२०८३ मंसिर १३ , आइतबार
दशौं राष्ट्रिय खेलकुद

आर्मी र एपीएफ उपाधिनजिक, क्रिकेटमा बागमती र गण्डकीको जित



सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धा जारी रहँदा महिला बास्केटबलमा नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनलमा प्रवेश गरेका छन्। पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ भने एपीएफसँग बराबरी खेलेपछि सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। पुरुष क्रिकेटमा बागमती र गण्डकी प्रदेशले जित हात पार्दा महिला क्रिकेटमा सुदूरपश्चिमसहित चार टोली सेमिफाइनलमा पुगेका छन्।

महिला बास्केटबलको फुल कोर्ट विधामा नेपाल आर्मी र एपीएफले फाइनलमा स्थान सुरक्षित गरेका छन्। शनिबार भएको पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ४४–२८ अंकले पराजित ग¥यो। आर्मीको जितमा अनिशा घलेले सर्वाधिक १३ अंक योगदान गरिन्। अर्को सेमिफाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ को फराकिलो अन्तरले हरायो। एपीएफको जितमा सोनी वाइबाले १७ अंक जोडिन्।

महिला बास्केटबलकै थ्री अन थ्री विधामा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका छन्। कर्णालीले एपीएफलाई ११–१० अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्दा आर्मीले बागमती प्रदेशलाई १५–४ ले हरायो। थ्री अन थ्रीमा फाइनल प्रवेश गरेसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ। दुवै विधाका फाइनल खेल आइतबार हुनेछन्।

पुरुष फुटबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। पुलिसका लागि पहिलो हाफको अतिरिक्त समय ४६औं मिनेटमा सुजन बलाम्पाकी मगरले निर्णायक गोल गरे। पराजित गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। खेलको सातौं मिनेटमा श्याम वादीले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए। एपीएफका गणेश पुलामीले १६औं मिनेटमा बराबरी गोल गरे भने अनिश क्षेत्रीले २६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ७२औं मिनेटमा सन्दीप सिंहले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो। दुई खेलबाट एपीएफ सेमिफाइनलमा प्रवेश गर्दा सुदूरपश्चिम लिग चरणबाटै बाहिरिएको छ। यसअघि सुदूरपश्चिम मधेश प्रदेशसँग पराजित भएको थियो।

पुरुष क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कालुन्चोक मैदानमा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा तीन विकेट गुमाउँदै १७९ रन बनाएको थियो। बागमतीका रोशन झाले ६३ र रिनजिन लामाले ५७ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए।

१८० रनको लक्ष्य पछ्याएको कोशी १६.३ ओभरमा ९५ रनमै अलआउट भयो। कोशीका फिरदोस अन्सारीले २१ रन बनाए। लगातार दोस्रो हार व्यहोरेसँगै कोशी प्रतियोगिताबाट बाहिरिने पहिलो क्रिकेट टोली बनेको छ। बागमतीले बनाएको १७९ रन प्रतियोगितामा हालसम्मको उच्च योगफल रहेको छ। अर्को खेलमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। पहिले ब्याटिङ गरेको एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाएको थियो। उसका पवन खरेलले सर्वाधिक ३२ रन बनाए। जवाफमा गण्डकीले १४.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। गण्डकीका ईश्वर क्षेत्रीले ३२ र अविजित वंश क्षेत्रीले २९ रन बनाए। पहिलो खेलमा मधेश प्रदेशसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा जितसँगै दुई अंक जोडेको छ।

महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न भएका छन्। अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिम, गण्डकी, मधेश र कोशीले समान दुई–दुई अंक प्राप्त गरे पनि रनरेटका आधारमा सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो। यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेका थिए।

महिला क्रिकेटमा गण्डकीले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। उसका लागि सिमाना केसीले ४० र सम्झना पौडेलले अविजित ३८ रन बनाइन्। जवाफमा सुदूरपश्चिमले अनु कडायतको महत्वपूर्ण ब्याटिङको मद्दतमा जित हासिल ग¥यो। अनुले ३३ बलमा दुई छक्का र सात चौकासहित रन बनाइन्।

यसैबीच, फुलकन्ट्याक्ट कराते प्रतियोगिताका विभिन्न तौल समूह तथा काता विधाका प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्। प्रतियोगितामा महिला तथा पुरुषतर्फ गरी ९६ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन्। तीमध्ये महिलातर्फ ४० र पुरुषतर्फ ५६ खेलाडी रहेका छन्। कातातर्फ महिला र पुरुष दुवै विधामा चार–चार जना खेलाडी सेमिफाइनलमा पुगेका छन्।

दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्यले सुरु गरिएको ट्रफी तथा ओलम्पिक टर्च टुर शनिबार जुम्ला पुगेको छ। म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ओलम्पियन तथा राष्ट्रिय खेलाडीहरूको टोलीले ट्रफी र टर्च चन्दननाथ मन्दिर पु¥याएको हो। शुक्रबार दैलेखको शिरस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी सुरु गरिएको टुर जुम्ला बजार परिक्रमा गर्दै चन्दननाथ मन्दिर पुगेको थियो। त्यसपछि ट्रफी र टर्च प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत फर्किनेछ।

यता, प्रतियोगिताको तयारीलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ। नगरपालिकाको आयोजनामा शनिबार बिहान सुरु भएको अभियानमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कृषि मन्त्री जुम्कित लामा, नगरप्रमुख मोहनमाया ढकाललगायतको सहभागिता थियो। अभियानअन्तर्गत सडक, सार्वजनिक स्थल तथा खेलकुद आयोजना हुने क्षेत्रको सरसफाइ, सडकका खाल्डाखुल्डी पुर्ने र सडक किनारमा रोपिएका बिरुवामा पानी हाल्ने काम गरिएको नगरपालिकाले जनाएको छ।

आइतबार पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। महिला बास्केटबलका दुवै विधाका फाइनल खेल पनि आइतबार नै हुनेछन्।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार