Author:

  • प्रधानमन्त्री बन्ने लोभमा जेल तोडे, जहाँ–जहाँ रविका मुद्दा थिए, सबै अदालत जलाए– महेश बस्नेत

    प्रधानमन्त्री बन्ने लोभमा जेल तोडे, जहाँ–जहाँ रविका मुद्दा थिए, सबै अदालत जलाए– महेश बस्नेत

    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री बन्ने लोभमा जेल तोडेर रास्वपा सभापति रवि लामिछानेलाई बाहिर निकालेको आरोप लगाएका छन् ।
    जहाँ–जहाँ रविका मुद्दा थिए सबै अदालत जलाइएको उनले आरोप लगाए । आइतबार भक्तपुरमा युथ फोर्सको घोषणा कार्यक्रममा बस्नेतले प्रधानमन्त्री बन्ने लोभमा जेल फोरेर रास्वपाले १४ हजार कैदी भगाएको आरोप लगाएका हुन् ।
    ‘रविलाई प्रधानमन्त्री बनाउने लोभमा रास्वपाका हरि ढकाल, ज्वाला संग्रौला लगायत चटपटे नेताले जल फोर्ने अभियान चलाए । जेल फोरेपछि लुटिएका प्रहरीका १२ सय हतियार फिर्ता भएका छैनन् । प्रहरी निरीह छ,’ बस्नेतले भने, ‘जहाँ–जहाँ रविका मुद्दा थिए, सबै अदालत जले ।’ एमाले नेता बस्नेतले देशमा कांग्रेस र एमाले आवश्यक भए पनि प्रचण्ड र रवि लामिछानेको पार्टी नभए पनि फरक नपर्ने टिप्पणी गरे ।

