Blog

  • चाबहिलमा आगलागीबाट एकै परिवारका ५ घाइते

    चाबहिलमा आगलागीबाट एकै परिवारका ५ घाइते

    काठमाडौंकाे चाबहिलमा आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका छन्।

    गए राति ९ बजे काठमाडौं महानगरपालिका वडा नम्बर-७ चाबहिलको एउटा घरमा आगलागी हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षका चञ्चलबहादुर सिंहसहित श्रीमती र तीन छोरी घाइते भएका हुन्।छोरीहरूको उमेर २४ वर्ष, १६ वर्ष र ८ वर्ष रहेको छ।

    चञ्चलबहादुर सिंहले अत्यधिक जाँड–रक्सी खाएर परिवारसँग झगडा गरी आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    उनले जाँड–रक्सी खाएर झगडा गरी घटना घटाएको प्रारम्भिक निष्कर्ष छ। आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ।

    दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

  • उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?

    उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेटमा आफू अलमलिएको बताएका छन्। थापाले देशमा भइरहने उथलपुथलले आफूलाई बजेटमाथि टिप्पणी गर्न अलमल्याएको बताएका हुन्।

    ‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन। भनेर बोल्नुपर्ने हो,’ सरकारले प्रस्तुत गरेको बजेटमाथि बुधबार भइरहेको छलफलमा बोल्दै महामन्त्री थापाले भने,‘तर अहिले त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसद्मा छ/सात महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की। आफ्नै बोली फेरि गलपासो हुने हो की !’

    त्यसपछि महामन्त्री थापाले आफूले बोल्ने तयारी गर्दा अर्थमन्त्री वर्षमान पुनलाई सामान्य प्रश्न सोध्ने कुरा सोचेको बताए। ‘अर्थमन्त्रीज्युले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेकुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो, ४ प्रतिशतको भन्दा कम रह्यो,’ उनले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एसियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैले ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ। यसको आधार के हो ?’

    पानी अलिकति राम्रो पर्छ भनेर गरिएका मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्नेकुराको अर्थमन्त्री पुनले संसद्लाई चित्तबुझ्दो जवाफ दिनुपर्ने थापाले बताए।

  • ललितपुर महानगर र भारतीय राजदूतावासको आयोजनामा १५० बढी विरुवा रोपियाे

    ललितपुर महानगर र भारतीय राजदूतावासको आयोजनामा १५० बढी विरुवा रोपियाे

    विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगर र नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।

    ललितपुरको वार्ड नं-१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर शाह, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वृक्षारोपण गरेका थिए।

    कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, वडा नं-२ का वडा अध्यक्ष राजेश महर्जन, वडा नं-४ का वडा अध्यक्ष सन्तोष खड्का लगायत समाजसेवी र वातावरणप्रेमीहरूको पनि सहभागिता रहेको थियो।

    कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर शाहले पृथ्वी जोगाउनु सबैको दायित्व भएको बताए। प्रत्येक व्यक्तिले वातावरण जोगाउन काम गर्नुपर्ने बताउँदै उनले आफूले पनि एक हजार बिरुवा रोपेको सुनाए।

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले वातावरण जोगाउन महानगरले वृक्षारोपणलाई महत्व दिएको बताए। खाली ठाउँ, सडकको किनारा लगायतको ठाउँमा महानगरले विरुवा रोपेको उनले जानकारी दिए

    नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्तवले वातावरण संरक्षणका लागि नेपाल सरकार र ललितपुर महानगरसँग भारत सरकार काम गर्न तयार रहेको उल्लेख गरे।

    वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन महानगरसँगको सहकार्यमा वृक्षारोपणको कार्यक्रम आयोजना गरिएकाे उनकाे भनाइ थियाे।

    व्यक्तिगत तथा सामूहिक प्रयासले वातावरण संरक्षण गर्न सकिने बताउँदै ती प्रयासलाई प्रोत्साहित गर्नुपर्ने उनले धारणा राखे। कार्यक्रममा एक सय ५० भन्दा धेरै विरुवा रोपिएको थियो।

  • घरको छतबाट खसेर कामदारको मृत्यु

    घरको छतबाट खसेर कामदारको मृत्यु

    निर्माणाधीन घरको छतबाट खसेर मोरङको उर्लाबारीमा बुधबार एक कामदारको मृत्यु भएको छ।

    उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

    उनका अनुसार उर्लाबारी–२ का जेनिस लिम्बूको निर्माणाधीन घरको दोस्रो तलाको छतबाट खसेर श्रेष्ठ घाइते भएका थिए।

    छतबाट खस्न साथ तत्कालै उपचारका लागि उर्लाबारीमै रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।’

    श्रेष्ठ लिम्बूको घर निर्माणमा खटिएको खुलेको छ। घर निर्माणमा प्रयोग गरिएका पुराना काठ झार्ने क्रममा बुधबार बिहान साढे १० बजेतिर छतबाट एक्कासि झरेर गम्भीर घाइते भएका थिए।

    घाइते श्रेष्ठलाई थप उपचारका लागि आर्या न्यूरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले पौने १ बजेतिर घोषित गरेका डिएसपी बस्नेतले बताए।

    घटनाको थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

  • प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने मोदीको सोच, कति सहज होला बहुमत बिनाको सरकार?

    प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने मोदीको सोच, कति सहज होला बहुमत बिनाको सरकार?

    भारतमा आगामी सरकार निर्माणका लागि भएको लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ। १८ औँ लोकसभाका लागि गत अप्रिल १९ मा सुरु भएको निर्वाचन विभिन्न ७ चरणमा हुँदै १ जुनमा सम्पन्न भयो। जसको नतिजा भारतीय चुनाव आयोगले ४ जुनमा सार्वजनिक गर्यो।

    आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार भारतीय जनता पार्टीकै नेतृत्त्वमा सरकार गठन हुने भएको छ। सम्पन्न मतपरिणाम अनुसार भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसके पनि भाजपा नेतृत्तवमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले कुल ५४२ सिटमध्ये २९२ सिटमा जित हात पारेको छ भने विपक्षी गठबन्धनले २३४ सिटमा जित हात पारेको छ।

    भारतको संवैधानिक व्यवस्था अनुसार बहुमतको सरकारका लागि कुल २७० सिटको आवश्यकता हुन्छ। जुन एनडीएले हासिल गरिसकेको छ। तर, विपक्षी गठबन्धन भने मिलिजुली सरकार बनाउने प्रयासमा रहने भारतीय विश्लेषकहरूको भनाइ छ। किनकी विपक्षी गठबन्धनले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्छ। तर, त्यसमा कति सफल हुन्छ त्यो भने हेर्न बाँकी छ।

    निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भारतका प्रधानमन्त्री मोदीले नै लगातार तेस्रो कार्यकालका लागि सत्ता सम्हाल्ने तय जस्तै छ। पछिल्लो १० वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री मोदीले सोचे अनुसारको जित हासिल गर्न नसकेपनि सरकार आफ्नै नेतृत्त्वमा बनाउने भने निश्चित छ। नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न उनले बुधबार नै पदबाट राजीनामा दिइसकेका छन् ।

    अब उनलाई बहुमतको सरकार बनाउन केही सिटको आवश्यकता हुनेछ। जसका लागि उनले बिहारका मुख्यमन्त्री नीतिश कुमार र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूलाई फकाउने प्रयास गर्नेछन्। यी दुवै नेता आवद्ध दलसँग मिलेर २८ सिट छ। तर, मोदीका लागि त्यति सहज भने हुने छैन।

    गुजरातमा २००२ मा भएको हिंसाको क्रममा चन्द्रबाबू नायडू एनडीएका पहिलो नेता थिए जसले मुख्यमन्त्री हुँदाहुँदै प्रधानमन्त्री मोदीको राजीनामा मागेका थिए। त्यसपछि २०१९ मा प्रधानमन्त्री मोदीले चुनाव प्रचारप्रसारको क्रममा नायडूलाई आफ्नो ससुराको पीठ्यूमा चक्कु प्रहार गर्ने व्यक्तिको संज्ञा दिएका थिए।

    त्यसअघि २००४ को लोकसभा निर्वाचनको क्रममा बीजेपीका नेता अमित शाहले एक भाषणको क्रममा नायडूलाई अवसरवादी भन्दै उनका लागि एनडीएको ढोका सँधैका लागि बन्द भएको बताएका थिए। अब यी सबलाई बिर्सेर नायडू मोदीसँग फेरि तालमेल गर्छन् या गर्दैनन् त्यो भने उनैलाई थाहा होला।

    भारतका एकजना जानकारी सञ्जीव श्रीवास्तवले अब बन्ने सरकार नीतीश कुमार र चन्द्रबाबू नायडू बिना चल्न नपाउने र नीतीश मौसम जस्तै परिवर्तन भइरहने टीप्पणी गरेका छन्। नीतीश कुमारले सन् २०१३ मा एनडीए छोड्नु कारण मोदी नै रहेको बताए।

    श्रीवास्तवले भने, ‘नीतिशलाई मोदी फेरि प्रधानमन्त्री बनुन् भन्ने पटकै मन थिएन र मोदीका कारण आफ्नो मुस्लिम मतदाता घट्ने डर रहेका कारण उनले एनडीए छोडेका थिए। त्यहि कारणले नीतिश कुमारले मोदीलाई २०१० र २००५ को बिहार विधानसभा चुनावमा प्रचारप्रसारका लागि आउन दिएनन्।’

    उनी भन्छन्, ‘वैशाखीको रुपमा मानिएका यी दुबै नेता राजनीतिमा उस्ताद मानिन्छन् र अब बन्ने सरकारमा आफ्ना माग पूरा गराउने सबै जोड अपनाउने छन्।’

    श्रीवास्तव भन्छन्, ‘यदि सामान्य राजनीतिक सन्दभ हेर्ने हो भने तेस्रो पटक सरकार बनाउने कसरतमा २४० सिट ल्याउनु नराम्रो पक्ष होइन। तर, मोदीका लागि अब बन्ने सरकारमा एनडीएका सबै दललाई लिएर अघि बढ्नु चुनौतीपूर्ण हुन सक्छ।’

    ‘नीतिशको गठबन्धन परिवर्तन गर्ने यस्तो प्रक्रिया बनिसकेको छ जसले सबैलाई आश्चर्यमा मात्रै पार्ने काम गर्छ। लोकसभा निर्वाचनको केही समय अघि मात्रै उनले राष्ट्रिय जनता दलसँगको गठबन्धन तोडेर मोदीसँग सहकार्य गर्न पुगे। जसले सबैलाई फेरि आश्चर्यमा मात्रै पार्ने काम गर्यो। त्यसकारण नीतिशको बारेमा कोही पनि विश्वस्त हुन सक्दैन,’ उनले भने।

    पछिल्लो १० वर्षमा मोदीको कार्यकालमा सरकारमा बहुमतका कारण बिजेपी बाहेक अन्य कुनै दलको सहभागीता थिएन, तर, अब सत्ता टिकाउन अन्य दलको सहभागीता बढाउनु पर्ने छ र अन्यको सुन्नुपर्ने बाध्यता मोदीसँग छ। यदि त्यसो भएन भने मोदीको सरकार ५ वर्ष टीक्न गाह्रो हुन्छ।

    यसअघि १९९९ मा अटल बिहारी वाजपेयी नेतृत्त्वको सरकारमा एनडीए गठबनधनमा २४ दल सहभागी थिए र त्यो ५ वर्ष स्थिर सरकारको रुपमा चलेको थियो। बाजपेयीको कुशलताका कारण त्यो समय टिकेको गठबन्धन सरकार मोदीले टिकाउन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ।

    बहुमतको सरकार गठन भयो भने मोदी भारतको लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो नेता पनि बन्ने छन्। यसअघि जवाहर लाल नेहरु भारतका पहिलो नेता थिए जो लगातार ३ कार्यकाल प्रधानमन्त्री बनेका थिए।

    मोदीले आगामी कार्यकालका लागि यहि जुन ८ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी रहेको छ।

  • सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’

    सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’

    सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ। नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ। पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना–१२ कार्यक्रम’ सञ्चालन गरिरहेको छ। यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरपालिकाका मेयर रणबहादुर राई बताउँछन्।

    नगरले ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ अभियान सञ्चालन गरेको छ। ‘पहिला गणित विषय निकै अप्ठ्यारो मान्ने विद्यार्थी अहिले गणित अप्ठ्यारो छैन भन्न थालेका छन्,’ मेयर राईले भने, ‘विषयगत शिक्षक अपुग भएका ठाउँमा ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ।’ नगरले विशेष गरी अंग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थीलाई सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएपछि केही वर्षयताको नतिजासमेत सुध्रिएको उनी बताउँछन्। केही वर्षअघिको कोभिड–१९ ले बालबालिकाको पढाइमा ठूलो क्षति गरेकाले त्यसबाट उकास्न चाहिँ समय खर्च भएको उनको भनाइ छ।

    नगरका सबै विद्यालयमा इन्टरनेट सेवा पुगेको छ। सबै विद्यालयमा कम्प्युटर र प्रयोगशाला छ। सबै विद्यालयका विद्यार्थीको बाल बचत खाता खोलिएको छ। ‘यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी छ,’ उनले भने, ‘यो कार्यक्रमले विद्यार्थीमा बचत गर्ने बानीको विकास गरेको छ, जङ फुड प्रयोग घटाएको छ। र, अहिले बचत भएको रकमले भविष्यमा उच्च शिक्षाको पढाइ पनि आर्थिक हिसाबले सुनिश्चित गरेको छ।’

    नगरको ऐतिहासिक करफोक माध्यमिक विद्यालय प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले दक्ष जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास गरिँदैछ। एउटै विद्यालयमा आठ करोड रुपैयाँ लगानी गरी विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाइँदै छ। अर्को विद्यालयमा पाँच करोड रुपैयाँ लगानी गरी विज्ञान र गणितको ‘इनोभेसन सेन्टर’ बनाइँदै छ।

    उनका अनुसार विद्यार्थीलाई पशुमा कस्ता रोग लाग्छन्, कुन रोगको लक्षण के हो, कुन रोग लाग्दा कस्तो उपचार गर्ने, गाईको गोठको मल व्यवस्थापन कसरी गर्ने, गड्यौले मल व्यवस्थापन, बालीनाली खेती, गोडमेल, बालीनालीमा गहुँतको प्रयोग, ठूला फार्म सञ्चालन, कृषिमा यान्त्रीकरण, असल किसान बन्ने तरिकालगायत विषयबारे प्राविधिक शिक्षासमेत दिइँदै छ। ‘बालीनाली उत्पादन, संरक्षण, भण्डारणलगायत सबै विषयमा हामी विद्यार्थीलाई सिकाउँदैछौं,’ उनले भने, ‘नगरको स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन भएको छ। यसबाट विद्यार्थीले सानै उमेरमा आफ्नो पालिकाको भूगोल, संस्कृति, सम्पदा लगायतबारे थाहा पाउँछन्।’

    विभिन्न समयमा नगरभित्र विज्ञान, गणित प्रदर्शनी हुने गरेको छ। गणितका लागि विद्यार्थीलाई बेग्लै कापी वितरण गरिएको छ। सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ। यहाँबाट उत्पादन भएको जनशक्तिलाई नगरले कम्तीमा सय दिन रोजगारीसमेत दिइरहेको छ।

    कोभिडको समयमा भएको पढाइको क्षति न्यूनीकरण गर्न नगरले सय दिन स्वयंसेवक शिक्षकको व्यवस्थासमेत गरेको छ। अहिले नगरका संस्थागत र सामुदायिक विद्यालयलाई शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्ने वातावरण बनाइँदै छ। ‘केही वर्ष अघिसम्म ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत संस्थागत विद्यालयमा रहेकामा अहिले यो तथ्याङ्क ठिक उल्टो हुनु पनि हाम्रो कार्यक्रमको उपलब्धि हो,’ मेयर राई भन्छन्, ‘तर, यो नगरपालिका बालमैत्री नगर पनि भएकाले बालबालिकाबिच चाहिँ विभेद गरिएको छैन, नगरले सामुदायिक विद्यालयका बालबालिकालाई दिने सुविधा संस्थागत विद्यालयका बालबालिकालाई पनि दिएको छ।’

    नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड पनि निःशुल्क दिएको छ। सूर्योदय विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको उनी बताउँछन्। भर्खरै सम्पन्न जिल्ला स्तरीय चेस प्रतियोगितामा सूर्योदयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएका छन्। ‘यो अहिले तत्कालैको लगानीको प्रतिफल होइन, लामो समयदेखि गरिरहेका कामको उपलब्धि पनि हो,’ मेयर राईले भने, ‘पढाई मात्र होइन, विद्यार्थीको चाहनाअनुसार अतिरिक्त क्रियाकलापमा पनि बढी ध्यान दिइएको छ।’

    नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दासमेत विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको उनले जनाए। सूर्योदय नगरपालिका देशभरका सात सय ५३ पालिकामध्ये दिगो विकास लक्ष्य (भिएलआर)मा पनि १४ नगरपालिकामध्ये पर्छ र १४ मध्ये पनि सूर्योदय उत्कृष्टमै रहेको मेयर राई बताउँछन्। ‘दिगो विकास लक्ष्यका कार्यक्रम राम्ररी कार्यान्वयन गरियो भने मात्र सफल बन्न सकिन्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने, ‘यसैले पनि नगरका सबै जनप्रतिनिधि शिक्षा क्षेत्रमा ठूलो लगानी गर्नेमा सहमत हुनुहुन्छ, उहाँहरू सबैले सहयोग गर्नुभएको छ।’

    विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि नगरले विभिन्न कार्यक्रम ल्याएको छ। प्रत्येक विद्यालयको भौतिक अवस्था अध्ययनका लागि नगरले आरबिएस (¥यापिड भर्चियल स्क्रिनिङ) गरेको छ। यसबाट कुन विद्यालयको भौतिक अवस्था कस्तो छ, सुधार गर्न कस्तो कार्यक्रम ल्याउनुपर्छ र कति रकम खर्च हुन्छ भन्नेबारे पनि अध्ययन भएको छ। त्यसैअनुसार विद्यालयको भौतिक विकासमा अघि बढेको मेयर राईले बताए। ‘कुन विद्यालयको भौतिक सुधार सबैभन्दा पहिला आवश्यक छ, भौतिक पूर्वाधार विकासमा हुने खर्च कुन स्रोतबाट प्राप्त हुन्छ भन्नेजस्ता विषयमा योजना बनाइसकेका छौँ,’ मेयर राईले भने, ‘धुलोरहित कक्षाकोठा, पानी चुहिने छानो, भत्किने पर्खालजस्ता समस्या समाधान भइसकेका छन्।’

    नगरमा शिक्षकको मनोबल र शिक्षण क्षमता बढाउने कार्यक्रम पनि छन्। नगरले सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कुलमा पढ्न जाने विद्यार्थीलाई समेत यतै आकर्षित गरिरहेको जनाएको छ। अहिले यसरी पढ्नकै लागि दार्जिलिङ जाने विद्यार्थी पनि यतैका विद्यालयमा भर्ना हुन थालेको उनले बताए। ‘गणित र विज्ञानको पढाइको स्तर हाम्रोतिर नै राम्रो भएकाले विद्यार्थी नगरकै विद्यालयमा आकर्षित भएका छन्,’ उनले भने, ‘विद्यार्थीलाई उच्च शिक्षा पनि नगर र देशभित्रैका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ।’

    सूर्योदय नगरमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय छन्। यहाँ ११ हजार छ सय १२ विद्यार्थी रहेकामा सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी रहेको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए।

    नगरमा तीन सय ९८ शिक्षक दरबन्दी छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन्। यीबाहेक विद्यालयहरूले निजी स्रोतबाट समेत शिक्षक राखेका छन्।

  • रायडेनलाई स्वर्ण

    रायडेनलाई स्वर्ण

    बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन्।

    अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५–१६ वर्ष उमेरसमूहको एडभान्स कुमुतेमा सफलता पाए।

    प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।

    टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन्।

  • पेट्रोल खन्याएर आत्महत्याको प्रयास

    पेट्रोल खन्याएर आत्महत्याको प्रयास

    विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्।

    शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

    उनका अनुसार मंगलबार साँझ पौन ८ बजेतिर विराटनगर–७ हरियाली टोलमा कामतले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएका हुन्।

    आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘घाइते कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। केही समयदेखि पारिवारिक तनावमा रहेको खुलेको छ।’

    केही दिनअघि पत्नीसँग समेत सम्बन्ध विच्छेद गर्नु परेको पीडाका साथै पारिवारिक तनावका कारण आफैँलाई आगो लगाएको हुनुपर्छ। घटनाको थप अनुसन्धान अघि बढेको र अनुसन्धानपछि यथार्थ कुरा बाहिर आउने डिएसपी बस्नेतले बताए।

  • घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैनः सांसद खतिवडा

    घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैनः सांसद खतिवडा

    नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन्।

    बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले सरकारले ल्याउने हरेक बजेट राजस्व संकलन,वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरुप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए।

    उनले भने,‘ मुलुक ऋण लिएर ऋण तिर्नु पर्ने अवस्थामा रहेको छ। भोलिको दिनमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था भयो भने बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनको बाटोमा जाँदैन। सांसदहरुलाई कानून निर्माण गर्न पठाएका भन्ने चलन छ। तर साना पँधेरो ,अस्पताल,बाटो,खानेपानी बनेन र किसानलाई समस्या पर्‍यो भने जनता जनप्रतिधिसँग नै हो । ती कुराहरुलाई सम्बोधन गर्न यर्थेष्ट बजेट आएको छैन। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारीबोक्ने पोट्स र च्याङ्ग्रा र खचडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको छ। सरकारको यतातिर पनि ध्यान जाओस्। सरकारले ल्याएको बजेट हेर्दा अहिलेसम्म ८ खर्ब ९० अर्ब बराबरको राजश्व उठेकाले बजेट घाटामा जाने देखिन्छ। संधै घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन। यी कुरामा सरकारले ध्यान दिओस्।’

    ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको उनको भनाइ छ।

  • छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ : प्रधानमन्त्री  दाहाल

    छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ : प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन्।

    पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष दाहालले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे।

    ‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, म चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो सही सावित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।’

    बर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बर्जुवा चरित्रको नभएको स्पष्ट पारे।

    सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थसमाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औंल्याउँदै प्रधानमन्त्रीले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए।उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए।