सरकारले पूर्वाधारतर्फका रुग्ण रहेको ठेक्का धमाधम तोड्न थालेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न आफ्ना मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही अनुसार देशभरका निकायले सिँचाई, सडक, पुल लगायतका आयोजनाका रुग्ण ठेक्का तोड्ने प्रक्रियाको थालनी गरेका छन् ।
सोही अनुसार सडक डिभिजन कार्यालय सुर्खेतले जिल्लाभित्र भएका सात वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन सुर्खेतले यही कात्तिक ९ गते जिल्लाका ७ वटा सडक तथा पुलका ठेक्का सम्झौता अन्त्य गर्नेगरि १५ दिने सूचना निकालेको हो । सूचनाअनुसार कात्तिक २३ गतेभित्र ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने उचित कारण भए सम्बन्धित निर्माण व्यवसायी कारणसहित सडक डिभिजन सुर्खेतमा पुगेर स्पष्ट पार्नुपर्छ । सूचना जारी भएपनि बिहिबार (कात्तिक १३ गते) सम्म एक जना मात्र निर्माण व्यवसायीले उपस्थिति जनाएको सडक डिभिजन सुर्खेतले जनाएको छ । यद्यपि ती निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरणमाथि अध्ययन भईरहेको कार्यालयले जनाएको छ ।
सडक डिभिजन सुर्खेतले चार वटा पुल र तीन वटा सडकका ठेक्का सम्झौता अन्त्य गर्ने सूचना जारी गरेको छ । सार्वजनिक सूचनाअनुसार एडभेन्चर जेबी जोइन्टभेन्चर (जेभी) बाँके, जयबुद्ध–नोल मेगा बिल्डर्स जेभी सुर्खेत, कन्काई–गणपति जेभी काठमाडौं, टिडीआर कन्स्ट्रक्सन प्रालि धनगढी, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि काठमाडौं, नान्जिला एण्ड आकांक्ष मजदुर जेभी सुर्खेत र रक्षलक्ष्मी कन्स्ट्रक्सन प्रालि दैलेसँगको ठेक्का सम्झौता तोड्न प्रक्रिया थालेको हो ।
यी निर्माण कम्पनीले २०७३÷०७४ देखि २०८०÷०८१ सम्म सुर्खेतका विभिन्न क्षेत्रमा सडक तथा पुल निर्माणका लागि ठेक्का लिएका थिए । तर तोकिएको समयभित्र कुनैपनि कम्पनीले योजना सम्पन्न गर्न सकेका छैनन् । बेलाबेला सम्बन्धित निकायबाट लिखित तथा मौखिक ताकेता गर्दासमेत सन्तोषजनक कार्यप्रगति नभएपछि डिभिजनले ठेक्का तोड्न लागेको हो ।
सुर्खेको सहारे स्वास्थ्य चौकीदेखि बेतेनी जोड्ने सडकअन्तर्गतको गोचेखोलामा निर्माणाधीन मोटरबल पुल, गुमी–पातीहाल्न सडकअन्तर्गत पर्ने भालुकुने खोलामा निर्माणाधीन मोटरेबल पुल, छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक स्तरोन्नति, सुर्खेत–जुम्ला सडकअन्तर्गतको दैलेखमा पर्ने खुर्रा खोलामा निर्माणाधीन मोटरेबल पुल, सुर्खेत वीरेन्द्रनगर–१३ र साटाखानी बीचमा पर्ने झुप्रा खोलामा निर्माणाधीन मोटरेबल पुल, सुर्खेत–रानीमत्ता–दैलेख सडकका केही खण्ड स्तरोन्नति, दैलेखको नारायाण नगरपालिकास्थित गादापानीदेखि बलिसेरा जोड्ने सडक स्तरोन्नतिको ठेक्का तोड्न थालिएको हो । यी आयोजनाको ठेक्का आर्थिक बर्ष २०७३÷०७४ देखि २०८०÷०८१ को अवधिमा सडक डिभिजन सुर्खेतमार्फत लगाईएको थियो ।
कार्यालयका अनुसार एडभेन्चर जेबी बाँकेले सुर्खेको सहारे स्वास्थ्य चौकीदेखि बेतेनी जोड्ने सडकअन्तर्गतको गोचेखोलामा मोटरबल पुल निर्माणको ठेक्का लिएको थियो । २०७३÷०७४ मा भएको ठेक्का सम्झौता हालसम्म पनि कार्यान्वयन भएको छैन । जयबुद्ध–नेपाल मेगा जेभी सुर्खेतले सुर्खेतको गुमी–पातीहाल्न सडकअन्तर्गत पर्ने भालुकुने खोलामा मोटरेबल पुल निर्माणको लागि २०७३÷०७४ मा ठेक्का लिएको थियो । उक्त आयोजनाको काम पनि हालसम्म अधुरै रहेको सडक डिभिजन सुर्खेतले जनाएको छ ।
कन्काई–गणपती जेभी काठमाडौंले सुर्खेतको छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक स्तरोन्नतिको ठेक्का २०७८÷०७९ मा लिएको थियो । टीडीआर कन्स्ट्रक्सन प्रालिले २०७८÷०७९ मै सुर्खेत–जुम्ला सडकअन्तर्गतको दैलेखमा पर्ने खुर्रा खोलामा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । काष्ठमण्डप कन्स्ट्रक्सनले सुर्खेतको वीरेन्द्रनगर–१३ र साटाखानी बीचमा पर्ने झुप्रा खोलामा मोटरेबल पुल निर्माणको ठेक्का २०७३÷०७४ मा लिएको थियो ।
नान्जिला एण्ड आकांक्ष मजदुर जेभी सुर्खेतले सुर्खेत–रानीमत्ता–दैलेख सडकका केही खण्ड स्तरोन्नति तथा विस्तार गर्न २०७८÷०७९ मा ठेक्का लिएको थियो । रक्षलक्ष्मी कन्स्ट्रक्सन प्रालि दैलेखले दैलेखको नारायाण नगरपालिकास्थित गादापानीदेखि बलिसेरा जोड्ने सडक स्तरोन्नति गर्न २०८०÷०८१ मा ठेक्का लिएको थियो । यी कुनै पनि योजनाको काम ठेक्का सम्झौताअनुसार सन्तोषजनक नभएको सडक डिभिजन सुर्खेतले जनाएको छ ।
कर्णाली राजमार्गका पाँच ठेक्का तोडिँदै
सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थामा रहेका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा ठेक्का तोड्न कानुनी प्रक्रिया अघि बढाएको हो । डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने राजमार्गको कालीकोट सडक खण्डका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एउटा ठेक्का तोड्ने प्रक्रियाका लागि सार्वजनिक सूचना निकालेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार आर्थिक वर्ष ०७५÷७६ देखि ०७९÷८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको र पटकपटक ताकेता गर्दासमेत सम्झौताअनुसार काम नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाईएको हो ।
सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका तथा स्रोतसाधन परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीका आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन आह्वान गरिएको छ । तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने प्रमुख चौधरीले बताए ।

यी हुन् सडक डिभिजन सुर्खेतमार्फत तोडिने सडक र पुलका सात ठेक्का





+ There are no comments
Add yours