  • हिउँदे अधिवेशनका लागि कामचलाउ वैठक कक्ष बनाइँदै

    हिउँदे अधिवेशनका लागि कामचलाउ वैठक कक्ष बनाइँदै

    कर्णाली प्रदेश सभा सचिवालय परिसरभित्र अधिवेशनका लागि अस्थायी सभाहल निर्माण गर्ने प्रक्रिया अघि बढाईएको छ । आगामी हिउँदे अधिवेशन अगावै निर्माण सक्नेगरि प्रदेश सभाको कामचलाउ सभाहल निर्माण गर्न अध्ययन सुरु गरिएको हो । कामकाज सुचारु राख्न र संवैधानिक प्रावधानअनुसार हिउँदे अधिवेशन बोलाउनका लागि कार्यव्यवस्था समितिको बैठकले तत्काल वैकल्पिक व्यवस्थाका लागि अध्ययन गर्ने निर्णय गरेको हो ।
    तत्काल पुरानो भवन पुनर्निर्माण गर्न सकिने अवस्था नभएपछि कामचलाउ सभाहल बनाउन लागिएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । हाल सभामुख र उपसभामुखको कार्यकक्ष रहेको पूर्वतर्फको सानो हललाई कामचलाउ सभाकक्ष बनाउनेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । प्रदेश सभा भवन ध्वस्त भएपछि बुधबार पहिलो पटक सभाबारे छलफल गर्न कार्य व्यवस्था समितिको बैठक बसेको थियो । उक्त बैठकमा विभिन्न विकल्पमाथि छलफल चलेको थियो । समितिको वैठकबाटै हाल कामचलाउ सभाहल बनाउने निर्णय भएको हो ।
    हाल बन्ने कामचालाउ सभाहलमा ४० जना सदस्यलाई सामान्य खालका कुर्सी राखेर सभा सञ्चालन गर्न सकिने अनुमान गरिएको छ । कामचलाउ हलमा दर्शक दीर्घाको व्यवस्था गर्न सकिने अवस्था नरहेको बुढाथोकीले बताए । उनका अनुसार आवश्यकताका आधारमा ‘प्रि–फ्याब’ सामग्री जोडेर सुविधा प्रदान गर्न सकिनेबारे पनि अध्ययन भइरहेको छ । इन्जिनियरहरुको टोलीले यसको संरचनाबारे अध्ययन सुरु गरेको उनले बताए । कम्तिमा दुई वटा अधिवेशनमा कामचलाउ सभाहलबाटै सञ्चालन गर्न सकिनेगरि बनाउने योजना प्रदेश सभा सचिवालयको छ ।
    प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार हाल सभामुखको सरकारी निवासबाटै कर्मचारीले कामकाज गरिरहेका छन् । निवासमा तोडफोड भए पनि आगजनी नभएकाले त्यहीँबाट कार्यालयको कार्यसम्पदान भईरहेको उनले बताए । एउटै कोठामा दुई वटा कम्प्युटर जडान गरी पालैपालो काम गरिरहेको पौडेलले बताए ।
    कामचलाउ सभा निर्माणका लागि बजेटबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको थियो । प्रारम्भिक चरणमा नियमित बजेटबाट काम गर्ने र नियमित बजेट अपुग भए प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिएको छ । तत्काल निर्माणका लागि आवश्यक फर्निचर, विद्युतीय सामान खरिद तथा अन्य सामान्य मर्मतमा २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
    तत्काल प्रदेश सभा भवनको पूर्ण रुपमा निर्माण गर्न कठिन भएको कार्यव्यवस्था समितिले निश्कर्ष निकालेको छ । ध्वस्त भएका संरचनाको प्राविधिक जाँचबुझ, डिजाइन, बजेट विनियोजन र निर्माण प्रक्रिया पूरा गर्न लामो समय लाग्ने सचिव जीवराज बुढाथोकीले बताए ।
