Category: Banner

  • सडक निर्माणमा अनियमतताः नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सडक निर्माणमा अनियमतताः नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    वदनियतपूर्वक : ऐनविपरित शर्त, सबैभन्दा बढी रकम कबोल गर्नेलाई ठेक्का, उजुरी दिनबाट बञ्चित

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, निर्माण कम्पनीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोटरबाटो स्तरोन्नतिको ठेक्कामा अनियमितता गरेको उनीहरुविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटोको ठेक्का मिलोमतोमा दिएको र भुक्तानीमा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
    आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइएस अपरेटर हरिचन्द्र विष्टविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै उक्त मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्याङ्कनमा सहभागी नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) मा कार्यरत शिशिरकुमार गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको छ । यसैगरी दिव्या निर्माण सेवाका सञ्चालक भिमराज न्यौपानेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएको आठ जनाबाट जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा विगो र सजाय दावी गरिएको छ ।
    आर्थिक वर्ष २०७८÷७९ मा बोलपत्र प्रक्रियामा मिलेमतो गरी बढी रकम कबोल गर्ने निर्माण कम्पनीलाई ठेक्का दिई गैरकानुनी लाभ लिएको पाईएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसा लागत अनुमान गरिएको उक्त सडक निर्माणको ठेक्का प्रक्रियामा दिव्या निर्माण सेवा प्रालिलाई अनुचित रुपमा ठेक्का दिइएको आयोगको ठहर छ । बोलपत्र मुल्याकंन समितिले नागरिकता प्रमाणपत्र अनिवार्य शर्त नभएको भएपनि उक्त शर्तको कारण देखाई अन्य बोलपत्रदातालाई अस्वीकृत गरी बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का प्रक्रियामा छनोट गरेको देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
    उक्त प्रक्रियामा दिव्या निर्माण सेवा र कृष्ण निर्माण सेवाको बोलपत्रका कागजातमा एकै व्यक्तिको हस्ताक्षर, समान ढाँचाका कागजात र समान मिति रहेका कारण दुवै कम्पनीबीच मिलेमतो भएको देखिए पनि मूल्याङ्कन समितिले कृष्ण निर्माण सेवालाई अनुत्तीर्ण गरी बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिएको देखिएको भन्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
    न्यूनतम कबोल रकम २४ लाख ७३ हजार ६१५ रुपैयाँ ६१ पैसा र स्वीकृत बोलपत्र रकम ८० लाख ६२ हजार ६७८ रुपैयाँ ६७ पैसा बीचको फरक ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बराबरको बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध विगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवानाको माग गरिएको छ ।
    त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको उक्त सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरी औपचारिकता मात्र निभाएको अभियोग अख्तियारले लगाएको छ । उक्त सडक निर्माणका लागि आर्थिक बर्ष २०७८÷०७९ मा रकम ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसा कुल लागत अनुमान स्वीकृत गरेको थियो । उक्त कामका लागि २०७९ वैशाख २५ गते राजधानी दैनिकमा सूचना प्रकाशन गरिएको थियो । २०७९ जेठ २४ गते बोलपत्रहरु खोल्दा सात वटा बोलपत्रदाताहरु प्रक्रियामा सहभागी भएको देखिएको छ ।
    सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ ले ठेक्का प्रक्रियामा सहभागी हुन निर्माण कम्पनी सञ्चालकको नागरिकता अनिवार्य हुनुपर्ने व्यवस्था नगरेको अवस्थामा बोलपत्र मूल्याङ्कनका क्रममा यही कुरालाई अनिवार्य शर्तको रुपमा राखेर प्रक्रिया गरिएको पाईएको छ । ऐनमा हुँदै नभएको कुरालाई बोलपत्र मूल्याङ्कनका क्रममा अनिवार्य गरी प्रक्रियामा सहभागी तीन वटा बोलपत्रदातालाई सञ्चालकको नागरिकता पेश नगरेको र तीन वटालाई कार्यतालिका पेश नगरेको कारण देखाएर मूल्याङ्कन समितिले प्रक्रियाबाट हटाइदिएको थियो । उक्त प्रक्रियामा छनोट भएको दिव्या निर्माण सेवाले पनि सञ्चालकको नागरिकता पेश नगरेकै अवस्थामा मूल्याङ्कन समितिले गलत प्रतिवेदन पेश गरेको थियो ।
    सार्वजकि खरिद ऐन २०६३ को दफा ४७ (१) मा चित्त नबुझेको खण्डमा बोलपत्रदाताले सार्वजनिक निकायका प्रमुखसमक्ष निवेदन दिनसक्ने व्यवस्था छ । उक्त दफामा सार्वजनिक निकायले खरिद कारबाही वा निर्णय गर्दा कुनै त्रुटी गरेको वा पालना गर्नुपर्ने कर्तव्य पालना नगरेकोले आफूलाई क्षति पुग्ने वा पुग्न सक्ने कारण खुलाई कुनै बोलपत्रदाता वा प्रस्तावदाताले सम्बन्धित सार्वजनिक निकायका प्रमुखसमक्ष निवेदन दिन सक्ने उल्लेख छ । सोहीबमोजिम बोलपत्र मूल्याङ्कन गरेपछि प्रक्रिया पुगेको बोलपत्रदाताको विस्तृत विवरणसहित बोलपत्र स्वीकृत गर्ने आशयको सूचना नगरपालिकाकाको कार्यालयले सात दिनको समय दिएर प्रकाशन गर्नुपथ्र्यो । तर मिलेमतोमा नगरपालिकाको कार्यालयले यस्तो सूचना बोलपत्र मूल्याङ्कन गरिएको तीन दिनपछिको मिति (२०७९ जेठ २७) उल्लेख गरी असार २ गते मात्र राजधानी दैनिकमा प्रकाशन गरेर बोलपत्रदातालाई निवेदन दिनबाट बञ्चित गरेको थियो । सूचना प्रकाशन भएको उक्त दिन बोलपत्रदाताले निवेदन दिन पाउने अन्तिम दिन थियो ।
    यस्तै प्रक्रियामा छनोट भएको दिव्या निर्माण सेवा कम्पनीले पनि बोलपत्र पेश गर्दा फर्जी गरेको आयोगको ठहर छ । दिव्या निर्माण सेवा र सोही प्रक्रियामा सहभागी भएको कृष्ण निर्माण सेवाको बोलपत्रमा एकै व्यक्तिको हस्ताक्षर भएको थियो । यी दुई बोलपत्रदातामध्ये कृष्ण निर्माण सेवाले न्युनतम रकम २४ लाख ७३ हजार ६१५ रुपैयाँ ६१ पैसा कबोल गरेको थियो भने दिव्या निर्माण सेवाको बोलपत्रमा ८० लाख ६२ हजार ६७८ रुपैयाँ ६७ पैसा कबोल गरिएको थियो । यी दुवै फर्मले पेश गरेको घोषणापत्र पनि एकै ढाँचामा र अन्य कागजात पनि मिल्दोजेल्दो थिए । तैपनि मूल्याङ्कन समितिले कम रकम कबोल गर्ने कृष्ण निर्माण सेवालाई अनुत्तीर्ण गरी सबैभन्दा बढी रकम कबोल गरेको दिव्यालाई उत्तीर्ण गरी ठेक्का दिएको थियो ।
    अख्तियारले मुद्दा दायर गरेका ८ जनाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको ठहर गर्दै बोलपत्रदातामध्ये सबैभन्दा कम कबोल गरिएको रकम र सबैभन्दा बढी कबोल गरिएको रकमको बीचको फरक रकम ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा जनही विगो दावी गरेको हो । आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ (च, ज), दफा १९ को उपदफा २ बमोजिम कैद सजाय तथा जरिवाना दावी गरिएको छ ।

