कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्लाका नौवटै स्थानीय तहले सबै बालबालिकाले पूर्ण खोप पाएको घोषणा गरेपश्चात् शनिबार सदरमुकाम मान्ममा कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धताु भन्ने नाराका साथ कालीकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मराज पोख्रेलले बताए । स्थानीय तहका स्वास्थ्य संस्थाको अगुवाइमा वर्षभरि अभियान सञ्चालन गरेर खोप पाएको सुनिश्चितता गर्यौं उनले भने, वैशाखदेखि गाउँ बस्तीमा स्वास्थ्यकर्मी खटाएर खोज र खोप अभियानमार्फत छुटेका सबैलाई खोप दियौं । उनले १६ देखि ५९ महिनाका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चिततापछि ९ वटै स्थानीय तहसहित जिल्लालाई खोपयुक्त घोषणा गर्न सफल भएको बताए ।
जेठदेखि असार १५ गतेभित्र यहाँका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्रलाई औपचारिक रूपमा घोषणा गरेपछि असार २७ गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार असार २८ गते कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा कालीकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको स्वास्थ सेवा कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिएका छन् । बालबालिकालाई दादुरा, टाइफाइड, पोलियो, पेन्टा, जापानीज इन्सेफलाटिस (जेई), रोटा, एफआईपीभी लगायतका १३ खोप दिनु पर्ने स्वास्थ्यकर्मी रवीन्द्र सेजुवालले बताए ।
जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका तीन हजार ११ जनालाई घरधुरि सर्भेक्षण गरी राष्टिय खोप तालिका अनुसार खोप लगाइरहेको सुनिश्चितता गरिएको हो । पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिका ५ हजार ८ सय ४४ जना रहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागितामा सम्पन्न घोषणामा खोप अभियानमा योगदान पुर्याउने उत्कृष्ट स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको छ ।
+ There are no comments
Add yours