Blog

  • अस्पतालमा श्रीमतीको शव ‘बन्धक’, श्रीमानले गरे सहयोगको याचना

    अस्पतालमा श्रीमतीको शव ‘बन्धक’, श्रीमानले गरे सहयोगको याचना

    उपचारका क्रममा मृत्यु भएकी श्रीमतीको शव अस्पतालले नदिएपछि श्रीमानले सहयोगको याचना गरेका छन्।

    विराटनगर महानगरपालिका–२ स्थिति विराट नर्सिङ होमले मृत्यु भएकी श्रीमतीको शव नदिएपछि आइतबार श्रीमान् उमेश रामले पत्रकार सम्मेलन गर्दै सहयोगको याचना गरेका हुन्।

    ट्याक्टरले ठक्कर दिएर घाइते भएकी उनकी श्रीमती श्यामकुमारी रामलाई उपचारका लागि चैत ५ गते नर्सिङ होममा भर्ना गरिएको थियो। बेहोस अवस्थामा भर्ना गरिएको उनको उपचारकै क्रममा शुक्रबार राति अस्पतालले मृत घोषणा गर्‍यो।

    उमेशले अस्पताललाई तिर्नुपर्ने रकमको केही प्रतिशत बुझाइसकेको तर सबै भुक्तानी एक साथ नदिँदा अस्पतालले श्रीमतीको शव नै नदिएको गुनासो गरे। उनले भने ‘उपचारका क्रममा लागेको औषधि र अस्पतालको शुल्क बुझाउन बाँकी छ। शुल्क नदिएसम्म शव नदिने भनेको छ। म सँग भएको सबै पैसा बुझाइसके। अहिले आर्थिक अवस्था पनि कमजोर छ। हजुरहरुसँग सहयोगको अपिल गर्छु।’

    उनले उपचार गर्दा अस्पताललाई दिनुपर्ने १२ लाख २२ हजार २ सयमध्ये ३ लाख ५२ हजार बुझाइ सकेको बताए। ‘अब बाँकी रकम तिर्न मसँग कुनै स्रोत छैन। अस्पतालले मृत श्रीमतीको शव दिए दाहसंस्कार गर्ने थिए। अस्पतालको बाँकी रकम बरु बिस्तारै तिर्छु। औषधिको पनि ८ लाख रुपैयाँमध्ये ५ लाख बुझाइ सकेको छु, त्यो पनि बिस्तारै तिर्छु। तत्कालै तिर्न सक्ने अवस्था मेरो छैन।’

    सप्तरी बलान–बिहुल गाउँपालिका–२ की ४० वर्षीय श्यामकुमारीलाई हाट बजार जाने क्रममा चैत ५ गते बोदेंबसाइन–१ मा ट्याक्टरले ठक्कर दिएको थियो। स १ त ३२८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो।

    ठक्कर दिने ट्याक्टर चालक श्रवण सायदलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। उमेशका अनुसार ट्याक्टर चालकले हालसम्म एक लाख मात्र दिएको छ।

    नर्सिङ होमका लेखा अधिकृत सुवास पोखरेलका अनुसार मृतक श्यामकुमारीको उपचार गर्दा लागेको १२ लाख २२ हजार २ सय रुपैयाँमध्ये ८ लाख ७० हजार तिर्न बाँकी रहेको बताए।

    सुवास पोखरेलले भने, ‘बेहोस अवस्थाकी उनको टाउको शल्यक्रियापछि भेन्टिलेटरमा केही समय राख्दै जनरल वार्डमा सिफ्ट गरिएको थियो। जनरल वार्डमा सिफ्ट गर्दा कोमा मै थिइन्। केही हदसम्म बिरामी ठिक हुँदै गए पनि पछि बिरामीको ‘इम्युनिटी पावर’ कमजोर भएको हुँदा रिकभर गर्न सक्नु भएन।’

    अस्पतालले लागेको शुल्क मात्रै उमेशसँग मागेको उनले बताए। ‘हामीहरुले बिरामीको आफन्तलाई सुरुमै अवस्था गम्भीर छ, उपचार गर्दा खर्च ठुलै हुन्छ भनेका थियौं। उहाँहरुले अस्पताललाई बुझाउनु पर्ने शुल्क तिर्नु पर्‍यो। थोरै भए अस्पतालले पनि हेर्न सक्थ्यो होला। तर, यहाँ रकम संख्या बढी छ।’

  • कार्यदलमा सहमति नजुट्दा अन्योलमा प्रतिनिधि सभा बैठक

    कार्यदलमा सहमति नजुट्दा अन्योलमा प्रतिनिधि सभा बैठक

    सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठकमा सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक अन्योलमा परेको छ।

    प्रतिनिधि सभाको बैठक ४ः३० बजे भनिए पनि अझै बस्न सकेको छैन। त्यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो। बैठक २ बजे पनि बस्न नसकेपछि साढे चार बजे सारिएको थियो। तर अहिले पनि बैठक बस्न सकेको छैन।

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कार्यदलको सहमति अनुसार बैठक बस्ने जानकारी दिए। उनले भने, ‘समय अझै बाँकी छ। कार्यदलको बैठक फेरि बसेको छ। त्यहाँबाट के सहमति हुन्छ। त्यो अनुसार प्रतिनिधि सभाको बैठक बस्ने नबस्ने तय हुन्छ।’

    आज बिहानदेखि बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेको छैन। सत्तापक्ष र प्रतिपक्ष आ(आफ्नै अडानमा बस्दा सहमति नभएको हो।

  • कार्यदलमा सहमति नजुट्दा अन्योलमा प्रतिनिधि सभा बैठक

    कार्यदलमा सहमति नजुट्दा अन्योलमा प्रतिनिधि सभा बैठक

    सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठकमा सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक अन्योलमा परेको छ।

    प्रतिनिधि सभाको बैठक ४ः३० बजे भनिए पनि अझै बस्न सकेको छैन। त्यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो। बैठक २ बजे पनि बस्न नसकेपछि साढे चार बजे सारिएको थियो। तर अहिले पनि बैठक बस्न सकेको छैन।

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कार्यदलको सहमति अनुसार बैठक बस्ने जानकारी दिए। उनले भने, ‘समय अझै बाँकी छ। कार्यदलको बैठक फेरि बसेको छ। त्यहाँबाट के सहमति हुन्छ। त्यो अनुसार प्रतिनिधि सभाको बैठक बस्ने नबस्ने तय हुन्छ।’

    आज बिहानदेखि बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेको छैन। सत्तापक्ष र प्रतिपक्ष आ(आफ्नै अडानमा बस्दा सहमति नभएको हो।

  • कांग्रेसले रवि लामिछानेमाथि नै छानबिन गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छैन: रास्वपा

    कांग्रेसले रवि लामिछानेमाथि नै छानबिन गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छैन: रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्नु न्यायसङ्गत नभएको बताए।

    सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै खनालले कांग्रेसले लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको र त्यो न्यायसङ्गत नभएको बताएका हुन्।

    उनले भने, ‘समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो। आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसङ्गत हुँदैन। समितिको टिओआर बनाउँदै नै व्यक्तिको नाम किटान गरी छानबिन गर्नुपर्छ भन्नु न्यायसङ्गत हुँदैन।’

  • अनर म्याजिक सिक्स प्रो आउँदै

    अनर म्याजिक सिक्स प्रो आउँदै

    सेलट्रोन नेपालले ‘अनर म्याजिक सिक्स प्रो’ बजारमा ल्याउने भएको छ । अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार उक्त स्मार्टफोनले विश्व रेकर्ड तोड्दै पाँचवटा डिक्सोमार्क गोल्ड लेबलहरु प्राप्त गर्ने पहिलो उद्योग बनेको हो । यसमा एआई–संचालित फाल्कोन क्यामेरा प्रणाली, अनर नानो क्रिस्टल सिल्ड डिस्प्ले, सिलिकन–कार्बन ब्याट्री, एआईमा आधारित म्याजिक ओएस ८.० लगायतका विषेशताहरु रहेका छन् ।

    कम्पनीका अनुसार अनर म्याजिक सिक्स प्रो कालो र एपी ग्रीन गरी दुई रंगमा उपलब्ध हुनेछ । भने, २१ मेमा प्रि–बुकिङ का लागि उपलब्ध हुने र १२ प्लस ५१२ जिबी भेरियन्टमा आउँनेछ ।

  • कांग्रेसले रवि लामिछानेको नाम नै किटानी गर्नुपर्छ भनेपछि मिलेन कार्यदलमा कुरा

    कांग्रेसले रवि लामिछानेको नाम नै किटानी गर्नुपर्छ भनेपछि मिलेन कार्यदलमा कुरा

    सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ।

    सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो।

    बैठकपछि कार्यदलका सदस्य महेश बर्तौलाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय छानबिन समितिमा उपप्रधान एवं गृहमन्त्रीको नाम नै किट्नपर्छ भनेपछि सहमति नभएको जानकारी दिए।

    उनले भने, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको नाम नै किट्नुपर्छ भन्नुभयो। समितिले छानबिन गर्नु अगाडि नै नाम किट्न मिल्दैन, यसले गलत नजिर बस्छ। संसदीय छानबिन समितिले एक व्यक्तिमाथि मात्र छानबिन गर्न मिल्दैन।’

  • उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान ५ः०० बजेजस्तो समयमा वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको रौतामाई गाउँपालिका ७ की ५३ वर्षीया चन्द्री तामाङ परियारको मृत्यु भएको हो।

    सुतिरहेका बेला परेको चट्याङ लागेर ओछ्यानमै उनको मृत्यु भएको बताइएको छ। घरछेउमै रहेको रुखको फेदमा लागेको चट्याङको झट्का लागेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईंले बताए।

    चापागाईँका अनुसार मध्य रातिदेखि गड्याङगुडुङको आवाजसँगै धेरै ठाउँमा चट्याङ परेको अनुमान गरिए पनि मानवीय क्षति भने त्यहाँ मात्र भएको प्रारम्भिक खबर आएको छ। मध्यरातदेखि बिहान ५ः०० बजेसम्म उदयपुरमा चर्को हावाहुरी र असिनासहितको वर्षा पर्दा बालीनाली र छाना उडाएर धेरै ठाउँमा क्षति भएको खबर आइरहेको छ।

    हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा १० वटा साना ठूला बिजुलीका पोल ढालेका कारण बिहान २ः०० बजेदेखि अवरुद्ध विद्युत् १२ घण्टापछि भर्खर सुचारु भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटका प्रमुख विजयबाबु खत्रीले हावाहुरीले ढालेको पोल बिहानदेखि युद्धस्तरमा मर्मत गरेर १२ घण्टापछि बल्ल सदरमुकाम गाईघाटमा विद्युत् सुचारु गरिएको बताए।

    खत्रीका अनुसार अझै पनि सहायक लाइनमा कतिपय ठाउँमा ढलेका विद्युत् पोल मर्मत गर्ने काम भइरहेको छ। पुराना तथा काठका भएका कतिपय ठाउँमा हावाहुरी चल्यो कि तार जोडिएर तथा पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुने समस्या रहेको छ।

  • फ्रेन्चाइजीसँग असन्तुष्ट रोहित, छाड्लान् त मुम्बई इन्डियन्स !

    फ्रेन्चाइजीसँग असन्तुष्ट रोहित, छाड्लान् त मुम्बई इन्डियन्स !

    मुम्बई इन्डियन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच टाइटल जिताएका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा फ्रेन्चाइजीको व्यवहारबाट रुस्ट छन्। आइपिएलको जारी सिजनमा अकस्मात् कप्तानी खोसेयता रोहित रुस्ट बनेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गर्दै आएका छन्।

    केही दिनअघि कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाले रोकिएका बेला मैदानमा कोलकाताका सहायक प्रशिक्षक अभिशेख नायरसँगको रोहितको कुराकानी बाहिरिएको थियो। जसमा रोहित मुम्बईसँगको आफ्नो असन्तुष्टि पोखिरहेका सुनिन्छन्।

    ‘एक-एक चिज बद्लिरहेको छ। जो उनीहरूकै जिम्मामा छ, मलाई त फरक पर्दैन्। जे भए पनि, यो मेरो घर हो। याे मन्दिर छ नि मैले बनाएको हो,’ रोहित भनिरहेका छन्,‘मलाई त केही फरक पर्दैन यो मेरो अन्तिम हो ’ रोहितको यो भनाईलाई लिएर पनि उनी मुम्बई छाड्नसक्ने धेरैको अनुमान छ।

    यस्तोमा मुम्बईले आफ्ना सबै खेल सकेपछि आइतबार रोहितले फेसबुक र एक्स (ट्विटर) मा मुम्बईसँग २०२४ को सिजनका यादहरू तस्बिरमार्फत सार्वजनिक गरेका छन्। जसले सबैलाई भावुक बनाएको छ।

    रोहितले सार्वजनिक गरेका तस्बिरहरूमा मुम्बईका समर्थक, अभ्यासका दौरानमा ब्याट हेरिरहेको, अटोग्राफ दिँदै गरेको, समूहमा खिचिएको तस्बिरहरू राखेका छन्।

    रोहित किन असन्तुष्ट ?

    जारी सिजनको सुरुवातमा मुम्बई इन्डियन्स व्यवस्थापनले झन्डै एक अर्ब १५ करोड भारु खर्चिएर हार्दिक पान्ड्यालाई भित्र्याएको थियो । उनी दुई सिजन (२०२२ र ०२३) सम्म गुजरात टाइटन्सको कप्तानी गरेका थिए। जसमा एक पटक आइपिएल विजेता बन्दा गुजरात अघिल्लो सिजनको उपविजेता बनेको थियो। हार्दिक त्यसअघि सन् २०२१ सम्म मुम्बई इन्डियन्समै आबद्ध थिए।

    अकस्मात् हार्दिकलाई भित्र्याएर कप्तानी खोसेपछि रोहित असन्तुष्ट रहेको बताइन्छ। त्यसमा पनि भारतीय क्रिकेट टोलीमा पनि रोहित हार्दिकको व्यवहारसँग सन्तुष्ट थिएनन्। मुम्बईको यो कदमलाई ३७ वर्ष पुगेका रोहितको घट्दो क्रिकेट करिअरलाई हेरेर भविष्यका लागि ३० वर्षीय हार्दिकलाई कमान सुम्पिएको चर्चा छ।

    सिजनको सुरुवातमै रोहितले मुम्बई इन्डियन्स छाड्न चाहेको समाचार बाहिरिएका थिए, तर अन्तिममा उनी रोकिए। जारी सिजन हार्दिककै कप्तानीमा रोहितले पूरा सिजन खेले। रोहितले यस दौरानमा खेलिएका १४ खेलमा १५० को स्ट्राइक रेटका साथ मुम्बई इन्डियन्सका लागि सर्वाधिक ४१७ रनको योगदान दिएका छन्। जसमा एक शतक र एक अर्धशतक सामेल छन्। उनीबाहेक तिलक बर्माले मात्रै मुम्बईबाट ४ सयको रन पूरा गरेका छन्।

    हार्दिकको कप्तानीमा खेलेको मुम्बईको यो सिजन भने निकै खराब रूपमा टुंगिएको छ। १४ खेलमा चार जित र १० हारसहित मुम्बई आठ अंकसाथ अंकतालिकको पुछारमा थन्किएको छ।

    कप्तान हार्दिकको व्यक्तिगत प्रदर्शन र कप्तानी निकै खराब रह्यो। जसले रोहित र मुम्बई इन्डियन्सका समर्थकले पूरै सिजनभर उनलाई ट्रोल गरिरहे। मुम्बईको घर बानखेडे स्टेडियम होस् या बाहिरका अन्य खेलमैदान जहीँतहीँ समर्थकले उनलाई हेप्न बाँकी राखेनन्। यता असन्तुष्ट रोहितको पक्षमा भने समर्थकले हुटिङ गरिरहे।

    अब अर्को सिजन उनी मुम्बई इन्डियन्समा रहन्छन् रहन्नन् त्यसका लागि भने एक वर्ष पर्खनै पर्ने हुन्छ।

    मुम्बई इन्डियन्स भारतीय अर्ब पति मुकेश अम्बानीकाे क्लब हो।

    https://x.com/ImRo45/status/1792116809921102032

  • राष्ट्रियसभा सूचना टाँसेर सोमबारसम्म स्थगित

    राष्ट्रियसभा सूचना टाँसेर सोमबारसम्म स्थगित

    सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने भनिएको ससदीय समितिको टीओआरमा सहमति नजुटेपछि राष्ट्रियसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

    दलहरु समितिको कार्यादेशबारे छलफल गर्न बिहानैदेखि छलफलमा जुटेपनि सहमतिमा पुग्न नसकेपछि राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

    सहमतिको प्रयास जारी रहेपछि दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक अपराह्न सवा ३ बजेका लागि सारिएको थियो । तर उक्त समयमा पनि टीओआरमा सहमति नजुट्ने देखेपछि संघीय संसद सचिवालयले बैठक सोमबार दिउँसो सवा एक बजेसम्मका लागि स्थगित भएको सूचना सार्वजनिक गरेको हो ।

    सत्तारुढ दलहरु छानबिन समिति गठन गर्न तयार भएपछि संसदको गाँठो फुकाउने बताएका विपक्षी दलहरु समितिको टीओआर नबनेसम्म संसद बैठक चल्न नदिने अडानमा छन् ।

  • बेलायतमा गोर्खा कपको तयारी, ५० टिमले प्रतिस्पर्धा गर्ने

    बेलायतमा गोर्खा कपको तयारी, ५० टिमले प्रतिस्पर्धा गर्ने

    तमुधिं यूकेले वर्षेनी गर्दै आएको ‘गोर्खा कप’को तयारी अन्तिम चरणमा पुगेको छ । तमुधिं यूकेले मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘गोर्खा कप’ आउँदो मे २६ तारिख क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टरमा हुने जानकारी गराएको हो ।

    बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कपको यो २२औं संस्करण हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष हरि गुरुङले विगत वर्षहरुमा भन्दा यस पटकको खेलमा नयाँपन दिन खोजिएको बताए । उनले खेलको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै खेलमा सहभागिताको लागि आब्हान गरे ।

    पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दीपक घलेले यसपटक ५० वटा टिमबीच प्रतिस्पर्धा हुने जानकारी दिए । सो खेलका लागि मुख्य ३२, १६ भेट्रान र महिला २ वटा टिम दर्ता भएका छन् ।

    ८ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । यूकेको सबैभन्दा ठूलो यो प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरु उपस्थित हुने गर्छन् ।

    बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नौमतिबाजा, प्यारासुट प्रदर्शन, नेपाली कला, संस्कृति, खाना,भेषभूषाको समेत प्रवर्धन गर्ने परम्परा रहेको छ ।

    हालसम्म १५० वटा स्टलहरु बुकिङ भएका छन् । गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।