सुत्केरी आमाको मृत्यु पछि तीन बालिका संरक्षणविहीन

जाजरकोट ।

 जाजरकोट जिल्लाको भेरी नगरपालिका–२, डिङ्गाकी शारदा वली सुत्केरी भएको १३ दिनमै रगतकाे अभावले मृत्यु भएपछि उनका अबोध तीन छोरीको बिचल्ली भएको छ । बुवा आनन्द वली सुस्त मनस्थितिका छन् ।

असारको सुरुमा सुर्खेतस्थित प्रदेश अस्पतालमा सुत्केरी शारदाको रगत अभावका कारण मृत्यु भएपछि छ वर्षीय छोरी जमुना वली, दुई वर्षीय सुस्मिता वली र सानी अबोध छोरी सुनिता वली सहाराविहीन भएकि छन् । गरिब, आर्थिक विपन्न र भूकम्पका कारण भत्किन लागेको घरमा बस्ने तथा सबै कुरा थाहा नपाउने सुस्त मनस्थितिका बुवाका कारण रगतकाे अभावले सुत्केरी भएको केही दिनमा आमाको मृत्यु भएको थियो । बुवाको मानसिक अवस्था ठिक नभएको र आमाको मृत्यु भएपछि बालिकाको जीवनयापनमा सङ्कट आउने देखिएको छ । भत्किन लागेको घर, सुस्त अवस्थाका बुवाका कारण बिहानबेलुका खाना बनाउन सक्ने अवस्था पनि छैन । विद्यालयमा पठनपाठन गर्ने बेला कसको सहारामा बस्ने भन्ने बालिकालाई चिन्ता छ ।

घरमा खानेकुरा नहुँदा कहिले छिमेकीको घरमा खाने, कहिले भोकै बस्ने गरेको स्थानीय बताउँछन् । भेरी नगरपालिका–३ का समाजसेवी जनक केसीका अनुसार आमाको मृत्युपछि अबोध बालिका संरक्षणविहीन भएका छन् । भत्किन थालेको घरभित्र पस्न डराउने, संरक्षण खोज्ने बेला शिशुको संरक्षण कसरी गर्ने भन्ने चिन्ता बढ्दै गएको भन्दै उनले ती बालिकाको लालनपालनका लागि सहयोगको आवश्यक भएको उल्लेख गरे । उनले सहाराविहीन तीन बालिकाको संरक्षण सरकारले लिनुपर्ने भन्दै बालअधिकार सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

अन्य समाचार

+ There are no comments

Add yours