२०८३ मंसिर १२ , शनिबार

रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण कर्णालीबाट सुरु, झोलाको सट्टा स्मार्ट फाइल अभियान

कर्णालीलाई भोटसँग विकास साट्ने सौदाबाजी नगर्ने रवि लामिछानेको प्रतिबद्धता, प्रशिक्षणमा मोबाइल प्रयोगमा कडाइ


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट औपचारिक रूपमा प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले राजनीतिक संस्कार परिवर्तन, पार्टीभित्र अनुशासन र कर्णालीको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले नेपाली राजनीतिमा जरो गाडेको झोले संस्कृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले पार्टीका अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा झोला वितरण गर्ने परम्परा अन्त्य गर्दै त्यसको विकल्पमा स्मार्ट डायरी तथा फाइल प्रयोग गर्ने अभियान सुरु गरिएको जानकारी दिए ।

झोलाको सट्टा स्मार्ट फाइल, प्रायोजन अस्वीकार

सभापति लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भन्दै होच्याउने प्रवृत्तिको अन्त्य गर्न पनि राजनीतिक दलहरूले आफ्नै व्यवहार र संस्कार बदल्नुपर्ने बताए । रास्वपाले अबका अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा झोला वितरण नगर्ने नीति लिएको उनको भनाइ थियो ।

जनताका मुद्दा, गुनासा तथा सुझाव टिपोट गर्न झोलाको सट्टा स्मार्ट डायरी तथा फाइल प्रयोगमा ल्याइएको उनले बताए । पार्टीलाई एनजीओ, आईएनजीओ तथा बाह्य प्रायोजकको प्रभावबाट मुक्त राख्न फाइल खरिदमा कुनै पनि प्रकारको प्रायोजन नलिइएको उनले स्पष्ट पारे ।

उनले सहभागीहरूलाई आफैँ फाइल खरिद गर्न र आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न आग्रह गरे । हुनेले किन्ने र नहुनेलाई हुने साथीले किनिदिने अभियान सुरु गरिएको उनको भनाइ थियो । सोही क्रममा लामिछानेले आर्थिक अवस्था कमजोर भएका कम्तीमा १० जना सहभागीका लागि आफ्नै खर्चमा फाइल खरिद गरिदिने घोषणा गर्दै त्यसका लागि कोषाध्यक्षलाई रकम हस्तान्तरण गरेका थिए ।

भोट नदिए पनि कर्णालीको विकास प्राथमिकतामा

कर्णालीमा रास्वपाको चुनावी नतिजा तथा प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासका सवालमा राजनीतिक सौदाबाजी नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर्णालीले रास्वपालाई मत नदिए पनि वा प्रतिनिधि नपठाए पनि पार्टी सरकारमा रहुन्जेल प्रदेशको विकास र यहाँका नागरिकका मुद्दा प्राथमिकतामा रहने बताए ।

‘कर्णालीले एक भोट पनि नदिओस् वा एकजना पनि प्रतिनिधि नपठाओस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली सधैँ प्राथमिकतामा रहनेछ,’ उनले भने, ‘हामी भोटसँग विकास साट्ने सौदाबाजी गर्न आएका होइनौँ, चोखो मनले यहाँका मुद्दा सम्बोधन गर्न आएका हौँ ।’ विगतका सशस्त्र विद्रोहका कारण कर्णालीले भोग्नुपरेको पीडा स्मरण गर्दै उनले रास्वपाले रगत नबगाई ‘निलो क्रान्ति’ मार्फत शान्तिपूर्ण विद्रोह गरिरहेको बताए ।

कार्यकर्ताको घेरा तोडेर नागरिकसँग संवाद गर्ने

नेताहरू सधैँ कार्यकर्ता र समर्थकको घेरामा रहने, फोटो खिचाउने र त्यसैका आधारमा राजनीतिक अवसर खोज्ने प्रवृत्तिको पनि लामिछानेले आलोचना गरे । उनले आफू कुनै नेता वा कार्यकर्ताको साथ नलिई दैलेख आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको जानकारी दिए । ‘मलाई भिड र फोटोको लोभ छैन, म नेताहरूबाट होइन, सोझै जनताबाट घेरिन चाहन्छु,’ उनले भने ।

प्रशिक्षणमा मोबाइल प्रयोगमा कडाइ

प्रशिक्षण कार्यक्रमको मुख्य आधार अनुशासन भएको उल्लेख गर्दै लामिछानेले सहभागीहरूलाई हलभित्र प्रवेश गरेपछि मोबाइल फोन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएका छन् । पार्टीको आन्तरिक गोपनीयता र प्रशिक्षणबाट हुने सिकाइको गम्भीरतालाई ध्यानमा राख्दै अबका बैठक तथा प्रशिक्षण कार्यक्रममा आयोजकको अनुमतिबाहेक मोबाइल फोन प्रयोग गर्न नपाइने व्यवस्था लागू गरिएको उनले जानकारी दिए । उनका अनुसार पार्टीका आगामी प्रशिक्षण तथा बैठकहरूमा पनि यही अनुशासन लागू गरिनेछ ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार