इच्छुक स्मृति दिवसमा बिरामीलाई फलफूल

सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को बाईसौं स्मृति दिवसको अवसर पारेर उदयपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। प्रेस सेन्टर नेपाल उदयपुरको आयोजनामा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको हो।

आइतबार बिहान प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज महेश्वर चामलिङ, प्रेस स्वतन्त्रता सेनानी हरिकुमार राई तथा केन्द्रीय सदस्यहरु भोटराज राई, यमन दनुवार र पत्रकार महासंघका अध्यक्ष भरत खड्का र अस्पताल प्रमुख डा. ज्ञानेन्द्र झालगायतको टोलीले अस्पताल पुगेर फलफूल वितरण गरेको थियो।

सेन्टरका अध्यक्ष सुपराज राईका अनुसार अस्पतालका ४० बिरामीलाई फलफूल वितरण गरिएको छ, जसमा आकस्मिक, जेनेरल वार्ड र प्रसुतीकक्षमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको अध्यक्ष राईले बताए।

इच्छुक जनादेश साप्ताहिकका सम्पादक थिए। उनलाई मध्यराति कार्यकक्षबाटै ०५९ जेठ ६ गते नियन्त्रणमा लिइएको थियो। चरम कुटपिट र यातनाका कारण इच्छुकको महेन्द्र पुलिस क्लबको हिरासतमा मृत्यु भएको थियो। यसैको स्मरणमा सेन्टरले बर्सेनि इच्छुक स्मृति दिवस मनाउँदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *