सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण लाईन निर्माणको ठेक्का लागेको दुई बर्ष भइसक्दा पनि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन सकेको छैन । हालसम्म उक्त प्रसारण लाइन विस्तारको काम ४० प्रतिशत सम्पन्न भएको छ । ३२ किलोमिटर दूरी रहने प्रसारण लाइनमा १०२ वटा एङ्गल टावर निर्माण गर्नुपर्ने छ । २०८० मा निर्माण कम्पनी सिग्मा काठमाडौंसँग प्रसारण लाइन निर्माणको लागि सम्झौता भएको थियो । रुख कटानको कानुनी अल्झनका कारण आयोजनाले गति लिन नसकेको हो । उक्त लाइन निर्माणका लागि ८० करोड लागत लाग्ने भएको छ । २०८२ भित्र प्रसारण लाइन निर्माणको काम पूरा गरिसक्नुपर्ने सम्झौता भएको थियो ।
सुर्खेतको सुब्बाकुना सवस्टेशनबाट सुरु भई दैलेखको चुप्रा सवस्टेशनमा गएर टुङ्ग्निे यो आयोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा विस्तार हुँदै विस्तार गर्न लागिएको छ । सुर्खेत–दैलेख खण्डमा साना र ठूला गरी झण्डै १९ हजार बढी रुख कटान गर्नुपर्ने १३२ केभी विद्युत प्रसारण लाइन आयोजना सुर्खेतका प्रमुख रविकुमार चौधरीले बताए । रुख कटानको फाइल वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको भएपनि हालसम्म अनुमति प्राप्त नभएको उनले बताए ।
उनका अनुसार हालसम्म सुर्खेतको धुलियाबिटमा एक र दैलेखको गुराँस गाउँपालिकाको घोडावास क्षेत्रमा तीन वटा गरी चार वटा एङ्गल टावर निर्माण सम्पन्न भएका छन् । रुख कटानको अल्झन नसुल्झिएपछि अहिले जंगल क्षेत्र छोडेर अन्य स्थानमा ५० प्रतिशत टावरका फाउण्डेशन तयार भएको चौधरीले जानकारी दिए । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, चुप्रामा बन्ने सवस्टेसन निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । सम्झौता मितिमा रुख कटानको अनुमती प्राप्त नभएपछि आयोजनालाई एक वर्ष समय थप पनि गरिएको उनले बताए ।
यसअघि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका क्रममा पनि राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि समयमै अनुमति नपाउँदा लम्बिएको थियो । ७० करोड लागतको कोहलपुर–सुर्खेत प्रसारण आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता भई काम अघि बढेको थियो । तर, प्रशारण लाइन विस्तार हुने क्षेत्रका रुख कटान गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लामो समयदेखि बाधक बन्दै आएका थिए । २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजनाले सबै खाले विवादबाट उन्मुक्ति पाएको छ । आयोजनाका अनुसार आगामी मंसिर मसान्तभित्र सुर्खेतको सुब्बाकुना सवस्टेशनमा चार्ज गर्ने अन्तिम तयारी छ ।
कर्णाली प्रदेशमा ठूलो क्षमताको विद्युत बोक्न सक्ने प्रसारण लाइन निर्माण थालिएको यो पहिलो पटक हो । कर्णाली बाहेक अन्य प्रदेशमा ५० कै दशकमा यस्ता प्रशारण आयोजना विस्तार भइसकेका छन् । कर्णालीको पहिलो खण्डअन्तर्गत कोहलपुर–सुर्खेत प्रसारण लाइनबाट सुब्बाकुना सवस्टेशनमा झारिने बिजुली दोस्रो खण्ड सुर्खेत–दैलेख प्रशारण लाइनमा जोडिने छ । सुर्खेत–दैलेख प्रशारण लाइन अन्तर्गत दैलेखमा निर्माण हुने सवस्टेशनबाट पुनः कालिकोट र जुम्लासम्म १३२ केभी प्रसारण लाइन विस्तार हुनेछ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, बेलघारीस्थित सवस्टेशनबाट सुरु यो प्रसारण लाइन नारायण नगरपालिका, नौमुले गाउँपालिका हुँदै कालिकोट पु¥याइने छ । यस्तै, कालिकोटको तिलागुफा नगरपालिका महावै गाउँपालिका हुँदै जुम्ला पु¥याइने छ । जुम्लाको हिमा, तातोपानी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिका वडा नम्वर ९ स्थित बयलकटियामा बन्ने सवस्टेशनसम्म गएर आयोजनाअन्तर्गतको १३२ केभी प्रसारण लाइन टुंगिने छ । डबल सर्किट उक्त प्रसारण लाईनको लम्बाई कुल ८२.१४ किलोमिटर लामो रहनेछ ।
कोहलपुरदेखि जुम्लासम्म लाइन विसतार गर्दा २७९ वटा टावरहरु निर्माण गरिनेछ । यस आयोजना अन्तर्गत दैलेख–कालिकोट र जुम्ला जिल्लामा १३२÷३३÷११ केभी सवस्टेशनहरु निर्माण हुनेछन् । आयोजना निर्माणको लागि कुल एक सय ५० दशमलव ३३ हेक्टर जमिन आवश्यक पर्ने विद्युत विकास विभागले जनाएको छ । जसमध्ये २७९ टावरहरुका लागि स्थायी रुपमा करिब १२ दशमलव चार हेक्टर जग्गा आवश्यक पर्नेछ । यसबाहेक विद्युत मार्गको अधिकार क्षेत्र भित्र राइट अफ वेअन्तर्गत १३२ दशमलव ६९ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्युनतम दूरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट १८ मिटर (मध्य विन्दुबाट नौ÷नौ मिटर दायाँ र बायाँ) कायम गरिनेछ । प्रसारण लाईनको निर्माण कार्य साढे दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।

एक बर्ष लम्बियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम





+ There are no comments
Add yours