बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ।

आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन्।

समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउनु कार्यक्रमको उद्देश्य भएको उनकाे भनाइ छ।

उनले भनिन्, ‘यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ। कार्यक्रम वडा २ र १० मा लागू भएको छ।’

दुई वर्षअघि कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। वडा नं २ मा केराको थामबाट धागो र स्थानीय तितेपाती प्रयोग गरेर साबुन बनाउने तालिम शनिबारदेखि सुरु भएको छ।

चौधवटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन हुने वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

तालिममा सहभागीलाई व्यवसाय गर्न कच्चा पदार्थ र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताइन्।

गत वर्ष नगरपालिका–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले कुखुरापालन गरेका थिए। वडा नं ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाले चप्पल बनाउने सीप सिकेर व्यवसाय सञ्चालन गरेका थिए। नेप्टेचौरमा ढालमोठ, नमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो।

यसैबीच वडा नम्बर १० पात्लेखेतमा एकमहिने वाद्यवादन तालिम सञ्चालन भएको छ। तालिममा २० जना सहभागी छन्। -रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *