उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान ५ः०० बजेजस्तो समयमा वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको रौतामाई गाउँपालिका ७ की ५३ वर्षीया चन्द्री तामाङ परियारको मृत्यु भएको हो।

सुतिरहेका बेला परेको चट्याङ लागेर ओछ्यानमै उनको मृत्यु भएको बताइएको छ। घरछेउमै रहेको रुखको फेदमा लागेको चट्याङको झट्का लागेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईंले बताए।

चापागाईँका अनुसार मध्य रातिदेखि गड्याङगुडुङको आवाजसँगै धेरै ठाउँमा चट्याङ परेको अनुमान गरिए पनि मानवीय क्षति भने त्यहाँ मात्र भएको प्रारम्भिक खबर आएको छ। मध्यरातदेखि बिहान ५ः०० बजेसम्म उदयपुरमा चर्को हावाहुरी र असिनासहितको वर्षा पर्दा बालीनाली र छाना उडाएर धेरै ठाउँमा क्षति भएको खबर आइरहेको छ।

हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा १० वटा साना ठूला बिजुलीका पोल ढालेका कारण बिहान २ः०० बजेदेखि अवरुद्ध विद्युत् १२ घण्टापछि भर्खर सुचारु भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटका प्रमुख विजयबाबु खत्रीले हावाहुरीले ढालेको पोल बिहानदेखि युद्धस्तरमा मर्मत गरेर १२ घण्टापछि बल्ल सदरमुकाम गाईघाटमा विद्युत् सुचारु गरिएको बताए।

खत्रीका अनुसार अझै पनि सहायक लाइनमा कतिपय ठाउँमा ढलेका विद्युत् पोल मर्मत गर्ने काम भइरहेको छ। पुराना तथा काठका भएका कतिपय ठाउँमा हावाहुरी चल्यो कि तार जोडिएर तथा पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुने समस्या रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *