Blog

  • रानीवनले छाड्यो रेलिगेसन जोन

    रानीवनले छाड्यो रेलिगेसन जोन

    बाजुराको रानीवन स्पोर्ट्स क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातौं स्थानको मनोहरा युनाइटेड युथ क्लबलाई १–१ गोलको बराबरीमा रोक्दै रानीवन १२‍औं स्थानमा उक्लिएको हो।

    १४ टोली सहभागी प्रतियोगितामा रानीवनले ११ खेलबाट एक जित र पाँच बराबरीसँगै आठ अंक जोडेको छ। रानीवनभन्दा तल स्वयम्भू क्लब र गोलबजार स्पोर्ट्स क्लब छन्।

    मनोहराको भने ११ खेलबाट ४ जित र ३ बराबरीसँगै १५ अंक पुगेको छ। खेलको ३१औं मिनेटमा उत्तम शाहीले काउन्टर अट्याकमार्फत मिलाइदिएको बललाई सञ्जय श्रेष्ठले फिनिसिङ गर्दै मनोहरालाई सुरुआती अग्रता दिलाएका थिए।

    उक्त अग्रता मनोहराले अन्तिम समयसम्म जोगाउन सकेन। दोस्रो हाफको इन्जुरी समयमा आविष्कार खड्काको खुट्टाबाट बल खोस्दै दोस्रो हाफमा मैदान प्रवेश गरेका युवराज राईले मनोहराको पोस्टनजिकै बल लगेका थिए। तर, फिनिसिङ टच दिने क्रममा मनोहराका सविन घिमिरेले उनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई सन्दीपबहादुर सिंहले सदुपयोग गर्दै रानीवनलाई एक अंक दिलाए।

    अर्को खेलमा गोलबजार स्पोर्ट्स क्लबले सानेपा क्लबलाई १–१ गोलको बराबरीमा रोक्यो। यससँगै ११ खेल खेलेको गोलबजार ७ अंक जोड्दै पुछारमा छ। समान खेलबाट १२ अंक जोड्दै सानेपा नवौं स्थानमा छ।

    खेलको सातौं मिनेटमा नीराजनजंग शाहीले गोल गर्दै सानेपालाई सुरुआती अग्रता दिलाएका थिए। सौगात लामाले दिएको एअर बललाई कप्तान खेलराज तामाङले हेडिङ गर्दै गोलबजारका गोलरक्षक कुशल विश्वकर्मानजिक पुर्‍याएका थिए। तर, उक्त एअर बललाई कुशलले नियन्त्रणमा लिन सकेनन्। त्यही बललाई नियन्त्रणमा लिँदै दिएको पासमा नीराजनले हेडर गर्दै गोलमा परिणत गरे।

    २८औं मिनेटमा गोलबजार खेलमा फर्कियो। जमिर दिन मियाले मिलाइदिएको क्विक पासलाई योन्जन हमालले नियन्त्रणमा लिइसकेका थिए। तर, सौगात लामाले योन्जनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए। उक्त पेनाल्टीलाई सुजनकुमार पुलामीले सदुपयोग गरे।

  • घाँसपातको उत्पात!

    घाँसपातको उत्पात!

    हाँपझाँप गर्दै खायो भने हरियो घाँसले पनि पेट दिमाग दुवै पोल्छ भन्ने कुरा बिर्सनु भा’थ्यो कि के हो? यहाँ पनि भयो यस्तै। सहकारी नाउँको हरियो बन्सो अपच्दो भ्याएपछि गौरांगी संसारी माईले छोडेको घोर्ले बोको उवात उवात गर्दै जथाभावी मानिस पिरोल्दै हिँड्न थालेको थियो। अहिले वल्लो कुँडार र पल्लो करेसाबारीको लुटलाटको बेजो अपच्दो हसुर्नाले भुँडी फुलेर थला परेको पारा पनि टड्कारै देख्नुपर्‍या’ छ।

    बोकाजी कुनै चानचुने छागछौंडा नभएर उन्नत नस्लकै पर्नुभएछ। त्यसैले कुनै दिन सम्मानपूर्वक यो धर्तीमै दुर्लभ मानिने जेठोबुढो नाउँको पोखरेली मार्सीभातको सौगात पाएर हाँपझाँप गर्दै तीन थाल बजाउनुभा’थ्यो। चौरासी व्यञ्जनमाथि लोलोपोतो मिसिएको थप पचासीथरी थपुवा चिल्लो चापुल्लो पनि चुच्चो जोर्दै नौथरी थाङ्ना गफ हाँक्तै उदर उद्रिने हदसम्म मनग्गे भ्याउनुभा’थ्यो। त्यतिले नपुगेर बुटवल बासमतीमाथि पनि कहाँकताबाट सुराकी लिँदै थुतुनो गाड्नुभा’थ्यो। विदेशको जुठोपुरो चाटेर रुख्खिएको ज्यान भर्नलाई नौथरी परिपञ्च मिलाएर पाहुना लाग्नुभा’थ्यो।

    खाँटी दयानिधि बनेर गरिब दिदीबहिनी दाजुभाइले भोकैनांगै बसेर दुःखजिलो गर्दै कमाएका पसिना चाटेर घिउ, मह, मिष्ठान्न, मांस, मछलीमाथि उरुङ लागेका सलादसाथ मिठा पानपरागको अनुरागमा पनि सुगररोगीको शौचमा कमिलाझैं रत्तिनुभा’थ्यो। जर्दा सुपारीका मुखसिद्धि खुराक पनि बुढो भालुले मकैका घोगा चपाएझैं बंगारा बङ्ग्याएर माक्लाकमुक्लुक पार्नुभा’थ्यो।

    खास कुरा त अझ थप टीकाटाला दानदक्षिणाका किस्ती बन्डल भेटेर सुटकेस, गोजीभरि अटसमटस कोच्नुभा’थ्यो र दसैंको दक्षिणा पाएका बालबालिकाजस्तै खुसीले काँचो पिँडालु बिर्साउनेगरी कोक्किनुभा’थ्यो। अनि बगालिएको अर्ना छटाएझैं उछिल्लिएर पुच्छर उचाल्दै बुर्कुसी मार्नुभा’थ्यो र सिधै काठमाडौंदेखि चितवनका रिसोर्टसम्म पुग्नुभा’थ्यो। त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, सोझासादा मनुवाको मानभाउको तीनपाने तुजुकले हो कि, केले चैं हो, आफ्नो औकात भुलेर मालसिरीमा डान्स पनि गर्नुभा’थ्यो। त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, पात्तिँदै मनमौजी चर्तिकला पनि अजमाउनुभा’थ्यो।

    बिहान पशुपन्छी, जंगलको दृश्यावलोकन र बेलुकीका क्याम्पफायरका मोजमस्तीमा हल्ला हाउगुजीका गणसहित गस्ती गर्दै मांसमदिराका तोङ्बा बोतल पनि भेटेजति लडाउनुभा’थ्यो। देश बनाउने गफका पर्रा छोडेर दशै दिशाभरि आफ्नै हात जगन्नाथ भएको गुड्डी हाँक्नसमेत भ्याउनुभा’थ्यो। ‘कठै ती दिन गैगए।’ वनवासी राजारामकै चाल पो हुने भयो त अहिले आएर। तर यताको समस्या अर्कै बल्झिदिएको छ यतिबेर। के तलबितल परेर हो कुन्नि, ती दिन अब रहेनन्।

    कमजोर पाचन शक्तिले गर्दा घाँसपात पचाउन नसकेर हो वा त्यसको रसायनले उन्माद जगाएर हो या अत्यधिक रसादि ग्रहण गरेर हो, दैव जानून्। आज त्यही हरियो पात छड्किएर अन्धाधुन्द उत्पात मच्चाउन थालेको पो हो कि। उसै त चिसो पानीको मार्सी धान उसको पनि भातलाई बिर्साउने घाँसपात। त्यसलाई पनि अपच्तो भ्याएपछि के गरौं, कता जाऊँको सन्निसर्पन भा’छ। पेटमा पगितो अपच पदार्थ परेर दिमाग छड्किएको थाहा पाएपछि बहुपोथीका स्वामी बोका हजुर बल्ल ग्वाँ पर्नुभा’छ।

    घाँसपातले महँगो भाउ खोजेर छिर्के दाउ लगाएपछि हाउगुजीले हाराबारा पारेको छ। डोरीमा गोमन सर्पको आभास भएर भासमा दबिँदै गएको भान भा’छ मनुवागणलाई। उठौं त, उठ्न नसकिने बोलौं त।

    कसैले नसुन्ने र नपत्याउने झम्पाट खलपात्रको बेढंगी चालले ठाडो शिरमाथि तेर्सो पेलमपेल भा’छ। रातमा बास बसेका महिला, बुढाबुढीलाई अरिंगाल सेना पठाएर लखेट्ता पनि घाँसपातको आँत गलेको होइन, झन्झन् अरट्ठिएको छ। आँट खस्किएको होइन, झन्झन् दरिएको पो छ।

    माइतीघर पराइघर बनाएर प्रतिबन्ध लगाउँदा पनि बैरीको आँट छाँटिएको होइन, उल्टै पोखराका चौराह चोकमा आगो बाल्न पुगेर वाटर क्याननका फोहोरा छोड्नुपर्‍या’छ। मकैबारीमा पसेका बाँदरलाई जस्तै टिन ठटाएर लखेटौंभन्दा उल्टै ङिच्च दारा देखाएर जिस्क्याउन थालेको छ।

    बन्दुकका कुन्दा खटटट चलाउँदै हर्काउँदा पनि उल्टै फर्की फर्की ढुंगामुढाले जाइलागेर हैरान पार्‍या’छ। महँगो अश्रुग्यासका लोला पड्काएर जाइलाग्नुपर्‍या’छ। थरीथरी जासुस प्रहरी र पाल्तु अरिँगालका तीनपाने शक्ति र सामथ्र्य खर्चिएर दबेट्नुपर्‍या’छ। तैपनि टसमस हुने होइन, घोर्ले बोकाजीको शिरमाथि आइलागेको मोरो घाँसपातको उत्पात!

    यता पुलिसबाबाको दीक्षाग्रहणको कानेखुसी। अर्कातिर गलबन्दी थुत्ने भोकानाङ्गा असहाय ठगिने लुटिने श्रमिकहरूको लामबन्दी। कताकताका भातले साँच्चै उत्पात मच्चाउने इरादाले भोकानाङ्गा सेना बटुलेर चौबाटा सडक कब्जा गरेपछि टोक्नु न बोक्नुको चाल भा’छ।

    बन्दुक तोपको शक्ति प्रयोगको धमास दिएर ललकार्दा पनि अटेरी भात भने झन् पो वाचाल भा’छ। तथानाम गालीगलौजको मुख छोडेर हड्डी नै गाल्ने पगाल्नेखालको अड्डी लिएको छ। कहिले चोक र थानाहुँदी ढुंगामुडाको वर्षाले सन्निसर्पन पारेर भन्नु नभन्नु भनेको सुन्नुपर्‍या’छ।

    त्यो बेइज्जती खप्तै सहँदै गर्दा अचाक्ली भएपछि कतिबेर तिनै मार्सी सेनामाथि पुलिसका डन्डा भिडाउनुपर्‍या’छ। डन्डा अश्रुग्यासमाथि भिजिलान्ते खटाएर ढुंगामुढाको वर्षा पनि गराउनुपर्‍या’छ। त्यति गर्दा पनि भात शान्त नभैदिँदा मेजमानीमा हसुरेका थरीथरी परिकारका थपुवाजस्तै झन्झट झ्याउलो र सास्तीका पुलिन्दा पनि अझै बढ्या’छ।

    जवाफी फायर काम नलागेपछि बसीखप्नु भा’छैन। दुई दिन भए पनि तनावमुक्त हुने इरादाले कहिले यताउताका कुनाकाप्चातिर लुसुक्क लहसिनुपर्‍या’छ। कहिले बिनाबित्थाको जरुरी काम देखाएर पूर्वपश्चिम दायाँबायाँ नाम्सिँदै मुन्टो लुकाउनुपर्‍या’छ। कतै कसैले प्वाक्क केही भनिदेला भन्ने डरले शिर झुकाउनुपर्‍या’छ।

    के भन्नु, के नभन्नु खै! अग्नि मन्द भएर हो कि निकासी ढोका बन्द गरेर हो, उतिखेर पेटमा पुगेको घाँसपात यतिखेर भाँडिएर भाँडभैलो गर्न लाग्या’छ। भन्नु पनि भन्छ, नभन्नु पनि भन्छ भान्सेले। कतिखेर आसनबाट खँगार्छु भन्छ, कतिखेर शासनबाट लघार्छु भन्छ।

    कतिखेर सडक छोप्या’छ, कहिले दोबाटोमा छातीभित्र आक्रोशको आगो र गोली बोक्या’छ। कतिखेर कहाँ पड्किएर त्यो ज्यानमाथि आइलाग्ने हो भन्ने मानसिक त्रास र अशान्तिको बिउ रोप्या’छ। मोफसलमा भए त तद्बिसेक भन्नुहुन्थ्यो तर राजधानीमै आएर भातको बदला उत्पातले लिएझैं तमास देखाएको छ।

