२०८३ जेठ १९ , मंगलबार

वीरेन्द्रनगरमा गोप्य गोदाममा सुनको थुप्रो र भारु पैसा



सुर्खेत । वीरेन्द्रनगरमा कपडा व्यवसायको आडमा अवैध रूपमा सुन धितो राखी ऋण प्रवाह तथा विदेशी मुद्रा कारोबार गरेको आरोपमा एक व्यापारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार गरेको छापामारीमा करिब ३ करोड रुपैयाँ बराबरको सुन तथा नगद बरामद गरेको जनाएको छ ।

तस्वीर एआइको सहयोगमा तयार पारिएको

प्रहरीका अनुसार वीरेन्द्रनगर–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलसँग सम्बन्धित गोदाम तथा कार्यालयमा खानतलासी गर्दा ६३ वर्षीय व्यापारी श्यामसुन्दर अग्रवालको नियन्त्रणबाट १८५ थान सुन तथा चाँदीका विभिन्न गहना फेला परेका हुन् । बरामद गरिएका गहनाको अनुमानित मूल्य झण्डै ३ करोड रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए ।

त्यसैगरी, प्रहरीले २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ तथा नगद गन्न प्रयोग हुने एक मेसिनसमेत बरामद गरेको जनाएको छ। विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले सोमबार अपराह्न शिव इम्पोरियममा छापा मारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सुन तथा गरगहना धितो राखेर ब्याजमा रकम उपलब्ध गराउने र भारतीय मुद्रा कारोबारसमेत हुँदै आएको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा रहेका अग्रवालमाथि थप अनुसन्धान जारी छ । उनी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्दै आएका थिए ।

स्रोतहरूका अनुसार अग्रवालले लामो समयदेखि सुन धितोमा राखेर ऋण प्रवाह गर्ने तथा भारतीय मुद्रा सटहीको अनौपचारिक कारोबार सञ्चालन गर्दै आएको आशंका गरिएको छ । चाडपर्वका समयमा भारतबाट आउने नेपालीहरूलाई लक्षित गरी भारु सटही कारोबारबाट सुरु भएको गतिविधि पछि सुन धितोमा ऋण दिने कामसम्म विस्तार गरेका  थिए ।

प्रहरीले बरामद भएका सुन, नगद र अन्य सामग्रीको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहे नरहेको विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको  छ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार