Blog

  • हृदयघातबाट थुनुवाको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

    हृदयघातबाट थुनुवाको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

    जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा गत शुक्रबार मृत्यु भएका गंगे सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । वीरेन्द्रनगर–१ का ३६ वर्षीय सुनारको पोष्टमार्टम रिपोर्टमा हृदयघातबाट मृत्यु भएको देखिएको छ ।
    मृतकको पोष्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो । चिकित्सकको टोलीले मुटुको नली बल्क भएको र चोटपटक नदेखिएको पोष्टमार्टम रिपोर्ट दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
    रिपोर्ट आएपछि आफन्तले सुनारको शव बुझेका छन् ।
    सुनार गत शुक्रबार बिहान ५ः५८ बजेको समयमा हिरासत भित्र सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । उपचारका लागि प्रदेश अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । उनी ७८ दिनदेखि हिरासतमा थिए । गत शुक्रबार उनको मुद्दामा पेसी थियो ।
    थुनुवाको मृत्युपछि आफन्तले छानविनको माग गर्दै विरोध गरेका थिए । आफन्तको विरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा चार सदस्यीय छानबीन समिति गठन गरिएको थियो ।

  • गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

    गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

    गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उक्त पार्टीको राजनीतिक दल दर्ता नम्बर २०५ रहेको छ। आयोगका सचिव महादेव पन्थले कात्तिक २३ गते गतिशील लोकतान्त्रिक पार्टीलाई दल दर्ता प्रमाण पत्र उपलब्ध गराएका हुन्।
    आयोगमा दल दर्ता भई गतिशील लोकतान्त्रिक पार्टीले प्रमाण पत्र पनि पाइसकेको छ। आयोगको कार्यालय कालिकामार्ग, कालिकास्थान काठमाडौंमा रहनेछ। यो पार्टीको संस्थापक वीरेन्द्रबहादुर बस्नेत हुन् भने अध्यक्ष दिनेश प्रसाईं छन्।

  • आजदेखि स्थानीय र प्रदेश सरकारबीच भेला

    आजदेखि स्थानीय र प्रदेश सरकारबीच भेला

    आजदेखि कर्णाली प्रदेशका स्थानीय तहकाका प्रमुख तथा पदाधिकारीसहित भेला हुँदैछ । प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको भेला आयोजना गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज र भोलि प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला हुँदैछ । दुईदिने भेलामा नगरप्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहनेछ ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा ३ वटा मुख्य विषयमा छलफल हुनेछ । प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवाप्रवाह, कर्णाली प्रदेश सरकारले योजना छनोटसम्बन्धी हाल गरिएको अभ्यास तथा योजना छनोट कार्यविधि, स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा बाडफाँडका विषयमा छलफल हुने उनले जानकारी दिए ।
    संविधानमा उल्लेख गरिएका तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको अवधारणामा अघि बढ्नुपर्ने भावनाअनुसार भेलाको आयोजना गरिएको उनले जानकारी दिए । छलफल तथा अन्तक्र्रियाले दुई तहका सरकारबीच देखिएका समस्या र समाधानका उपाय खोज्न मद्दत पुग्ने उनले बताए ।
    कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनोट तथा आयोजना बैंकको अवधारणा ल्याएर चालु आर्थिक बर्षको बजेट कार्यान्वयन गरिररहेको छ । कार्यक्रममा उक्त अवधारणालाई थप परिमार्जन गर्ने विषयमा पनि छलफल गरिनेछ ।

  • सडक निर्माणमा अनियमतताः नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सडक निर्माणमा अनियमतताः नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    वदनियतपूर्वक : ऐनविपरित शर्त, सबैभन्दा बढी रकम कबोल गर्नेलाई ठेक्का, उजुरी दिनबाट बञ्चित

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, निर्माण कम्पनीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोटरबाटो स्तरोन्नतिको ठेक्कामा अनियमितता गरेको उनीहरुविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटोको ठेक्का मिलोमतोमा दिएको र भुक्तानीमा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
    आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइएस अपरेटर हरिचन्द्र विष्टविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै उक्त मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्याङ्कनमा सहभागी नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) मा कार्यरत शिशिरकुमार गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको छ । यसैगरी दिव्या निर्माण सेवाका सञ्चालक भिमराज न्यौपानेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएको आठ जनाबाट जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा विगो र सजाय दावी गरिएको छ ।
    आर्थिक वर्ष २०७८÷७९ मा बोलपत्र प्रक्रियामा मिलेमतो गरी बढी रकम कबोल गर्ने निर्माण कम्पनीलाई ठेक्का दिई गैरकानुनी लाभ लिएको पाईएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसा लागत अनुमान गरिएको उक्त सडक निर्माणको ठेक्का प्रक्रियामा दिव्या निर्माण सेवा प्रालिलाई अनुचित रुपमा ठेक्का दिइएको आयोगको ठहर छ । बोलपत्र मुल्याकंन समितिले नागरिकता प्रमाणपत्र अनिवार्य शर्त नभएको भएपनि उक्त शर्तको कारण देखाई अन्य बोलपत्रदातालाई अस्वीकृत गरी बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का प्रक्रियामा छनोट गरेको देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
    उक्त प्रक्रियामा दिव्या निर्माण सेवा र कृष्ण निर्माण सेवाको बोलपत्रका कागजातमा एकै व्यक्तिको हस्ताक्षर, समान ढाँचाका कागजात र समान मिति रहेका कारण दुवै कम्पनीबीच मिलेमतो भएको देखिए पनि मूल्याङ्कन समितिले कृष्ण निर्माण सेवालाई अनुत्तीर्ण गरी बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिएको देखिएको भन्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
    न्यूनतम कबोल रकम २४ लाख ७३ हजार ६१५ रुपैयाँ ६१ पैसा र स्वीकृत बोलपत्र रकम ८० लाख ६२ हजार ६७८ रुपैयाँ ६७ पैसा बीचको फरक ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बराबरको बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध विगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवानाको माग गरिएको छ ।
    त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको उक्त सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरी औपचारिकता मात्र निभाएको अभियोग अख्तियारले लगाएको छ । उक्त सडक निर्माणका लागि आर्थिक बर्ष २०७८÷०७९ मा रकम ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसा कुल लागत अनुमान स्वीकृत गरेको थियो । उक्त कामका लागि २०७९ वैशाख २५ गते राजधानी दैनिकमा सूचना प्रकाशन गरिएको थियो । २०७९ जेठ २४ गते बोलपत्रहरु खोल्दा सात वटा बोलपत्रदाताहरु प्रक्रियामा सहभागी भएको देखिएको छ ।
    सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ ले ठेक्का प्रक्रियामा सहभागी हुन निर्माण कम्पनी सञ्चालकको नागरिकता अनिवार्य हुनुपर्ने व्यवस्था नगरेको अवस्थामा बोलपत्र मूल्याङ्कनका क्रममा यही कुरालाई अनिवार्य शर्तको रुपमा राखेर प्रक्रिया गरिएको पाईएको छ । ऐनमा हुँदै नभएको कुरालाई बोलपत्र मूल्याङ्कनका क्रममा अनिवार्य गरी प्रक्रियामा सहभागी तीन वटा बोलपत्रदातालाई सञ्चालकको नागरिकता पेश नगरेको र तीन वटालाई कार्यतालिका पेश नगरेको कारण देखाएर मूल्याङ्कन समितिले प्रक्रियाबाट हटाइदिएको थियो । उक्त प्रक्रियामा छनोट भएको दिव्या निर्माण सेवाले पनि सञ्चालकको नागरिकता पेश नगरेकै अवस्थामा मूल्याङ्कन समितिले गलत प्रतिवेदन पेश गरेको थियो ।
    सार्वजकि खरिद ऐन २०६३ को दफा ४७ (१) मा चित्त नबुझेको खण्डमा बोलपत्रदाताले सार्वजनिक निकायका प्रमुखसमक्ष निवेदन दिनसक्ने व्यवस्था छ । उक्त दफामा सार्वजनिक निकायले खरिद कारबाही वा निर्णय गर्दा कुनै त्रुटी गरेको वा पालना गर्नुपर्ने कर्तव्य पालना नगरेकोले आफूलाई क्षति पुग्ने वा पुग्न सक्ने कारण खुलाई कुनै बोलपत्रदाता वा प्रस्तावदाताले सम्बन्धित सार्वजनिक निकायका प्रमुखसमक्ष निवेदन दिन सक्ने उल्लेख छ । सोहीबमोजिम बोलपत्र मूल्याङ्कन गरेपछि प्रक्रिया पुगेको बोलपत्रदाताको विस्तृत विवरणसहित बोलपत्र स्वीकृत गर्ने आशयको सूचना नगरपालिकाकाको कार्यालयले सात दिनको समय दिएर प्रकाशन गर्नुपथ्र्यो । तर मिलेमतोमा नगरपालिकाको कार्यालयले यस्तो सूचना बोलपत्र मूल्याङ्कन गरिएको तीन दिनपछिको मिति (२०७९ जेठ २७) उल्लेख गरी असार २ गते मात्र राजधानी दैनिकमा प्रकाशन गरेर बोलपत्रदातालाई निवेदन दिनबाट बञ्चित गरेको थियो । सूचना प्रकाशन भएको उक्त दिन बोलपत्रदाताले निवेदन दिन पाउने अन्तिम दिन थियो ।
    यस्तै प्रक्रियामा छनोट भएको दिव्या निर्माण सेवा कम्पनीले पनि बोलपत्र पेश गर्दा फर्जी गरेको आयोगको ठहर छ । दिव्या निर्माण सेवा र सोही प्रक्रियामा सहभागी भएको कृष्ण निर्माण सेवाको बोलपत्रमा एकै व्यक्तिको हस्ताक्षर भएको थियो । यी दुई बोलपत्रदातामध्ये कृष्ण निर्माण सेवाले न्युनतम रकम २४ लाख ७३ हजार ६१५ रुपैयाँ ६१ पैसा कबोल गरेको थियो भने दिव्या निर्माण सेवाको बोलपत्रमा ८० लाख ६२ हजार ६७८ रुपैयाँ ६७ पैसा कबोल गरिएको थियो । यी दुवै फर्मले पेश गरेको घोषणापत्र पनि एकै ढाँचामा र अन्य कागजात पनि मिल्दोजेल्दो थिए । तैपनि मूल्याङ्कन समितिले कम रकम कबोल गर्ने कृष्ण निर्माण सेवालाई अनुत्तीर्ण गरी सबैभन्दा बढी रकम कबोल गरेको दिव्यालाई उत्तीर्ण गरी ठेक्का दिएको थियो ।
    अख्तियारले मुद्दा दायर गरेका ८ जनाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको ठहर गर्दै बोलपत्रदातामध्ये सबैभन्दा कम कबोल गरिएको रकम र सबैभन्दा बढी कबोल गरिएको रकमको बीचको फरक रकम ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा जनही विगो दावी गरेको हो । आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ (च, ज), दफा १९ को उपदफा २ बमोजिम कैद सजाय तथा जरिवाना दावी गरिएको छ ।

  • जेलबाट भागेका करणी मुद्दाका अभियुक्त पक्राउ

    जेलबाट भागेका करणी मुद्दाका अभियुक्त पक्राउ

    जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदी डोल्पामा पक्राउ परेका छन् । जबर्जस्ती करणी मुद्दामा फरार रुकुम पूर्वको पुथाउत्तरगंगा–२ मैकोट बस्ने ३० बर्षीय बीरबहादुर विक पक्राउ परेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले पक्राउ परेका विकलाई कारागार कार्यालय डोल्पामा बुझाईएको जानकारी दिए । ठूलभेरी नगरपालिका–४ मा पर्ने धुपीचौरमा स्थानीय सिर्जना विकको घरमा झैझगडा भएको उजुरी आएपछि प्रहरी घटनास्थलमा पुग्दा अभियुक्त विक टाउकोमा चोट लागेको अवस्थामा भेटिएको उनले बताए ।
    जिल्ला अस्पतालमा ल्याई उपचारपछि सोधपुछ गर्दा उनले आफू जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा भागेको प्रहरीसँग बताएका थिए । विकविरुद्ध रुकुम पूर्व जिल्ला अदालतले २०७८ फागुन २ गते १२ वर्ष कैद र ४० हजार जरिवाना गराउने फैसला गरेको
    थियो ।

  • शे–फोक्सुण्डो जाने पदमार्ग र ताल नजिकको बस्ती विकास सँगसँगै

    शे–फोक्सुण्डो जाने पदमार्ग र ताल नजिकको बस्ती विकास सँगसँगै

    डोल्पाको शे–फोक्सुण्डो पुग्ने पर्यटकलाई सहजताका लागि दुईवटा आयोजना सँगसँगै अघ बढाएको छ । यो आर्थिक बर्षदेखि डोल्पा सदरमुकामदेखि शे–फोक्सुण्डो तालसम्म पुग्ने पदमार्ग स्तरोन्नति र ताल नजिकको बस्तीमा थप पूर्वाधार थप्दै बस्ती विकासको काम सँगसँगै अघि बढाईएको हो । यी दुई योजना निर्माणपछि पर्यटकहरुलाई थप सहजता मिल्नेछ ।
    आयोजनाअन्तर्गत डोल्पाको साङ्टादेखि फोक्सुण्डो तालसम्म पुग्ने पदमार्गको स्तरोन्नति, डोल्पा सदरमुकाम दुनैदेखि पदमार्गको प्रत्येक दुई किलोमिटर दुरीमा १६ वटा प्रतिक्षालय निर्माण गर्ने योजना छ । पैदल यात्राका क्रममा पर्यटकलाई आराम गर्नका लागि प्रतिक्षालय बनाउन लागिएको हो । अहिलेकै पदमार्गलाई जोखिम तथा अप्ठ्यारो भएका ठाउँमा सहज बनाउनेगरि स्तरोन्नति गर्न थालिएको हो । हाल उक्त पर्यटकीय गन्तव्यसम्म सडक निर्माण भईनसकेकाले डोल्पाको सदरमुकामदेखि शे–फोक्सुण्डो जान दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
    यो सँगसँगै तालको छेउमा रहेको रिङ्गिबो अर्थात रिङ्ग बस्तीलाई पनि थप विकास गर्न थालिएको छ । फोक्सुण्डो जाने पर्यटकका लागि यो आवासीय गाउँ पनि हो । पर्यटकहरु फोक्सुण्डो ताल अवलोकनका क्रममा यो बस्तीमा बस्छन् । आयोजनाअन्तर्गत बस्तीको भित्री बाटो विस्तार, ढल निकास, बस्तीमा रहेका दुई वटा विद्यालयको पूर्वाधार निर्माण, दुई वटा ट्रस पुल निर्माण, गुम्बामा खानेपानी धारा निर्माण जस्ता काम गरिनेछ । यस्तै फोक्सुण्डो तालको अवलोकन गर्न भ्यू पोइन्टसम्मको पदमार्ग र प्रतिक्षालयपनि निर्माण गरिनेछ । रिङ्ग बस्तीमा संग्रालय, पार्क तथा बस्तीको जोखिम कम गर्न तटबन्धन निर्माण लगायतका कामहरु गरिनेछ ।
    शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रिङ्ग गाउँ नेपालको प्राचिन बस्तीमध्येको एक हो । यो गाउँमा करिब दुई सयको हाराहारीमा मानिस बस्छन् । समुन्द्री सतहदेखि ३ हजार ६६० मिटर उचाईमा रहेको यो बस्ती नेपालका अग्ला स्थानमा रहेका बस्तीमध्येको पनि एक हो । बस्तीमा तिब्बतियन संस्कृति बढी झल्किन्छ ।
    गत शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बस्ती विकास र पदमार्ग स्तरोन्नति आयोजनाको शिलान्यास गरेका छन् । शिलान्यासका क्रममा मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरे निर्माण व्यवसायीलाई प्रोत्साहन गरिने उनले बताए । ‘काम लिने तर काम नगर्ने प्रवृत्ति अन्य गर्नुस्, कर्णाली समृद्धिको जिम्मेवारी तपाईहरुको हातमा पनि छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘जिम्मेवारीअनुरुप निर्वाध रुप्मा काम गरेर कर्णालीको समृद्धिमा सघाउनुस्, सरकार तपाईको साथमा छ ।’ सरकारले निर्माण व्यवसायीलाई कुनै समस्यामा नपार्ने पनि उनले आश्वासन दिएका छन् । उनले पदमार्ग स्तरोन्नति र बस्ती विकास भईसकेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई फोक्सुण्डो अवलोकनमा थप आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
    यो कार्यक्रमका लागि लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२÷०८३) मा २१ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय डोल्पा र निर्माण व्यवसायी श्रेया–गुठीचौर जेभी काठमाडांैबीच निर्माण सम्झौता भएर काम अघि बढेको हो । सम्झौता अनुसार २०८४ असार मसान्तसम्म आयोजना सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्नेछ ।

