रारा र फोक्सुण्डामा उत्साहजनक आगमन, २४ हजार पर्यटकले गरे भ्रमण

सुर्खेत

 

कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेका दुई वटा तालमा पर्यकहरुको आगमन उत्साहजनक देखिएको छ । ‘स्वर्गकी अप्सरा’ उपमा पाएको मुगुको रारा ताल र नेपालको सबैभन्दा गहिरो तालको रुपमा रहेको डोल्पाको शे–फोक्सुण्डो तालमा यो बर्ष पर्यटकले गत आर्थिक बर्षमा गरेको भ्रमण उत्साहजनक छ । यी दुई ताल उचाइँमा भएका ताल र कञ्चन पानीका कारण पनि प्रसिद्ध छन् ।
रारा र डोल्पाको शे–फोक्सुण्डो तालमा आर्थिक बर्ष २०८१÷०८२ मा मात्र २४ हजार पर्यटकले भ्रमण गरेका छन् । जसमा स्वदेशीसहित सार्क र तेस्रो मुलुकका पर्यटक सहभागी छन् । २४ हजारमध्ये रारामा मात्रै १९ हजार ४५७ पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जका रेञ्जर ऋषिकेश यादवका अनुसार गत वर्ष रारा अवलोकन गर्नेहरुमा १९ हजार एक सय चार नेपाली पर्यटक छन् । यस्तै, सार्क मुलुकबाट ७७ र तेस्रो मुलुकका दुई ७६ पर्यटकले भ्रमण गरेका छन् ।
आर्थिक वर्ष (२०८२÷०८३) को भदौ मसान्तसम्म मात्र रारा पुग्ने पर्यटकको संख्या ३४७ पुगेको रेञ्जर यादवले बताए । भदौपछि दसैँ–तिहारमा विदा पर्ने भएकाले रारा घुम्न आउने पर्यटकको चाप ह्वात्तै बढ्ने गरेको उनले बताए । यस वर्ष मौसमी प्रतिकुलता कम भएकाले दैनिक सयौंको संख्यामा पर्यटकहरु रारा पुग्ने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मौसमअनुसार रारा ताल घुम्ने उपयुक्त समय चैतदेखि असार र असोजदेखि मंसिरसम्म मानिन्छ । रारा ताल क्षेत्रमा पुसदेखि फागुनसम्म हिउँ पर्दछ भने चैतदेखि असोजसम्म रारा तालसँगै वरपर विभिन्न प्रजातिका मनमोहक फूल फुल्ने गर्छन ।
यस्तै, गत आर्थिक वर्ष २०८१÷०८२ मा डोल्पाको शे–फोक्सुण्डो ताल घुम्न ५ हजार १०८ जना पर्यटक पुगेका छन् । जसमा नेपाली ४ हजार २९ जना छन् । सार्क मुलुकका ३७, तेस्रो मुलुकका ५४२ जना पर्यटक फोक्सुण्डो पुगेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म फोक्सुण्डो पुग्ने पर्यटकको संख्या १ हजार ९७४ रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा फोक्सुण्डो ताल पुग्ने आन्तरिक पर्यटकको संख्या धेरै छ । यस वर्ष १ हजार ६९७ जना नेपाली पर्यटक फोक्सुण्डो पुगेका छन् । यो अवधिमा सार्क राष्ट्रबाट १०, तेस्रो मुलकका २६७ जना पर्यटक फोक्सुण्डो पुगेको निकुञ्ज कार्यालयले जनाएको छ ।
रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । प्रदेशको राजधानी सुर्खेतबाट करिब डेढ दिनको यात्रामा रारा पुग्न सकिन्छ । रारा यात्राका लागि साना चार पाङ्ग्रे र मोटरसाइकलको यात्रा सहज मानिन्छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्लाहुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिम चितुवा, कालो भालुलगायतका ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराका विशेषता हुन् । योसँगै रारा तालमा पाहा भ्यागुतो, माछा र तीन प्रजातिका हिमाली असला माछा अवलोकन गर्न सकिन्छ । देवदार, भोजपत्र, लालीगुराँस, गोब्रेसल्लालगायत एक हजार २४ प्रकारका वनस्पति रारामा पाइन्छ । मुगु जिल्लाको हुटुमा अवस्थित रारा ताल समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइमा अवस्थित नेपालको सबैभन्दा ठूलो ताल हो ।
एक सय ६७ मिटर गहिरो रारा तालको लम्बाई पाँच दशमलव एक किलोमिटर छ, भने चौडाई दुई दशमलव सात किलोमिटर छ । आन्तरिक तथा बाह्य पर्यटनको अथाह सम्भावना बोकेको रारामा सहज पहुँचमार्ग र बास बस्नका लागि स्तरीय होटलको प्रवन्ध हुन नसक्दा पर्यटकहरु छोटो समयमै फर्कन बाध्य हुने गरेका छन् । रारालाई यस वरपरका अन्य पर्यटकीय सम्भावनासँग जोड्न राज्यले ध्यान पु¥याउन सकेको छैन ।
शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा अवस्थित शे–फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल मानिन्छ । यो ताल समुद्री सतहभन्दा ३ हजार ९०० मिटरको उचाइमा अवस्थित छ । तालको लम्बाइ चार दशमलव आठ किलोमिटर, चौडाइ एक दशमलव ६ किलोमिटर र गहिराई ६ सय ५० मिटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो तालबाट बग्ने पानीले सुलिगाड झरना बनेको छ । कुनै जीवजन्तु नपाइने यो ताललाई निर्जीव ताल समेत भनिन्छ । वर्षैभरी पुग्न सकिने फोक्सुण्डो ताल घुम्ने उपयुक्त समय फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म मानिन्छ । डोल्पा सदरमुकाम दुनै नजिक सुलिगाडसम्म सडक मार्ग र त्यसपछि औसतमा साढे दुई दिनको पैदल यात्रपछि फोक्सुण्डो पुग्न सकिन्छ ।

अन्य समाचार

+ There are no comments

Add yours