Blog

  • कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

    कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

    नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।

    संघीय संसद सचिवालयले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितसहित १४ वटा एजेन्डा राखेर आइतबारको कार्यसूची बनाए पनि बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

    कांग्रेस नेताहरुको बिहान भएको छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडान दोहोर्यापछि संसदीय गतिरोध अन्त्य तत्काल नहुने सम्भावना बढेको हो । सहमतिको प्रयासमा बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटगरी निकास निकाल्न आग्रह गरेका थिए । तर उक्त भेटमा समेत सभापति देउवाले कार्यादेशमा संलग्न व्यक्तिको नाम नै किटान हुनु पर्ने अडान राखेपछि छलफल निष्कर्षविहीन बनेको थियो ।

    छलफलमा प्रधानमन्त्रीले कांग्रेसको अवरोधले नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको, बजेट ल्याउने दिन नजिक आएको र संसदीय गतिविधि नै प्रभावित भएको भन्दै पुनर्विचारका लागि आग्रह गरेको बुढानीलकण्ठ स्रोतले जानएको छ । सभापति देउवासँगको भेटमा प्रधानमन्त्री दाहालले वैकल्पिक उपायहरुबारे सोच्न आग्रह गरेका थिए ।

    कांग्रेसले सहकारी ठगीमा संलग्न संस्थाले मात्र नहुने बताउँदै व्यक्तिको पनि नाम उल्लेख गर्नुपर्ने अडान राखेपनि सत्ता पक्षका नेताहरु उक्त कुरा मान्न तयार छैनन् ।

    कार्यदलमा पनि सहमतिको प्रयास भइरहेको नेताहरुको भनाइ छ । आइतबार साँझसम्म कार्यदलसहित शीर्ष नेताबीच पुनः छलफल गर्नेबारे समझादारी बनेपनि समय तय भइसकेको छैन ।

  • पाप बोक्ने घडा शुद्ध छन् देशमा!

    पाप बोक्ने घडा शुद्ध छन् देशमा!

    १) मुक्तक

    लिई पानी कुद्ने अजब नभको बादल हुँ म

    नजिस्क्याऊ धेरै कवि मन हुने पागल हुँ म

    गरी किर्ते धन्दा छल र बलले द्रव्य बटुले

    तिनैलाई पुर्ने जमिनमुनिको खाडल हुँ म! (शिखरिणी छन्द)

    २) मुक्तक

    मन्त्र पढ्ने गला रुद्ध छन् देशमा

    पाप बोक्ने घडा शुद्ध छन् देशमा

    शान्तिका देहमा रक्त देख्दा सधैँ

    भन्न गाह्रो भयो बुद्ध छन् देशमा! (स्रग्विणी छन्द)

    ३) मुक्तक

    काँचुली फेर्छु भन्नेको नारा फेरिन्छ रातमा,

    लेखिए हक मान्छेका सारा केरिन्छ रातमा

    पाएथ्यौँ तन्त्र यो नौलो यहाँ पाएर गर्नु के!

    देशका निम्ति चम्केको तारा सेरिन्छ रातमा! (अनुष्टुप् छन्द)

    ४) मुक्तक

    समाई प्रेमको डोरी सँगै बाटौँ तिमी आऊ

    हबेली होस् कलेजीमा हियो साटौँ तिमी आऊ

    यता आधा उता आधा यही आधा भयो बाधा

    भई सिङ्गो खुसी बाँडी जुनी काटौँ तिमी आऊ! (विधाता छन्द)

    ५) मुक्तक

    मिथ्या कुरा नै अति बोल्न थाल्यौ

    चाह्यौ खरानी घर पोल्न थाल्यौ

    खाँचो परेथ्यो जब औषधीको

    छलेर आँखा विष घोल्न थाल्यौ। (उपजाति छन्द)

  • संसद् अवरोध अन्त्य गर्न  देउवालाई प्रधानमन्त्रीको आग्रह

    संसद् अवरोध अन्त्य गर्न देउवालाई प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ।

    प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्लाएक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए।

    कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए। प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उनले बताए।

    संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो। कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गरेको कांग्रेस नेता परियारले जानकारी दिए। –रासस

  • काठमाडौंमा पर्‍याे पानी

    काठमाडौंमा पर्‍याे पानी

    काठमाडौंमा पानी परेको छ। काठमाडौंमा बिहान घाम लागेको भए पनि अहिले समान्य बदली भइ पानी परिरहेको छ।

    अहिले सुन्धारा, भद्रकाली, त्रिपुरेश्वर, रत्नपार्क लगायतका केही स्थानमा पानी परिरहेको हो।

  • इच्छुक स्मृति दिवसमा बिरामीलाई फलफूल

    इच्छुक स्मृति दिवसमा बिरामीलाई फलफूल

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को बाईसौं स्मृति दिवसको अवसर पारेर उदयपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। प्रेस सेन्टर नेपाल उदयपुरको आयोजनामा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको हो।

    आइतबार बिहान प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज महेश्वर चामलिङ, प्रेस स्वतन्त्रता सेनानी हरिकुमार राई तथा केन्द्रीय सदस्यहरु भोटराज राई, यमन दनुवार र पत्रकार महासंघका अध्यक्ष भरत खड्का र अस्पताल प्रमुख डा. ज्ञानेन्द्र झालगायतको टोलीले अस्पताल पुगेर फलफूल वितरण गरेको थियो।

    सेन्टरका अध्यक्ष सुपराज राईका अनुसार अस्पतालका ४० बिरामीलाई फलफूल वितरण गरिएको छ, जसमा आकस्मिक, जेनेरल वार्ड र प्रसुतीकक्षमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको अध्यक्ष राईले बताए।

    इच्छुक जनादेश साप्ताहिकका सम्पादक थिए। उनलाई मध्यराति कार्यकक्षबाटै ०५९ जेठ ६ गते नियन्त्रणमा लिइएको थियो। चरम कुटपिट र यातनाका कारण इच्छुकको महेन्द्र पुलिस क्लबको हिरासतमा मृत्यु भएको थियो। यसैको स्मरणमा सेन्टरले बर्सेनि इच्छुक स्मृति दिवस मनाउँदै आएको छ।

  • सुनचाँदीको मूल्य स्थिर

    सुनचाँदीको मूल्य स्थिर

    आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ।

    शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि जेठ ७ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

    त्यस्तै,चाँदीको मूल्य पनि स्थिर रहेको छ। अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

    यसअघि जेठ ७ गते चाँदीको मूल्य अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

    नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

    चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ-नारायणगढ सडक खण्डमा सडक विस्तार गर्ने क्रममा स्काभेटर चालकको मृत्यु भएको छ। यस सडकखण्ड अन्तर्गतको तिन नं.पुलका लागि पहाड खन्ने क्रममा आज बिहान ९:१० बजेको समयमा माथिबाट ढुङ्गासहितको पहिरो खसी स्काभेटर चालकको मृत्यु भएको हो।

    मृत्यु हुनेमा बा २ क ८६५१ नं. स्काभेटरका चालक बर्दिया गेडुवा गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ को मंगल चौधरी रहेको चितवन प्रहरीले जनाएको छ।

    गम्भीर घाईते अवस्थामा उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले १०:२२ बजेको समयमा उनलाई मृत घोषणा गरेका थिए।

    भित्तो काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसी चालकसहित स्काभेटर समेत पुरिएको प्रहरीले जानकारी दिएको छ।

    स्काभेटर पुर्ण रुपमा क्षयति भएको छ। सोही क्रममा मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षयति भएको प्रहरीले जानकारी दिएको छ। अहिले यस सडक दुई तर्फी नै सञ्चालनमा आएको छ।

  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

    बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

    महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ।

    आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन्।

    समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउनु कार्यक्रमको उद्देश्य भएको उनकाे भनाइ छ।

    उनले भनिन्, ‘यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ। कार्यक्रम वडा २ र १० मा लागू भएको छ।’

    दुई वर्षअघि कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। वडा नं २ मा केराको थामबाट धागो र स्थानीय तितेपाती प्रयोग गरेर साबुन बनाउने तालिम शनिबारदेखि सुरु भएको छ।

    चौधवटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन हुने वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

    तालिममा सहभागीलाई व्यवसाय गर्न कच्चा पदार्थ र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताइन्।

    गत वर्ष नगरपालिका–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले कुखुरापालन गरेका थिए। वडा नं ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाले चप्पल बनाउने सीप सिकेर व्यवसाय सञ्चालन गरेका थिए। नेप्टेचौरमा ढालमोठ, नमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो।

    यसैबीच वडा नम्बर १० पात्लेखेतमा एकमहिने वाद्यवादन तालिम सञ्चालन भएको छ। तालिममा २० जना सहभागी छन्। -रासस

  • सुत्केरी सहज पार्ने खोप

    सुत्केरी सहज पार्ने खोप

    सुत्केरी अवधिमा एपिड्युरल खोप लगाउँदा सन्तान जन्माउँदा हुने खतरा ३५ प्रतिशतले घट्ने एउटा अध्ययनमा देखिएको छ। यसले सुत्केरीको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ।

    एपिड्युरल खोप हो। सुत्केरी अवस्थामा ढाड दुख्ने समस्यालाई यसले सहज बनाउने मात्र नभई मानसिक रूपमा समेत सघाउने देखिएको हो। सुत्केरीलाई यो खोप लगाउँदा हुने फाइदाबारे बढी चर्चा गरिनुपर्ने र यसलाई व्यापक स्तरमा सहज बनाइनुपर्ने चर्चा शोधकर्ताहरूले गरेका छन्।

    बेलायतको युनिभर्सिटी अफ ग्लास्गो र युनिभर्सिटी अफ ब्रिस्टोलले सन् २००७ र २०१९ को अवधिमा पाँच लाख ६७ हजार दुईसय १६ जना सुत्केरीमाझ गरेको शोधले सो सम्भावना देखाएको हो।

    त्यो बेला तिनलाई सुत्केरी गराउँदा कसैले सिधा योनीमार्फत र कसैले भने सिजरियनमार्फत सन्तान जन्माउने क्रममा एक लाख २५ हजार २४ जनालाई एपिड्युरल खोप दिइएको थियो।

    सन्तान जन्माउँदाका बेला विभिन्न किसिमका समस्याहरू सुत्केरीमा देखिने गरेको छ। केहीमा हार्ट अट्याक, एक्लेम्स्यिा, हिस्टरेक्टोमिज जस्ता समस्या देखिन्छ। एपिड्युरल खोप लगाउँदा त्यस्ता समस्या देखिएकाहरूमा ३५ प्रतिशतले खतरा टरेको पाइएको हो। यो उपलब्धिलाई ब्रिटिस मेडिकल जर्नलले प्रकाशन गरेको हो।

    एपिड्युरल खोप समयअगावै सुत्केरी भएकाहरूका लागि मात्र नभएर यसअघि देखिएका अस्टेरिक अवस्थाहरू खासगरी चिनीरोग, गर्भपतनजस्ता समस्या लगयातका अन्य समस्याहरूमा अझ बढी प्रभावकारी रहेको बताइएको छ। यस्ता समस्यामा महिलाहरूलाई खोप लगाउँदा मातृत्व स्वास्थ्यमा उल्लेख्य फाइदा पुग्ने देखिएको हो।

    अध्ययनकी प्रमुख ता ग्लास्गो विश्वविद्यालयकी प्राध्यापक रचेल कन्र्स भन्छिन्, ‘सुत्केरीहरू जो कतिपय रोगका शिकार पहिलेदेखि नै छन्, तिनलाई यो खोप दिँदा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएका कारण यसबारेमा सर्वत्र जानकारी बढाउनुपर्ने देखिन्छ। एपिड्युरलको प्रयोगका बारेमा जनचेतना बढाउँदा मातृत्व स्वास्थ्य सबल हुने देखिन्छ ।’ यसले शिशुको स्वास्थ्य पनि राम्रो हुने उनको दाबी छ।

    पछिल्लो समय चिनी रोग तथा मोटोपनको शिकार भएका महिलाहरूमाझ सन्तान जन्माउँदा क्लिष्टता बढ्ने गरेको देखिएको छ।

    सन् २००९ देखि २०१८ का बीच बेलायतमा गरिएको अध्ययनले सो खतरा देखिएको हो। खासगरी समयमै सन्तान जन्माउनु भन्दा ढिला बिहे गरी ढिलै सन्तान जन्माउने इच्छाका कारण उनीहरूले आफ्नो मातृत्व स्वास्थ्यमा खेलबाड गरिरहेको अध्येताहरूको बुझाइ छ।

    ब्रिस्टोल विश्वविद्यालयकी प्राध्यापक डेबोराह ललोर भन्छिन्, ‘जति ढिला सन्तान जन्मायो, उति धेरै समस्याहरू देखा पर्छन्। त्यसको समाधानका लागि यो खोप एउटा उपाय बन्न सक्ने देखिएको छ। खोपले उनीहरूलाई गम्भीर बिरामी हुनबाट रोक्छ ।’

  • काठमाडौंका यी स्थानमा आजदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने

    काठमाडौंका यी स्थानमा आजदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने

    काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ।

    कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको बताइएको छ।