  • नयाँ पार्टी गठन गर्ने तयारीमा जनार्दन, यी हुन् उनको पक्षमा उभिने नेताहरु

    नयाँ पार्टी गठन गर्ने तयारीमा जनार्दन, यी हुन् उनको पक्षमा उभिने नेताहरु

    नेकपा माओवादी केन्द्रले दश पार्टीसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी नामकरण गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको यही निर्णयमा अन्तरविरोध जनाउँदै अलग्गिएका जनार्दन शर्माले प्रगतिशील अभियान घोषणा गरेका छन् । माओवादीमा तत्कालीन उपमहासचिव जनार्दन शर्माले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।
    ४० वर्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेर पार्टीको काम गरेका शर्माले अन्तिममा पार्टी एकता प्रक्रियामा सहमति जनाएनन् । उनले गत आइतबार नै प्रचण्डसँग सम्बन्ध तोड्दै प्रगतिशिल नेपाल अभियान घोषणा गरेका थिए । उनको यो अभियानलाई सुरुमा साथ दिने नेताहरुमा माओवादीका तत्कालीन सचिव राम कार्की र स्थायी समिति सदस्य अञ्जना विशंखे थिए ।
    यही १९ कात्तिकमा माओवादीको महाधिवेशन आयोजक समितिको अन्तिम बैठक काठमाडौंको प्रज्ञा भवनमा बसेको थियो । शर्मा र कार्कीले ललितपुरको बुखुण्डोलमा पत्रकार सम्मेलन गरेर अभियानको सुरुवात गरेका थिए । उनको अभियानमा सुरुको दिनमा साथ दिने कोही नभए पनि बिस्तारै उनको अभियानमा पूर्वमाओवादी नेताहरु जोडिन थालेका छन् ।
    शर्माको अभियानसँगै उनको पार्टी गठन प्रक्रियामा कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सहभागी हुँदैछन् । उनीहरुले जनार्दनलाई साथ दिने निर्णय गरेका छन् । उनीसँग माथिल्लो तहमा प्रभाव राख्ने राम कार्की, सुदन किराँती, अञ्जना विशंखे, जगप्रसाद शर्मा जोडिएका छन् ।
    जनार्दनको साथमा उनका बहिनी नारायणी शर्मा रहेकी छन् । उनी दाप्रतिनिधि सभा सदस्य थिईन् । यस्तै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पनि उनको साथमा छन् । कर्णालीकै पूर्व कृषिमन्त्री भिमप्रकाश शर्मा पनि जनार्दनको साथमा छन् । राजकुमार रुकुम पश्चिमका हुन् भने भिमप्रकाश सल्यानका हुन् ।
    अन्य नेताहरु पुष्प न्यौपाने, सन्तोष विष्ट, पदमराज जोशी, ओमप्रकाश पुन, शिवकुमार मण्डल, अशोक जयसवाल, उमेश यादव, भगत बडुवाल, टेकेन्द्र भट्ट, दीपक साउद, विमला सिंह, भीमबहादुर मल्ल, रामप्रसाद न्यौपाने, प्रतिभा केसी, मनऋषि धितालले पनि उनलाई साथ दिएका छन् ।
    जनार्दनको साथमा उभिने अनुमान गरिएका रुकुमकै केही माओवादी नेताहरु भने प्रचण्डाको पार्टी एकता गर्ने निर्णयको पक्षमा उभिएका छन् । माओवादीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी प्रचण्डको पक्षमा उभिएकी छन् । उनी यसअघि कर्णाली प्रदेश सभा सदस्य तथा कृषि मन्त्री भएकी थिईन् । केसी २०७० सालको संविधान सभामा सदस्य थिईन् ।
    रुकुम पश्चिमै गोपाल शर्मा पनि प्रचण्डकै पक्षमा उभिएका छन् । जनार्दन गृहमन्त्री हुँदा उनको स्वकीय सचिव भएका शर्मा २०७४ को प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य भएका थिए । उनी प्रदेशको अर्थमन्त्री समेत भईसकेका छन् । जनार्दनका निर्वाचन अभियानमा पनि निरन्तर साथ दिईरहने उनले अन्तिममा ‘राजनीतिमा स्वनिर्णय लिने स्वतन्ता भएको’ भन्दै अलग भएका छन् ।
    माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविनद रोका (सचिन) पनि अन्तिममा प्रचण्डको पक्षमा उभिएका छन् । उनी जनार्दनका निकट पात्रमध्येका एक हुन् । उनी जनार्दन अर्थमन्त्री हुँदा सल्लाहकार पनि थिए । यसअघि कर्णाली प्रदेशको अर्थमन्त्री भईसकेका रुकुम पश्चिमकै महेन्द्र केसीले पनि जनार्दनलाई साथ दिएनन् ।
    कर्णाली प्रदेशबाट तत्कालीन माओवादी केन्द्रमा प्रभाव राख्ने कर्णाली प्रदेशका नेताहरु कालीबहादुर मल्ल, शक्ति बस्नेत, महेन्द्रबहादुर शाही, सत्या पहाडी लगायतका नेताहरु पनि प्रचण्डकै पक्षमा उभिएका छन् । केन्द्रमा जनार्दन र प्रचण्डबीचको अन्तरविरोधलाई गुटका रुपमा हेरिएको थियो । केन्द्रमा प्रचण्ड–जनार्दन गुट भएपनि कर्णालीमा भने शक्ति–जनार्दन गुट थियो । शक्ति बस्नेतले कर्णालीमा प्रचण्ड गुटको नेतृत्व गर्दा जनार्दन केन्द्र र कर्णालीमा एक्लै हाबी भएका थिए ।

  • भूकम्पपछिको पुनर्निर्माणमा सुस्त गति

    भूकम्पपछिको पुनर्निर्माणमा सुस्त गति

    जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको दुई वितिसकेको छ । २०८० कार्तिक १७ गते जाजरकोटसँगै रुकुम पश्चिम र सल्यानमा ठूलो जनधनको क्षति हुने गरी गएको भूकम्पपश्चात राहत तथा पुनर्निर्माणको कामले भने गति लिएको छैन । भूकम्पमा परी जाजरकोट, रुकुम पश्चिम र सल्यानका गरेर १ सय ५७ जनाले ज्यान गुमाएका थिए भने सयौं सर्वसाधारण घाइते भएका थिए । भूकम्प गएको दुई वर्ष पुग्दा समेत यहाँका पीडित अहिलेसम्म पनि पुनःनिर्माणको पर्खाइमा टहरामै बस्न बाध्य छन् ।
    ‘भूकम्प गएको दुई वर्ष पुग्दासम्म पनि हाम्रो बसोबास टहरामै छ, सरकारले आश देखायो तर हाम्रो पिरमर्का बुझेन,’ आठविसकोट नगरपालिका–६ का भूकम्पपीडित महेन्द्र सत्यालले भने, ‘खाली फारम भर्न लगाउने, यो गर्छौं र त्यो गर्छौं भन्ने तर नगर्ने सरकारको भर हामी कहिलेसम्म पर्ने ?’ ्आफूहरु यसरी कहिलेसम्म टहरामा बस्ने भन्ने चिन्तामा रहेको उनले बताए ।
    जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्यांक अनुसार रुकुम पश्चिममा कुल ३४ हजार ९९७ प्रभावित घर–परिवारलाई लाभग्राही कायम गरिएको थियो । हालसम्म ३१ हजार ९ सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरेर २५÷२५ हजारका दरले प्रतिघर–परिवार ५० हजार रकम प्राप्त गरेका छन् भने बाँकी १ हजार ६५ लाभग्राही पहिलो किस्ताको रकम पाए पनि दोस्रो किस्ताका लागि योग्य नभएको बताइएको छ ।
    यसपछि विस्तृत क्षति आकलन (डीडीए) गरेर यसैमध्येबाट क्षतिको मूल्यांकन गरी प्रवलीकरण, पुनःनिर्माण अथवा पुनःस्थापना के गर्ने भनेर वर्गीकरण गरेपछि सम्झौता गरेर बाँकी काम अगाडि बढाइनुपर्ने हो । तर, यो कामले अपेक्षित गति लिन नसकेको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले बताए । ‘पीडितले हामीलाई घर कहिले बनाइदिने हो भनेर सोध्छन, हामीसँग त्यसको जवाफ छैन,’ अध्यक्ष विष्टले भने, ‘पहिला कार्यविधि आउन समय लाग्यो, त्यसपछि डीडीएको काम पनि ढिला गरी भयो, त्यसपछिको बाँकी काम पनि ढिला भइरहेको छ ।’
    रुकुम पश्चिमका कुल ३० हजार ८ सय ५० लाभग्राहीको डीडीए गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिबाट अनुमोदन भई स्विकृत भएका लाभग्राहीको संख्या हालसम्म ४ हजार ६ सय ७ रहेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिए । ‘डीडीए सम्पन्न भइसकेका लाभग्राहीलाई यथाशक्य जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन भई स्विकृत गर्ने काम हामीले गरिरहेका छौं,’ प्रजिअ थानी भन्छन्, ‘तर स्थानीय तहबाटै सूचना प्रणालीमा प्रविष्ट गर्ने काम नै ढिला भइरहेको छ ।’
    डीडीए भएकामध्ये अहिलेसम्म जम्मा ४ जनाको मात्रै पुनर्निर्माणका लागि सम्झौता गरिएको छ । जबकि, डीडीए भएकाको संख्याका आधारमा यो नगन्य संख्या हो । अब पुनर्निर्माणका लागि डीडीएमा परेका लाभग्राही नै अन्तिम भएको भए पनि निर्धारित समयभन्दा ढिला गरी स्थानीय तहबाट पेस गरिएका २ हजार १ लाभग्राहीले पहिलो किस्ता पनि पाउन सकेका छैनन् । साथै विविध कारणले डीडीए हुन छुट भएका लाभग्राहीको विवरण सम्बन्धित स्थानीय तहबाट माग गरी डीडीएका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
    सुरुमा उद्दार, राहत र केही अस्थायी आवास निर्माण लगायतका काममा आफूहरुले सकेको काम गरेको भन्दै आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले पुनर्निर्माणको काम सबै संघीय सरकारको भएकाले छिटोभन्दा छिटो यसलाई अघि बढाउन अनुरोध गरे । ‘हामीले स्थानीय सरकारका तर्फबाट सकेको गरिरहेका छौं । तर समस्या समाधानका लागि संघीय सरकारले प्राथमिकताका साथ काम गर्नुप¥यो,’ उनले भने । दुई वर्षसम्म झरी, हुरी, बादल र गर्मी टहरामै खपेका पीडितहरु यसप्रकारको सास्ती, पुनर्निर्माणको गतिका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

  • दुई बुँदे सहमतिमा टुंगियो वीरेन्द्रनगरको शिक्षक आन्दोलन

    दुई बुँदे सहमतिमा टुंगियो वीरेन्द्रनगरको शिक्षक आन्दोलन

    नगर शिक्षा समतिमा संगठनको प्रतिनिधित्व, स्थानीय ऐनमा विव्यसको अधिकार राख्ने सहमति

    वीरेन्द्रनगरमा आन्दोलित शिक्षक, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच दुई बुँदे सहमति भएको छ । गएको आइतबारदेखि पाँच दिनसम्म चलेको विव्यस, शिक्षकहरुको आन्दोलन बिहिबार दुई बुँदे सहमतिमा टुंगिएको छ । सहमति पछि आन्दोलित समूहले वीरेन्द्रनगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र शिक्षा अधिकृतको कार्यकक्षमा लगाईएका ताला खोलेका छन् ।
    बिहिबार नगर प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समतिका प्रमुख, शिक्षा शाखा प्रमुख, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति महासंघका पदाधिकारी तथा शिक्षकहरुका विभिन्न संगठनका प्रतिनिधिहरुबीच छलफल भएको थियो । नगरपालिकाको कार्यालयमा भएको छलफलका क्रममा दुई वटा निर्णय भएका छन् ।
    विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका महासचिव चित्रनाथ योगीका अनुसार नगरपालिकाका प्रमुखको कार्यकक्षसहित विभिन्न शाखामा असन्तुष्ट पक्षले लगाएका ताला खोल्ने पहिलो सहमति भएको छ । दोस्रोमा वीरेन्द्रनगरको शिक्षा ऐन, २०७४ लाई संशोधनका लागि आगामी नगरसभामा पठाउने सहमति भएको छ । उक्त ऐनमा नगर शिक्षा समितिमा नगर शिक्षक महासंघको प्रतिनिधित्व र विद्यालय व्यवस्थापन समितिको कार्यक्षेत्रका विषयमा आवश्यक संशोधन गर्नका लागि नगरसभामा प्रस्ताव पेश गर्ने सहमति भएको उनले जानकारी दिए ।
    नगरपालिकाले बिहिबार बिहान असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । ‘वार्ता पछि सेवाग्राहीलाई परेको असरलाई मध्यनजर गर्दै कार्यकक्षमा लागेका ताला खोलिएको छ, वार्ता पनि सकारात्मक भएको छ,’ विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका महासचिव योगीले भने, ‘नगर शिक्षा समितिमा शिक्षक महासंघको प्रतिनिधित्व गर्ने र नगरको ऐन, कार्यविधि तथा संघीय शिक्षा नियमावलीबीच बाझिएका कुरा संशोधन गर्ने सहमति भयो ।’
    शिक्षकको दरबन्दी मिलानका क्रममा समस्यामा परेका शिक्षकहरुका लागि नगरपालिकाले सम्बोधन गर्ने मौखिक सहमति भएको उनले बताए । समस्यामा परेको शिक्षकहरुले नगरपालिकामा आफ्ना कुरा राखेमा नगरपालिकाले सम्बोधन गर्ने कुरा वैठकमा आएको योगीले बताए । तत्कालका लागि दरबन्दी मिलान, विद्यालय समायोजन जस्ता विषयमा छुट्टै सहमति गर्नुनपरेको उनले बताए । यसमा नगरपालिकालाई संघीय सरकारबाट आएको निर्देशन र महालेखाबाट आएको टिप्पणीका आधारमा नगरपालिकाले आफैंले निर्णय गरेको भन्ने विषयमै असन्तुष्ट पक्ष सहमत भएको उनको भनाई छ ।
    वीरेन्द्रनगर नगरपालिकाले आफूले बनाएको कार्यविधिअनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक तोक्ने, शिक्षकको सरुवा तथा दरबन्दी मिलान गर्ने, उनीहरुलाई कामकाजमा खटाउने, विद्यालय गाभ्ने र स्वीकृति दिने निर्णय गरेपछि आइतबारदेखि विव्यस तथा शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । असोज २७ गते नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजनको निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गरी कात्तिक १२ गते नगरपालिकाले सार्वजनिक गरेको थियो ।
    नगरपालिकाको निर्णयअनुसार नगरभित्रका ६० वटै विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन, ९८ जना शिक्षकको दरबन्दी मिलान तथा सरुवा, ६ वटा विद्यालय समायोजन, ४ वटा विद्यालयको तह घटुवा, ४ वटा माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनको प्रक्रिया बढाउने, एउटा आधारभूत विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि माध्यमि तह सञ्चालनको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
    यी निर्णयमध्येमा विशेषगरी दुईवटा निर्णयहरु प्रधानाध्यापक व्यवस्थापन र शिक्षक सरुवाको विषयमा व्यवस्थापन समिति र शिक्षकहरुले असहमति जनाएका थिए । नगरपालिकाले संघीय शिक्षा ऐन तथा नियमावली विपरित यस्तो निर्णय गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । असन्तुष्त पक्षले गत शुक्रबार नगरपालिकाले गरेका निर्णय फिर्ता लिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए । तत्काल सम्बोधन हुने अवस्था नदेखिएपछि उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका थिए । आन्दोलनका क्रममा आइतबार नै नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र शिक्षा अधिकृतको कार्यकक्षमा तालासमेत लगाएका थिए ।
    सामुदायिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गर्ने अधिकारी व्यवस्थापन समितिलाई भएपनि नगरपालिकाले त्यसमाथि हस्तक्षेप गरेको भन्दै विद्यालय व्यवस्थापन समिति महासंघले सम्बद्ध समूहलाई साथमा लिएर विरोध गरेको थियो । शिक्षा नियमावली, २०५९ को नियम ९३ (२) मा सामुदायिक विद्यालयमा प्रधानाध्यापक रिक्त भएमा नियुक्तिका लागि योग्यता खुलाएर सम्बन्धित विद्यालय व्यवस्थापन समितिले दरखास्त आह्वान गर्ने व्यवस्था गरिएको छ ।
    वीरेन्द्रनगर नगरपालिकाले भने आफूले बनाएको विद्यालय समायोजन तथा दरबन्दी मिलान एवम् प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम असोज २७ र कात्तिक १२ गतेका निर्णयहरु गरेको थियो । कार्यविधिको दफा १६ मा प्रधानाध्यापक छनोटका मापदण्डसम्बन्धी व्यवस्था गरिएको छ । दफा १६ को उपदफा १ खण्ड (क) मा कार्यविधि लागु हुनुअघि प्रचलित कानुनुअनुसार विद्यालयमा प्रधानाध्यापक हुनका लागि न्युनतम योग्यता पुगेको शिक्षक कार्यरत रहेको तर प्रधानाध्यापक पदमा कार्यरत नभएको विद्यालयमा वरिष्ठतम शिक्षकलाई प्रधनाध्यापक वा निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर काम गराउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिने र उक्त निर्देशन नगरको यही कार्यविधिअनुसार भएको मानिने भनिएको छ । विद्यालयले उक्त निर्देशन कार्यान्वयन नगरे कार्यविधिले निर्धारण गरेको मापदण्डाका आधारमा प्रधानाध्यापक व्यवस्थापन नगरपालिकाले गर्ने व्यवस्था गरिएको छ । यीलगायतका कार्यविधिमा भएको व्यवस्थापनका आधारमा नगरपालिकाले निर्णय गरेको थियो ।
    सहमति हुनुअघि बीचबीचमा नगरपालिका र असन्तुष्ट पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर एकअर्काको खण्डन गरेका थिए । असन्तुष्ट पक्षले नगरपालिकाले संघीय ऐनविपरित रहेर राजनीतिक रुपमा निर्णय गरेको भन्दै आरोप लगाउँदै आएको थियो । नगरपालिकाले त्यसको खण्डन गरेको थियो ।

  • झण्डै नौ सय महिलाको ज्यान जोगाएको ‘महिला उत्थान’ कार्यक्रम

    झण्डै नौ सय महिलाको ज्यान जोगाएको ‘महिला उत्थान’ कार्यक्रम

    संघीय सरकारले २०७५ पुस ७ गते हुम्लाको चंखेली गाउँपालिकाकी सुत्केरीलाई उद्दार गरी सुविधायुक्त अस्पतालमा पु¥याएर ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमको सुरुआत गरेको थियो । स्थानीय अस्पतालमा सुत्केरी हुन नसकेका, सुत्केरीपछि पनि जटिलता उत्पन्न भएका तर आफ्नै खर्चमा हवाई सेवा प्रयोग गरी सुविधायुक्त अस्पताल पुग्न नसक्ने वर्गका महिलाहरुका लागि सरकारले यो कार्यक्रमको अवधारणा अघि सारेको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्दार गरी मातृमृत्यु र बालमृत्यु दर घटाउने पनि यो कार्यक्रमको उद्देश्य थियो ।
    पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका १९ वटा पहाडी तथा हिमाली जिल्लामा पूर्ण र अन्य २९ जिल्लामा आंशिक रुपमा लागु गरिएको यो कार्यक्रमले सुरु भएयता देशभरका ८७५ जना गर्भवती तथा सुत्केरी र उनीहरुबाट जन्मिएका शिशुको ज्यान जोगाएको छ । अहिले यो कार्यक्रम देशका ४८ जिल्लामा लागु गरिएको छ । कर्णालीका ६ वटा जिल्लालाई यो कार्यक्रमले प्रत्यक्ष लाभान्वित बनाएको छ ।
    आर्थिक वर्ष २०७५÷०७६ देखि सुभारम्भ भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका झण्डै ९ सय महिला तथा शिशुको ज्यान जोगाएको छ । ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा, अछाम र दार्चुलामा यो कार्यक्रम पूर्णरुपमा लागु भएको छ ।
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म यस कार्यक्रममार्फत कर्णालीका ६ सहित कार्यक्रम लागु भएका जिल्लाहरुबाट आठ सय ७५ गर्भवती र सुत्केरी आमाले निशुल्क हवाई सेवा प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म मात्र ३० जनाको उद्दार भइसकेको मन्त्रालयले जनाएको छ ।
    दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यानै जोखिममा परेका महिलाहरुलाई हवाई उद्दार गरी तोकिएको अस्पतालमा पु¥याएर विशेषज्ञसहितको निशुल्क सेवा प्रदान गर्दै आएको मन्त्रालयको महिला सशक्तीकरण महाशाखाअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अञ्जु ढुङ्गानाले बताईने । उनका अनुसार हवाई उद्दार गरी सुविधासम्पन्न अस्पतालसम्म ल्याईएका गर्भवती र सुत्केरीलाई पोषण स्याहार तथा यातायात सहयोगवापत एकमुष्ट २० हजार रुपैयाँ पनि उपलब्ध गराउने गरिएको छ ।
    ‘हवाई उद्दार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याईएकी गर्भवती तथा सुत्केरी महिलालाई प्रदान गरिने पोषण, स्याहार तथा यातायात सहयोग रकम बैंक खातामा जम्मा हुन्छ,’ ढुङ्गानाले भनिन्, ‘गर्भवती तथा सुत्केरी महिलाको बैंक खातामा रकम जम्मा हुन नसक्ने अवस्थामा सम्बन्धित अस्पतालबाट नगद भुक्तानी हुन्छ ।’
    प्रमुख महिला विकास अधिकृत ढुङ्गानाका अनुसार सुत्केरी अवस्थामा लगातार लामो समयसम्म सुत्केरी बेथा (१८ घण्टा भन्दा बढी) लागेर बच्चा जन्मन कठिनाइ भएको अवस्थामा हवाई उद्दार सेवा दिईन्छ । बच्चाको हात, खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएमा, शिशु जन्मेको ३० मिनेटसम्म पनि सालनाल ननिस्केमा, गर्भमा नै बच्चाको मृत्यु भएको अवस्थामा पनि यो कार्यक्रममार्फत हेलिकप्टर सेवा उपलब्ध गराउने गरिएको छ । ‘गर्भावस्थामा महिलाको हात, खुट्टा र शरीर अधिक सुन्निएको अवस्थामा, प्रसुतिपछिको अवस्थामा अधिक रक्तश्राव भएमा निशुल्क हवाई उद्दार गरिन्छ,’ उनले भनिन्, ‘सुत्केरी हुने क्रममा उच्च रक्तचाप जस्ता समस्या, पाठेघर फुटेको लक्षण देखिएका महिलाको पनि तत्काल उद्दार हुन्छ ।’
    पाठेघरभन्दा बाहिर बच्चा बसेमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर सास फेर्न गाह्रो भएमा र रक्तअल्पताबाट ग्रसित गर्भवती तथा सुत्केरीलाई निशुल्क हवाई उद्दार सेवा प्रदान गर्ने गरिएको उनले बताइन । यसै कार्यक्रममार्फत विशेष परिस्थिति अर्थात बाढी, पहिरो, भूकम्प, हावाहुरी, हुण्डरी, महामारी, विपदका सडक सञ्जाल अवरुद्ध भएको अवस्थामा पनि गर्भवती, सुत्केरी र बच्चालाई हेलिकप्टरबाट उद्दार गर्ने गरिएको छ ।
    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेवा लिन गर्भवती तथा सुत्केरी अवस्थामा जटिल समस्या देखिएको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिससहित मन्त्रालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । जसमा सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसपत्रका साथै स्थानीय तहको सिफारिसपत्र पनि समावेश गर्नुपर्ने हुन्छ । प्रक्रिया पु¥याएर आएपछि कार्यविधिले तोकेबमोजिम दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्दार गरी तोकिएका पायक पर्ने अस्पतालमा पु¥याउने गरिएको ढुंगानाले बताईन् ।
    हवाई उद्दार गरिएका गर्भवती र सुत्केरी महिलाहरुको कोशी अञ्चल अस्पताल मोरङ, सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल जनकपुर नारायणी, उप–क्षेत्रीय अस्पताल पर्सा विरगन्ज, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, भरतपुर अस्पताल चितवनमा उपचार हुने गरेको छ । गण्डकी प्रदेश अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती उप–क्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल नेपालगञ्ज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढीमा यो कार्यक्रममार्फत हवाई उद्दार गरिएका महिला एवम् शिशुको उपचार हुँदै आएको छ ।

  • सडकसँग जोडियो डोल्पा अस्पताल

    सडकसँग जोडियो डोल्पा अस्पताल

    ठूलीभेरी नदीमाथि बनाईएको बेलिब्रिजको उद्घाटनपश्चात डोल्पा जिल्ला अस्पताल सडकको पहुँचमा पुगेको छ । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जिल्ला अस्पताल जोड्ने भेरी नदीमाथिको बेलिब्रिज पुल उद्घाटन गरेका छन् । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट ठूलीभेरी नदीमा निर्माण भएको उक्त पुलको मुख्यमन्त्री कँडेलले उद्घाटन गरेका हुन् ।
    मुख्यमन्त्री कँडेलले सकारात्मक सोच र सामूहिक प्रयासले मात्रै विकास गर्न सकिने बताए । बजेट भएर मात्रै विहास नहुने भन्दै उनले सबैले आ–आफ्नो तर्फटबाट प्रयास गर्नुपर्ने बताए । यस्तै प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बेलिब्रिज पुल निर्माणपछि अस्पताल मात्र नभई फोक्सुण्डो ताल पुग्ने पर्यटकका लागि सहज हुने बताए ।
    ४ करोड १७ लाखमा बनेको उक्त पुल जिल्लामै सबैभन्दा लामो बेलिब्रिज भएको र यसले जिल्ला अस्पतालसँगै हेलिप्याडसम्म सडक जोड्ने भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए । निर्माणको जिम्मा रिडार्क नेपालले लिएको हो । काम सुरु गरेको साढे पाँच महिनामै काम सम्पन्न भएको थियो । ‘कार्यालयको चासो, समन्वय र सक्रियता भयो भने छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा यो पुल बनेको छ,’ उनले भने । जिल्ला सदरमुकामसम्म मोटरबाटो पुगेर पनि पुल नहुँदा दुर्गमजस्तै भएको जिल्ला अस्पताल अब भने सहज हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले भनाई छ ।
    यस्तै मुख्यमन्त्री कँडेलले आजै स्वर्गीय क्याप्टेन दिनेश न्यौपानेको शालिक पनि उद्घाटन गरेका छन् । न्यौपानेको शालिक सदरमुकाम दुनैको प्रवेशद्वारमै बनाइएको छ । २०७२ सालमा कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा उनको मृत्यु भएको थियो । उनको उडानमा सवार नौ जना यात्रु भने सकुशल रहेका थिए ।

  • एक बर्ष लम्बियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

    एक बर्ष लम्बियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

    सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण लाईन निर्माणको ठेक्का लागेको दुई बर्ष भइसक्दा पनि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन सकेको छैन । हालसम्म उक्त प्रसारण लाइन विस्तारको काम ४० प्रतिशत सम्पन्न भएको छ । ३२ किलोमिटर दूरी रहने प्रसारण लाइनमा १०२ वटा एङ्गल टावर निर्माण गर्नुपर्ने छ । २०८० मा निर्माण कम्पनी सिग्मा काठमाडौंसँग प्रसारण लाइन निर्माणको लागि सम्झौता भएको थियो । रुख कटानको कानुनी अल्झनका कारण आयोजनाले गति लिन नसकेको हो । उक्त लाइन निर्माणका लागि ८० करोड लागत लाग्ने भएको छ । २०८२ भित्र प्रसारण लाइन निर्माणको काम पूरा गरिसक्नुपर्ने सम्झौता भएको थियो ।
    सुर्खेतको सुब्बाकुना सवस्टेशनबाट सुरु भई दैलेखको चुप्रा सवस्टेशनमा गएर टुङ्ग्निे यो आयोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा विस्तार हुँदै विस्तार गर्न लागिएको छ । सुर्खेत–दैलेख खण्डमा साना र ठूला गरी झण्डै १९ हजार बढी रुख कटान गर्नुपर्ने १३२ केभी विद्युत प्रसारण लाइन आयोजना सुर्खेतका प्रमुख रविकुमार चौधरीले बताए । रुख कटानको फाइल वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको भएपनि हालसम्म अनुमति प्राप्त नभएको उनले बताए ।
    उनका अनुसार हालसम्म सुर्खेतको धुलियाबिटमा एक र दैलेखको गुराँस गाउँपालिकाको घोडावास क्षेत्रमा तीन वटा गरी चार वटा एङ्गल टावर निर्माण सम्पन्न भएका छन् । रुख कटानको अल्झन नसुल्झिएपछि अहिले जंगल क्षेत्र छोडेर अन्य स्थानमा ५० प्रतिशत टावरका फाउण्डेशन तयार भएको चौधरीले जानकारी दिए । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, चुप्रामा बन्ने सवस्टेसन निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । सम्झौता मितिमा रुख कटानको अनुमती प्राप्त नभएपछि आयोजनालाई एक वर्ष समय थप पनि गरिएको उनले बताए ।
    यसअघि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका क्रममा पनि राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि समयमै अनुमति नपाउँदा लम्बिएको थियो । ७० करोड लागतको कोहलपुर–सुर्खेत प्रसारण आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता भई काम अघि बढेको थियो । तर, प्रशारण लाइन विस्तार हुने क्षेत्रका रुख कटान गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लामो समयदेखि बाधक बन्दै आएका थिए । २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजनाले सबै खाले विवादबाट उन्मुक्ति पाएको छ । आयोजनाका अनुसार आगामी मंसिर मसान्तभित्र सुर्खेतको सुब्बाकुना सवस्टेशनमा चार्ज गर्ने अन्तिम तयारी छ ।
    कर्णाली प्रदेशमा ठूलो क्षमताको विद्युत बोक्न सक्ने प्रसारण लाइन निर्माण थालिएको यो पहिलो पटक हो । कर्णाली बाहेक अन्य प्रदेशमा ५० कै दशकमा यस्ता प्रशारण आयोजना विस्तार भइसकेका छन् । कर्णालीको पहिलो खण्डअन्तर्गत कोहलपुर–सुर्खेत प्रसारण लाइनबाट सुब्बाकुना सवस्टेशनमा झारिने बिजुली दोस्रो खण्ड सुर्खेत–दैलेख प्रशारण लाइनमा जोडिने छ । सुर्खेत–दैलेख प्रशारण लाइन अन्तर्गत दैलेखमा निर्माण हुने सवस्टेशनबाट पुनः कालिकोट र जुम्लासम्म १३२ केभी प्रसारण लाइन विस्तार हुनेछ ।
    दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, बेलघारीस्थित सवस्टेशनबाट सुरु यो प्रसारण लाइन नारायण नगरपालिका, नौमुले गाउँपालिका हुँदै कालिकोट पु¥याइने छ । यस्तै, कालिकोटको तिलागुफा नगरपालिका महावै गाउँपालिका हुँदै जुम्ला पु¥याइने छ । जुम्लाको हिमा, तातोपानी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिका वडा नम्वर ९ स्थित बयलकटियामा बन्ने सवस्टेशनसम्म गएर आयोजनाअन्तर्गतको १३२ केभी प्रसारण लाइन टुंगिने छ । डबल सर्किट उक्त प्रसारण लाईनको लम्बाई कुल ८२.१४ किलोमिटर लामो रहनेछ ।
    कोहलपुरदेखि जुम्लासम्म लाइन विसतार गर्दा २७९ वटा टावरहरु निर्माण गरिनेछ । यस आयोजना अन्तर्गत दैलेख–कालिकोट र जुम्ला जिल्लामा १३२÷३३÷११ केभी सवस्टेशनहरु निर्माण हुनेछन् । आयोजना निर्माणको लागि कुल एक सय ५० दशमलव ३३ हेक्टर जमिन आवश्यक पर्ने विद्युत विकास विभागले जनाएको छ । जसमध्ये २७९ टावरहरुका लागि स्थायी रुपमा करिब १२ दशमलव चार हेक्टर जग्गा आवश्यक पर्नेछ । यसबाहेक विद्युत मार्गको अधिकार क्षेत्र भित्र राइट अफ वेअन्तर्गत १३२ दशमलव ६९ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्युनतम दूरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट १८ मिटर (मध्य विन्दुबाट नौ÷नौ मिटर दायाँ र बायाँ) कायम गरिनेछ । प्रसारण लाईनको निर्माण कार्य साढे दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।

  • वीरेन्द्रनगरमा विव्यस–शिक्षक आन्दोलनः नगरको कार्यविधिमाथि विव्यस र शिक्षकको रोष

    वीरेन्द्रनगरमा विव्यस–शिक्षक आन्दोलनः नगरको कार्यविधिमाथि विव्यस र शिक्षकको रोष

     

    आइतबार वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा भेला भएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक र सुरक्षामा खटिएका सुरक्षाकर्मीबीच सामान्य धरपकड भयो । व्यवस्थापन समिति र शिक्षकहरु आन्दोलन गर्न नगरपालिकाको कार्यालय परिसरमा जम्मा भएका थिए । आन्दोलनले ठूलो रुप लिन थालेपछि सुरक्षाकर्मीले मध्यस्थता गर्न खोजे । त्यही क्रममा दुई पक्षबीच सामान्य धरपकड भयो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर तत्काल छोडेको थियो ।
    वीरेन्द्रनगर नगरपालिकाले आफूले बनाएको कार्यविधिअनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक तोक्ने, शिक्षकको सरुवा तथा दरबन्दी मिलान गर्ने, उनीहरुलाई कामकाजमा खटाउने, विद्यालय गाभ्ने र स्वीकृति दिने निर्णय गरेको छ । यसैको विरोधमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । असोज २७ गते नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजनको निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गरी कात्तिक १२ गते नगरपालिकाले सार्वजनिक गरेको थियो ।
    नगरपालिकाको निर्णयअनुसार नगरभित्रका ६० वटै विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन, ९८ जना शिक्षकको दरबन्दी मिलान तथा सरुवा, ६ वटा विद्यालय समायोजन, ४ वटा विद्यालयको तह घटुवा, ४ वटा माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनको प्रक्रिया बढाउने, एउटा आधारभूत विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि माध्यमि तह सञ्चालनको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
    यी निर्णयमध्येमा दुईवटा निर्णयहरु प्रधानाध्यापक व्यवस्थापन र शिक्षक सरुवाको विषयमा व्यवस्थापन समिति र शिक्षकहरुले असहमति जनाएका छन् । नगरपालिकाले संघीय शिक्षा ऐन तथा नियमावली विपरित यस्तो निर्णय गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले गत शुक्रबार नगरपालिकाले गरेका निर्णय फिर्ता लिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए । तत्काल सम्बोधन हुने अवस्था नदेखिएपछि उनीहरले आइतबारदेखि आन्दोलन सुरु गरेका छन् । आइतबार नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र शिक्षा अधिकृतको कार्यकक्षमा तालासमेत लगाईएको छ ।
    विद्यालय व्यवस्थापन समितिहरुले शिक्षा ऐन तथा नियमावलीले दिएको समितिको अधिकारमाथि हस्तक्षेप गरेर नगरपालिकाले निर्णय गरेको टिप्पणी गरेका छन् । ‘हामीले नगरपालिकाको यो निर्णय भएको थाहा पाएदेखि सार्वजनिक हुनु अघिसम्म मौखिक रुपमा ध्यानाकर्षण गराईरहेका थियौं, सूचना आएपछि ज्ञापनपत्र बुझायौं,’ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका महासचिव चित्रनाथ योगीले भने, ‘उहाँहरुले हाम्रो माग सुनुवाई नगर्ने र वार्ताका लागि पनि पन्छिने अवस्था आएपछि आन्दोलन गर्न बाध्य भएका हौं, हामीले भनेअनुसार निर्णय नभएसम्म हामी चरणबद्ध आन्दोलनका कार्यक्रम गर्नेछौं ।’
    वीरेन्द्रनगरले शिक्षा ऐन र नियमावलीसँग बाझिनेगरि आफूखुशी कार्यविधि बनाएर निर्णय गरेको उनले बताए । सामुदायिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गर्ने अधिकारी व्यवस्थापन समितिलाई भएपनि नगरपालिकाले त्यसमाथि हस्तक्षेप गरेको उनी बताउँछन् । शिक्षा नियमावली, २०५९ को नियम ९३ (२) मा सामुदायिक विद्यालयमा प्रधानाध्यापक रिक्त भएमा नियुक्तिका लागि योग्यता खुलाएर सम्बन्धित विद्यालय व्यवस्थापन समितिले दरखास्त आह्वान गर्ने व्यवस्था गरिएको छ ।
    नगरपालिकाले प्राधनाध्यापक रिक्त नभएकै विद्यालयमा पनि समितिको अधिकारमाथि हस्तक्षे गरी प्रधानाध्यापक व्यवस्थापन गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रदेश अध्यक्ष गोविन्द कोइरालाले बताए । ‘शिक्षा नियमावलीले प्रधानाध्यापकको नियुक्त गर्ने अधिकार स्पष्ट व्यवस्थापन समितिलाई दिएको छ, तर नगरपालिकाले आफूखुशी कार्यविधि बनाएर गरेको निर्णय हाम्रा लागि मान्य छैन ।’ उनले भने ।
    वीरेन्द्रनगर नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलान एवम् प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि, २०८२ बनाएको छ । नगरपालिकाले सोही कार्यविधिमा टेकेर सामुदायिक विद्यालयसँग सम्बन्धित अहिलेका निर्णयहरु गरेको हो ।
    कार्यविधिको दफा १६ मा प्रधानाध्यापक छनोटका मापदण्डसम्बन्धी व्यवस्था गरिएको छ । दफा १६ को उपदफा १ खण्ड (क) मा कार्यविधि लागु हुनुअघि प्रचलित कानुनुअनुसार विद्यालयमा प्रधानाध्यापक हुनका लागि न्युनतम योग्यता पुगेको शिक्षक कार्यरत रहेको तर प्रधानाध्यापक पदमा कार्यरत नभएको विद्यालयमा वरिष्ठतम शिक्षकलाई प्रधनाध्यापक वा निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर काम गराउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिने र उक्त निर्देशन नगरको यही कार्यविधिअनुसार भएको मानिने भनिएको छ । विद्यालयले उक्त निर्देशन कार्यान्वयन नगरे कार्यविधिले निर्धारण गरेको मापदण्डाका आधारमा प्रधानाध्यापक व्यवस्थापन नगरपालिकाले गर्ने व्यवस्था गरिएको छ । यीलगायतका कार्यविधिमा भएको व्यवस्थापनका आधारमा नगरपालिकाले निर्णय गरेको थियो ।
    विव्यस महासंघका प्रदेश अध्यक्ष कोइरालाले शिक्षा ऐन तथा नियमावलीको व्यवस्थाविपरित विद्यालय व्यवस्थापन समितिको क्षेत्रधिकार मिचेको र शिषकलाई कानुनविपरित सरुवा गरी नगरपालकाले आतंकित पारेको टिप्पणी गरेका छन् । उनले आइतबार नगरपालिकामा गरिएको शान्तिपूर्ण विरोधमा हस्तक्षेप गरिएको आरोप पनि लगाएका छन् ।
    प्रधानाध्यापक व्यवस्थापनबाहेक नगरपालिकाले गरेका शिक्षक सरुवा तथा दरबन्दी मिलान, विद्यालय समायोजनका निर्णय पनि शिक्षक, विद्यार्थी र समुदाय अनुकुल नभएकाले फिर्ता लिनुपर्ने विद्यालय व्यवस्थापन समिति महासंघ सुर्खेतका अध्यक्ष चन्द्रा लामिछानेले बताईन् ।
    नगरपालिकाको निर्णयको विरोध गरिरहेका पक्ष र नगरपालिकाबीच छलफलको लागि भने टुंगो लागेको छैन । आन्दोलित पक्षले नगरपालिकाले आफूहरुसँग बसेर यस विषयमा छलफल गरी निकास खोज्नुपर्ने भनेको छ । ‘छलफल त हुन्छ, तर कहिले गर्ने भन्ने यकिन भएको छैन,’ नगरपालिकाका प्रमुख शिक्षा अधिकृत दीपककुमार शाहीले भने, ‘नगरप्रमुखसँग यस विषयमा सहकार्य भईरहेको होला, उहाँहरुले यकिन गर्नुहुन्छ ।’

