एनसिसिएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको समूहचरणका खेलहरू सम्पन्न भएका छन्।
समूहचरणको अन्तिम खेलमा पुरुषतर्फ ग्रेट हिमालयले क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरलाई २१ रनले पराजित गरेसँगै समूहचरणका खेल सम्पन्न भएका हुन्। यससँगै सेमिफाइनलमा पुरुषतर्फ काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टर र भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर तथा ग्रेट हिमालय क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टर भिड्नेछन्।
ग्रेट हिमालयले क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरलाई पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। समूह ‘बी’ मा हिमालय दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दुई अंक जोडेको क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुर भने समूह उपविजेता रह्यो।
समूह ‘ए’ बाट काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगिसकेको छ। काठमाडौंसँगै अन्तिम चारमा पुगेको भक्तपुर क्रिकेट सेन्टरले भने समान खेलबाट दुई अंक जोड्न सफल भयो।
ओएसिस क्रिकेट एकेडेमी र बल पार्क स्पोर्ट्स एन्ड इभेन्ट एकेडेमी जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
सेमिफाइनलका खेलहरू शुक्रबार हुनेछन्। समूहचरणको अन्तिम खेलमा हिमालयले दिएको १३९ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो।
क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरका विपिन आचार्यले ४० बलमा सर्वाधिक ६० रन बनाए। स्वरूप श्रेष्ठ १५ र दिनेश सुवेदी ११ रनमा आउट भए। हिमालयका सन्दीप पराजुली, अभिषेक थापा र चन्द्रकान्त पौडेलले समान दुई विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको हिमालयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। हिमालयका ईशान पाण्डेले २६ बलमा सर्वाधिक ३९ रन बनाए। दिनेश बुढामगर २१ र समीर कँडेल २० रनमा आउट भए। क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरका भूपेन्द्र चन्द र स्वरूप श्रेष्ठले समान दुई विकेट लिए।
किरण चन्दको नाममा एक विकेट रह्यो। महिलातर्फ भने भक्तपुरलाई ४३ रनले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको छ। महिलातर्फ यी दुई टोलीसँगै काठमाडौं जिल्ला पनि सहभागी थियो। काठमाडौं चार खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर उपाधिनजिक पुगिसकेको छ।
समान खेलबाट दुई अंक जोडेको ललितपुर भने उपविजेता रह्यो। उपाधिका लागि यी दुई टोली शनिबार भिड्नेछन्। समान तीन अंक जोडेको भक्तपुर प्रतियोगिताबाट बाहिरिसकेको छ। समूहचरणको अन्तिम खेलमा ललितपुरले दिएको १२६ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन मात्रै बनाउन सक्यो।
भक्तपुरकी सिर्जना घिमिरेले ३२ बल खेल्दै सर्वाधिक १६ रन बनाइन्। अलिशा खड्का ११ रनमा आउट भइन्। ललितपुरकी यशु पाण्डे र मनीषा उपाध्यायले समान दुई विकेट लिए। सविका यादवको नाममा एक विकेट रह्यो। त्यसअघि पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।
ललितपुरकी यशु पाण्डेले २४ बलमा सर्वाधिक ३९ रन बनाइन्। सविका यादव ३० र मनीषा उपाध्याय १३ रनमा अविजित रहे। भक्तपुरकी अनुशा रोकाले सर्वाधिक दुई विकेट लिइन्। स्वेच्छा खड्काको नाममा १ विकेट रह्यो।

Leave a Reply