माण भई हस्तान्तरणसमेत गरिसकेपछि पठनपाठनमा सहज भएको छ । विद्यालयमा भवनको अभाव भई पढाइमा समस्या भएका बेला नयाँ भवन निर्माणले विद्यालयको समस्या समाधान भएको छ ।

    सर्केगाड गाउँपालिका–१ को तुम्चका स्थानीय जयबहादुर धामीले देवल प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणले विद्यार्थीलाई कक्षाकोठामा अध्ययन गर्ने वातावरण तयार भएको बताए । उक्त विद्यालयमा पुराना र जीर्ण भवन भएका कारण चौरमा पढाइ हुने गरेको थियो । विद्यालयमा यस आवमा नयाँ भवन निर्माण भएसँगै अब बाहिर चौरमा विद्यार्थीले पढ्नुपर्ने बाध्यतासमेत हटेको उनले जानकारी दिए । उनले विद्यालय भवनसँगै फर्निचरको व्यवस्थाले सबै समस्या एकै पटक समाधान भएको बताए । त्यसै गरी अदानचुली गाउँपालिका–१ का जगत महताराले जनकल्याण आविमा नयाँ भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण भएकाले पठनपाठनमा सहयोग पुगेको जनाए । विद्यालयलाई भवनको आवश्यकता रहेका बेला नयाँ भवन निर्माण भएर प्रयोगमा आएपछि ठुलो समस्या टरेको उनले बताए । यो आवमा १० वटा विद्यालयमा भवन निर्माण गर्ने कार्य सम्पन्न भएर हस्तान्तरण गर्ने कार्य भएको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले बताए ।

    सर्केगाड गाउँपालिका–७ को सूर्यतारा आवि र सूर्यज्योति आवि, सर्केगाड गाउँपालिका–४ को दुल्ली आवि सर्केगाड गाउँपालिका–६ को जनजागरण प्रावि निर्माण गरिएको हो । चङ्खेली गाउँपालिका–२ को ज्ञानज्योति, ताँजाकोट–४ को बुद्धि विकास, अदानचुली–१ को मन्डाल्ली आवि र सर्केगाड गाउँपालिका–१ को देवल आवि रहेका छन् । यी भवनमा २२ वटा नयाँ कोठा निर्माण भएको र कोठामा फर्निचरको समेत व्यवस्था गरिएको उनले बताए । यी भवन उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएका छन् । त्यसै गरी जिल्लाभरका ११ वटा विद्यालयमा घेरबार गरिएको छ भने दुई वटा विद्यालयमा छात्रावास र एउटा विद्यालयमा पुस्तकालय भवन निर्माण गरिएको छ । यी योजनाका लागि कुल आठ करोड ९५ लाख बजेट खर्च गरिएको छ ।

  • सुत्केरी आमाको मृत्यु पछि तीन बालिका संरक्षणविहीन

    सुत्केरी आमाको मृत्यु पछि तीन बालिका संरक्षणविहीन

     जाजरकोट जिल्लाको भेरी नगरपालिका–२, डिङ्गाकी शारदा वली सुत्केरी भएको १३ दिनमै रगतकाे अभावले मृत्यु भएपछि उनका अबोध तीन छोरीको बिचल्ली भएको छ । बुवा आनन्द वली सुस्त मनस्थितिका छन् ।

    असारको सुरुमा सुर्खेतस्थित प्रदेश अस्पतालमा सुत्केरी शारदाको रगत अभावका कारण मृत्यु भएपछि छ वर्षीय छोरी जमुना वली, दुई वर्षीय सुस्मिता वली र सानी अबोध छोरी सुनिता वली सहाराविहीन भएकि छन् । गरिब, आर्थिक विपन्न र भूकम्पका कारण भत्किन लागेको घरमा बस्ने तथा सबै कुरा थाहा नपाउने सुस्त मनस्थितिका बुवाका कारण रगतकाे अभावले सुत्केरी भएको केही दिनमा आमाको मृत्यु भएको थियो । बुवाको मानसिक अवस्था ठिक नभएको र आमाको मृत्यु भएपछि बालिकाको जीवनयापनमा सङ्कट आउने देखिएको छ । भत्किन लागेको घर, सुस्त अवस्थाका बुवाका कारण बिहानबेलुका खाना बनाउन सक्ने अवस्था पनि छैन । विद्यालयमा पठनपाठन गर्ने बेला कसको सहारामा बस्ने भन्ने बालिकालाई चिन्ता छ ।

    घरमा खानेकुरा नहुँदा कहिले छिमेकीको घरमा खाने, कहिले भोकै बस्ने गरेको स्थानीय बताउँछन् । भेरी नगरपालिका–३ का समाजसेवी जनक केसीका अनुसार आमाको मृत्युपछि अबोध बालिका संरक्षणविहीन भएका छन् । भत्किन थालेको घरभित्र पस्न डराउने, संरक्षण खोज्ने बेला शिशुको संरक्षण कसरी गर्ने भन्ने चिन्ता बढ्दै गएको भन्दै उनले ती बालिकाको लालनपालनका लागि सहयोगको आवश्यक भएको उल्लेख गरे । उनले सहाराविहीन तीन बालिकाको संरक्षण सरकारले लिनुपर्ने भन्दै बालअधिकार सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