  • हिउँदे अधिवेशनका लागि कामचलाउ वैठक कक्ष बनाइँदै

    हिउँदे अधिवेशनका लागि कामचलाउ वैठक कक्ष बनाइँदै

    कर्णाली प्रदेश सभा सचिवालय परिसरभित्र अधिवेशनका लागि अस्थायी सभाहल निर्माण गर्ने प्रक्रिया अघि बढाईएको छ । आगामी हिउँदे अधिवेशन अगावै निर्माण सक्नेगरि प्रदेश सभाको कामचलाउ सभाहल निर्माण गर्न अध्ययन सुरु गरिएको हो । कामकाज सुचारु राख्न र संवैधानिक प्रावधानअनुसार हिउँदे अधिवेशन बोलाउनका लागि कार्यव्यवस्था समितिको बैठकले तत्काल वैकल्पिक व्यवस्थाका लागि अध्ययन गर्ने निर्णय गरेको हो ।
    तत्काल पुरानो भवन पुनर्निर्माण गर्न सकिने अवस्था नभएपछि कामचलाउ सभाहल बनाउन लागिएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । हाल सभामुख र उपसभामुखको कार्यकक्ष रहेको पूर्वतर्फको सानो हललाई कामचलाउ सभाकक्ष बनाउनेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । प्रदेश सभा भवन ध्वस्त भएपछि बुधबार पहिलो पटक सभाबारे छलफल गर्न कार्य व्यवस्था समितिको बैठक बसेको थियो । उक्त बैठकमा विभिन्न विकल्पमाथि छलफल चलेको थियो । समितिको वैठकबाटै हाल कामचलाउ सभाहल बनाउने निर्णय भएको हो ।
    हाल बन्ने कामचालाउ सभाहलमा ४० जना सदस्यलाई सामान्य खालका कुर्सी राखेर सभा सञ्चालन गर्न सकिने अनुमान गरिएको छ । कामचलाउ हलमा दर्शक दीर्घाको व्यवस्था गर्न सकिने अवस्था नरहेको बुढाथोकीले बताए । उनका अनुसार आवश्यकताका आधारमा ‘प्रि–फ्याब’ सामग्री जोडेर सुविधा प्रदान गर्न सकिनेबारे पनि अध्ययन भइरहेको छ । इन्जिनियरहरुको टोलीले यसको संरचनाबारे अध्ययन सुरु गरेको उनले बताए । कम्तिमा दुई वटा अधिवेशनमा कामचलाउ सभाहलबाटै सञ्चालन गर्न सकिनेगरि बनाउने योजना प्रदेश सभा सचिवालयको छ ।
    प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार हाल सभामुखको सरकारी निवासबाटै कर्मचारीले कामकाज गरिरहेका छन् । निवासमा तोडफोड भए पनि आगजनी नभएकाले त्यहीँबाट कार्यालयको कार्यसम्पदान भईरहेको उनले बताए । एउटै कोठामा दुई वटा कम्प्युटर जडान गरी पालैपालो काम गरिरहेको पौडेलले बताए ।
    कामचलाउ सभा निर्माणका लागि बजेटबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको थियो । प्रारम्भिक चरणमा नियमित बजेटबाट काम गर्ने र नियमित बजेट अपुग भए प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिएको छ । तत्काल निर्माणका लागि आवश्यक फर्निचर, विद्युतीय सामान खरिद तथा अन्य सामान्य मर्मतमा २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
    तत्काल प्रदेश सभा भवनको पूर्ण रुपमा निर्माण गर्न कठिन भएको कार्यव्यवस्था समितिले निश्कर्ष निकालेको छ । ध्वस्त भएका संरचनाको प्राविधिक जाँचबुझ, डिजाइन, बजेट विनियोजन र निर्माण प्रक्रिया पूरा गर्न लामो समय लाग्ने सचिव जीवराज बुढाथोकीले बताए ।
    गत भदौ २३÷२४ गते भएको जेन–जी आदोलनको क्रममा तोडफोड र आगजनी गरी भवनमा ठूलो क्षति पु¥याईएको थियो ।
    यी हुन् क्षति भएका कार्यालय, कुनमा कति क्षति ?
    जेनजी आन्दोलनका क्रममा सुर्खेतमा रहेका २५ वटा कार्यालयमा क्षति भएको थियो । यी कार्यालयहरुमा १९ करोड ७५ लाख ४५ हजार ६३९ रुपैयाँ २९ पैसा बरारबको क्षति भएको प्रशासनको अनुमान छ । केही गत असोजमा कार्यालय प्रमुखहरुको रोहबरमा प्रशासन क्षतिको मूल्याङ्कन गरेको थियो । जसअनुसार बसैभन्दा धेरै क्षति प्रदेश सभा भवनमै भएको देखिन्छ । प्रदेश सभामा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाा ४८ पैसा बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
    यस्तै जिल्ला समन्वय समितिको भवनमा ४ लाख ३ हजार, सडक डिभिजन सुर्खेतको भवनमा २ लाख ४ हजार, भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन योजना कार्यालयमा ६० हजार, नापी कार्याललयमा २ करोड ६३ लाख ६० हजार ९९०, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा ४ लाख १० हजार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा १३ लाख ३४ हजार ७०७ रुपैयाँ ९२ पैसा, सामाजिक विकास मन्त्रालयमा ३ लाख ५९ हजार ९००, मुख्य न्यायाधिवक्ताको कार्यालयमा १ करोड १४ लाख ६० हजार, प्रदेश लेखा नियन्त्रक कार्यालयमा १ करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको क्षति आन्दोलनबाट भएको छ ।
    यसैगरी, मुख्यमन्त्रीको सरकारी निवासमा १ करोड ७९ हजार, जलस्रोत तथा उर्जा विकास मन्त्रीको सरकारी निवासमा ६ लाख ३१ हजार १८५, वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा २ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
    आन्दोलनका क्रममा वीरेन्द्रनगरका १–१२ नम्बर वडा कार्यालयहरुमा पनि ठूलो क्षति पुगेको थियो । यी कार्यालयमध्ये वीरेन्द्रनगरको वडा नम्बर १ को कार्यालयमा ३५ लाख, २ को कार्यालयमा ३९ लाख ६० हजार ५ सय, वडा नम्बर ३ को कार्यालयमा २२ हजार ५ सय, वडा नम्बर ४ को कार्यालयमा ८५ लाख ३५ हजार, ५ को कार्यालयमा ४६ लाख ७५ हजार, ६ को कार्यालयमा १ करोड ३७ लाख ७४ हजार, वडा नम्बर ७ को कार्यालयमा १८ लाख ९६ हजार ५००, ८ को कार्यालयमा १ करोड ४८ लाख ५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    यस्तै वडा नम्बर ९ को कार्यालयमा ३९ लाख ६० हजार १ सय, १० को कार्यालयमा ३५ लाख २५ हजार ९ सय, वडा नम्बर ११ को कार्यालयमा ४१ लाख ४३ हजार ४ सय र वडा नम्बर १२ को कार्यालयमा ६१ लाख ७३ हजार ५ सय रुपैयाँ बरारबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।