    गत भदौ २३÷२४ गते भएको जेन–जी आदोलनको क्रममा तोडफोड र आगजनी गरी भवनमा ठूलो क्षति पु¥याईएको थियो ।
    यी हुन् क्षति भएका कार्यालय, कुनमा कति क्षति ?
    जेनजी आन्दोलनका क्रममा सुर्खेतमा रहेका २५ वटा कार्यालयमा क्षति भएको थियो । यी कार्यालयहरुमा १९ करोड ७५ लाख ४५ हजार ६३९ रुपैयाँ २९ पैसा बरारबको क्षति भएको प्रशासनको अनुमान छ । केही गत असोजमा कार्यालय प्रमुखहरुको रोहबरमा प्रशासन क्षतिको मूल्याङ्कन गरेको थियो । जसअनुसार बसैभन्दा धेरै क्षति प्रदेश सभा भवनमै भएको देखिन्छ । प्रदेश सभामा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाा ४८ पैसा बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
    यस्तै जिल्ला समन्वय समितिको भवनमा ४ लाख ३ हजार, सडक डिभिजन सुर्खेतको भवनमा २ लाख ४ हजार, भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन योजना कार्यालयमा ६० हजार, नापी कार्याललयमा २ करोड ६३ लाख ६० हजार ९९०, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा ४ लाख १० हजार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा १३ लाख ३४ हजार ७०७ रुपैयाँ ९२ पैसा, सामाजिक विकास मन्त्रालयमा ३ लाख ५९ हजार ९००, मुख्य न्यायाधिवक्ताको कार्यालयमा १ करोड १४ लाख ६० हजार, प्रदेश लेखा नियन्त्रक कार्यालयमा १ करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको क्षति आन्दोलनबाट भएको छ ।
    यसैगरी, मुख्यमन्त्रीको सरकारी निवासमा १ करोड ७९ हजार, जलस्रोत तथा उर्जा विकास मन्त्रीको सरकारी निवासमा ६ लाख ३१ हजार १८५, वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा २ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
    आन्दोलनका क्रममा वीरेन्द्रनगरका १–१२ नम्बर वडा कार्यालयहरुमा पनि ठूलो क्षति पुगेको थियो । यी कार्यालयमध्ये वीरेन्द्रनगरको वडा नम्बर १ को कार्यालयमा ३५ लाख, २ को कार्यालयमा ३९ लाख ६० हजार ५ सय, वडा नम्बर ३ को कार्यालयमा २२ हजार ५ सय, वडा नम्बर ४ को कार्यालयमा ८५ लाख ३५ हजार, ५ को कार्यालयमा ४६ लाख ७५ हजार, ६ को कार्यालयमा १ करोड ३७ लाख ७४ हजार, वडा नम्बर ७ को कार्यालयमा १८ लाख ९६ हजार ५००, ८ को कार्यालयमा १ करोड ४८ लाख ५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    यस्तै वडा नम्बर ९ को कार्यालयमा ३९ लाख ६० हजार १ सय, १० को कार्यालयमा ३५ लाख २५ हजार ९ सय, वडा नम्बर ११ को कार्यालयमा ४१ लाख ४३ हजार ४ सय र वडा नम्बर १२ को कार्यालयमा ६१ लाख ७३ हजार ५ सय रुपैयाँ बरारबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।

  • ‘भेरी–बबईलाई समस्याग्रस्त हुन दिनु हुँदैन’

    ‘भेरी–बबईलाई समस्याग्रस्त हुन दिनु हुँदैन’

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न दिन नहुने बताएका छन् । यसलाई रुग्ण हुन नदिन संघीय सरकारले विशेष कदम चाल्नुपर्ने बताए । शनिबार आयोजनाको स्थलगत अनुमगमन गर्दै मुख्यमन्त्री कँडेलले आयोजनाको यही अवस्था रहे कामको गति नबढने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यमाथि चिन्ता सिर्जना भएको बताए ।
    आयोजनाका पदाधिकारीसँग छलफल गर्दै उनले संघीय सरकारको कार्यक्षेत्र रहेपनि प्रदेशको चासो र चिन्ता हुने भएकाले राष्ट्रिय गौरवको यो आयोजना निर्माणको गतिलाई तिव्र पार्नुपर्ने बताए । ‘आयोजनाको काम सुस्त भईरहेको छ, थपिएको समयमा पनि ६० प्रतिशतको आसपासमा मात्र काम भएको रहेछ’ उनले भने, ‘यहि गतिले अर्को चार वर्षमा पनि सम्पन्न हुने छाँट देखिदैन ।’ छलफलको क्रममा मुख्यमन्त्री कँडेलले आयोजनाको अहिलेको कार्य प्रगति हेरेर समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारी भन्दा कामको गति बढाउनेगरि संघीय सरकारले विशेष योजना निर्माण गर्नुपर्ने औंल्याए ।
    छलफलमा आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्य प्रगति अपेक्षा भन्दा कमजोर रहेकोले थपिएको समयमा काम सम्पन्न हुन नसक्ने बताए । उनले आयोजनाका सन्दर्भमा आफूहरुको अधिकार सिमित रहेकोले माथिललो निकायको विशेष पहल आवश्यक रहेको बताए । उनका अनुसार आर्थिक बर्ष २०७१÷०७२ आर्थिक वर्षमा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र प्रगति हालसम्म करिब ५७ प्रतिशत पुगेको छ । आयोजनाको पछिल्लो म्याद २०८२ चैतमा सकिँदैछ ।
    प्रमुख पौडेलका अनुसार आयोजनामा अझै १० जना उच्च तहका प्राविधिक पद रिक्त छन् । यसले कामको गति प्रभावित पारेको उनले बताए । यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके बर्दियाका ५१ हेक्टर क्षेत्रमा सिँचाई पु¥याउने उद्देश्य रहेको छ । सुरुङबाट खसेको पानीले बबईतर्फका हात्तिखालमा ४६.६ मेगावाट विद्युत उत्पादन गर्ने पनि लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा काम सकेको थियो ।

  • यी हुन् सडक डिभिजन सुर्खेतमार्फत तोडिने सडक र पुलका सात ठेक्का

    यी हुन् सडक डिभिजन सुर्खेतमार्फत तोडिने सडक र पुलका सात ठेक्का

    सरकारले पूर्वाधारतर्फका रुग्ण रहेको ठेक्का धमाधम तोड्न थालेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न आफ्ना मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही अनुसार देशभरका निकायले सिँचाई, सडक, पुल लगायतका आयोजनाका रुग्ण ठेक्का तोड्ने प्रक्रियाको थालनी गरेका छन् ।
    सोही अनुसार सडक डिभिजन कार्यालय सुर्खेतले जिल्लाभित्र भएका सात वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन सुर्खेतले यही कात्तिक ९ गते जिल्लाका ७ वटा सडक तथा पुलका ठेक्का सम्झौता अन्त्य गर्नेगरि १५ दिने सूचना निकालेको हो । सूचनाअनुसार कात्तिक २३ गतेभित्र ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने उचित कारण भए सम्बन्धित निर्माण व्यवसायी कारणसहित सडक डिभिजन सुर्खेतमा पुगेर स्पष्ट पार्नुपर्छ । सूचना जारी भएपनि बिहिबार (कात्तिक १३ गते) सम्म एक जना मात्र निर्माण व्यवसायीले उपस्थिति जनाएको सडक डिभिजन सुर्खेतले जनाएको छ । यद्यपि ती निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरणमाथि अध्ययन भईरहेको कार्यालयले जनाएको छ ।
    सडक डिभिजन सुर्खेतले चार वटा पुल र तीन वटा सडकका ठेक्का सम्झौता अन्त्य गर्ने सूचना जारी गरेको छ । सार्वजनिक सूचनाअनुसार एडभेन्चर जेबी जोइन्टभेन्चर (जेभी) बाँके, जयबुद्ध–नोल मेगा बिल्डर्स जेभी सुर्खेत, कन्काई–गणपति जेभी काठमाडौं, टिडीआर कन्स्ट्रक्सन प्रालि धनगढी, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि काठमाडौं, नान्जिला एण्ड आकांक्ष मजदुर जेभी सुर्खेत र रक्षलक्ष्मी कन्स्ट्रक्सन प्रालि दैलेसँगको ठेक्का सम्झौता तोड्न प्रक्रिया थालेको हो ।
    यी निर्माण कम्पनीले २०७३÷०७४ देखि २०८०÷०८१ सम्म सुर्खेतका विभिन्न क्षेत्रमा सडक तथा पुल निर्माणका लागि ठेक्का लिएका थिए । तर तोकिएको समयभित्र कुनैपनि कम्पनीले योजना सम्पन्न गर्न सकेका छैनन् । बेलाबेला सम्बन्धित निकायबाट लिखित तथा मौखिक ताकेता गर्दासमेत सन्तोषजनक कार्यप्रगति नभएपछि डिभिजनले ठेक्का तोड्न लागेको हो ।
    सुर्खेको सहारे स्वास्थ्य चौकीदेखि बेतेनी जोड्ने सडकअन्तर्गतको गोचेखोलामा निर्माणाधीन मोटरबल पुल, गुमी–पातीहाल्न सडकअन्तर्गत पर्ने भालुकुने खोलामा निर्माणाधीन मोटरेबल पुल, छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक स्तरोन्नति, सुर्खेत–जुम्ला सडकअन्तर्गतको दैलेखमा पर्ने खुर्रा खोलामा निर्माणाधीन मोटरेबल पुल, सुर्खेत वीरेन्द्रनगर–१३ र साटाखानी बीचमा पर्ने झुप्रा खोलामा निर्माणाधीन मोटरेबल पुल, सुर्खेत–रानीमत्ता–दैलेख सडकका केही खण्ड स्तरोन्नति, दैलेखको नारायाण नगरपालिकास्थित गादापानीदेखि बलिसेरा जोड्ने सडक स्तरोन्नतिको ठेक्का तोड्न थालिएको हो । यी आयोजनाको ठेक्का आर्थिक बर्ष २०७३÷०७४ देखि २०८०÷०८१ को अवधिमा सडक डिभिजन सुर्खेतमार्फत लगाईएको थियो ।
    कार्यालयका अनुसार एडभेन्चर जेबी बाँकेले सुर्खेको सहारे स्वास्थ्य चौकीदेखि बेतेनी जोड्ने सडकअन्तर्गतको गोचेखोलामा मोटरबल पुल निर्माणको ठेक्का लिएको थियो । २०७३÷०७४ मा भएको ठेक्का सम्झौता हालसम्म पनि कार्यान्वयन भएको छैन । जयबुद्ध–नेपाल मेगा जेभी सुर्खेतले सुर्खेतको गुमी–पातीहाल्न सडकअन्तर्गत पर्ने भालुकुने खोलामा मोटरेबल पुल निर्माणको लागि २०७३÷०७४ मा ठेक्का लिएको थियो । उक्त आयोजनाको काम पनि हालसम्म अधुरै रहेको सडक डिभिजन सुर्खेतले जनाएको छ ।
    कन्काई–गणपती जेभी काठमाडौंले सुर्खेतको छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक स्तरोन्नतिको ठेक्का २०७८÷०७९ मा लिएको थियो । टीडीआर कन्स्ट्रक्सन प्रालिले २०७८÷०७९ मै सुर्खेत–जुम्ला सडकअन्तर्गतको दैलेखमा पर्ने खुर्रा खोलामा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । काष्ठमण्डप कन्स्ट्रक्सनले सुर्खेतको वीरेन्द्रनगर–१३ र साटाखानी बीचमा पर्ने झुप्रा खोलामा मोटरेबल पुल निर्माणको ठेक्का २०७३÷०७४ मा लिएको थियो ।
    नान्जिला एण्ड आकांक्ष मजदुर जेभी सुर्खेतले सुर्खेत–रानीमत्ता–दैलेख सडकका केही खण्ड स्तरोन्नति तथा विस्तार गर्न २०७८÷०७९ मा ठेक्का लिएको थियो । रक्षलक्ष्मी कन्स्ट्रक्सन प्रालि दैलेखले दैलेखको नारायाण नगरपालिकास्थित गादापानीदेखि बलिसेरा जोड्ने सडक स्तरोन्नति गर्न २०८०÷०८१ मा ठेक्का लिएको थियो । यी कुनै पनि योजनाको काम ठेक्का सम्झौताअनुसार सन्तोषजनक नभएको सडक डिभिजन सुर्खेतले जनाएको छ ।
    कर्णाली राजमार्गका पाँच ठेक्का तोडिँदै
    सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थामा रहेका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा ठेक्का तोड्न कानुनी प्रक्रिया अघि बढाएको हो । डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने राजमार्गको कालीकोट सडक खण्डका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एउटा ठेक्का तोड्ने प्रक्रियाका लागि सार्वजनिक सूचना निकालेको छ ।
    सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार आर्थिक वर्ष ०७५÷७६ देखि ०७९÷८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको र पटकपटक ताकेता गर्दासमेत सम्झौताअनुसार काम नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाईएको हो ।
    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका तथा स्रोतसाधन परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीका आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन आह्वान गरिएको छ । तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने प्रमुख चौधरीले बताए ।

  • आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

    आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

    आमा हत्या गरेको अभियोगमा सुर्खेतमा एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान भेरीगंगा नगरपालिका–१२ मसिना टोलका ३५ बर्षीय कविराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो । उनीमाथि आमाको हत्या गरेको अभियोग लागेको छ ।
    कविरामले आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतलाई फरुवा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घरमै सुतिरहेको अवस्थामा कविरामले फरुवाले आमाको टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
    फरुवा प्रहारबाट घाइते भएकी धनिकलाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी बुढथापाले जानकारी दिए । घटनापछि कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट पक्राउ गरेको हो ।

  • रारा र फोक्सुण्डामा उत्साहजनक आगमन, २४ हजार पर्यटकले गरे भ्रमण

    रारा र फोक्सुण्डामा उत्साहजनक आगमन, २४ हजार पर्यटकले गरे भ्रमण

     

    कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेका दुई वटा तालमा पर्यकहरुको आगमन उत्साहजनक देखिएको छ । ‘स्वर्गकी अप्सरा’ उपमा पाएको मुगुको रारा ताल र नेपालको सबैभन्दा गहिरो तालको रुपमा रहेको डोल्पाको शे–फोक्सुण्डो तालमा यो बर्ष पर्यटकले गत आर्थिक बर्षमा गरेको भ्रमण उत्साहजनक छ । यी दुई ताल उचाइँमा भएका ताल र कञ्चन पानीका कारण पनि प्रसिद्ध छन् ।
    रारा र डोल्पाको शे–फोक्सुण्डो तालमा आर्थिक बर्ष २०८१÷०८२ मा मात्र २४ हजार पर्यटकले भ्रमण गरेका छन् । जसमा स्वदेशीसहित सार्क र तेस्रो मुलुकका पर्यटक सहभागी छन् । २४ हजारमध्ये रारामा मात्रै १९ हजार ४५७ पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जका रेञ्जर ऋषिकेश यादवका अनुसार गत वर्ष रारा अवलोकन गर्नेहरुमा १९ हजार एक सय चार नेपाली पर्यटक छन् । यस्तै, सार्क मुलुकबाट ७७ र तेस्रो मुलुकका दुई ७६ पर्यटकले भ्रमण गरेका छन् ।
    आर्थिक वर्ष (२०८२÷०८३) को भदौ मसान्तसम्म मात्र रारा पुग्ने पर्यटकको संख्या ३४७ पुगेको रेञ्जर यादवले बताए । भदौपछि दसैँ–तिहारमा विदा पर्ने भएकाले रारा घुम्न आउने पर्यटकको चाप ह्वात्तै बढ्ने गरेको उनले बताए । यस वर्ष मौसमी प्रतिकुलता कम भएकाले दैनिक सयौंको संख्यामा पर्यटकहरु रारा पुग्ने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मौसमअनुसार रारा ताल घुम्ने उपयुक्त समय चैतदेखि असार र असोजदेखि मंसिरसम्म मानिन्छ । रारा ताल क्षेत्रमा पुसदेखि फागुनसम्म हिउँ पर्दछ भने चैतदेखि असोजसम्म रारा तालसँगै वरपर विभिन्न प्रजातिका मनमोहक फूल फुल्ने गर्छन ।
    यस्तै, गत आर्थिक वर्ष २०८१÷०८२ मा डोल्पाको शे–फोक्सुण्डो ताल घुम्न ५ हजार १०८ जना पर्यटक पुगेका छन् । जसमा नेपाली ४ हजार २९ जना छन् । सार्क मुलुकका ३७, तेस्रो मुलुकका ५४२ जना पर्यटक फोक्सुण्डो पुगेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म फोक्सुण्डो पुग्ने पर्यटकको संख्या १ हजार ९७४ रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा फोक्सुण्डो ताल पुग्ने आन्तरिक पर्यटकको संख्या धेरै छ । यस वर्ष १ हजार ६९७ जना नेपाली पर्यटक फोक्सुण्डो पुगेका छन् । यो अवधिमा सार्क राष्ट्रबाट १०, तेस्रो मुलकका २६७ जना पर्यटक फोक्सुण्डो पुगेको निकुञ्ज कार्यालयले जनाएको छ ।
    रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । प्रदेशको राजधानी सुर्खेतबाट करिब डेढ दिनको यात्रामा रारा पुग्न सकिन्छ । रारा यात्राका लागि साना चार पाङ्ग्रे र मोटरसाइकलको यात्रा सहज मानिन्छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्लाहुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिम चितुवा, कालो भालुलगायतका ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराका विशेषता हुन् । योसँगै रारा तालमा पाहा भ्यागुतो, माछा र तीन प्रजातिका हिमाली असला माछा अवलोकन गर्न सकिन्छ । देवदार, भोजपत्र, लालीगुराँस, गोब्रेसल्लालगायत एक हजार २४ प्रकारका वनस्पति रारामा पाइन्छ । मुगु जिल्लाको हुटुमा अवस्थित रारा ताल समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइमा अवस्थित नेपालको सबैभन्दा ठूलो ताल हो ।
    एक सय ६७ मिटर गहिरो रारा तालको लम्बाई पाँच दशमलव एक किलोमिटर छ, भने चौडाई दुई दशमलव सात किलोमिटर छ । आन्तरिक तथा बाह्य पर्यटनको अथाह सम्भावना बोकेको रारामा सहज पहुँचमार्ग र बास बस्नका लागि स्तरीय होटलको प्रवन्ध हुन नसक्दा पर्यटकहरु छोटो समयमै फर्कन बाध्य हुने गरेका छन् । रारालाई यस वरपरका अन्य पर्यटकीय सम्भावनासँग जोड्न राज्यले ध्यान पु¥याउन सकेको छैन ।
    शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा अवस्थित शे–फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल मानिन्छ । यो ताल समुद्री सतहभन्दा ३ हजार ९०० मिटरको उचाइमा अवस्थित छ । तालको लम्बाइ चार दशमलव आठ किलोमिटर, चौडाइ एक दशमलव ६ किलोमिटर र गहिराई ६ सय ५० मिटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो तालबाट बग्ने पानीले सुलिगाड झरना बनेको छ । कुनै जीवजन्तु नपाइने यो ताललाई निर्जीव ताल समेत भनिन्छ । वर्षैभरी पुग्न सकिने फोक्सुण्डो ताल घुम्ने उपयुक्त समय फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म मानिन्छ । डोल्पा सदरमुकाम दुनै नजिक सुलिगाडसम्म सडक मार्ग र त्यसपछि औसतमा साढे दुई दिनको पैदल यात्रपछि फोक्सुण्डो पुग्न सकिन्छ ।

  • ‘सरकारको ध्यान हाम्रो क्षेत्रमा पनि पुगोस्’

    ‘सरकारको ध्यान हाम्रो क्षेत्रमा पनि पुगोस्’

    पछिल्लो मौसममा आएको बदलीसँगै बुधबारदेखि नै उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ । बाह्य पर्यटकका लागि हिमपातले मनोरञ्जन थपेपछि डोल्पाका स्थानीया लागि भने यो कष्टकर समय हो । स्थानीयको नियमित दैनिकी मात्र होईन, हिमपातले माथिल्लो डोल्पामा आवतजावत समेत ठप्प पारेको छ ।
    हिमपातकै कारण स्थानीय तहले आफ्नो सेवा प्रवाह गर्न पनि कठिनाई भएको छ । शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले डोल्पा जस्ता कर्णालीका हिमाली क्षेत्रमा परेको कठिानईतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताए । ‘पानी पर्ने, चिसो हुने, हिउँ परेर बरफ जम्ने हिमाली क्षेत्रको विशेषता हो, यहाँ तीन÷चार दिनदेखि निरन्तर पानी र हिउँ परेको छ,’ उपाध्यक्ष पेम्बा भन्छन्, भरपर्दो इन्टरनेट नहुँदा पालिकाको सानोतिनो काम गर्न पनि कठिनाई छ, सरकारले हिमाली क्षेत्रका यस्ता समस्या समाधानका लागि ध्यान दिनुपर्छ ।’
    उनले पालिकामा फाइबरसहितको इन्टरनेट नहुँदा वायरलेस इन्टरनेटले हिमपात र बर्षाको समयमा दुख दिने गरेको बताए । एक त कमजोर, त्यहीमाथि बेलाबेला अवरुद्ध हुने इन्टरनेटका कारण पालिकाको भुक्तानी सेवा समेत रोकिएको उपाध्यक्ष पेम्माले दुखेसो पोखे । शेफोक्सुण्डो गाउँपालिकाको हिउँदे सभा समेत गर्न नसकिएको अवस्थामा हिमपात र बर्षाले इन्टरनेटमा पु¥याएको अवरोधले झन कठिनाई भएको उनी बताउँछन् ।
    नयाँ बनेको सरकारले अब सहरकेन्द्रित विकासभन्दा विकटका कठिन समस्या समाधानमा ध्यान दिनुपर्ने उनले बताए । विकासका काम सहरकेन्द्रित भईरहेकोले अति विकट क्षेत्रमा आधारभूत आवश्यकता पनि पूर्ति गर्न समस्या भईरहेको उनी बताउँछन् । ‘अहिले त नयाँ मन्त्रिपरिषद विस्तार भएको छ, विकास सहरकेन्द्रित भन्दा पनि विकट र दुर्गम गाउँतिर नयाँ सरकारले ध्यान दिनुपर्छ ।’ पेम्माले भने ।
    उपल्लो डोल्पाका सबै भाग राष्ट्रिय सडक सञ्जाल, विद्युत, इन्टरनेटको प्रसारण लाईनको पहुँचमा छैनन् । पालिकाको काम सोलारको भरमा गर्नुपरेकाले हिमपातका बेला त्यसमा पनि समस्या उत्पन्न हुने गरेको उपाध्यक्ष पेम्माले बताए । उपल्लो डोल्पाबाट सदरमुकाम पुग्न तीन दिन लाग्छ । शे फोक्सुन्डो गाउँपालिकामा १ हजार ४ सय घरधुरी छन् ।

  • विपद प्रतिकार्यमा स्रोत अभाव छ : मन्त्री भण्डारी

    विपद प्रतिकार्यमा स्रोत अभाव छ : मन्त्री भण्डारी

    कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विपद जोखिम न्युनिकरणका लागि स्रोतको अभाव रहेको बताएका छन् । बिहिबारदेखि सुरु भएको प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजनासम्बन्धी कार्यशालाको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले प्रदेशस्तरमा विपद जोखिम न्युनिकरण र प्रतिकार्यका लागि स्रोत जुटाउन आवश्यक भएको बताएका छन् ।
    ‘हाम्रो प्रदेशमा विपदको जोखिम धेरै छ, न्युनिकरणका लागि धेरै काम पनि गर्नुपर्नेछ,’ उनले भने, ‘कर्णालीको भूगोल अनुकूल विपद्को प्रतिकार्य गर्न तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको छ, स्रोत संकलन गर्न हामी सबैको सहकार्य जरुरी छ ।’
    मन्त्री भण्डारलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तालिम प्राप्त जनशक्तिहरु संख्यामा धेरै भएपनि विपद प्रतिकार्यका लागि कार्य क्षेत्रमा खटिने संख्या कम भएको बताए । यद्यपि आगामी दिनमा सक्रिय रुपमा खटाउन क्रियाशिल व्यक्तिहरुको छनोट गर्न प्रदेश सरकारले काम गर्ने उनले बताए ।
    उनले कार्यान्वयन हुने योजनाहरुको निर्माण र त्यसको रुपरेखा तयार गर्न यस्ता किसिमका गोष्ठीले सहयोग पुग्ने बताए । विपदमा स्थानीय जनशक्ति र स्रोतको उपयोग हुनेगरी त्यस किसिमको कार्ययोजना निर्माण गर्न पनि आग्रह गरे । ढाँचाअनुसार तयार भएका योजनालाई सरकारले अपनत्व लिँदै सक्रिय बनाइने उनले प्रदेश सरकारका तर्फबाट प्रतिवद्धता जनाएका छन् ।