    शान्ति सुरक्षामा सन्निसर्पन पारेपछि पुलिस लगाउनुपर्‍या’छ अनि तिनै भातका दातामाथि नजरबन्दका फन्दा राख्नुपर्‍या’छ। त्यसैले आज जेजे गर्नु नगर्नु पनि सहकारीको हरियो घाँसमाथि घिउ र मार्सीभातले गर्‍या’छ। बस पार्नु पिर पार्‍या’छ।

  • बालेनलाई तीन दिनभित्र हाजिर हुन ताकेता

    बालेनलाई तीन दिनभित्र हाजिर हुन ताकेता

    सडक डिभिजन काठमाडौले शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘केही बुझ्नुपरेको छ’ भन्दै तीन दिनभित्र डिभिजनको कार्यालयमा हाजिर हुन म्याद दिएको छ। तीन दिनभित्र कार्यालयमा हाजिरी हुन नआए कानुनबमोजिम थप कारबाही गर्ने चेतावनीसमेत डिभिजनले दिएको छ।

    डिभिजनका प्रमुख नारायणदत्त भण्डारीले हस्ताक्षर गरेको चिठी शुक्रबार नै महानगरलाई बुझाइएको डिभिजन स्रोतको भनाइ छ। ‘मेयरलाई कार्यालयमै हाजिरी हुन बोलाउनुको मतलब महानगरका मेयरलाई कारबाहीको प्रक्रिया अघि बढाइएका रूपमा बुझ्न सकिन्छ,’ सडक डिभिजनका एक उच्च कर्मचारीले भने।

    सडक डिभिजन काठमाडौंका प्रमुख भण्डारीले डिभिजनको अनुमतिबिना फुटपाथ बढाउने नामम न्युरोडको सडक भत्काइएको विषयमा डिभिजनको कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको बताए।

    यस विषयमा कानुनी प्रक्रिया बुझ्न भण्डारीले डिभिजनका नायब सुब्बा तीर्थराज जोशीलाई शुक्रबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएका थिए। जोशीले सरकारी वकिल कार्यालयका कर्मचारीहरूसँग सरसल्लाह गरेका थिए। त्यसपछि भण्डारीले बालेनलाई चौथो चिठी लेखेका हुन्।

    तेस्रो पटक चिठी लेख्दा पनि बालेनले औपचारिक रूपमा कुनै जवाफ नदिएको र भत्काइएको सडक पुनः स्थापना नगरेकाले चौथो पटक चिठी लेख्नुपरेको डिभिजन कार्यालयका कर्मचारीहरूको भनाइ छ। अब भने कानुनी प्रक्रियामै जाने मानसिकतमा आफूहरू भएको एक कर्मचारीले बताए।

    सडक डिभिजन स्रोतका अनुसार महानगरका दुई कर्मचारीहरू सुनिल लम्साल र सुरोज शाक्य बिहीबार सडक डिभिजन काठमाडौंको कार्यालयमा आई डिभिजन प्रमुख भण्डारीसँग छलफल गरेका थिए।

    स्रोतका अनुसार उनीहरूले न्युरोडमा सडक भत्काइएको विषयमा कारबाहीको प्रक्रिया अघि नबढाउन भण्डारीलाई आग्रह गरेका थिए। ‘सडक डिभिजनसँग हाम्रो हाम्रो आपत्ति होइन। हाम्रो आपत्ति माथिसँग हो। त्यसैले तपाईंहरूले कारबाही नगर्नुहोस्। हामी मिलेर जानुपर्छ भन्ने उहाँहरूको भनाइ थियो,’ डिभिजनका एक कर्मचारीले बताए।

    डिभिजनको सहमतिविना काठमाडौं महानगरपालिकाले न्युरोडस्थित जुद्ध सालिक–इन्द्रचोक सडकखण्डमा सडक खन्ने तथा भत्काउने गरेको र भत्काइएको सडकलाई अहिलेसम्म जस्ताको त्यस्तै राखेको भन्दै बालेनसँग सडक डिभिजन कार्यालय तथा सडक विभागका कर्मचारीहरू आक्रोशित भएका छन्।

    गत बुधबार सडक डिभिजनले बालेनलाई तेस्रो पटक चिठी लेखेर न्युरोडमा भत्काइएको सडक दुई दिनभित्र पुनः स्थापना गर्न चेतावनी दिएको थियो। महानगरले दुई दिनभित्र भत्काइएको सडक नबनाएपछि डिभिजनले चौथो चिठी पठाएको हो।

    यसअघि पनि डिभिजनले यस्तै व्यहोरोका चिठी तीन पटक बालेनलाई पठाइसकेको छ। पहिलो, दोस्रो र तेस्रो चिठीलाई बेवास्ता गरेपछि डिभिजनले चौथो पटक चिठी पठाएको हो।

    यसअघि सडक डिभिजनले जेठ ३ गते महानगरलाई पहिलो पटक चिठी पठाएर काठमाडौंको न्युरोड सडक डिभिजन कार्यालय काठमाडौंको कार्य क्षेत्रभित्र पर्ने भएकाले डिभिजनको सहमतिबिना उक्त क्षेत्रमा कुनै पनि काम नगर्न/नगराउन अनुरोध गरेको थियो।

    यसैगरी डिभिजनले २०८१ जेठ १३ गने दोस्रो पटक चिठी पठाएर भत्काएको सडकलाई पुनः स्थापना गर्न आग्रह गएिको थियो।डिभिजनले भत्काइएको पुनःस्थापना नगरे सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउन बाध्य हुने चेतावनी दिएको छ।

    सार्वजनिक सडक ऐन, २०३१ मा सार्वजनिक सडक बिगार्ने, अवरोध गर्ने तथा भत्काउनेलाई जरिवाना तथा कैद सजाय गर्ने व्यवस्था गरिएको छ। केही दिन अघि काठमाडौं महानगरपालिका मेयर शाहले एकएक ट्रक फोहोर र धुला सडक विभाग र सडक डिभिजनको कार्यालय अगाडि फाले पछि महानगर र सडक विभागवीच विवाद सुरु हुदै आएको छ।

    बालेन र वडाअध्यक्षबीच चर्काचर्की

    महानगरको बोर्ड बैठकमा शुक्रबार मेयर शाह र महानगरका २२ नम्बर वडा अध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की नै भएको छ। २२ नम्बर वडामा न्युरोड क्षेत्र पर्छ। बोर्ड बैठकमा न्युरोडको सडक भत्काएको विषयमा महर्जनले शाहसँग आपत्ति जनाएका थिए भने बालेनले त्यसको प्रतिवाद गरेका थिए।

    चिनीकाजी महर्जन, अध्यक्ष २२ वडा

    न्युरोडमा फुटपाथ बढाउने नाममा मोटर गुड्ने बाटो साँघुरो बनाउन नहुने महर्जनले अडान राखेका थिए भने न्युरोडको फुटपाथ बढाउनु पर्ने तर्क बालेनको थियो। ‘न्युरोडको सडकलाई साँधुरो पार्ने हो भने न्युरोडभित्र सामान ढुवानी गर्न ट्रक, दमकल छिर्नसमेत गाह्रो हुन्छ।