  • यी हुन् सडक डिभिजन सुर्खेतमार्फत तोडिने सडक र पुलका सात ठेक्का

    यी हुन् सडक डिभिजन सुर्खेतमार्फत तोडिने सडक र पुलका सात ठेक्का

    सरकारले पूर्वाधारतर्फका रुग्ण रहेको ठेक्का धमाधम तोड्न थालेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न आफ्ना मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही अनुसार देशभरका निकायले सिँचाई, सडक, पुल लगायतका आयोजनाका रुग्ण ठेक्का तोड्ने प्रक्रियाको थालनी गरेका छन् ।
    सोही अनुसार सडक डिभिजन कार्यालय सुर्खेतले जिल्लाभित्र भएका सात वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन सुर्खेतले यही कात्तिक ९ गते जिल्लाका ७ वटा सडक तथा पुलका ठेक्का सम्झौता अन्त्य गर्नेगरि १५ दिने सूचना निकालेको हो । सूचनाअनुसार कात्तिक २३ गतेभित्र ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने उचित कारण भए सम्बन्धित निर्माण व्यवसायी कारणसहित सडक डिभिजन सुर्खेतमा पुगेर स्पष्ट पार्नुपर्छ । सूचना जारी भएपनि बिहिबार (कात्तिक १३ गते) सम्म एक जना मात्र निर्माण व्यवसायीले उपस्थिति जनाएको सडक डिभिजन सुर्खेतले जनाएको छ । यद्यपि ती निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरणमाथि अध्ययन भईरहेको कार्यालयले जनाएको छ ।
    सडक डिभिजन सुर्खेतले चार वटा पुल र तीन वटा सडकका ठेक्का सम्झौता अन्त्य गर्ने सूचना जारी गरेको छ । सार्वजनिक सूचनाअनुसार एडभेन्चर जेबी जोइन्टभेन्चर (जेभी) बाँके, जयबुद्ध–नोल मेगा बिल्डर्स जेभी सुर्खेत, कन्काई–गणपति जेभी काठमाडौं, टिडीआर कन्स्ट्रक्सन प्रालि धनगढी, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि काठमाडौं, नान्जिला एण्ड आकांक्ष मजदुर जेभी सुर्खेत र रक्षलक्ष्मी कन्स्ट्रक्सन प्रालि दैलेसँगको ठेक्का सम्झौता तोड्न प्रक्रिया थालेको हो ।
    यी निर्माण कम्पनीले २०७३÷०७४ देखि २०८०÷०८१ सम्म सुर्खेतका विभिन्न क्षेत्रमा सडक तथा पुल निर्माणका लागि ठेक्का लिएका थिए । तर तोकिएको समयभित्र कुनैपनि कम्पनीले योजना सम्पन्न गर्न सकेका छैनन् । बेलाबेला सम्बन्धित निकायबाट लिखित तथा मौखिक ताकेता गर्दासमेत सन्तोषजनक कार्यप्रगति नभएपछि डिभिजनले ठेक्का तोड्न लागेको हो ।
    सुर्खेको सहारे स्वास्थ्य चौकीदेखि बेतेनी जोड्ने सडकअन्तर्गतको गोचेखोलामा निर्माणाधीन मोटरबल पुल, गुमी–पातीहाल्न सडकअन्तर्गत पर्ने भालुकुने खोलामा निर्माणाधीन मोटरेबल पुल, छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक स्तरोन्नति, सुर्खेत–जुम्ला सडकअन्तर्गतको दैलेखमा पर्ने खुर्रा खोलामा निर्माणाधीन मोटरेबल पुल, सुर्खेत वीरेन्द्रनगर–१३ र साटाखानी बीचमा पर्ने झुप्रा खोलामा निर्माणाधीन मोटरेबल पुल, सुर्खेत–रानीमत्ता–दैलेख सडकका केही खण्ड स्तरोन्नति, दैलेखको नारायाण नगरपालिकास्थित गादापानीदेखि बलिसेरा जोड्ने सडक स्तरोन्नतिको ठेक्का तोड्न थालिएको हो । यी आयोजनाको ठेक्का आर्थिक बर्ष २०७३÷०७४ देखि २०८०÷०८१ को अवधिमा सडक डिभिजन सुर्खेतमार्फत लगाईएको थियो ।
    कार्यालयका अनुसार एडभेन्चर जेबी बाँकेले सुर्खेको सहारे स्वास्थ्य चौकीदेखि बेतेनी जोड्ने सडकअन्तर्गतको गोचेखोलामा मोटरबल पुल निर्माणको ठेक्का लिएको थियो । २०७३÷०७४ मा भएको ठेक्का सम्झौता हालसम्म पनि कार्यान्वयन भएको छैन । जयबुद्ध–नेपाल मेगा जेभी सुर्खेतले सुर्खेतको गुमी–पातीहाल्न सडकअन्तर्गत पर्ने भालुकुने खोलामा मोटरेबल पुल निर्माणको लागि २०७३÷०७४ मा ठेक्का लिएको थियो । उक्त आयोजनाको काम पनि हालसम्म अधुरै रहेको सडक डिभिजन सुर्खेतले जनाएको छ ।
    कन्काई–गणपती जेभी काठमाडौंले सुर्खेतको छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक स्तरोन्नतिको ठेक्का २०७८÷०७९ मा लिएको थियो । टीडीआर कन्स्ट्रक्सन प्रालिले २०७८÷०७९ मै सुर्खेत–जुम्ला सडकअन्तर्गतको दैलेखमा पर्ने खुर्रा खोलामा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । काष्ठमण्डप कन्स्ट्रक्सनले सुर्खेतको वीरेन्द्रनगर–१३ र साटाखानी बीचमा पर्ने झुप्रा खोलामा मोटरेबल पुल निर्माणको ठेक्का २०७३÷०७४ मा लिएको थियो ।
    नान्जिला एण्ड आकांक्ष मजदुर जेभी सुर्खेतले सुर्खेत–रानीमत्ता–दैलेख सडकका केही खण्ड स्तरोन्नति तथा विस्तार गर्न २०७८÷०७९ मा ठेक्का लिएको थियो । रक्षलक्ष्मी कन्स्ट्रक्सन प्रालि दैलेखले दैलेखको नारायाण नगरपालिकास्थित गादापानीदेखि बलिसेरा जोड्ने सडक स्तरोन्नति गर्न २०८०÷०८१ मा ठेक्का लिएको थियो । यी कुनै पनि योजनाको काम ठेक्का सम्झौताअनुसार सन्तोषजनक नभएको सडक डिभिजन सुर्खेतले जनाएको छ ।
    कर्णाली राजमार्गका पाँच ठेक्का तोडिँदै
    सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थामा रहेका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा ठेक्का तोड्न कानुनी प्रक्रिया अघि बढाएको हो । डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने राजमार्गको कालीकोट सडक खण्डका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एउटा ठेक्का तोड्ने प्रक्रियाका लागि सार्वजनिक सूचना निकालेको छ ।
    सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार आर्थिक वर्ष ०७५÷७६ देखि ०७९÷८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको र पटकपटक ताकेता गर्दासमेत सम्झौताअनुसार काम नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाईएको हो ।
    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका तथा स्रोतसाधन परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीका आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन आह्वान गरिएको छ । तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने प्रमुख चौधरीले बताए ।