  • गुठीचौर गाउँपालिकाको राजस्व ३३ लाख

    गुठीचौर गाउँपालिकाको राजस्व ३३ लाख

    जुम्लाको गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले दिएको जानकारी अनुसार, वडागत रुपमा वडा नम्बर १ बाट ८२ हजार, २ बाट एक लाख, वडा नम्बर ३ बाट एक लाख ५३ हजार, वडा नम्बर ४ बाट दुई लाख ६८ हजार र वडा नम्बर ५ बाट दुई लाख ५८ हजार ५३१ रुपैयाँ राजस्व संकलन भएको छ ।
    यसबाहेक, गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट तीन लाख १३ हजार राजस्व संकलन गरेको छ । गुठीचौर पर्यटन प्रवद्र्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट आठ लाख ४४ हजार राजस्व उठेको छ ।
    अन्य आय स्रोतहरुमा डोजर सञ्चालनबाट पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट ८१ हजार र पशु शाखाबाट सात लाख ८४ हजार राजस्व संकलन भएको हो । गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै ९ लाख ९७ हजार राजस्व संकलन भएको छ ।

  • सल्यानमा स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

    सल्यानमा स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

    सल्यानको दार्मा गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १ सय २८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ । स्क्रबटाइफससँग मिल्दोजुल्दो लक्षणका साथै उच्च ज्वरोले असोज र कात्तिक पहिलो सातामा चार महिलाको मृत्यु हुनुका साथै पालिकाभर ज्वरोका विरामी बढेका छन् । दुई दिन शिविर र पाँच दिन घरघरमा गएर स्वास्थ्य परीक्षण गर्दा १ सय २८ मा स्क्रबटाइफस देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । जसमा ७० प्रतिशत महिलामा स्क्रबटाइफस देखिएको छ ।
    स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गर्दा ५१, प्रदेश सरकारसँग समन्वय गरेर घरघरमा परीक्षण गर्दा ७३ र पालिकाको स्वास्थ्य संस्थामा परीक्षण गर्दा चार जनामा स्क्रबटाइफस देखिएको उनले बताए । ‘स्क्रबटाइफससँग मिल्दो लक्षणका साथै उच्च ज्वरोका कारण असोज र कात्तिक पहिलो साता चार महिलाको मृत्यु भए पनि पछिल्लो समयमा पोजिटिभ देखिएकालाई गाउँमै उपचार गर्न थालेपछि कसैले ज्यान गुमाउनपरेको छैन,’ बस्नेतले भने ।
    गाउँघरमा अहिले पनि ज्वरोका बिरामी छन् । प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोली पनि आइतबार फर्किएको छ । स्क्रबटाइफस परीक्षणका लागि किटको अभाव रहेको उनले बताए । ‘अहिले स्वास्थ्यसंस्थामा उपचारका लागि आएका ज्वरोका बिरामीलाई परीक्षण गर्ने भनेर केही थान स्वास्थ्य संस्थालाई उपलब्ध गराएको छौं,’ उनले भने, ‘आइतबार एक टोली परीक्षण गर्न छुटेका केही स्थानमा खटिएको छ । किटको अभाव भएकाले त्यसपछि बिरामी भएका स्वास्थ्यसंस्था जानुपर्ने हुन्छ ।’
    पालिका अध्यक्ष नीमबहादुर केसीले स्क्रबटाइफसले गम्भीर समस्या ल्याएको बताए । पछिल्लो समय स्क्रबटाइफका बिरामी घट्दै गए पनि जोखिम भने उत्तिकै रहेको उनको भनाइ छ । किटका लागि सम्बन्धित निकाय समक्ष माग गरिने उनले बताए ।