    यसबाट व्यापार, व्यवासायमा अवरोध हुन्छ,’ महर्जनले भने, ‘१९९० को भूकम्पपछि बनाइएको न्युरोडको पेटी र सडक पुरातात्विक महत्वको क्षेत्र पनि हो। त्यसैले यसको मौलिकता जोगाउनु महानगरको काम पनि हो।’

    फुटपाथ बढाउने नाममा सडकलाई साँघुरो बनाउनुभन्दा अहिले भइरहेको पेटी र सडकलाई राम्रोसँग व्यवस्थापन गर्नु नै महानगरका लागि उपयुक्त काम हुने महर्जनको भनाइ छ।

  • प्रिन्सको ओलम्पिक तयारी श्रीलंकामा

    प्रिन्सको ओलम्पिक तयारी श्रीलंकामा

    ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकको तयारी श्रीलंकामा गर्ने भएका छन्।

    प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन्। उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ। उनलाई इन्डोनेसियाको राष्ट्रिय टिमसमेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिनेछन्।

    प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन्। प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन आइतबार श्रीलंका जाँदै छन्। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

    सो अवसरमा सदस्य-सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘ट्रेनिङ प्लान’ पेस गर्न निर्देशन दिए। नेपाली प्रशिक्षकको पनि स्तर वृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए।

  • नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो

    नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो

    अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ।

    अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए।

    यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो। उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ।

    नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ। केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो। गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।

  • ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

    ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

    कैलालीका किशोरीहरू महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन्। किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन्। महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो।

    टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउँछन्। ‘महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ’, उनी भन्छिन्, ‘यस्तो बेलामा स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिने लगायत काममा पुरुष सहयोगी बन्नुपर्छ।’

    महिनावारी भएका बेला छुवाछूतको व्यवहार गर्दा पर्याप्त पानीसमेत खान नपाएर स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पोखरेल बताउँछन्। ‘कहिलेकाहीं विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला कक्षाका सबै साथी बाहिर ननिस्कुञ्जेल उठ्न सक्दैनौँ,’ उनले भनिन्, ‘शिक्षकसँग पनि भन्न आँट आउँदैन, केटी साथी वा महिला शिक्षकसँग मात्र भन्न सक्छौँ।’

    महिनावारीबारे सङ्कोच नमानी कुरा गर्ने वातावरण घर, समुदाय र विद्यालयमा हुनुपर्छ। जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावलले महिनावारीको समयमा महिलालाई भेदभाव हुने गरेको बताइन्।

    ‘महिनावारी हुँदा आवश्यक लुगा तथा सामानको जोहो गर्न घरका पुरुषको सहयोग पाइनुपर्छ। बुबा तथा दाजुभाइले प्याड किनिदिनुपर्ने हुन्छ’, उनले भनिन,‘घरबाटै सहयोग सुरु हुनुपर्छ। पसलमा प्याड किन्ने वातावरण अनिवार्य चाहिन्छ।’

    कर्णाली मावि सत्तीका समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताइन्। ‘आमा काममा नभएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ’, उनले भने, ‘बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव व्यवस्थापनका लागि रमाइलो वातावरण बनाउने काममा सघाउनुपर्छ।’

    कैलालीका छोरीहरु महिनावारी हुनु पाप नभई उत्सव हो भन्ने कुरा छोरीहरुको मनमा महसुस गराइदिनुपर्ने बताउँछन्। न्यू लाइट एजुकेसन होमकी ओजश्वी भाट महिनावारी हुनु सन्तान जन्माउन वा श्रृष्टि चलाउनका लागि सक्षम हुनु हो भन्ने कुरा छोरीहरुलाई पनि बुझाउनुपर्ने बताउँछन्।

    ‘महिनावारीसँगै शरीरमा आउने शारीरिक, मानसिक परिवर्तनबारे ज्ञान दिनुपर्छ, यस्तो बेलामा घर तथा विद्यालयको वातावरण छोरीका लागि सहज हुनुपर्छ’, उनी बताउँछन्, ‘यसमा परिवार, विद्यालय जिम्मेवार बन्नुपर्छ। महिनावारीका समयमा हामी केही तनावमा हुन्छौँ। यस्तो बेलामा पढाइमा रुचि नलाग्न सक्छ।’

    टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास चिर्न आवश्यक रहेको बताउँछन्।

    ‘हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक छ’, उनले भने, ‘स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले महिनावारीमा हुने समस्या र समाधानका उपायबारे समुदायमा सिकाउनुपर्छ।’

    महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र सचेतनामा सबै जिम्मेवार बन्नुपर्ने बताइन्छ। वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का कुने रमाइलो दिन, जन्मदिनजस्ता कुरामा छोरीहरुलाई स्यानिटर प्याड गिफ्ट दिने पुरुष हुनुपर्ने बताए।

    ‘घरका महिलालाई प्याड किनेर लगिदिने पुरुष निकै कम भेटिन्छन्’, उनले भनिन्, ‘प्याड किन्न अर्थ चाहिन्छ, अर्थ पुरुषको स्वामित्वमा हुन्छ, आवश्यक पोषिलो खानेकुरा जुटाइदिने, घरायसी काममा सघाउन पुरुष सहयोगी हुनुपर्छ।’

    रासस

  • साकेलामा अपांगता रोकथाम तथा पुनः स्थापना शिविर

    साकेलामा अपांगता रोकथाम तथा पुनः स्थापना शिविर

    खोटाङको साकेला गाउँपालिकामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी घुम्ती शिविर’ बिहीबारदेखि सुरु भएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनसँगको सहकार्यमा गाउँपालिकाले शिविर सुरु गरेको हो।

    वडा नं. ३ को खिदीमाबाट सुरु भएको शिविर गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन हुनेछ। गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना गर्दै नयाँ अपाङ्गता हुन नदिन रोकथाम गर्ने योजनाअनुसार त्रिपक्षीय पहलमा साकेलाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। जसअनुसार हरेक वडा पुगेर शिविर सञ्चालन गर्ने योजना कार्यान्वयनमा ल्याइएको हो।

    बिहीबार स्वास्थ्यचौकी खिदीमामा आयोजित पहिलो दिनको शिविरबाट ५९ जना लाभान्वित भएका छन्, जसबाट अपाङ्गता पहिचान भएका ४६ जनाले अपाङ्गता परिचयपत्र पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। उनका अनुसार शिविर आउँदो २१ गते सोमबारसम्म सञ्चालन हुनेछ।

