हुम्ला जिल्लामा चालु आर्थिक वर्षमा १० वटा विद्यालयका भवन निर्माण भएका छन् । विद्यालयको निर्माण भई हस्तान्तरणसमेत गरिसकेपछि पठनपाठनमा सहज भएको छ । विद्यालयमा भवनको अभाव भई पढाइमा समस्या भएका बेला नयाँ भवन निर्माणले विद्यालयको समस्या समाधान भएको छ ।
सर्केगाड गाउँपालिका–१ को तुम्चका स्थानीय जयबहादुर धामीले देवल प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणले विद्यार्थीलाई कक्षाकोठामा अध्ययन गर्ने वातावरण तयार भएको बताए । उक्त विद्यालयमा पुराना र जीर्ण भवन भएका कारण चौरमा पढाइ हुने गरेको थियो । विद्यालयमा यस आवमा नयाँ भवन निर्माण भएसँगै अब बाहिर चौरमा विद्यार्थीले पढ्नुपर्ने बाध्यतासमेत हटेको उनले जानकारी दिए । उनले विद्यालय भवनसँगै फर्निचरको व्यवस्थाले सबै समस्या एकै पटक समाधान भएको बताए । त्यसै गरी अदानचुली गाउँपालिका–१ का जगत महताराले जनकल्याण आविमा नयाँ भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण भएकाले पठनपाठनमा सहयोग पुगेको जनाए । विद्यालयलाई भवनको आवश्यकता रहेका बेला नयाँ भवन निर्माण भएर प्रयोगमा आएपछि ठुलो समस्या टरेको उनले बताए । यो आवमा १० वटा विद्यालयमा भवन निर्माण गर्ने कार्य सम्पन्न भएर हस्तान्तरण गर्ने कार्य भएको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले बताए ।
सर्केगाड गाउँपालिका–७ को सूर्यतारा आवि र सूर्यज्योति आवि, सर्केगाड गाउँपालिका–४ को दुल्ली आवि सर्केगाड गाउँपालिका–६ को जनजागरण प्रावि निर्माण गरिएको हो । चङ्खेली गाउँपालिका–२ को ज्ञानज्योति, ताँजाकोट–४ को बुद्धि विकास, अदानचुली–१ को मन्डाल्ली आवि र सर्केगाड गाउँपालिका–१ को देवल आवि रहेका छन् । यी भवनमा २२ वटा नयाँ कोठा निर्माण भएको र कोठामा फर्निचरको समेत व्यवस्था गरिएको उनले बताए । यी भवन उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएका छन् । त्यसै गरी जिल्लाभरका ११ वटा विद्यालयमा घेरबार गरिएको छ भने दुई वटा विद्यालयमा छात्रावास र एउटा विद्यालयमा पुस्तकालय भवन निर्माण गरिएको छ । यी योजनाका लागि कुल आठ करोड ९५ लाख बजेट खर्च गरिएको छ ।
+ There are no comments
Add yours