कर्णाली प्रदेश सभा सचिवालय परिसरभित्र अधिवेशनका लागि अस्थायी सभाहल निर्माण गर्ने प्रक्रिया अघि बढाईएको छ । आगामी हिउँदे अधिवेशन अगावै निर्माण सक्नेगरि प्रदेश सभाको कामचलाउ सभाहल निर्माण गर्न अध्ययन सुरु गरिएको हो । कामकाज सुचारु राख्न र संवैधानिक प्रावधानअनुसार हिउँदे अधिवेशन बोलाउनका लागि कार्यव्यवस्था समितिको बैठकले तत्काल वैकल्पिक व्यवस्थाका लागि अध्ययन गर्ने निर्णय गरेको हो ।
तत्काल पुरानो भवन पुनर्निर्माण गर्न सकिने अवस्था नभएपछि कामचलाउ सभाहल बनाउन लागिएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । हाल सभामुख र उपसभामुखको कार्यकक्ष रहेको पूर्वतर्फको सानो हललाई कामचलाउ सभाकक्ष बनाउनेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । प्रदेश सभा भवन ध्वस्त भएपछि बुधबार पहिलो पटक सभाबारे छलफल गर्न कार्य व्यवस्था समितिको बैठक बसेको थियो । उक्त बैठकमा विभिन्न विकल्पमाथि छलफल चलेको थियो । समितिको वैठकबाटै हाल कामचलाउ सभाहल बनाउने निर्णय भएको हो ।
हाल बन्ने कामचालाउ सभाहलमा ४० जना सदस्यलाई सामान्य खालका कुर्सी राखेर सभा सञ्चालन गर्न सकिने अनुमान गरिएको छ । कामचलाउ हलमा दर्शक दीर्घाको व्यवस्था गर्न सकिने अवस्था नरहेको बुढाथोकीले बताए । उनका अनुसार आवश्यकताका आधारमा ‘प्रि–फ्याब’ सामग्री जोडेर सुविधा प्रदान गर्न सकिनेबारे पनि अध्ययन भइरहेको छ । इन्जिनियरहरुको टोलीले यसको संरचनाबारे अध्ययन सुरु गरेको उनले बताए । कम्तिमा दुई वटा अधिवेशनमा कामचलाउ सभाहलबाटै सञ्चालन गर्न सकिनेगरि बनाउने योजना प्रदेश सभा सचिवालयको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार हाल सभामुखको सरकारी निवासबाटै कर्मचारीले कामकाज गरिरहेका छन् । निवासमा तोडफोड भए पनि आगजनी नभएकाले त्यहीँबाट कार्यालयको कार्यसम्पदान भईरहेको उनले बताए । एउटै कोठामा दुई वटा कम्प्युटर जडान गरी पालैपालो काम गरिरहेको पौडेलले बताए ।
कामचलाउ सभा निर्माणका लागि बजेटबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको थियो । प्रारम्भिक चरणमा नियमित बजेटबाट काम गर्ने र नियमित बजेट अपुग भए प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिएको छ । तत्काल निर्माणका लागि आवश्यक फर्निचर, विद्युतीय सामान खरिद तथा अन्य सामान्य मर्मतमा २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
तत्काल प्रदेश सभा भवनको पूर्ण रुपमा निर्माण गर्न कठिन भएको कार्यव्यवस्था समितिले निश्कर्ष निकालेको छ । ध्वस्त भएका संरचनाको प्राविधिक जाँचबुझ, डिजाइन, बजेट विनियोजन र निर्माण प्रक्रिया पूरा गर्न लामो समय लाग्ने सचिव जीवराज बुढाथोकीले बताए ।
गत भदौ २३÷२४ गते भएको जेन–जी आदोलनको क्रममा तोडफोड र आगजनी गरी भवनमा ठूलो क्षति पु¥याईएको थियो ।
यी हुन् क्षति भएका कार्यालय, कुनमा कति क्षति ?
जेनजी आन्दोलनका क्रममा सुर्खेतमा रहेका २५ वटा कार्यालयमा क्षति भएको थियो । यी कार्यालयहरुमा १९ करोड ७५ लाख ४५ हजार ६३९ रुपैयाँ २९ पैसा बरारबको क्षति भएको प्रशासनको अनुमान छ । केही गत असोजमा कार्यालय प्रमुखहरुको रोहबरमा प्रशासन क्षतिको मूल्याङ्कन गरेको थियो । जसअनुसार बसैभन्दा धेरै क्षति प्रदेश सभा भवनमै भएको देखिन्छ । प्रदेश सभामा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाा ४८ पैसा बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
यस्तै जिल्ला समन्वय समितिको भवनमा ४ लाख ३ हजार, सडक डिभिजन सुर्खेतको भवनमा २ लाख ४ हजार, भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन योजना कार्यालयमा ६० हजार, नापी कार्याललयमा २ करोड ६३ लाख ६० हजार ९९०, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा ४ लाख १० हजार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा १३ लाख ३४ हजार ७०७ रुपैयाँ ९२ पैसा, सामाजिक विकास मन्त्रालयमा ३ लाख ५९ हजार ९००, मुख्य न्यायाधिवक्ताको कार्यालयमा १ करोड १४ लाख ६० हजार, प्रदेश लेखा नियन्त्रक कार्यालयमा १ करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको क्षति आन्दोलनबाट भएको छ ।
यसैगरी, मुख्यमन्त्रीको सरकारी निवासमा १ करोड ७९ हजार, जलस्रोत तथा उर्जा विकास मन्त्रीको सरकारी निवासमा ६ लाख ३१ हजार १८५, वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा २ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
आन्दोलनका क्रममा वीरेन्द्रनगरका १–१२ नम्बर वडा कार्यालयहरुमा पनि ठूलो क्षति पुगेको थियो । यी कार्यालयमध्ये वीरेन्द्रनगरको वडा नम्बर १ को कार्यालयमा ३५ लाख, २ को कार्यालयमा ३९ लाख ६० हजार ५ सय, वडा नम्बर ३ को कार्यालयमा २२ हजार ५ सय, वडा नम्बर ४ को कार्यालयमा ८५ लाख ३५ हजार, ५ को कार्यालयमा ४६ लाख ७५ हजार, ६ को कार्यालयमा १ करोड ३७ लाख ७४ हजार, वडा नम्बर ७ को कार्यालयमा १८ लाख ९६ हजार ५००, ८ को कार्यालयमा १ करोड ४८ लाख ५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै वडा नम्बर ९ को कार्यालयमा ३९ लाख ६० हजार १ सय, १० को कार्यालयमा ३५ लाख २५ हजार ९ सय, वडा नम्बर ११ को कार्यालयमा ४१ लाख ४३ हजार ४ सय र वडा नम्बर १२ को कार्यालयमा ६१ लाख ७३ हजार ५ सय रुपैयाँ बरारबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।

हिउँदे अधिवेशनका लागि कामचलाउ वैठक कक्ष बनाइँदै





+ There are no comments
Add yours