    दोस्रो दिन शुक्रबार ४ नं. वडामा सञ्चालन भइरहेको छ भने शनिबार ५ नं. मा हुने हाकिम राईले बताए। त्यस्तै आइतबार १ नं. वडाको राधाकृष्ण मावि बाँझेच्यान डाँडा र चण्डेश्वरी प्रस्तावित मावि डाँडागाउँमा सञ्चालन हुनेछ भने सोमबार २ नं. वडास्थित साकेला आधारभूत अस्पतालमा सञ्चालन हुने हाकिम राईको भनाइ छ।

    साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले अपाङ्गतासम्बन्धी सञ्चालन भइरहेको कार्यक्रम त्रिपक्षीय सम्झौताअनुसार तीन वर्षसम्म चल्ने बताए।

    उनका अनुसार गत माघ १ गते भएको त्रिपक्षीय सम्झौतामा सो कार्यक्रम आउँदो २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ। कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुका साथै त्यसका लागि गर्नुपर्ने सबैखाले सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईको भनाइ छ।

    ‘नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील छ,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न करुणा फाउन्डेसन र प्रदेश सरकारले गर्ने सहयोगमा स्थानीय सरकारले गर्ने सबै काममा कमी आउन दिइनेछैन।’

    गाउँपालिकाभित्रका अपांगता व्यक्ति र परिवारका लागि थप कार्यक्रम पनि विस्तार गर्दै लाने प्रतिबद्धता पनि अध्यक्ष राईले व्यक्त गरेका छन्।

    अपांगताको पुनःस्थापना र रोकथामका लागि प्रदेश सरकार र करुणा फाउन्डेसनको ३५-३५ प्रतिशत लागत सहभागिता जनाउने कुरा पनि त्रिपक्षीय सम्झौतामा उल्लेख छ। बाँकी ३० प्रतिशत लगानी हिस्सा स्थानीय सरकारले बेहोर्ने छ।

  • महिला तथा पुरुष टी- २० क्रिकेट प्रतियोगिता : उपाधिका लागि भक्तपुर र काठमाडौं भिड्दै आज

    महिला तथा पुरुष टी- २० क्रिकेट प्रतियोगिता : उपाधिका लागि भक्तपुर र काठमाडौं भिड्दै आज

    महिला तथा पुरुष टी- २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भक्तपुर क्रिकेट सेन्टर र काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरबीच आज भिडन्त हुँदै छ। शुक्रबार सम्पन्न सेमिफाइनलमा भक्तपुर क्रिकेट सेन्टरले ग्रेट हिमालय क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरलाई पराजित गरेकाे थियाे।

    पहिलो सेमिफाइनलमा काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरलाई ८३ रनले पराजित गर्‍यो। काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भक्तपुरले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो। भक्तपुरका विवेक लामाले २९ बल खेल्दै सर्वाधिक २४ रन बनाए। विपिन आचार्य १६ र रोशन साउद १० रनमा आउट भए।

    काठमाडौंका सोनु देवकोटाले १७ रन खर्चिंदै सर्वाधिक तीन विकेट लिए। दीपेन्द्र रावत र दयानन्द मण्डलको नाममा समान दुई विकेट रह्यो।

    त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले ऋत गौतमको अविजित अर्धशतकसँगै निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाएको थियो। ऋतले ५४ रन बनाउन ५४ बल नै खेले। समान बल खेलेका सुशान्त थापाले पनि ५४ रन नै बनाए। सोनु देवकोटा भने १५ रनमा आउट भए।

    भक्तपुरका अविनाश बस्याल, विपिन न्यौपाने र किरण चन्दले समान एक विकेट लिए। खेलको प्लेअर अफ द म्याच ऋत गौतम भए। अर्को खेलमा अरूण ऐरीको अलराउन्ड प्रदर्शनमा भक्तपुर क्रिकेट सेन्टरले ग्रेट हिमालयलाई चार रनले पराजित गर्‍यो। भक्तपुरले दिएको १२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११९ रन मात्रै बनाउन सक्यो।

    ग्रेट हिमालयका कृष कार्कीले १७ बल खेल्दै सर्वाधिक २१ रन बनाए। ईशान पाण्डे १८ र रूपेश श्रीवास्तव १५ रनमा आउट भए। भक्तपुरका अरूण ऐरी र नीतेश पटेलले समान दुई विकेट लिए। मुकेश ओझाको नाममा एक विकेट रह्यो।

    त्यसअघि पहिला ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२३ रन बनायो। भक्तपुरका दीपक बोहराले ३४ बल खेल्दै सर्वाधिक ५० रन बनाए।

    अरूण ऐरी ३१ र विनोद तामाङ २१ रनमा पभेलियन फर्किए। ग्रेट हिमालयका कमल खत्रीले सर्वाधिक दुई विकेट लिए। रूपेश श्रीवास्तव र सन्दीप पराजुलीले समान एक विकेट लिए। खेलको प्लेअर अफ द म्याच अरूण भए।

  • एक लेस्बियन जोडीको प्रेमिल संघर्ष

    एक लेस्बियन जोडीको प्रेमिल संघर्ष

    प्रायः प्रेम कहानीमा एउटा केटा हुन्छ, एउटी केटी हुन्छे। यो परम्परागत परिभाषा मात्र हो। आज प्रत्येक व्यक्तिले आफ्नो प्रेम कहानी आफैं बनाउँछन्। समाजले तोकिदिएको सीमामा मात्र प्रेम बस्दैन।

    दुई महिलाको प्रेम कहानीमा पनि जीवनको बहार हुन्छ। समाजमा महिला–महिलाबीचको प्रेमविरुद्ध जतिसुकै धारिलो हतियार चले पनि केहीले यसलाई निरन्तर अगाडि बढाउँछन्।

    परिवार, समाजले स्वीकार गरेका दाङ तुलसीपुरस्थित ५१ वर्षीया पवित्रा परियार र सोही ठाउँकै ५० वर्षीया विमला विश्वकर्मा २७ वर्षदेखि सँगै बस्दै आएका छन्। एक अर्काका परिपूरक भएर उनीहरू दुवैले जीवन चलाइरहेका छन्। दुई महिला जीवनलाई एकै रथका दुई पाङ्ग्रा बनाउन सकिन्छ र ? उनीहरू कुनै बेला अविश्वासका पात्र थिए।

    परिवार र समाजले दुई महिलाले आपसमा जीवन कसरी चलाउँछन्? भनेर खिसीट्युरी गर्थे। उनीहरूलाई पनि समाजको डर थियो। यसबीच उनीहरूले त्यो डरलाई जितेका छन्। विभिन्न आरोप लगाउँदै आएको समाजको मुख टालिदिएका छन्। त्यसैले वर्षौंदेखि पवित्रा र विमलाको जोडी एक साथ छ। जहाँ आत्मविश्वास, माया र साहस हुन्छ, त्यहाँ जीवन स्वर्गीय आनन्दले भरिएको हुन्छ। त्यसैले कुनै विग्रह वा अन्य कुराहरूले यो जोडीलाई फरक पारेन।

    पवित्रालाई जीवनसँगिनी विमलाको घरको कोठा, भान्सादेखि पानी छुन पनि पूर्ण रूपमा वर्जित गरिएको उनी सुनाउँछिन्। तर, दलित समुदायभित्र पनि धेरै प्रकारको विभेद अझै छ। विभेदमा परेका जातिले समेत यस्तो कुप्रथा अझै मानिरहेको पवित्रा बताउँछिन्।

    ‘विगततिर फर्केर हेर्दा कहिलेकाहीं त आफैंलाई पनि कहाली लाग्छ। दुई केटी एक साथ बस्ने र केटासँग विवाह नगर्ने भन्दा परिवारमा धेरै असजिलो थियो। दुवैको घर एकै ठाउँ थियो। बाल्यकालदेखि नै सँगै हुर्किएका कारण एक अर्कालाई खुबै माया गर्थ्यौं,’ पवित्रा भन्छिन्।

    उनका अनुसार जातीय विभेद हिजोआज केही घटेको छ। छोएकै खान हुँदैन भन्ने मान्यता हराउँदै गएको छ। तर, अलि अघिसम्म उनीहरूको बस्तीमा जातीय विभेद कडा रहेको पवित्रा सुनाउँछिन्। जीवनभर छुट्नै नसक्ने प्रेम कहानी दुवैबीच रहेका कारण यी सामाजिक अप्ठ्यारा सजिलै पार गर्न सकिएको हो।

    कथित जातीय मान्यताअनुसार परियारभन्दा विश्वकर्मा माथिल्लो जातको मानिन्थ्यो। ती पुराना कुरा सम्झिँदै पवित्रा भन्छिन्, ‘मेरोभन्दा विमलाको जात ठुलो थियो। विमलाको घर जाँदा भित्र प्रवेश दिइँदैनथ्यो, अनि बाहिरै बस्न मात्रै नभएर सुत्नु पनि पथ्र्यो। म एक्लै सुतेको देखेर विमला पनि मसँगै बाहिर सुत्थिन्। हामी छुट्नै नसक्ने प्रगाढ मायामा थियौं।’

    पहिलेको तुलनामा अहिले धेरै सुधार आएको छ। सहर बजारतिर त विभेद धेरै नै घटेको अनुभव हुन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई एकआपसमा विवाह गर्न भने अझै पनि समाजमा निकै गाह्रो छ।

    विशेषगरी दलित र गैरदलितबीचको बिहेवारी पुरुष–महिलामा समेत सामान्य रूपमा चलेको छैन भने समलिंगी विवाह सहज हुने कुरा भएन। कतिपय त जातीय रूपमा अझै कट्टर रहेको पवित्रा सुनाउँछिन्।

    पवित्राका अनुसार विवाह हुन मन मिल्नुपर्छ, जात होइन। दुःखसुख गरेर हामी रमाएर बसेकै छौं। केटीकेटी बसेर के गर्न खोजेको हो ? बुढेसकालमा के गर्ने हो? केटीकेटी के गर्छौं भनेर समाजमा हाँस्नेहरू अहिले हेपेर बोल्न नसक्ने पवित्रा बताउँछिन्। समाजको भनाइलाई वास्तै नगरेर काम नै गरेर खाने गरेको उनी सुनाउँछिन्।

    पवित्रा र विमलाको जीवनमा संघर्षसँगै सफलता पनि छ। बाँच्नका लागि पवित्राले दैनिक ज्याला मजदुरी पनि गरिन्। ज्याला मजदुरीका क्रममा धेरै अन्याय पनि सहेको उनी बताउँछिन्। अप्ठ्यारो समय आयो भनेर कहिल्यै भाग्न हुन्न भन्ने उनी ठान्छिन्। जसले समस्या सामना गर्छ, उसले सहजै जीवन जिउन सक्छ।

    ‘कसले के भन्छ भनेर हेर्ने र सुन्ने होइन। आफ्नो लक्ष्यमा अघि बढिरहनुपर्छ,’ पवित्रा भन्छिन्, ‘दुनियामा जति ठुला गफ गरेर हिँडे पनि जीवन चलाउन मेहनत गर्नुपर्छ। जीवन भनेको संघर्ष हो। जस्तो परिवार, परिवेश, समाजमा बसे पनि प्रत्येक मान्छेले संघर्ष गर्नुपर्छ। एउटा बच्चा पनि अनेकन् संघर्ष गरेर जन्मेको हुन्छ। जन्मेका जति सबै बाँच्दैनन्। बाँचेकाले पनि धेरै संघर्ष गर्नुपर्छ।’

    पवित्राले जिन्दगी चलाउन धेरै प्रकारका पेसा अँगालिन्। केही वर्षदेखि मादलसँग उनको साइनो गासिएको छ। धेरै ठाउँमा काम गरेवापत हिजोआज उनको दिनचर्या मादलको ताल जाँच्नेमा बित्छ। उनी खमारीको मुडोलाई मादलको आकार दिने व्यवसायमा व्यस्त छिन्।

    उनी मादल व्यवसायतिर व्यस्त रहँदा विमला भने घरायसी कामको भार सम्हालेकी छिन्। पवित्रा भन्छिन्, ‘विमला पनि साह्रै मेहनती छिन्। घरको काम मैले केही गर्नुपर्दैन। घरको काम खाना बनाउनेदेखि खेतीपातीसमेत उनकै टाउकोमा छ। मैले घरको केही चिन्ता लिनुपर्दैन। मेरा लागि खाना पनि मैले काम गर्ने स्थानमै बोकेर आउँछिन्।’ विमलाको मायाले गर्दा नै हरेक काम गर्न ऊर्जा आएको पवित्रा बताउँछिन्।

    मादल बनाउन व्यस्त पवित्रा वर्षमा एक सय ५० वटाभन्दा बढी मादल आफैं बनाउँछिन्। ‘राम्रो मादल बनाउन काठ, छाला, खरी सबैको राम्रो संयोजन आवश्यक हुन्छ,’ उनले भनिन्, ‘खमारी भन्ने एक प्रकारको काठ हो, जो मादलका लागि सबैभन्दा उपयुक्त मानिन्छ। खरी हुने भागको छाला बाख्राको हुन्छ। त्यस्तै डोरी चाहिँ अन्य जनावरको भए पनि हुन्छ। कट र एक प्रकारको ढुंगाको धुलोबाट खरी भर्ने गरिन्छ।’

    उनले बनाएका मादलहरू प्रायः आफ्नै घरबाट बिक्री हुने उनी बताउँछिन्। विभिन्न स्थानमा मादल बेच्ने गरेका पसलेहरू पवित्राले बनाएको मादल खोज्ने गरेको उनी आफैं बताइन्। काठलाई मादलको आकार दिन चाहिने एउटा मेसिनका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गरेको उनी सुनाउँछिन्।

    ‘उक्त मेसिन आएपछि हातले गर्नुपर्ने काम घटेको छ। तर, बाँकी काम पनि धेरै हुने भएकाले ती सबै आफैं गर्छु। दिनमा दुईदेखि तीन वटा मादल बनाउँछु। खासमा मादल सधैं बिक्री हुँदैन। नेपालीहरूका मुख्य चाडपर्वमा मात्रै मादलको माग बढी हुन्छ,’ उनले भनिन्। मादल दुई हजारदेखि १२ हजारसम्ममा बिक्री हुने गरेको पवित्रा बताउँछिन्।

    मितिनी नेपालकी कार्यक्रम अधिकृत विमला गुरुङका अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक धेरैले पहिले जस्तो अहिले तिरस्कृत भएर बस्नुपरेको छैन। उपत्यकाभित्र शैक्षिक योग्यता भएका मानिसहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसलाई अहिले अपहेलना र दुर्व्यवहार भोग्नुपरेको छैन। तर, दूरदराजमा भएका त्यस्ता व्यक्ति खुलेर स्थानीय तहमा आफ्नो अधिकार माग्न जाँदा सरकारी निकायभित्रै रहेका कर्मचारीबाट यस्तो पनि हुन्छ र? भन्ने विविध प्रश्न आउने गरेको उनी सुनाउँछिन्।

    ‘उपत्यकाभन्दा बाहिर रहेका त्यस्ता व्यक्तिहरू आफू फलानो हो भन्दै सरकारी निकायमा जाँदा फर्काउने गरेको मितिनी नेपालमा उपस्थित भएका धेरै पीडितले एउटै गुनासो पोख्ने गरेका छन्,’ गुरुङले भनिन्, ‘अझै पनि दूरदराजमा यसको मूल्यांकन हुन सकेको छैन। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसका लागि विभिन्न किसिमका नीतिनियम बने तापनि त्यसको कार्यान्वयनसमेत भएको छैन।’

    यस्ता समुदायका मानिसलाई एलजिबिटिआइक्यु संस्थाले मात्रै सम्मान गर्ने होइन। हरेक व्यक्तिले यसको सही मूल्यांकन गर्न जरुरी छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसका मुद्दालाई राज्यको आफ्नै मुद्दा मान्नुपर्‍यो र फराकिलो सोचविचारले हेर्नुपर्ने उनको सुझाव रहेको छ।

    लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण समाजमा आफ्नो वास्तविक पहिचान लुकाएर बस्न बाध्य भएका केही व्यक्तिहरू अब भने खुल्न थालेका छन्।

    लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण धेरै व्यक्तिले राम्रोसँग व्यापार व्यवसाय गर्न सकेका छैनन। ‘यो समुदायका मानिस आफ्नो पहिचान देखाएर आफ्नै व्यवसाय गर्ने धेरै कम छन्। तर, पवित्रा र विमलाले गरेको व्यवसाय यी समुदायका मानिसलाई प्रेरणादायी मान्न सकिन्छ,’ मितिनी नेपालकी कार्यक्रम अधिकृत गुरुङले बताइन्।

    प्रेमलाई जोगाउन प्रेमीप्रेमिकाबीच समझदारी आवश्यक हुन्छ। लेस्बियन जोडी पवित्रा र विमला आफूजस्तै अल्पसंख्यकको आवाज बन्न सफल भएका छन्। गायक गोपाल सूचीकारले गरेको यो आह्वान हाम्रो समाजकै सुधारका निम्ति हो– ‘के पूजा गर्छौ मन्दिरमा गई, पहिला आफ्नो बानी सुधार। जहाँ मान्छेले मान्छेलाई भेदभाव गर्छौ, त्यहाँ ईश्वर पाउने के आस गर्छौ।’

  • निःशुल्क शिक्षा कागजमा मात्रै !

    निःशुल्क शिक्षा कागजमा मात्रै !

    संविधानको व्यवस्थाअनुसार शिक्षा आधारभूत तहमा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहमा क्रमशः निःशुल्क हुनुपर्छ। यसैका आधारमा बनेको निःशुल्क शिक्षा ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली, २०७७ मा आधारभूतदेखि माध्यमिक तहसम्म विद्यार्थीबाट भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक शीर्षकमा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ।

    सरकारले कागजी दस्ताबेजमा आधारभूत र माध्यमिक तहको शिक्षा निःशुल्क गरे पनि वास्तविकता भने फरक छ। हरेक सामुदायिक विद्यालयले विद्यार्थीबाट भर्ना, परीक्षा र मासिक शुल्क लिइरहेका छन्।

    सरकारले आवश्यक शिक्षक-कर्मचारी दरबन्दी, शैक्षिक तथा प्रशासनिक खर्च उपलब्ध नगराउँदा सामुदायिक स्कुलमै निःशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको हो। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू भने गुणस्तरीय शिक्षाका लागि सरकारले विद्यालयलाई विद्यार्थीबाट केही शुल्क उठाउन छुट दिनुपर्ने बताउँछन्।

    काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक (प्रअ) विष्णु रिमालका अनुसार सामुदायिक स्कुलले पूर्ण निःशुल्क शिक्षा प्रदान गर्न सरकारले आवश्यक शिक्षक दरबन्दी, इन्टरनेट, बिजुली बत्ती, पानीलगायत सेवा उपलब्ध गराउनुपर्छ। ज्ञानोदयमा अहिले प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म ४ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्।

    यस विद्यालयमा शिक्षक र कर्मचारीका सरकारी दरबन्दी ६६ वटा मात्र छन्। अहिले विद्यालयमा निजी स्रोतका शिक्षक र कर्मचारी गरी १५१ जना कार्यरत छन्। सरकारले उपलब्ध गराएको दरबन्दीभन्दा ८५ जना शिक्षक-कर्मचारीको भार विद्यालयले लिनुपरेको छ।

    शिक्षा मात्र होइन, पानी, बिजुली बत्ती, इन्टरनेटलगायतको खर्च जुटाउन पनि विद्यार्थीबाट शुल्क लिनुपर्ने बाध्यता रहेको प्रअ रिमालले बताइन्। ज्ञानोदयमा भर्ना शुल्क १ हजार ६ सय रूपैयाँ तोकिएको छ। त्यस्तै प्रारम्भिक बाल शिक्षाअन्तर्गत मासिक शुल्क ५ सय, कक्षा १-३ सम्म मासिक शुल्क ३ सय, कक्षा ४ देखि ८ सम्म मासिक शुल्क ४ सयदेखि ४ सय ५० तथा कक्षा ९ र १० को मासिक शुल्क ७ सय रुपैयाँ छ।

    ‘निजी स्रोतबाट राखेका ८५ शिक्षक-कर्मचारीको व्यवस्थापन खर्च जुटाउन हामीले थोरै भए पनि अभिभावकबाट सहयोग शुल्क लिएका छौं,’ प्रअ रिमालले भनिन्, ‘सरकारले स्कुलको आवश्यकताअनुसार शिक्षक–कर्मचारी दरबन्दी उपलब्ध गराए मात्र शिक्षा निःशुल्क हुन्छ। अहिलेकै अवस्थामा निःशुल्क शिक्षा चुनौतीपूर्ण छ।’

    शुल्क लिने सामुदायिकतर्फ ज्ञानोदय मात्र होइन, देशभरिकै सामुदायिक विद्यालयले लिइरहेका छन्। निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न र शैक्षिक गुणस्तर कायम गर्न पनि निजी स्रोतमा शिक्षक-कर्मचारी राख्नुपर्छ। यसरी राखिएका शिक्षक-कर्मचारीको व्यवस्थापनका लागि सहयोगस्वरूप शुल्क उठाएको सामुदायिक विद्यालयहरूको भनाइ छ।

    काठमाडौंको कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयले सरकारले उपलब्ध गराएका शिक्षक–कर्मचारीले मात्र गुणस्तरीय शिक्षा दिन नसकिने भएकाले गुणस्तर कायम गर्न निजी स्रोतमा शिक्षक-कर्मचारी राख्नुपरेको प्रअ सतेन्द्रलाल कर्ण बताउँछन्।

    निजी स्रोतमा राखिएका शिक्षक-कर्मचारीको व्यवस्थापनका लागि पनि विद्यार्थीबाट थोरै भए पनि शुल्क उठाउनुपर्ने बाध्यता रहेको उनको तर्क छ। विद्यार्थी संख्याअनुसार सरकारी दरबन्दी कम भएकाले निजी स्रोतमा शिक्षक–कर्मचारी राख्नुपरेको उनी बताउँछन्।

    अहिले जनप्रभातमा ९ सय ५० विद्यार्थी छन्। इन्टरनेट, पंखा, पानी, थप शिक्षकको व्यवस्था गरेपछि विद्यार्थी सँख्या बढेको उनको भनाइ छ।

    ‘हामीले निजी स्रोतमा ८ शिक्षक-कर्मचारी राखेका छौं। दरबन्दी मिलान भएकै छैन। हाम्रो स्कुलमा प्राथमिक तहतर्फ ३ र निम्न माध्यमिक तहतर्फ १ शिक्षक अपुग भएको अवस्था छ,’ उनले भने।

    उनका अनुसार सरकारले नेटका लागि वार्षिक १२ हजार र स्टेसनरी खर्च वार्षिक ३० हजार रूपैयाँ मात्र दिन्छ। पानी किन्नुपर्छ। सातामा २ हजार रूपैयाँको पानी किन्नुपर्छ। ‘एनटिसी र वल्डलिंकका गरी दुईवटा नेटको खर्च वार्षिक ३८ हजार रूपैयाँ लाग्छ,’ उनले भने।

    जनप्रभातमा २०७४ सालदेखि माध्यमिक तह (कक्षा ११ र १२) पढाउन सुरु गरेकोमा यो तहका लागि सरकारले दिनुपर्ने अनुदानसमेत नदिएको उनले बताए। ‘यस्तो अवस्थामा स्कुल चलाउनै चुनौती थपिएको छ,’ उनले भने।

    यसैगरी काठमाडौंकै त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले यो वर्ष भर्ना शुल्क नलिए पनि अन्य शुल्क लिन अभिभावक भेला डाकेको छ। सरकारले निःशुल्क शिक्षा भनेकाले यो वर्ष भर्ना शुुल्क नलिएको प्रअ हेरम्बराज कँडेलले बताए। शुल्क नलिँदा स्कुल चलाउन नसकिने देखिएकाले अभिभावक भेला डाकेको उनले बताए।

    ‘स्कुलमा ४५ सय विद्यार्थी छन्,’ कँडेलले भने, ‘सरकारले दिएको शिक्षक दरबन्दी ६२ मात्र छ। अहिले स्कुलमा १६२ शिक्षक–कर्मचारी कार्यरत हुनुहुन्छ। एक सय शिक्षक-कर्मचारीको खर्च स्कुलले बेहोर्नुपर्छ। यो खर्च कसरी जुटाउने ?’

    उनका अनुसार सरकारले विश्वनिकेतनलाई वार्षिक साढे ५ करोड रूपैयाँ दिन्छ जबकि स्कुलको वार्षिक खर्च नै ११ करोड रूपैयाँ छ। यस्तो अवस्थामा शुल्क उठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

    शिक्षक दरबन्दी मिलानसम्बन्धी कार्यदलले देशभरि माध्यमिक तहमा मात्र २५ हजार शिक्षक अभाव रहेको औंल्याएको छ। मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यले पनि आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क बनाउन जोड दिएको बताए।

    अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली, २०७७ ले भर्ना, मासिक, परीक्षा र पाठ्यपुस्तक शुल्क लिन नपाइने व्यवस्था गरेको अवस्थामा स्कुलले यी शीर्षकमा शुल्क लिनु कानुनविपरीत भएको शर्माको भनाइ छ। उनले निःशुल्क भनिएको शीर्षकमा शुल्क लिए कानुनअनुसार कारबही हुनेसमेत बताए।

    ‘सरकार शिक्षक दरबन्दी मिलान गर्र्नेतर्फ लागेको छ,’ शर्माले भने, ‘सहायता लिन पाइयो तर सहायता नदिएकै कारण कुनै पनि बालबालिकालाई पढाइबाट वञ्चित गर्न पाइँदैन।’

    काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख गोविन्द शर्माका अनुसार महानगरले पनि शिक्षक दरबन्दी मिलानको काम अघि बढाएको छ। तर विभागमा शिक्षक-कर्मचारी दरबन्दी पर्याप्त भएका स्कुलले पनि विभिन्न शीर्षकमा शुल्क लिएको गुनासो आएको उनले बताए।

    ‘अनिवार्य तथा निःशुल्क शिक्षा नियमावलीले स्पष्ट रूपमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने व्यवस्था गरेको अवस्थामा सरकारी विद्यालयले शुल्क लिन मिल्दैन,’ शर्माले भने, ‘सरकारले पनि निःशुल्क शिक्षाका लागि स्कुलहरूलाई शिक्षक र भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्छ।’