  • सर्पले डसेर युवतीको मृत्यु

    सर्पले डसेर युवतीको मृत्यु

     कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्।

    कृष्णपुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

    डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताए।
    कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिए । नगर प्रमुख ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए।
  • एमाले जाजरकोटद्वारा जनसंगठनको भेला, विपद् र उद्धारमा सक्रिय

    एमाले जाजरकोटद्वारा जनसंगठनको भेला, विपद् र उद्धारमा सक्रिय

    नेकपा एमाले जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलंगामा पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न गरेको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीतिलाई केन्द्रमा राख्दै पार्टीले आफ्नो भेला राखेको हो । भेलामा २३ वटा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले जाजरकोटका उपाध्यक्ष तथा जनवर्गीय विभाग प्रमुख विश्व विक्रम शाहका अनुसार भेलाले जिल्लामा हुनसक्ने प्राकृतिक विपत्तिको समयमा पार्टी र त्यसका जनसंगठनहरूलाई कसरी प्रभावकारी ढंगले परिचालन गर्ने भन्ने विषयमा कार्ययोजना बनाएको छ।

    शाहका अनुसार नेपाल उद्योग तथा व्यवसायी महासंघलाई जिल्लामा औद्योगिक क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा उत्पादकत्व वृद्धिमा नेतृत्वदायी जिम्मेवारी दिने निर्णय गरिएको छ। त्यस्तै विपद् व्यवस्थापनका लागि ‘उद्धार टिम’ निर्माण गरिने, विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउने संयन्त्र बनाउन जनसंगठनहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ । साथै हरेक संगठनलाई रचनात्मक कार्यक्रममार्फत जनताको बीचमा पुग्ने योजना तयार पारिएको नेकपा एमाले भेरी नगर कमिटीका अध्यक्ष मुकुन्द शर्माले
    बताए ।

    भेलामा सहभागी भई नेकपा एमाले भेरी नगर कमिटीका अध्यक्ष शर्माले जनसंगठनहरूको भूमिकालाई अझ सशक्त बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्। शर्माले भने, “हाम्रा जनसंगठनहरू विगतमा जनस्तरमा गहिरो प्रभाव पार्ने हैसियतमा थिए, तर पछिल्लो समय ती संगठनहरूमा सहभागीता घट्दो क्रममा छ, जुन चिन्ताको विषय हो। संगठनहरूले स्थानीय तहसम्म पुगेर जनताको वास्तविक समस्या सुन्ने, पार्टीका विचार र नीति जनस्तरमा पुर्याउने, र स्थानीय स्तरमै नेतृत्व उत्पादन गर्ने खालका काम गर्नुपर्छ। हामी जिल्लाका सातवटै स्थानीय तहमा जनसंगठनहरूको संरचना विस्तार गर्ने तयारीमा छौँ ।”

    अध्यक्ष शर्माका अनुसार संगठन सशक्त नभएसम्म पार्टीको अभियान धरातलमा सशक्त हुँदैन भन्ने बुझाइका साथ अब सबै तहमा सक्रिय अभियान सञ्चालन गरिनेछ। नेकपा एमाले जाजरकोटले जनसंगठनहरूलाई केवल नामका लागि राख्ने हैन, कार्यदिशा दिन सक्ने, जनताको मनमा छिर्ने र विपद्, उद्धार, राहत र विकासका सवालमा पार्टीको सक्रिय उपस्थिति कायम गर्ने माध्यम बनाउने तयारी गरिरहेको छ। पार्टीले यस किसिमको भेला निरन्तर रुपमा सञ्चालन गर्दै संगठनलाई पुनः गतिशील बनाउने योजना अघि सारेको पार्टी सचिव गोपाल नेपालीले बताए ।

  • क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

    क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।

    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो ।

    गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१र८२ देखि बनाउन सुरू गरेको उनको भनाइ छ ।

    ‘चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ, अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं’, गाउँपालिका अध्यक्ष तिवारीले बताए ।

    समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको जनाइएको छ ।

    मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीले ब्यक्त गरेका छन् ।

    ‘क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे)को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ’, गाउँपालिकाका अध्यक्ष तिवारीले भने- ‘यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।’

    क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उनका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।

  • आफुमाथि मुद्दा लागेकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार छु : माधव नेपाल

    आफुमाथि मुद्दा लागेकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार छु : माधव नेपाल

     नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुमाथि मुद्दा लागेकै कारण पार्टीले बिदा गरे स्वीकार गर्ने बताएका छन्  ।

    शुक्रबार कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताएका हुन् ।आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनले बताए ।

    अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राखे । नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उनले बताए ।

    यस्तै अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफै पनि पर्न सक्ने जिकिर समेत गरेका छन्  ।